कथा : तिहार

~हरि कंडेल~

घर-अगाडि आँगनमा सयपत्री र मखमलीका फूलहरु फुलेका थिए। आकाशबाट कालो बादल हराएर आकाश कंचन र सुन्दर निलो देखिन्थ्यो । हिलो बाटो सुकेर सुख्खा र सफा भएको थियो । खेतमा धानका बालाहरु सुन जस्तै पहेँलो भएर लहलह झुलेको थियो । दसैं सकिएपछि लट्टाईमा बाँधेर राखेको पिङ बल्ल खोल्न थालीएको थियो । केटाकेटीहरुको पिङमा भिड उस्तै थियो । आमा भित्रबाट बोल्दै हुनुहुन्थ्यो, ” आज लक्ष्मी पूजा , पर्सि भाइटीका बजार जानू पर्ने टीकाको सामान लिन । यी केटाकेटीले पनि मलाई केही कुरामा सघाउने होइन।”

दिदी बोल्नु भयो ” आफ्नो छोरालाई केही भन्नू छैन ?तपाईं कराउने मलाई मात्र त हो नि “?

उसको म प्रतिको आखेँ बानी मलाई सारै रिस उठ्थ्यो। म उसलाई पिट्न गएँ । पिट्दै भने ” तँ आखेँ, तैले बिहान देखि चाहिँ के गरेकी छ्स् र ?”

हामी दिदीभाइको झगडा नै भयो। दिदी र मेरो चर्को आवाज सुनेपछि..बिचरा आमा हामीलाई छुट्टाउनु कि आफ्नो काम गर्नु ?दगुर्दै बाहिर आउनु भयो र एउटा लौरो समाउदै भन्नुभयो
” काम गर्नु छैन खाली लड्ने मात्र हो ? एउटालाई पुर्व अर्कोलाई पश्चिम राख्नु पर्ने बल्ल थाहा हुन्थ्यो “

म आमाको आवाज सुन्ने बित्तिकै घरबाट भागेँ र पिङ खेलेको ठाउँ तिर गएँ। मैले त्यहीँबाट हेर्दै थिएँ दिदीले पिटाई खाएको मलाई औधी खुशी मिल्यो । मन मनै भने
” बल्ल खाई। “

उमेर १६ बर्षको हुँदा पनि केटाकेटी पन कत्ति गएको थिएन । एउटै छोरा साच्चिकै माया नै मायाले हुर्किएको थिएँ । दिदी जन्मिएको ५ बर्ष पछि मेरो जन्म भएको थियो । दिदी मलाई आफ्नो सानो भाई भनेर जिस्काएको जिस्काई गर्नुहुन्थ्यो । मलाई एकैछिन देख्नु भएन भने पनि आत्तिनुहुन्थ्यो । मलाई भने दिदीले जिस्काएको पटक्कै मन पर्दैन थियो ।

भुसको आगो पो दिगो हुन्थ्यो । मेरो र दिदीको झगडा त परालको आगो भन्नू कि कागजको पन्नामा लागेको आगो, न निभ्न समय लाग्थ्यो न बल्न ।

दिउँसो १२ बज्दै थियो । मैले सोधेँ
” दिदी मलाई के किनि दिएकी छस् ..?”

सायद दिदीको बिहानको रीस नमोरेर होला , ऊ झर्किदै बोली “कति पैसा दिएको छ्स् र ?”

मैले हाँस्दै भने ” दसैंमा निधार बेचेको पैसा के गरिस् “?

उ चिच्याउन थाली ” हेर्नू न आमा निधार बेचेको भन्छ “

आमालाई हाम्रो झगडाले दिक्क हुनुभएकै कारण झर्किँदै बोल्नु भयो ” होइन यी कुकुर बिरालोलाई के भयो फेरि ?”

दिदी रुञ्चे स्वरमा बोली ” मलाई जिस्काउँछ “

मैले आफ्नो सुरक्षा गर्दै भने ” होइन आमा मैले के किन्दिस् भनेर सोधेको मात्र हुँ । आखेँ त्यसै कुरा लगाउँछिई “

आमा उल्टै मलाई नै तर्काउँदै बोल्नु भयो ” कति बोल्छ यसको के कमाई छ र किनेर ल्याउन ?”

मैले आमालाई उसको आयस्रोत देखाउँदै भने ” दसैंमा टीका लगाएर १००० रुपैयाँ बनाएकी छ ?”

दिदी प्रतिकार गर्दै बोली ” खुव आफूले कत्ती नै १००० रुपैयाँ दिने जस्तो पोहोर साल तिहारमा बुबाले दिएको पैसा पनि पूरा नदिएको मैले भुलेकी छु र ? “

” हुन पनि पोहोर साल बुबाले ५०० रुपैयाँ दिदीहरुलाई दिनु भनेर दिएकोमा मैले झन्डी बुर्झा खेलेर ३०० हारेको थिएँ र २०० मात्र दिएको थिएँ । बाबालाई सुनाई दिएकी थिइ र मलाई बाबाले खुब गाली गर्नु भएको थियो । मैले गाली खाँदा खुब खुशी हुन्थी त्यहीँ भएर पनि ऊ सँग झगडा हुन्थ्यो ।”

त्यतिकैमा छिमेकी काकी पनि आउनु भयो।

आमा बोल्नु भयो ” हेर त मिना कुकुर र बिरालो जस्तै भए म त हैरान भएँ यिनिहरुसँग ..!

मिना आन्टी बोल्नु भयो
” अब रेणुको बिबाह गरिदिनु सबै ठिक हुन्छ”

मिना आन्टी मेरो लागी भगवान जस्तै बनेर आउनु भयो । मैले उहाँको कुरामा समर्थन गर्दै भने

” यसलाई त आन्टी ,बिहे गरेर नौँ डाँडा पारी दिने हो “

रिसाएको गोरुको जत्रो आँखा बनाउँदै दिदी बोली ” ईश गर्छु बिहे मरेपनि गर्दिनँ । म यहीँ घर बस्ने हो । तैले गर बरु बिबाह “

त्यतिकैमा बुबा आउनु भयो । सबै चुपचाप लाग्यौं । बुबाले पटकाहरु ,मैनबत्ति आदि समान ल्याउनु भएको थियो । म पनि गाउँ तिर खेल्न गएँ । कतै तास खेल्नेहरुको जमात त कतै झन्डी ,बुर्जा खेल्नेहरुको जमात थियो । तिहारको चहलपहल निकै रमाइलो थियो । बिस्तारै सुर्यले आफ्नो किरणहरु धर्ती सम्म पुर्याउन असमर्थ हुँदै थियो । गोधुली साँझ झन् बत्तीहरुको उज्यालोले झन् रमाइलो देखिन्थ्यो । छाँयाहरु लामा लामा भएका थिएँ । बिस्तारै पूर्वबाट उदाएको सुर्यले डाँडाभित्रबाट क्षितिजमा बिदाइको संकेत गरिसकेको थियो । जब गोधुली भयो दिदी र आमाले घरमा दियो बत्ती सबै बाल्नु भयो । हाम्रो घर पूरै झलमल्ल भयो , झ्याल ढोका सयपत्रीका मालाले सजिएका थिए । दिदीबहिनी भएको घर कस्तो रमाइलो हुने । बाहिर बरन्डाबाट कोठा भित्र सिंढी देखी छत सम्म उज्यालो थियो । त्यो मात्र नभएर बिज्ञानले दिएको आधुनिक बत्तीहरु बाहिर र भित्र झिलिमिली बालेर सजाइएको थियो ।साँच्चै मेरो घर त्यो रातीमा पनि सुर्य जस्तै चम्किलो देखिएको थियो ।लाग्थ्यो आज स्वर्गको एक टुक्रा धर्तिमा प्रवेस गर्यो भने त्यो मेरो बासस्थान थियो । यस्तै आभाष हुन्थ्यो।

खाना खाएर दिदी, बुबा ,आमा टिभी कोठामा टिभी हेर्न थाल्नु भयो । म भने देउसी भौँली खेल्ल निस्किएँ । हाम्रो घरमा पनि देउसी भौली खेल्नेहरु आउने जाने क्रम जारी थियो । तर हाम्रो घरको भेदभाव भनु या संस्कार दिदीलाई रातीमा हिड्न बन्देज थियो । बुबाले गाली गर्नुहुन्थ्यो । ” दिदी देउसी भैली खेल्न जान्छु भन्नू भएको मात्र के थियो । बाबाले प्रतिकार गर्दै भन्नू भयो
” तँलाई के कमि भयो र देउसी भैली खेल्न पर्‍यो”

बुबाको अगाडि बोल्ने हिम्मत हामी कसैमा थिएन । उहाँको आवाजसँगै दिदी मौन बस्नु भयो । म भने एउटा मात्र छोरा ,माया नै मायाले हुर्किएको भएर होला ,खासै डर लाग्दैन थियो । अलि अलि भने पक्कै डराउँथे ।

कत्ती रमाइलो थियो । सुर्यको प्रकाश धर्तीमा नभएपनि सबैको घरको उज्यालोले रात पनि दिन जस्तै भएको थियो । केटीहरु ठूलो पछ्यौरी ओढेर आउँथे । उनीहरूसँगै उनीहरूको पछ्यौरीमा पसेपछि जाडो त कहाँ भाग्थ्यो भाग्थ्यो ।

म सँग केटीहरू औधी मिल्थे । मलाई सबै केटाहरूले जिस्काउँथे , तर मैले कुनै केटीलाई कहिल्यै दुर्व्यवहर गरिन। हामी गाउँ भरी देउँसी भैली खेल्यौँ । रातको १ बजे देउसी भौली कार्यक्रम बन्द गरेर घर तिर सुत्न गयौं । म र अम्बिका सँगै आएका थियौं । अम्बिका हाँस्दै थिई ,कत्ती रमाइलो भयो है हरि ?

मैले पनि उसको कुरामा समर्थन जनाउँदै भने
” लुम्बिनी जाने हो भौलो खेलेको पैसाले “

अम्बिका पोहोर सालको कुरा स्मरण गर्दै भनी
” पोहोर त दाउन्ने मन्दिर गएर बनभोज खाएको निक्कै रमाइलो भएको थियो है ?”

मैले उसको कुराको प्रसङ्ग बदल्दै भने
” ओए तैले टीका कसलाई लगाइदिने होस् “

उसको गहभरी आँसु भयो । मलाई किन प्रश्न गरेँ जस्तै लाग्यो । मन खिन्न भयो । भर्खर दु:ख भुलेर हाँस्दै गरेकीलाई किन रुवाएँ जस्तै लाग्यो ” उसले आफ्ना आँसु पुछ्दै भनी ” कसैलाई लगाउँदिन । आफ्नो भएका दुई दाजुहरू खाडीमा छन् । मैले कसरी आफ्नो निधार रङ्गाउनु “? अर्को तिहारमा आउँछु भन्नू भएको छ अर्को तिहारमा रमाइलो हुन्छ ।”

मैले उसलाई जिस्काउँदै भने ” संदिपलाई बोलाएर लगाइदे “

उ हास्दै भनी “बेहोस हुन्थ्यो होला है “

म मज्जाले हाँस्दै भने ” तेरो नजिक आज पनि आउन खोज्दै थियो त ,त्यसै सँग बिहे गर “..

उसले मलाई प्याट पिट्दै , लजाउँदै भनी
” गर्छु खुब त्यस्ता पागल सँग .. मेरो मनको राजकुमार त हिरो जस्तै छ । “

उ केटी र म केटा भएपनि बहुत मिल्थ्यौँ । हाम्रो घर पनि आयो । हाम्रो कुराहरू यहीँ स्थगित गर्दै हामी आफ्नो आफ्नो घर तिर लाग्यौं ।

भोलिपल्ट दिउँसो सेलरोटी, फिनि, अर्सा साथै मिठाइका परिकार बनाउने काम भयो । साँझमा आँगन भरी फुलेका सयपत्री र मखमली फूल टिपेर दिदीले माला बनाउनु भयो। एकमुष्ट भन्नू पर्दा दिदीले भाइटीकाको पुरै तयारी सक्नुभएको थियो । सप्त रङ्गी टीका राख्ने टपरा दुना दिदीलाई गाँस्न नआएका कारण सबै आमाले गाँस्नु भएको थियो ।

भाइ टीकाको दिन बिहान म उठ्दा दिदी बिहानै उठेर नुहाईधुवाई गरेर पूजाको सामाग्रीहरु तयारी गर्दै हुनुहुन्थ्यो । आमा भान्सामा खानेकुरा तयार पार्न थाल्नु भएको थियो । बाबा भने फुपूको घर टीका लगाउन जानू भयो । म आमासँग चिया मागेर चिया पिएँ अनि चोक तिर खेल्न गएँ । ११ बजेको भाइटीकाको साइत थियो । ९ बजे तिर नै चोक पुरै शान्त जस्तै देखियो । कताकती देखिएका मान्छे सबै नयाँ लुगामा देखिन्थे । म पनि घर तिर गएँ । दिदीले मलाई देख्ने बित्तिकै बोल्नु भयो
” आमा, गाउँ डुलुवा आयो “

मैले दिदीलाई डुलुवा भन्छेस” भनेर मुक्काले हिर्काएँ । दिदी रुन थाली”

आमाले मलाई खुब गाली गर्नु भयो । उहाँको गालीको अन्तिम वाक्य थियो
” तिहारको दिन पनि दिदीलाई रुवाईस् होइन कुकुर ..?”

जित्न नसक्दा रुने मेरो वानी गज्जबको थियो । खोइ कहाँबाट आँसु आउथेँ म रुँदै भने
” किन मलाई डुलुवा भन्छे त ?”

आमाले दिदी तिर हेर्दै भन्नू भयो ” नबोल भनेको मान्ने होइन ? यो गधा हो ,कुकुर हो ,भन्ने थाहा पाएपछि किन बोल्नु यो सँग ?”

आमा अझै दिदीलाई गाली गरेजस्तै गरेर मलाई गाली गरेपछि , म रुँदै आफ्नो कोठा तिर लागेँ । दिदी र मेरो झगडा सधैं हुने गर्थ्यो, यो सामान्य थियो । टीकाको साइत आयो । सबै तयारी भयो । मामा घरमा तिहार रोकिएकोले यो बर्ष मामाहरु आउनु भएन आमाको निधार खाली हुन्थ्यो । आमा घरमा सबै तयारी गर्दै हुनुहुन्थ्यो । टीका लगाउने समय हुन थालेकोले अमा भित्र बोल्दै हुनुहुन्थ्यो।

“कता गयो फेरि यो केटा ? नुहाउनु पर्दैन अल्छि । नुहाएर छिटो तयारी हो ,अब टीकाको साइत हुन लाग्यो “

मैले आफ्नो रिस पोख्दै भने
” लगाउँदिन यसको हातको टीका”

आमा मसँग रिसाउँदै बोल्नु भयो ” कति मातेको होस् केटा त ? भोलि पर्सि बिहे गरेर जान्छे अनि दिदी आउन पाइन भने खुब सम्झिएर रोलास् नि “

मैले आमाको कुराको प्रतिकार गर्दै भने
” रुन्न म लाउँदिन “

बिचरा मेरी दिदी मलाई औधी माया गर्नुहुन्थ्यो । छेउमा आएर बोल्नुभयो
” यो टि-सर्ट लगाउने भए आइज “

टि-सर्ट भन्ने आवाज सुन्ने बित्तिकै टाउको उठाएर हेरेको ” त्यो बेला खुब चलेको नेपाल लेखेको टि-सर्ट रहेछ ”
“मन मनै भने हिजो त केही छैन भनेर झुठो बोलेकी रहिछ “

तर मुखले म केही बोलिन ,आमा पुनः रिसाउँदै बोल्नुभयो
” केटा जिद्दी नगर न खुरुक्क तयार हो “

मैले भने ” यसलाई sorry भन्न भन्नू अनि बल्ल तयार हुन्छु….
दिदी भनेको आमा जस्तै हुन् दिदी नजिकै आएर बोली
” sorry अब बाट केही भन्दिनँ मेरो भाइ राजालाई “

केटाकेटी हुँदा सानो सानो कुरा पनि पहाड बन्छ । मैले पुनः घुर्की लगाउँदै भने
” हेर्नू न आमा मलाई राजा भनी “

साँच्चै केटाकेटीमा झगडा गर्नेका बहाना पनि कत्ति हुने । आमाले दिदीलाई राम्रोसँग भन भन्नू भयो ।

दिदीले कान समातेर “sorry भन्नुभयो “

दिदी कान समातेर sorry भन्दा , मलाई भने ठूलो युद्ध जिते जस्तै भयो । खुशी हुँदै नुहाउन बाथरुम छिरेँ । नयाँ कपडा लगाएर टीका ग्रहण गर्ने पूजाकोठामा प्रवेश गरेँ । एकछिन घुर्की देखाए पनि मेरो मनभरी खुसी र उल्लासहरु थियो । पूजाकोठामा भएको विभिन्न अगरबत्तिको सुगन्धित अत्तरले मन अझ प्रफूल्लित बनायो । विभिन्न फूलहरुले पूजाकोठा सजाइएको थियो ।

झिलिमिली बत्तिको रोश्नी झन ….,, नाङ्लोभरी फूलका माला र फूलहरु, थालीभरी सेलरोटी र विभिन्न प्रकारका मिठाईहरु,,

यतिकैमा दिदीले मलाई भुइँमा बिछ्याएको बिछ्यौनामा बसाल्नुभयो । खुसी हुँदै ओखरलाई पूजा गरेर ढोकामा राखी तेलको धाराले परिक्रमा गरेर मेरो दिर्घायुको कामना गर्दै त्यस्लाई फुटाएर फाल्नुभयो । म दिदीका गतिबिधी खुसीसाथ नियाली रहेको थिएँ।

त्यसपछी दिदीले मलाई फूलले शिर , काँध, पाउ मा पूजा गर्दै हातभरी सयपत्री भरिदिनुभयो ।टाउकोमा तेल लगाउने बेला भो, मलाई तेल पटक्कै मन नपर्ने , त्यसैले आग्रह भावमा दिदीलाई भनेँ , ” दिदी तेल थोरै लगाइदिनु ल “

दिदी प्रतिकार गर्दै बोल्नुभो – ” अब तेरो मनोमानी चल्दैन , तँलाई ओखर फुटाएर बन्धन मा पारिसकेकी छु , भागेर जान सक्दैनस , जति पनि तेल लगाइदिन्छु मेरो मर्जी तँ चुप लागेर बसेस “

मैले भने यो पटक दिदीको मन दुख्ला भनेर केही बोलिन , मौन भएरै बसेँ , मनमनै सोचेँ, टीका त लगाइदे, पछि तँलाई जान्या छु ।

खुशी हुँदै टीका ग्रहण गरेँ । आमाले बोल्नु भयो । ” दिदीलाई टीका लगाइदे ..!” मैले दिदीलाई टीका लगाइदिएँ । आमा पुनः बोल्नु भयो ।
“दिदीको खुट्टा ढोग”

दिदीले पनि खुट्टा तेर्साएर बस्नुभयो । मैले भने
“माथी उठाउनु न खुट्टा “

दिदीले भन्नुभो ” सक्दिन तल निउरिएर ढोग”

बाध्यता ढोग्नै पर्यो । निउरिएर दिदीको खुट्टा ढोगेँ । आमाले खाम दिनु भयो र भन्नू भयो ” यो दिदीलाई दे “

म खाममा कति पैसा छ हेर्न खोज्दै थिएँ आमाले आँखा तर्नु भयो र चुपचाप दिदीलाई दिएँ ।

दिदी बल्ल बोल्नुभयो ” कसैकसैलाई खुट्टा ढोगाउनलाई आज sorry भन्नु पर्यो “

आमा हाँस्नु भयो ” मैले भने मुख बिगारेँ ” ………….

यत्तिकैमा पछाडीबाट आवाज आयो ” बाबू जा त अगरबत्ती लिएर आइज ” म झसङ्ग भएँ । केही समय त अक्कबक्क भएँ । आज तिहारको टीकाको रौनक, पोहोर तिहारको जस्तै थियो । तर मेरो मनको भित्री रौनक भने औँशीको रात जस्तै निष्पट्ट थियो । बाहिर बाटो उस्तै थियो । केटाकेटी आजपनि पिङ खेल्दै थिए । म पछाडी फर्किएर हेरेँ ,आमा बोल्नु भएको थियो । आमाले दिनु भएको पैसा बोकेर म अगरबत्ती किन्न गएँ “

पसलमा अम्बिका भेट भई । उसले सोधी ” दिदीसँग कुरा भयो?? “

मैले भने ” नाइँ “

उसले पुनः प्रश्न वाण तेर्साउँदै भनी “तेरो निधार खाली हो यो बर्ष ?”

मैले अनभिज्ञता पोख्दै भने
“खोइ थाहा छैन। फुपूहरुको हातको टीका लगाउने कि नलगाउने दोधारमा छु “

उसले अन्य केही प्रश्न नै सोधिन , सायद, उसलाई थाहा थियो, निधार खाली हुनुको पीडा ,तर उसको यो बर्ष दुबै दाजुहरू परदेशबाट आउनु भएको थियो । तिहारले उसलाई मज्जाले छोएको थियो । यत्ति सोधेर उ आफ्नो घर तिर लागी म पनि अगरबत्ती किनेर घर तिर लागेँ ।

टीकाको साइत जति जति नजिकै आएको थियो । मेरो मनमा निराशा पन उति उति बढेको थियो । घरमा मामाहरु फुपू दिदीहरु आउनु भएको थियो । बिहानको आठ बज्दै थियो । यो बर्ष १०:४० मिनेटमा टीकाको साइत थियो । आमालाई अगर बत्ती दिए । मामाहरुलाई नमस्कार गरेँ फुपूहरुलाई ढोग गरेर आफ्नो कोठामा गएँ । ढोकामा चुक्कुल लगाएर दिदीलाई फोन गरेँ ” फोन उठ्यो म हाँस्दै भने
” आँखे के गर्दै छिस् “

दिदी बोल्नु भयो ” बल्ल उठेको “

मैले पुनः प्रश्न गर्दै सोधेँ ” भिनाजु खोइ त “

दिदी आँखा मिच्दै बोल्नु भयो ” काममा जानू भयो “

र पुनः मलाई प्रश्न तेर्साउँदै सोध्नुभयो ” कसको हातको टीका लगाउँदैछ्स् ।”

मेरो आँखामा आँसुहरु छल्की रहेका थिएँ । उ पुनः बोली
“ओए गाउँ डुलुवा “

आज यो ” ओए गाउँ डुलुवा ” शब्द पनि निक्कै प्यारो लागेको थियो। म आफ्ना आँखाका आँसुहरु रोक्न सकिनँ । मेरो आँखाको आँसु देखेपछि दिदीले पनि आफ्ना आँखाभित्र लुकाएर राखेको आँसुहरु झार्न थाल्नु भयो।

अघिल्लो बर्षको तिहारमा लडेका हामी यो तिहारमा समयले हामीलाई धेरै टाढा पुर्याइदिएको थियो । दिदीको मंसिरमा बिहे भएको थियो र अहिले भेनाजुसँगै अस्टे्रलियामा हुनुहुन्थ्यो ।

दिदी र म एक अर्कालाई हेर्दै नयनहरुलाई अश्रु भिजाउने काम भएको थियो । दिदी बोल्नु भयो
” नरो बाबू आर्को तिहारमा आउँछु “

तर मलाई आफू स्वदेशमा भएपनि पीडा भएको थियो । मैले आफ्ना नयनका आँसु पुछ्दै भने
” दिदी पक्का आउँछिस् नि अर्को बर्ष ?”

यो प्रश्न सोधीरहँदा पनि मुटुमा गाँठो परेको थियो । आँसुहरु पुछ्दै गरेपनि नयनबाट आँसु बग्न भने कम भएको थिएन ।
दिदी आँखाबाट आँसु झार्दै भनी ” पक्का आउँछु अब त नरो बाबू “

दिदीले जत्ती नरो भन्नू हुन्थ्यो । मेरो आँखाबाट आँसु उत्ति बगेको हुन्थ्यो । मलाई दिदीको काखमा सिरानी बनाएर सुत्न मन थियो । साच्चै म भित्रको यो प्रेम दिदी समीप हुँदा मैले कहिल्यै महसुस गरेको थिइन् । दिदीबहिनी घरका गहना हुन् भन्ने कुरा बल्ल मलाई महसुस भएको थियो । लगभग ४०/५० मिनेट पछि कसैले मलाई घरामा खोजेछन् । ढोका ढक्ढक गरेको आबाज आयो । आँखाको आँसु पुछ्दै ढोका खोले । आमा बोल्नु भयो ” के गर्दै थिस् “

मैले मोबाइल देखाउँदै भने ” दिदी सँग बोल्दै थिएँ “

आमा बाबा मामा फुपू सबै बोल्नु भयो । टीका लगाउने बेला पनि भयो । सबै जना टीका लगाउन बस्नु भयो । फुपू दिदीले टीका लगाइदिन हुन्छ भन्दै मलाई टीका लगाउन आग्रह गर्नु भयो ।

मैले फुपू दिदीलाई सम्झाउँदै भने
” मन नदुखाउनु फुपू, म लगाउँदिन । मेरो यो आँखे दिदी आउँछु भनेकी छ आर्को साल म त्यहीँ बेला लाउँछु “

दिदी पुन आँसु झार्दै भनी लगा के केही हुन्न म हेर्छु “

म भित्रको पीडा लुकाउँदै भने
“लगाउँदिन मेरो दिदीको निधार खाली छ मैले एक्लै के तिहार मनाउनु तँ अर्को साल आउनु अनि मज्जाले मनाउनु पर्छ “

सबै जनाले टीका लगाउन थाल्नु भयो । म भने आफ्नो कोठामा आएँ ।

दिदीले भनी ” बाबू मैले भनेको मान्छ्स् “

मैले भने “भन के हो ?”

दिदी आग्रह भाव राख्दै बोली ” टीका लगान जा खाली निधार कति नराम्रो देखिन्छ । सबै जनाले टीका लगाएका होलान् जा फुपूको हातको टीका लगा “

मैले भने ” लगाउँदिन पिलिज कर नगर न”

उसले भनी “जा टीकाको थाली लिएर आइज म हेर्दै भन्छु त लगा “

मलाई दिदीको यो आइडीया सहि लाग्यो । मेरो भाग फुपूले बनाएको सप्त रंगी टीकाको टपरा बोकेर कोठामा ल्याएँ । दिदीले भिडियोबाट नै टीका लगाउन भनी मैले दिदीले भने जस्तै गरेर आफैले टीका लगाएर माला लगाएँ ।

मेरो निधारमा टीका भयो गलामा माला पनि भयो । तर कपडामा चुक पोखिएर भएको मेरो अमिलो मन अमिलो नै भयो । हुन त म जस्ता लाखौं युवाहरू परदेशमा खाली निधार बसेका छन् । कहिले सम्म होला आफ्नाहरुबाट छुट्टीएर बस्नु पर्ने ।दिदी सँग फोनबाट विदा भएर मनको पीडा लुकाउँदै ओठमा हाँसो देखाउँदै सबै सँग बसेर खाना खाएँ । घर छोडेर कत्तै जान मन लागेन र त्यो तिहार घरमै बसेर मनाएको थिएँ ।

समाप्त

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.