~राधिका राया~
(दार्जीलिङको सानु रेल मन्दगतिमा दुगुरिरहेछ । घरिघरि सिटी बजेको चर्को आवाज सुनिन्छ । घरमा विदा बिताएर फौजमा फर्किरहेका आनन्द रेलको डब्बाभित्र लामो सीटको एक छेउमा बसेको छ । भर्खरै भर्ती भएर फौजमा गइरहेको कमल त्यही सिटको एक छेउमा उभिएको छ । उसका गलाभरि फूलका माला र खादा छन् । आँखा आँसुले भरिएका छन् ।)
आनन्द : (आफू बसेको छेउको खाली ठाउँतिर सङ्केत गर्दै) कमल ! …. यहाँ ठाउँ खाली नै छ । यता आएर बस न । कति बेर उभिरहन्छौ । हुन ता तिमीलाई आफ्नो घरको र जहानको खूबै याद आइरहेकोले दु:ख होला । तर के गर्नु ? पल्टनेको भाग्य नै यस्तो हुँदो रहेछ । हामी धावामा जाने जातलाई मायाप्रीतिको के जोर लाग्छ ! उहिले–उहिले ता युद्धभूमिमा जान लागेका पुरुषलाई तिलक र पुष्पले आभूषित गराई स्त्रीहरू तरबार पनि भिराइदिन्थे रे ! तर आजभोलि त कस्तो युग आयो ! हामी पुरुषहरू नै स्वयं कायर भएका छौं ।
कमल : (आनन्दले देखाएको आसनमा बस्दै) कायर होइन, तिमीले बुझ्नमा गल्ती गर्दैछौ आनन्द । उहिले र आजको युगमा आकाश–पातालको भिन्नता छ । उहिलेका मानिसहरू देशभक्तिको भावनाले अनुप्रेरित भएर देशरक्षाका निम्ति सेनामा भर्ना हुन्थे तर आजका हामीले सेनामा भर्ना हुनुको प्रधान लक्ष्य आफ्नू पेटपाल्ने र जीवन–निर्वाह गर्नु मात्रै हो । यसरी जीवनका इच्छाहरूको बलि हुँदैछ । यसर्थ घरको सम्झनाले सताइरहेछ आनन्द । अतीतको प्रत्येक घडीको सम्झनाले च्वास्स–च्वास्स घोचिरहेछ । आफ्नै देशका निम्ति सेनामा भर्ना भएको भए पनि मनमा केही सान्त्वना मिल्ने थियो तर विदेशका निम्ति मलाया भर्तीमा भर्ना भएर मैले भूल गरेँ ।
आनन्द : कमल, केही दिनपछि जब तिमी टे«निङमा व्यस्त हुन थाल्छौ, घरको सम्झना त्यसै बिलाएर जान्छ । दिन बितेको पत्तै हुँदैन ।
कमल : दिन ता त्यसरी नै बित्छ होला तर रात ? क्लान्त शरीरले मात्र ओछ्यानको सहारा लेला तर मनलाई कसरी काबूमा राख्ने ? मन चञ्चल भई डाँडावारिपारि चहार्न पुग्छ होला । स्वदेशको झझल्कोले दिनरात पिरोल्छ होला । बिदाइको घडीको आफन्तको त्यो अश्रुले हृदयमा आहुतिको काम गर्ला । दुनियाँ प्रगाढ निद्रामा निमग्न भई निद्रादेवीको न्यानो काखमा विश्राम लिएको बेला …. मेरो विदेशिएको नेपाली हृदय चीत्कार गर्दा । प्रकृति पनि त्यो चीत्कारको भावार्थ बुझ्न असमर्थ भई मौन रहली । नीलाकाशमा झुल्किएका चन्द्र र ताराहरू पनि मेरो वियोग–कथा सुनी दु:खित होलान् । त्यसबेला म विदेशिएको चराको के अवस्था होला !
आनन्द : कमल, तिमी अति नै भावुक हृदयका रहेछौ । सायद तिमी विवाहित पुरुष हौ क्यार, त्यसैले आफ्नी पत्नी र स्वदेशको मायाले तिमीलाई यतिविघ्न अल्झाउन खोजेको होला ।
कमल : आनन्द, बिहे त केवल एउटा संयोग मात्रै हो र त्यस्तो संयोगको घडी मेरो जीवनमा अझसम्म ता आएको छैन ।
आनन्द : त्यसो भए निश्चय नै तिमी कसैलाई प्रेम माया गर्छौ होला ।
कमल : माया त म सबैलाई गर्छु, आनन्द ! त्यो मेरो पुरानु घरको माया लाग्छ, सेती र सुन्दरी गाईको माया लाग्छ । आफ्नै हातले रोपेका बिरुवाको माया लाग्छ । आफू बसेको हिँडेको, खेलेको र हुर्केको ठाउँको माया लाग्छ । ती सबै छोडेर आएँ, आफूले स्कुल–कलेजमा पढेका पुस्तकहरू र आफ्ना भाषाका पुस्तक र पत्रिकाहरू राखेको माया लाग्छ । मेरी बूढी आमा, बहिनी विद्या र छरछिमेकी सबैको मायाको डोरी चुँडिएर म विदेशिएँ । आनन्द … ! अब ता मलाई यस्तो लाग्न थाल्यो–मानिसको जीवन समस्या भोग्नकै निम्ति रहेछ ।
आनन्द : हो कमल, हामी पुरुष भएर ज्यादै भावुक बन्न पनि नहुने रहेछ । व्यावहारिक बन्नुपर्छ । हेर, हामीले पौरख नगरी हुँदैन । पाखुरा नबजाई हातमुख जुटाउन दुर्लभ छ । मलाई नै हेर न, चार वर्ष भयो म पल्टन लागेको । जति समय बित्दै गयो, जिम्मेवारीले पनि उति नै घेर्र्दै लग्यो । अब ता आफैलाई एउटा पुरानु मानिस लाग्न थालिसक्यो । अब ता खाली एउटा मिसिनझैं लाग्छ आफैलाई । स्वदेश र स्वजनको वियोगमा अब त्यति नरमाइलो केही पनि लाग्दैन । लोग्नेमान्छेले सहनुपर्छ कमल, जस्तो परिस्थितिमा परे पनि । अनि बिस्तार–बिस्तारै सबै कुरा आफैँ बानी पर्न थालिहाल्छ ।
कमल : होला आनन्द, तर त्यही एउटै कुरो सबैमा लागू हुँदैन । लौ सुन त, पल्लो डब्बामा कति मार्मिक गीत गाइरहेछन् । मजस्तै सेनामा भर्ना भई विदेश जाने युवकहरू होलान् ती पनि !
(रेलको पल्लो डब्बाबाट स्पष्ट स्वरमा युवकहरू रेलका भित्ता र भुइँमा ताल दिँदै गाइरहेको सुनिन्छ – घर सम्झी रोएको होला डाँडा काटी गएको नेपाली ।)
(स्रोत : जनमत मासिकको सय अंकवाट)