~ध्रुव थापा~
केबी, हो यहि हो उसलाई चिन्ने नाम, सायद थोरैलाई थाहा होला उसको असली नाम, केशब बहादुर भनेर तर अमेरिका आएको केहि दिनदेखिनै उसका साथिहरु र उ पदने कलेजका प्रोफेसर समेतले उसलाई केबिनै भनेर बोलाए र यहि नामले उ आज परिचित छ। सेक्सपियरले भने जस्तै नाममा के राखेको छ र ? आखिर देश गुनाको नाम हुनु पर्छ सबैले बोलाउन सक्ने हुनु पर्छ र सबैले एकै पल्टमा स्मरण गर्न सक्ने हुनु पर्छ, यहि जवाब दिन्छ कसैले केविलाई उसको नामको बारेमा सोध्यो भने।
केबी ओकल्याण्डको ट्रेन स्टेसनमा सन् फ्रंसिस्कोबाट आउने बार्ट (यहाको मेट्रो ट्रेन ) मा कसैलाई प्रतीक्षा गरेर उभि रहेको थियो, अचानक फोन को घन्टी बज्यो र हलो हलो भन्दै अलिक सुनसान स्थान तिर लाग्यो , उसको आफ्नो पसल “सब वे “बाट फोन आएको रहेछ , एकजना कर्मचारीले कल गरेर आज काममा आउन न सक्ने जानकारी दिएको रहेछ र आफु एक्लै भएकोले हजुर पनि काम मा आउनु पर्छ होला भन्दै उसको म्यानेजरले कल गर्छ। ल कस्तो कुरा गरेको म आउन भ्याउदिन भनेको होइन ? बरु कोहो पार्ट टाइम कामगर्ने लाइ कल गर भएन भएन भने म दुइ घण्टा पछि साथीलाई कोठामा छाडेर आउला. अहिलेलाई जसरि हुन्छ मिलाउ, भन्दै केविले फोन राखी दिन्छ। उसको बाल्याकाल्को साथि पहिलो पल्ट अमेरिका आउदै थियो र उसलाई लिन एरपोर्ट नै त् जान भ्याएन बरु बार्ट मा आउँ तिमीलाई म ओकल्याण्ड मा भेट्छु भनेर उसलाई लिन उ त्यहा आएको थियो
उसको अति मिलने साथी मध्येको एक कमल आज अमेरिका आउदै थियो र उसैलाई भेट्न बेचैन भएर केबी प्रतिक्षा गरि रहेको छ ट्रेन स्टेसनमा। उसले आज भन्दा १२ बर्ष अघिको दिनहरु सम्झन्छ उनीहरु एउटै स्कुलमा पद्थे र जहिले पनि एक दुइ नम्बर को फरकले उ र कमल प्रथम दोश्रो हुने गर्थ्यो र एस एल सिमा पनि दुवैले अब्बल नम्बर ल्याएर पास गरे। कमल नेपालकै कलेजमा मेडिकल पदने बिचारले आफ्नो पदाइ अघि बढायो भने केबी जसरि भएपनि अमेरिकनै पदन जाने जिद गरेर त्यसको तयारि गर्न थाल्यो र प्लस टु सकेपछि अमेरिकाको एउटा प्रतिष्ठित कलेजमा पदने मौका पाएर अमेरिका आयो।
तर अमेरिका सोचे जस्तो कहाँ हुदो रहेछ , एकै बर्षमा कलेजको फिस र यहाको महंगीले उसलाई निक्कै नराम्रो सित गाज्यो र उसले अर्को बर्षनै स्थानीय कम्युनिटी कलेजमा जसरि भएपनि नाम सरि गरेर पदन थल्यो। साथै उसले एउटा पाकिस्तानी मुलका ब्यापारीले संचालन गरेको सब वे मा पार्ट टाइम काम गर्न थाल्यो। समय संगै दौडदा दिन महिना र बर्ष बितेका पत्तै भएँन उसलाई। काम, घर, कलेज र कम्प्युटर यहि चक्रमा जीवन चल्न थाल्यो। कलेजमा पनि काम र पैसाको खाचोले गर्दा पुरा क्रेडिट लिएर पदन सकेन र उसलाई साधारण डिग्री लिएर ग्राजुएट गर्न समेत सात बर्ष लाग्यो भने सात बर्षको अन्तरालमा उ नेपाल एक पल्ट पनि फर्केर जान सकेन।
उता उसको साथी भने नेपालमै मेडिकल कलेज सिध्याएर सिंगापुरबाट एमडी सकेर नेपालमै आफ्नो भब्य न्युरो हस्पिटल एंड रिसर्च सेन्टरमा एम डी को जागिर खदैछ , त्यो रिसर्च सेन्टर उसका केहि मिल्ने मेडिकल टिमका साथीहरु मिलेर खोलेका हुन् र अहिले दिन प्रतिदिन यसले खुब नाम र दाम कमाउन सफल भएको छ।
उ हरेक बर्ष विश्वको बिकसित देशहरुमा हुने न्युरो सम्बधि सेमिनार र गोष्ठीहरुमा सहभागी हुदै अफ्नो देश र चिकित्सा क्षेत्रले गरेको उल्लेखनीय योगदानको बारेमा सोधपत्र प्रस्तुत गर्ने गर्छ। हाल उ यसै सिलसिलामा सिकागो र सन् फ्रंसिसिकोमा हुदै गरेको अन्तरास्ट्रिय सम्मेलनमा भाग लिन यहाँ आइ पुगेको हो।
ओकल्याण्डको बार्ट स्टेसनमा पर्खि बसेको करिब आधा घण्टा पछि कमल बार्टबाट हात हल्लाउदै बाहिरिन्छ र दुवै जना एतिका बर्ष पछि भेट्दा त्यहि अतितका स्कुले साथी जस्तै रमाउदै एक अर्कालाई अंकमाल गरेर जोड जोडले एक अर्काको नाम लिदै खुसि व्यक्त गर्छ। त्यसपछि दुवै जना केबीको सब वे तिर लाग्छ र केहि क्षण त्यहाँ बसेपछि आफ्नो डेरा तिर लाग्छ। केहि क्षणको मिलनमै एक अर्काले आफ्नो बारेमा जानकारी दिई सकेको हुन्छन र भोलि देखि तीन दिन सम्म चल्ने सम्मेलनको तयारि गर्न केहि समय माग्दै कमल कम्प्युटरमा आफ्नो पावर पोइन्ट जाच्न थाल्छ। त्यहि मौकामा केबी एक दुई घण्टा काममा पालो दिएर आउछु है भनेर साथीलाई कोठैमा छाडेर निस्किन्छ। तर उ करिब चार घण्टा पछि केहि खानेकुरा र ड्रिंकस बोकेर आउछ। दुवै जना रात्री अबेर सम्म बसेर सुत्न कोठा मिलाउन थाल्छ। त्यस बेला सम्म कमलले साथीको सम्पूर्ण जीवन शैली नियाली सकेको हुन्छ , केबी को जीवन वास्तबमा उसलाई निक्कै अस्त व्यस्त लाग्छ। उ कसरि यसरी बस्न सकेको होला? भनेर सोची रहन्छ तर केहि केहि भन्दैन। भोलि बिहानै केविले सन् फ्रान्सिस्को कन्भेन्सन सेन्टर मै पुर्याइदिने बचनको साथ् दुवै जना एक अर्कालाई गुड नाइट भन्दै सुत्छ्न।
आज कमल आएको पाचौ दिन र भोलि बिहानै उ सिकागो हुदै न्यु योर्क बाट पन्द्र दिनपछि नेपाल फर्कने कुरा गर्छ। दुवै जना कमलको होटल रुममा बसेर हल्का ड्रिंकस लिई रहेको हुन्छन त्यतिकैमा कमलले केबिलाई भन्छ , “हेर साथी तिमि रिसाउदैनौ भने एउटा कुरा गर्न मनलागेको छ”। केबी पनि भनन किन रिसाउनु भन्दै सोद्छ , कमल असजिलो मान्दै भन्छ, “होइन साथी यसरि कति दिन यहाँ दुख गरेर बस्ने बरु जाउ नेपाल, संगै केहि गरौला। केबी केहि बोल्दैन सोची रहन्छ , भन साथी तिम्रो के छ बिचार मैले तिम्रो घरमा तिम्रो ममी पापालाई जसरि भएपनि तिमीलाई भेटेर आउछु भनेको कारणलेनै यहा तिमीसित समय निकालेर बसेको छु तिमि मेरो साथी हौ र तिम्रो र तिम्रो घरको बारेमा मलाई पनि चिन्ता लाग्छ।अब बिहे पनि गरेका छैनौ जिन्दगी लामो छ , यसरी भाग्दा भाग्दा कहिले समय बितेको पत्तो हुने छैन तिमीलाई र जब तिमिलाई घर परिवार र नेपालको सम्झना आउदा धेरै ढिलो भई सकेको हुन् सक्छ। अब तिमिली आफ्नो आमा बुवाको बारेमा पनि सोच, तिम्रो बहिनि पनि विहे गरेर अहिले अस्ट्रेलियामा छे , उ त पराया घरकी भै सकी अब तिमीले पनि नसोचे कसले सोच्ने भन त।
धेरै बेरको मौन पछि के बि सुस्तरी भन्छ हो साथी मलाई पनि सम्पूर्ण कुरो थाहा छ तर मैले नेपाल गएर अब के गर्ने ? न त म तिमि जस्तो सिक्षा नै लिन सके न अन्य शिपमै पोख्त हुन् सके। हो मैले जानेको भनेको अहिले येही हो। यतिका वर्ष पछि अमेरिकाबाट फर्केर आएको छोराले बुढेसकालमा आमा बुवालाई के भनेर मुख देखाउने यहि चिन्ताले सताई रहन्छ मलाई। हुनत कमलले म संगै काम गरौ भन्छ तर त्यहाँ गर्ने के ? उ अन्योलमा पर्छ। उसको मा कुनै जवाबनै हुदैन। चुपचाप कोठाको झ्यालबाट पारि गोल्डेन गेटमा गुडेका गाडीहरु नियाली रहन्छ। अनायासै उसको मुखबाट निस्कन्छ , हो साथी यो अमेरिकामा आएर के के नै गरौला भनेको थिए, तिमीहरु भन्दा धेरै सिक्षा र योग्यता लिएर देस फर्कौला भनेको थिए तर यो अमेरिका सोचे जस्तो छैन साथी। तर अमेरिकाको बारेमा नेपालमा भन्ने हो भने कसैले बिश्वास गर्दैनन् , त्यहाबाट देख्ने अग्ला घरहरु, सुन्दर बाटोहरुमा गुडेका टल्किने गाडीभित्रको ब्यथा कसैले सुनाइदैन्न नेपालमा।
-क्यालिफोर्निया, अमेरिका
(स्रोत : कथाकारको ब्लगबाट सभार)