~श्यामप्रसाद~
एकजना साथीकहाँ नब्बे वर्ष नाघ्नुभएका बासँग भेट भयो । उहाँको स्वास्थ्य राम्रै रहेछ । हिंडडुल–कुराकानी आदि आवश्यक काम जति जम्मैजसो गर्न सक्नुहुँदोरहेछ । मलाई निकै खुसी लाग्यो । सारै बूढो भैसक्ता पनि मानिसले यस्तै निरोगी र हँसिलो–रसिलो रहिरहन सक्ने उपायहरू हामीले गर्दै जानुपर्छ । ती बाका छोरा रहेनछन् । एकजना छोरी रहिछन् । उनले आफ्नै परिवारमा राखेर बाको हेरविचार गर्नेगरेकी रहिछन् । हाम्रो समाज पुरुषप्रधान भएकोले प्रायः छोराले नै आमा–बाबुलाई पाल्ने चलन छ । तर, छोरा नराम्रो नियतको रहेछ भने त उसले पालेजस्तो गरिटोपले पनि बाबु–आमालाई नानाभाँतिका दुःख दिइरहन सक्छ । मैले आफ्नो किशोरावस्थामा नै एकजना छोराले आफ्नो बाबुको टाउकोबाट र जीउको अरू भागबाट पनि तररर रगत चुहुने गरी चुटेको समेत देखेको थिएँ । तर अहिले उल्लेख गरेका बाकी छोरी बेस रहिछन् र पो त्यति बूढा बाबुलाई आफूकहाँ राखेर पालिरहेकी हुन् । मुख्य कुरा मानिस दुर्जन नभएर सज्जन हुनुपर्छ, असल उद्देश्य भएको व्यक्ति हुनुपर्छ । त्यसो भए ऊ पुरुष वा महिला जो भए पनि समाजमा उसले असल उदाहरण नै प्रस्तुत गरिरहने हुन्छ ।
मैले ती बासँग सोधें– “बालाई खान–लाउन र बस्नवर्न केही दुःख–कष्ट छैन त ? आनन्द मानेर, मन रमाएरै दिन बिताइरहनुभएको छ, होइन ?” उहाँले भन्नुभयो– “अरू सबै कुराले त आनन्दै छ बाबु, नुन एकथोक भने खानै पुग्दैन ।” नुन नपुगेको बेलामा थप्न लाउनुहुन्न त भनेर प्रश्न गरें । “माग्न त माग्छु, तर दिंदैनन् । हामी सबैलाई पुगेको नुन तपाईंलाई मात्र कसरी पुग्दैन ?” भनेर जवाफ दिन्छन् भन्नुभयो । बाको भनाइ सुनेपछि मैले बेलीबिस्तार लाउँदै बताएँ– “धेरै बूढो भएपछि हाम्रा आँखा, कान, नाक, जिभ्रो र छाला गरी पाँचवटै ज्ञानेन्ष्यिका शक्ति घटेर जान्छन् । त्यसैले त्यति नै नुन भएका दाल तर्कारी आदि नुनिला खानेकुराहरूमा अरूलाई भने नुन पुग्ने, तर तपाईंलाई भने नपुगेको जस्तो लाग्ने गरेको हो । नुनको मात्रा बढी भएमा हाम्रो रक्तचाप बढ्दैजान्छ र धेरै बढेमा मुटुको चाल बन्द भई ज्यानै जान सक्छ ।” बाले कुरा बुझ्नुभयो र भन्नुभयो –“ए, त्यसो पो रहेछ ।” मलाई के लाग्छ भने हामीले केटाकेटी र तन्नेरीहरूमा मात्र होइन, बूढाबूढीहरूका बीचमा पनि स्वास्थ्यसम्बन्धी शिक्षाको प्रचार गर्ने गर्नुपर्छ । विशेष गरी बुढेसकालमा हुनसक्ने किसिमका रोगहरूबारे उहाँहरूलाई बताउने गर्नुपर्छ ।
एकजना साठी नाघेका बाका कपाल कालै थिए, फुलेका थिएनन् । मलाई अचम्म लाग्यो । मैले बुढेसकालमा पनि कपाल हतपति नफुलेर कालै रहने जुक्ति के छ हँ बा ! भनेर सोधें । उहाँले भन्नुभयो– मकै–भटमास आदि भुट्ने गरेको हाँडीको पिँधमा भएको मोसो दल्नुपर्छ । उहाँ ठट्यौलो स्वभावका हुनुहुन्थ्यो र अनेकथरी हाँस उठ्ने कुराहरू गर्नुहुन्थ्यो । उहाँको उत्तर सुनेपछि म मरीमरी हाँसें । उहाँ आफू मात्र हाँस्ने होइन, अरूलाई पनि हुनुसम्म हँसाउन सक्नुहुन्थ्यो । उहाँको दीर्घायुको एउटा रहस्य हास्यरसप्रियता पनि थियो । अब म कति बाँच्छु र, मेरो मर्ने दिन आउनै लाग्यो, कति बाँचिरहनु, हे भगवान् ! अब त मलाई लगे पनि हुन्छ, यो संसार दुःखको सागर त हो नि ‘ जस्ता भावनामा बग्नेहरू वा पीर लिनेहरूको र आयु साँच्ची नै छोट्टिंदै जाने हुन्छ र उनीहरू अल्पायुमै वा चाँडो–चाँडो मर्दै जान सक्छन् । तर आनन्दी स्वभावकाहरू प्रायः दीर्घजीवी हुनेगर्छन् । एकजना बूढा बा बित्नुभएका बेलाको बेहोरा म सधैं सम्झिरहन्छु । उहाँले आफ्नो प्राण जान लाग्यो भन्ने थाहा पाएपछि हँसिलो अनुहार लाएर हात जोरी वरिपरिका सबैलाई नमस्ते गर्दै ‘अब जाऊँ है ?’ भन्नुभयो । त्यतिकैमा उहाँ बितिहाल्नुभयो । हामी सबैले यस्तै उदाहरणीय अन्त्य अर्थात् जीवनबाट बिदाइ किन नरोज्ने ?
एकजना असी नाघ्नुभएकी आमालाई उहाँको डाक्टरले सल्लाह दिनुभएको रहेछ– “खाली हात कहिल्यै नबस्नुहोला । ठूला–गाह्रा काम गर्न नसके बत्ती कात्नेजस्तो सजिलो काम गरे पनि हुन्छ ।” नभन्दै आमा दिनहुँ बत्ती कात्ने गर्नुहुन्थ्यो । पढ्ने, लेख्ने, बुन्ने, सिउने, पात गाँस्ने, फूलबिरुवा लाउने वा गोडमेल गर्ने, बालखहरू हेर्ने बिरामी स्याहार्ने, घरेलु ओखतीहरू बनाउने‘ इत्यादि थुप्रै किसिमका कामहरूमध्ये जुन–जुनमा जतिसम्म जसलाई जानकारी छ त्यसैका आधारमा रोजेर रुचिअनुसारको काम हामीले गर्ने गर्नुपर्छ । समय सित्तै खेर फाल्ने गर्नुहुँदैन । अल्छी भएर, चाहिनेभन्दा बढी सुतेर पनि बेला बिताउने गर्नुहुन्न । जीवनलाई व्यर्थै जान नदिई समाजको हित हुने कुनै–न–कुनै काममा जतिसम्म सकिन्छ लागिरहने बानी गर्नाले एकातिर आयु लम्बिन पाउँछ भने अर्कोतिर निरोगी रहन सकिन्छ । कुसङ्गतबाट जोगिएर सत्सङ्गतमा समय समर्पण गर्न सक्नु पनि सानो विशेषता होइन । त्यस्तो बानीबाट पनि आरोग्य र आयु दुवै पक्षलाई लाभ पुग्ने गर्छ ।
एकजना आमाले अस्पतालमा स्वास्थ्य–परीक्षण गराउन जाँदा कुनै पटक राक्षसजस्ता र कुनैपटक देवताजस्ता डाक्टर फेला परेका कुरा मलाई सुनाउनुभएको थियो । त्यसैले, डाक्टर नर्स आदि स्वास्थ्यसेवीहरूले आफ्नो विषयमा विशेषज्ञ भएर मात्र पुग्दैन । उहाँहरूले जनताप्रति सद्व्यवहार गर्न पनि सिपालु हुनुपर्छ र त्यसको निम्ति हृदयदेखि नै इच्छुक समेत रहनुपर्छ । जनताले साँच्चि कै हार्दिकता र नक्कली र देखावटी व्यवहारलाई राम्रैगरी चिन्न अथवा छुट्याउन सक्छन् भन्ने वास्तविकतालाई कहिल्यै बिर्सनुहुँदैन । रोगीहरूको मनमा राम्रो प्रभाव पार्न सक्ने चिकित्सक र परिचारिकाहरूले आफूले हेरेका रोगीहरूमध्ये धेरैजसोलाई निको पार्न र उनीहरूका आफन्तहरूलाई सन्तुष्ट तुल्याउन सक्नुहुनेछ । यसबाट जनतामा उहाँहरूको प्रसिद्धि र प्रभाव झन्झन् बढ्दै जाने हुन्छ ।
स्वास्थ्यसेवामा मात्रै हैन, समाजका जुनसुकै काममा पनि जनताप्रतिको सद्व्यवहारले राम्रो र दुव्र्यवहारले नराम्रो प्रभाव पार्ने गरेको हुन्छ । ग्राहकहरूप्रति रुखो–खस्रो व्यवहार गर्ने पसलेहरूकहाँ मलाई किन्न मन लाग्दैन । ग्राहकप्रति नरम–मीठो व्यवहार गर्ने साहूहरूकहाँ आफू मात्र नगएर मैले अरूलाई पनि फलाना फलानाको पसलमा किन्ने गर्नु बेस होला भन्ने सल्लाह दिनेगरेको छु । अरूहरूले पनि प्रायः यसै गर्ने गरेका हुन्छन् । शिक्षालयहरूबारे पनि यस्तो भएको पाइन्छ । विद्यार्थीहरूप्रति ननिको व्यवहार हुनेगरेका विद्यालयहरूको हामी सिफारिस गर्नै सक्तैनौं भने उनीहरूप्रति राम्ररी हेरविचार पु¥याउनेहरूको भने खुसीसित प्रचार गरिदिने गर्दछौं । राजनीतिक दलहरूप्रति पनि हाम्रो मूल्याड्ढन मुख्य त जनताप्रतिको उनीहरूको व्यवहारमा निर्भर रहेको हुन्छ । जनताको सेवा गर्न खोज्नु असल उद्देश्य हो भने उनीहरूलाई छल्ने–छकाउने गर्नु जनविरोधी भूमिका खेल्नु हो ।
यसरी उदाहरण त जति थपे पनि हुन्छ । तर मुख्य कुरा के हो भने व्यक्तिको जीवन लामो–छोटो वा निरोगी–रोगी भएजस्तै समाजको जीवन पनि दुवै किसिमको हुन्छ । हाम्रो समाजलाई स्वस्थ र स्थायी रूप दिने हो भने जेठा नागरिकहरूप्रति हामीले आदर्श उदाहरणहरू प्रस्तुत गर्दै जाने प्रयत्न बढाउनुपर्छ । त्यसोभए आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने हाम्रा पर्वले पनि माता–दिवस र पिता–दिवसका रूपमा संसारभरि नै सारै राम्रो प्रभाव पार्दै जानसक्छन् । हामी संसारभरकै जेठा–जेठीप्रतिको हेरविचार र सद्व्यवहारप्रति मानवजातिकै ध्यान तान्न सफल हुनेछौं ।
– वीरगञ्ज
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)