कविता : यस धर्तीको पानीमा

~विजय मल्ल~

एक अँजुली पानी
उठाएर ओठसम्मन्
जब जब लान्छु बागमतीको
अकस्मात् बज्र गिरेझैँ आकाशबाट
या नजिकैबाट कसैले
फू गरेर मन्त्र फुकेझैँ,
या छली रामले बालीलाई हानेझैँ वाण
या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले
परिवर्तित हुन्छ त्यो पानी
रातो बाफिलो रक्तमा !

तप्कन्छ यही औँलाको काप कापबाट
त्यही रक्त विस्तारै धरतीमा ।
म तिर्खाएको तिर्खायै,
शुष्क कण्ठ यस्सो उचाली
आकाशतिर ताक्तछु
फगत आकाशतिर ताक्तछु,
अभिशप्त, विवश, व्याकुल ।

किन आकाशका ताराहरू
हेर्दैनन् अहिले अनुहार आफ्नो
यस धरतीको पानीमारु
किन नारसिस हुँदैन मोहित
आफ्नो छायाँको सौन्दर्यमा ?
के भो यस धरतीको पानीमा
अचानक यस बीसौँ शताब्दीमा ?
म खोज्दै खोज्दै पुग्दछु,
विक्षिप्त पागलझैँ
पृथ्वीका सारा नदीहरूमा—
गङ्गा, भोल्गा, ह्वाँग–हो
मिसिसिपी, अम्याजाँ, नाइल,
जताततै बदलिन्छ पानी,
अकस्मात् रक्तमा !
मानौँ चन्द्रावतीले सराप पाएझैँ !
तिर्खाएको तिर्खायै
पानी खोज्दै छु यस बीसौँ शताब्दीमा
म विष पिएझैँ एउटा मानिस
अभिशप्त, विवश, व्याकुल।

गुलाफको फूलमा अहिले
किन बारुदको गन्ध आउँछ ?
अङ्कमालमा मुटु किन,
बोल्दछ बमको आवाजझैँ
किन हरेक झाँग झाँगबाट
चितुवा लुकेझैँ शङ्का चिच्याउँछ ?
हरेक क्षण किन त्रास ओसारिएर
यस धरतीमा लहराउँछ ?
के भो यस धरतीको पानीमा ?
बाघले मृगलाई मार्दै पछारेझैँ
नदीका किनार किनारमा,
रगत त्यसैको मुछिई बगेझैँ,
किन रातोपन छ यस पानीमा ?

कुनै सुनकेशरी मैयाँ नुहाउँदिनन् अब
यस बीसौँ शताब्दीको जलमा ।
बगरेखानाबाट धारो छुटेझैँ
के सारा नदीका मुहान भए रक्तरञ्जित ?
म तिर्खाएको तिर्खायै,
शुष्क कण्ठ यस्सो उचाली,
आकाशतिर ताक्तछु
फगत आकाशतिर ताक्तछु
अभिशप्त, विवश, व्याकुल !
के भो आज यस धरतीको पानीमा
अचानक यस व्यापक महान्
बीसौँ शताब्दीमा ?

(सभार : ‘विजय मल्ल्का कविता’ बाट)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.