कथा : आधुनिक नेताको अवतरण

~प्रदीप नेपाल~

२०६० सालको वैशाखको कुरो हो यो। मौसम नराम्ररी बिग्रिएको थियो। चैतमा पनि नचलेको हावा हुडरीले धर्तीलाई तहसनहस पारेको थियो। मडारिएको बतासले मान्छेलाई फनफनी घुमाएर मार्ने, ठिङ्ग उभिएको रूखलाई मर्याक मुरूक पारेर लडाइदिने अनि ओतमा बसेको बेसहारालाई कच्याक किचिक पारेर मारिदिने काम गरिरहेको थियो।

“यस्तो मौसम त यो असी वर्षमा कहिल्यै देखिएन,” काका भुयुमानले लामो सुस्केरा तानेर भने। काका अरू पनि केही बोल्ने कोशिश गर्दैथिए, हठात् आइलागेको माइकको हल्लाले उनलाई अर्को वाक्यमा टेक्न दिएन। माइक कराउदै भुयुमानकै छेउमा आयो। भुयुमानले पुलुक्क माइकलाई हेरे। त्यो भन्दै थियो, “अनुरोध, अनुरोध, अनुरोध। अग्रगामी सत्ताका प्रतिनिधि, पार्टी जिल्ला कमिटीका सचिव कामरेड विशाल भोलि दिउसो ठीक २ बजे नरबिजेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा सार्वजनिक हुनुहुँदैछ। अन्तरिम सरकार, गोलमेज सम्मेलन र संविधान सभाबारे पार्टीका धारणाहरू सुन्न भोलि नरबिजेश्वरी स्कूलको प्राङ्गणमा उपस्थित भैदिनु हुन हार्दिक अनुरोध छ – आयोजक – अनेरास्ववियु क्रान्तिकारी प्रारम्भिक कमिटी। अनुरोध अनुरोध अनुरोध …।”

काका भुयुमान स्तब्ध भए। ‘विशाल’ यो नाम उनी कसरी बिर्सन सक्थे र?

बस्तीमा सबैका काका भुयुमानको उमेरले चार कोरी नाघिसकेको थियो। गाउँमा प्रवेश गर्ने पहिलो मान्छे त भुयुमान थिएनन्। तर उनैको सम्मान गाउँमा सबैभन्दा माथि थियो। उहिले देश ओरालो लाग्न थालेको बेला भुयुमानका जेठा छोरा पनि पहाडबाट ओरालो लागेका थिए र एक दर्जन गाउँलेसँग मिलेर पट्टेर जङ्गलको फँडानी गरेका थिए। भुयुमानका छोराहरूले २०२५ सालमा बाबुआमालाई पहाडबाट झारेर धान खाने खेतको बीचमा बसाएका थिए। भाग्यमानी रहेछ गाउँ। भुयुमान झरेपछि पन्ध्र वर्षमा गाउँले चिताइनसक्नुको चोला फेर्यो। कुनै दिन यहाँ जङ्गल थियो भनेर मान्छेले अनुमान गर्ने ठाउँ पनि रहेन। उही नामले वनको झझल्को दिन्थ्यो कि! गाउँको नाम थियो वनघुसरी – अर्थात् वन पस्ने ठाउँ।

गाउँलाई अर्द्धनगरी बनाउन भुयुमानले आफ्नो शरीरको भएभरको पसीना बगाए। ३० सालमा काका आफैंले हुलाक बोकेर ल्याए सदरमुकामबाट। ३२ सालमा नक्सलपन्थी आउदैछन् रे भन्ने हल्ला आएपछि काकाले चौकीलाई घिसार्दै ल्याए। कसरी पट्याउथे बुढाले हाकिमहरूलाई! धुनमा घुन जसरी लाग्नसक्ने क्षमता थियो काकामा। प्रधानपञ्चदेखि प्रधानमन्त्रीसम्मलाई सरोबर ठान्ने आत्मविश्वास थियो काकामा।

पन्ध्र वर्षको अवधिमा भुयुमान काकाले ७ओटा सरकारी कार्यालयका शाखा, उपशाखा गाउँमा भित्र्याए, वनघुसरीलाई बजार पसरी बनाए र आफूलाई गाउँको लोकप्रिय काका बनाए।

भुयुमानको पसिनाले गाउँ पनि लुछुप्प भिजेको थियो। दुधडेरीको मालिक, सेलर मिलको साहु बजारका धनी र प्रतिष्ठित नागरिक मानिन्थे। तिनले समेत भुयुमानलाई पर्धानपञ्चमा उठ भनेर कर गरे। तर भुयुमान पर्धानपञ्च हुन तयार भएनन्। चुनाव लडेका भए जित्थे सजिलै भुयुमानले। जिल्लाका सूर्यबहादुर र लोकेन्द्रबहादुर दुबै पार्टीका नेताहरूले भुयुमानलाई आफ्नो बनाउन ज्यानफाला कसरत गरेका थिए। गाउँघरमा लुकी छिपी काम गरिरहेका कम्निस्ट र कांग्रेसहरू पनि भुयुमान पर्धानपञ्च भैदिने कुरासँग सहमत भएका थिए।

तर भुयुमान पर्धानपञ्च हुन मानेनन्। त्यसैले उनी भए सबैका काका। काका हुन थाल्दा भुयुमान ६० वर्षबाट भरखरै उकालो लागेका थिए। चुनाव जितेको पर्धानपञ्चले भुयुमानको हातबाट आशिर्वादको टिको थापेर आफ्नो कार्यालयको कुर्ची छोयो।

त्यसपछिको १० वर्ष भुयुमान काकाले पनि देशसँगै मिलेर हडर खाए। देशको जो गत् सो गत् आफ्नो पनि भनेर काकाले मनलाई शान्त्वना दिए। ०४६ सालको आन्दोलनको थालनीमा “आ, क्या गर्या होला यी केटाहरूले” भनेर भुयुमानले सुस्केरा छोडे। तर हातमा कम्निस्ट र कांग्रेसको झडा बोकेर खुशीले नाच्दै गाउदै, जिन्दावाद र मुर्दावादको नारा लाउदै सडकमा निस्किएका युवालाई गाली गर्न उनको मनले मानेन। उहिले आफ्नो उमेरमा जिन्दावाद र मुर्दावादको नारा लाएको सम्भि्कए काककाले। उनलाई रमाइलो लाग्यो। आफैंले ०३६ सालमा थापना गरेको स्कूलमा आएर जिल्लाका नेताहरूले पंचायती बेवस्था फाल्ने घोषणा गर्दा आश्चर्यले काकाका आँखालाई ठूलठूला बनाइदिएका थिए।

“नचाहिदो कुरा गर्छन् यिनेरू पनि,” काकालाई नेताको बोली पत्यारिलो लागेन। काकाले सेलर मिलको साहुसँग गन्थन गरे, “राजासँग प्रहरी छ, सेना छ, बन्दुक र गोलीगट्टा छ। ठ्याङ ठ्याङ मान्छे मार्न थालिसक्या छ सरकारले। कहाँ यत्ति सजिलै ढल्छ पंचायती बेवस्था! केटाहरू कुरा बुझ्दैनन्, तेस्सै उल्किन्छन्।

“खै काका, बेवस्था त ढल्छ भन्छन् सबैले। तेसैले मान्छेहरू भित्रभित्रै कम्निस र कांग्रेसमा बाँडिइसकेका छन्,” मिल साहुले ठूलो रहस्यको कुरो सुनाए जसरी खुसुक्क भन्यो। तर अहं, भुयुमानले फिट्टै विश्वास गरेनन्।
तर बेवस्था फेरियो। भुयुमान काका छक्क परे। काकाले बीच बजारमै भने, “यत्ति सजिलै ब्यवस्था ढल्ला भन्ने विश्वासै थिएन। जनताले बेवस्था मन पराएका रहेनछन्। तासको महल जसरी गर्ल्याम्म ढल्यो बेवस्था। लौ नानी हो, अब तिमेरका दिन शुरू भए, हामी त साह्रै बुढा भएछौं। हेर्दा हेर्दै थाहै नपाई तिमारले यत्रो बलियो बेवस्था ढालिदियौ।”

बहुदलमा पनि भुयुमान काकालाई आफ्नो बनाउन पार्टीका स्थानीय नेताहरूले बेस्सरी जोड गरे। असल मान्छे कसलाई चाहिदैनथ्यो र! तर काका पटक्कै टसमस गरेनन्। “मैले गर्नसक्ने जति गरें” काकाले घोषणा गरे, “अब तिमेरको पालो। झगडा नगरी काम गर। गाउँको मुहार फेर। जननीको ऋण तिर। मलाई पार्टी सार्टीतिर लाग्नु छैन – तर म तिमेरू दुवै पार्टीका मान्छेलाई राम्रा काममा सघाउन पनि छोड्ने छैन।”

पाठकलाई थाहा भैहाल्यो – गाउँमा कम्निस्ट र कांग्रेसका दुइटा पार्टी मात्र थिए त्यतिबेला।

काका भुयुमानले आफ्नो बचन राखे। उनी उत्तिकै सकृय रहे। त्यसैले काका कुनै पार्टीका थिएनन् – तर उनी सबै पार्टीका भए।

जीवित छंदै भुयुमानले सम्मानको सर्वोच्च उँचाइ छोए। तीन महिना भित्रै गाउँमा पाँच पार्टी पुगिसकेका थिए। उनले पाँचै पार्टीका नेतालाई घरमा बोलाएर मनको गुनासो पोखे, “पंचायत ढल्दैनथ्यो जस्तो लाग्याथ्यो, त्यो ढल्यो। अबत बौदल आउदै आउदैन जस्तो लाग्याथ्यो। त्यो पनि आयो। अब हामी बुढो भएछौं, कुरो बुझ्न नसक्ने भएछौं। उहिले जति सकें त्यति गरें। अब तिमीहरूले काम अङभर गर …।”

“काँ तेसो भनेर हुन्छ र काका, अझै कति हो कति गर्न बाँकि छ तपाईंले,” वर्ष तीसेकको युवाले बीचैमा कुरा काट्यो।

“बुझ्छु, तेरो कुरो बुझ्छु म,” काका भुयुमान खिसिक्क हाँसे। सत्तरी वर्ष नाघिसक्दा पनि उनका दाँतहरू सद्दे नै थिए। “साठी वर्ष भन्दा माथिकालाई हामी मार्दैनौं भन्न खोज्या होलास्। राजनीति नखेले पनि त्यस्तो उल्लु कुरो नबुझ्ने मान्छे होइन के म,” भुयुमानले आफू सँगसँगै अरूलाई पनि हँसाए।

“हेर केटा हो, म तिमीहरू भन्दा ठूलो हुँ। तिमेरको राजनीतिलाई राजनीतिमै राख। चुनावमा पार्टी उठाउ। तर गाउँको विकासका लागि एक अर्काको काँध थाम। गाउँमा एउटा टेलिफोन ल्याउनु छ, यो धुले बाटोमा ग्राभेल हाल्नुछ। मर्नुभन्दा अघि यति दुइ काम भैदिए सन्तोकले मेरो सास जानेथियो।

वातावरण बोझल र संवेदनशील भयो।

२०५६ सालको चुनाव सकिइसकेको थियो र नयाँ सरकार पनि गठन भैसकेको थियो। भुयुमान काका लौरो टेकेर हिंड्ने भएका थिए। तर उनका दाँत अझै झरेका थिएनन्।

“केटाहरूले गरे मील माइला,” मील साहुको पसलमा चढ्दै भुयुमानले भने, “जे भा नि जब्बर छन् हाम्रा गाउँका केटा। चार लाइनको टेलिफोन ल्याइछाडे।”

“तपाईंको मनले सन्तोक पायो होइन काका?” मील साहुले पनि खुशी हुंदै भन्यो, “एउटा टेलिफोन सार्वजनिक राख्ने भएछन्, बाँकि दुइ बैंक र प्रहरीले राख्ने रे। एउटाअहिलेलाई त्यत्तिकै राख्ने भएछन्।”

“ठीक छ, भर अभरमा खबर गर्न पाइयो, यत्ति भए पुग्यो,” भुयुमानले लामो सास ताने।

“ए, काकालाई मिठो च्या ल्या ल्या,” मील साहुले कसैलाई सम्बोधन गरेनन्। तर काकालाई थाहा थियो आफ्नी बुढीमाउलाई काम अह्राउदा मील साहु यसै भन्थ्यो।

“चियाको कुरो छोड माइलाइ, यता आउ छ,” भुयुमानले बोलाएको साउती सुनेर मील साहु छक्क परे।

“यो पढ त,” भुयुमानले कापीको च्यातिएको पन्ना साहुलाई दिए। “सुस्तरी पढ।”

साहु छक्क परे। भुयुमानलाई लेखपढ गर्न आउँथ्यो। उनको आँखासँग पनि कुनै समस्या थिएन।
चिठी यस्तो थियो,

“श्री भुयुमान,

उप्रान्त क्रान्तिकारी सत्ताबाट तपाइलाई आदेश दिइएको छ कि आजदेखि तपाईं चौकीमा नजानु होला। तपाईंका नातीहरू बेस्सरी पैसा कमाउछन्। अहिले रू. ५०,०००।– (अक्षेरिपी पचास हजार रूपिया मात्र) हाम्रो सत्तालाई चन्दा दिनु। नदिएमा भौतिक कारबाहीका लागि तयार रहनु।

उही विशाल।”

काका तपाईं काठमाडौ जानोस्,” पत्र पढि नसिध्याउदै मील साहुले भने।

“नगए मार्छन्?” भुयुमानले मील साहुलाई बोल्न दिएनन्, “मारे पनि मारून्। म बस्ती छोड्दिन।”
थाहा पाउने जति गाउँलेले अनुनय विनय गरे – तर भुयुमान काकाले टसमस गरेनन्। तीन भाइ नाति काठमाडौमै बस्थे। तिनीहरू हजुरबालाई लिनै आए। अहं, भुयुमान काका डेगै चलेनन्। “मेरो चोला यहीं उठ्छ,” काकाले दह्रो स्वरमा भने, “को र’छ त्यो विशाल भन्ने। एकपल्ट तेसको मुख त हेरौं।”

भुयुमान काकाले विशाल भन्ने मान्छेलाई भेट्न पाएनन्। बीचमा केही भयो होला। त्यसैले हुनुपर्छ उनीसँग पचास हजार माग्न कोही आएनन्।

भुयुमान काका छक्क परे माइकको सूचना सुनेर। चार वर्षदेखि आफूले पर्खिइरहेको विशाल भन्ने केटो २०६० सालको वैशाख महिनाको मातातिर्थ औंशी पारेर बाबुलाई भेट्न आइरहेको हो जस्तो काकालाई लाग्यो।

भुयुमान काकाले दौरासुरूवाल लाए आमसभाका दिन। प्रायः उनी सधैं कमेज सुरूवाल लाउने गर्थे। एक्कासी गीत सुनियो भुयुमानको घरमा। हिजोकै माइक गाइरहेको थियो गीत “आयो आयो नेपालमा प्रचडपथ आयो, खुशी छायो गणतन्त्रको नयाँ उज्यालो आयो”। भुयुमानको मनमा अलिकति रमाइलो र अलिकति अनौठोको चुकौनी घालमेल भयो। स्कूल लाग्दा केटाकेटीहरू पहिले श्री मान गम्भिर नेपाली गाउँथे, त्यस्तै यो नयाँ गीत होला जस्तो लाग्यो काकालाई। उनी खिसिक्क हाँसे।

खुट्टामा काने जुत्ता सिउरिएपछि भुयुमान काका घरबाट बाहिर निस्किएर स्कूलको आँगनतिर लागे।

स्कूलको आँगनमा एकाध सय मान्छे भरिएका थिए। स्कूल विदा गरिएको थियो, त्यसैले किताब कापी नबोकेका केटाकेटीहरू मात्र त्यहाँ भेला भएका थिए। काकालाई जोकोहीले पनि मञ्चमा लगिदिन र बसाइदिन सक्थ्यो। तर काका त्यता लागेनन्। उनी मञ्चतिर आँखा बढारेर यसो गन्थन गर्न मिल्ने गाउँले खोजे। मील साहु एउटा किनारमा उभिएका थिए। काका त्यहीं पुगे।

“अब आउदै हुनुहुन्छ क्रान्तिकारी नयाँ सत्ताका प्रतिनिधि कामरेड विसाल!”
काकाले अरू केही सुनेनन्।

काकाका पाका आँखाले ठम्याएनन् कि क्या हो! मंचमा मुठी उठाएर उभिएको केटो चिने चिने जस्तो लाग्यो भुयुमानलाई। उनले आँखा निचोरेर हेरे।

“होइन ए माइला, यो केटो हाम्रो झुप्पे जेठाको छोरो होइन?” काकाले छेउमा उभिएको मील साहुलाई कोट्याए।

“केटो त उही, तर नाम भने अर्कै छ,” मील साहु पनि अलमलिए।

“ए डेरी कान्छ,” भुयुमानले डेरीवाला साहुलाई झक्झक्याए, “हैन यो हाम्रो झुप्पे जेठाको छोरो होइन, तँ त चिन्छस् झुप्पेका सन्तानलाई।”

“किन नचिन्नु? झुप्पे दाइको साहिंलो छोरो त यो।”

“थुइक्क मोरा,” भुयुमान काका आफैंसँग रिसाए, “को को न माओवादी आउला भन्या त तेइ मोरो रत्ने पो रछ, पाजी!”

भुयुमान भुत्भुताएको देखेर घाम हतार हतार पश्चिमतिर लाग्यो।

तानसेन
२३ वैशाख ०६०

(स्रोत : कथाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.