~राजेन्द्रप्रसाद अर्याल~
आगोमा फ्याकिएको रवरझैँ खुम्चिएको
नीमको मन्जनभन्दा तीतो
पिठ लागेको खच्चरझै अरर्रिएको
ऐनासरी झर्लम्म फुटेको
हुरीले उँडाएको पत्कर बनी
कोलमा निबुवा झैँ निचोरिन बिवस
दु:खी र उदास जिन्दगीमा पनि
जीजीविषा पलाउँदो रहेछ।
दमको रोगिलेझैं हर पल सुसाउँदै
गण्डकीको जलसरी प्रबाहित हुँदै
दिनरात म आफ्नो कर्तब्यमा हिडिरहेँ
मिठामिठा कल्पनाहरू सजाउँदै
खुसी जीवनको तुईन तर्ने लालसामा
सृष्टिकै परम सुन्दरी एउटी परीलाई
मस्त जवानीको
मादकपूर्ण बैँस मात्र हैन
हलक्क फक्रेको
जिन्दगीको दरवार नै सुम्पिदिएँ।
समय बग्दै गयो, बहँदै गयो
अहोरात्र उनलाई मैले
फूलको आँखाले मात्र हेरिरहेँ
काँडाको आँखाले उनले
क्रमश: हेर्न सुरू गरिन्
बिद्रोही भावना दवाएर
शालिकजस्तै मौन बसेँ
दिलको सदनमा उनैलाई सजाउँदै
मायाको सलेदो लगाउँदै गएँ
छाडिन प्रेमको सलाइ सल्काउन
पिरतीको बिउ रोपि रहेँ
अफसोच !
मौरीको घारमा
बारुलाको साम्राज्य जमाईन्
फलाम बनेर शिसामा हिर्काईन्
चक्नाचुर पारिन पिरती
शुप्रभात हुनु अगाडीको रातजस्तै
निष्पट्ट अन्धकार भयो संबन्ध।
ममाथि दुखको आकाश
अनायासै घोप्टियो
अदृष्य नियतिको कालो छायाँ
टाउकोमाथि मडारियो
अपमानको तिखो काँड
कोमल हृदयमा रोपियो
आँसुमा तैरिएको यो जिन्दगीमा
बिरक्तिको घुम ओडेर
वियोगको रनाहमा छटपटाउँदै
किमकर्तब्य विमुढ बनी
पानी मरेको घट्टसरी
चुपचाप छु म आज।
उनको ब्यबहार संझिउँ- तडपन बढछ
अनुहार संझिउँ- धडकन बढछ
यो उदास बर्तमानमा
मनको सारङ्गीले
बिरह धुन बजाई रहेछ
कर्णाली बौलाए झैँ
नमिठो भाकामा
हृदय निरन्तर सुसाइ रहेछ
आगोको बिच्छ्याउनामा
परालको सिरक ओढेर
आफुजस्तै च्यातिएको डोकोमा
भाग्य थाप्न अभिसप्त छु
तर, तर, उनी भने
मेरो जिन्दगी जलेको
न्यानो रापमा रमाई रहिन्
दशैँमा खसी ढाले झैँ
मलाई ढाली गईन्।
###
नोभेम्बर १८ १९१७
—राजेन्द्रप्रसाद अर्याल
गोरखा बजार
हाल – म्याडिसन, विस्कन्सिन,अमेरिका ।
(स्रोत : रचनाकार स्वयंले पठाउनुभएको । )