यौनकथा : कालो चस्मा

~विजय मल्ल~

सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशिचत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका बन्द रहन्छ । त्यसैको पछाडिको ढोका, जो कहिलेकाहीँ बिर्सिएर खुलै रहन्छ या खुला नरहेको खण्डमा जोडले हल्लायो भने खुल्न सक्दछ । छेस्किनी उत्तिको मजबुद थिएन । निन्द्रामा मस्त भएका कसैलाई कराएर ब्यूँझाउनु मलाई अप्ठ्यारो लाग्दछ । वातावरणमा अनावश्यक गोलमाल सिर्जना गरेजस्तो मलाई भान हुन्छ ।

सिमसिमे पानीमा म रुझे नै हालेँ । नभन्दै पछाडिको ढोका खुल्लै रहेछ । म पसेँ, भरेङ बिस्तारै उक्लिँदै दोस्रो तल्ला, तेस्रो तल्लामा पुगेँ । ढोका बन्द छ । बिस्तारै थपथपाएँ, बन्द छ । त्यसैले बरन्डातिरबाट पछाडिको कोठामा गएर पल्टने विचार गरेँ, त्यही गएँ । कोठा अध्यारो छ । स्विच दबाएँ – बिजुली बत्ती धपक्क बल्यो ।

मैले आफ्नो निधारको पानी पुछेँ, अनुहारमा रुमालले थपथपाएँ । त्यसैबखत नजिकै कसैको श्वासप्रश्वास चलिरहेको मलाई भान भयो । मैले उतैतिर फर्केर हेरेँ । खाटमा कोही सुतिरहेको रहेछन् । मैले आफ्नो कोट र मयलपोस सुरुवालको पानीलाई पनि टकटकाएँ । कहिलेकाहीँ मेरो स्वास्नीलाई आफ्नो कोठाबाट भिन्दाभिन्दै नौलो कोठामा सुत्ने रहर छ । यसैले हरेक कोठा सिँगारिएझैँ रहन्छ, म आफैँसँग हाँसे ।

तर मलाई अचानक लाग्यो, उही सुतेको हो या होइन । किनकि मेरो कोठाको ढोका बन्द छ । यसैले धमिलिएको आँखा बिस्तारै पुछेर उतातिर नियालेर हेरेँ । हो, ऊ नै हो । र मलाई लाग्यो, कोही अर्को एउटा व्यक्ति पनि छ जसका तिघ्रा र पिडौँला मोटा र पुष्ट देखिन्छन् । म बिस्तारै नजिक गएँ ।

दुई व्यक्ति मस्तसँग सुतिरहेका रहेछन् । मेरी स्वास्नी त्यस छिमेकी साथीको पुष्ट पाखुरामा टाउको अड्याएर, उसको गालामा निधारले थिचेर, छाती केही खोलेर सुतेकी छ । लोग्नेमानिस आफ्नो दुवै हातले त्यसलाई अँगालेर, तिघ्राले राम्ररी नै त्यसलाई च्यापेर सुतेकी छ । स्पष्ट छ कि तिनीहरू अत्यन्त्य सन्तुष्टिमा निदाएका छन् । मलाई हेर्दाहेर्दै अचानक लाग्यो, दुई सेता गुलाफका फूलहरू आपसमा गुँथिएर फुलिरहेको छन् ।

उनीहरूको त्यस तृप्त, सन्तुष्ट अनुहारलाई केही बेर हेरिरहँदा मैले अनुभूत गरेँ कि कुनै जीवनमा यस्ता स्थल पनि छन्, जसमा धर्तीका यस्ता सृष्टिहरू खेलेर रमिता गर्दछन् ः रमाइलो मानेर जीवन निर्वाह गर्दछन् । यही खेलमा रमेर ग्ज्रन सक्नु नै प्राप्ति सम्झन् ।
उनीहरू उठ्लान भनेर म केही पछाडि सरो । उनीहरू मस्तैसँग निदाएका थिए । बराबर निद्रामा उनीहरू चल्मलाउँथे । दुवैले दुवैको छातीमा केही खोजेझैँ हात यताउति सार्दथेः पुष्टपुष्ट पिडौँलाका सेता छालाहरू चम्कन्थे । म हेरिनै रहेँ । मलाई यी दुई नरनारी सृष्टिका प्राथमिक व्यक्तिहरूझैँ लागिरहेका थिए र म एक द्रष्टा । मलाई यो मनोरम दृश्य, एक घटनासमान हेर्नु छ, हेर्दछु ।

अचानक मलाई लाग्यो – म आफ्नै विवाहित स्वास्नीलाई परपुरुषसँग अनैतिक रुपले सम्बन्ध जोडेर आफ्नै सामुन्ने त्उसरी निर्लज्जतापूर्वक सुतिरहेको हेर्दैछु । जसमा मैले शरम मान्नुपर्छ । मैले यसलाई अनुचित सम्झनुपर्छ । यस्तो निन्दनीय कार्यको लागि ममा, राग, द्वेष र प्रतिशोधको तीव्र भावना जाग्नुपर्छ । मैले तैपनि ती फूलका थुँगाजस्ता नरनारीलाई विस्फारित नेत्रले हेरिरहेँ । वास्तवमा ती दुवै सुन्दर थिए ।

मैले त्यसैबखत झ्वाट्ट सम्झेँ, जो धेरै वर्ष अगाडि जसको उल्लेख कुनै जेलमा परेका एक राजनीतिक साथीले कतै कुनैबेला गरेका थिए होलान् । जसको मलाई राम्रो सम्झना पनि छैन– भनेका थिए कि एक बहुला कैदीले जेलमा पर्न अगावै, आफ्नी स्वास्नीलाई एक नाठोसँग सुतिरहेको देख्ता खुकुरीले छप्काएको रहेछ र त्यसपछि कुकुरलाई – जसले ऊ आएको थाहा पाउँदा भुकी मात्र दिएको भए। स्वास्नी ब्यूझन्थी नाठो भाग्थ्यो । स्वास्नी चोखी नै भएको उसलाई सम्झनुपर्दथ्यो । तर त्यस कुकुरले भुकेन । नाठो र स्वास्नीलाई उसले देखिहाल्याो । त्यसैको दोषमा त्यस कुकुरलाई बाहिर निस्केर त्यसले मार्यो । अनि घोडा जसले दगुरेर उसलाई त्यति परबाट यति चाँडो घर नर्पुयाइदिएको भए उसले स्वास्नीलाई नाठोसँग सुतिरहेको देख्ने नै थिएन । त्यही अपराधमा त्यसले घोडालाई पनि मार्यो र आफूलाई समात्न लगाएर जेलमा पर्यो । सम्भव छ यो कथा कपोलकल्पित् हाोस्। सम्भभव छ सत्य, तथ्यपूर्ण पनि होस् ।

तर मलाई अन्जानैमा यो सम्झेर हाँसो उठ्यो । म हाँसे । जवान युवक युवती जो मेरा अगाडि सुतिरहेका छन्, जसको हद नै यही धर्ती छ, खेल्छन् । लुकामारी गरी रम्न चाहान्छन् । रम्छन् पनि । कहिलेकाहीँ सामाजिम रीतिरविाज र नैतिकताका जटिल समस्याहरूमा अल्झिन पुग्छन्, तर्सछन् आफूलाई धिक्कार्छन पनि । पत्रिता अपवित्रताका प्रश्नहरुले लखेटिरहन्छन् । सहन नसक्दा बौलाउँछन् पनि तर, मलाई यसको के प्रयोजन ? यसले ममा के भिन्नता ल्याउँछ र ?

मांसपिण्डसँग खेल्नेहरूप्रति अनुदार बन्ने मलाई केको चाह ! हैन त ? म उनीहरूलाई नग्नरुपमा नै हेरिरहेको थिएँ । शरीर र मांसपिण्ड ।

उनीहरूको अनुहारमा निद्रामा नै स्निगध मुस्कानका रेखीहरू पर्दछन् । सम्पूर्ण अङ्गप्रत्यङ्ग गुजुल्टिएर एकै डल्लो पर्दछन् । आनन्दमय सङ्गीतका धाराहरू प्रवाहित भएझैँ, निद्रामा नै तृप्तिपूर्वक सुस्तरी बर्बराइरहन्छन् । उनीहरूका सुडोल आकार, पुष्ट पोटिला पाखुरा तथा छाती, तिघ्रा तथा पिडौँला मलाई प्रस्तर प्रतिमाजस्ता भान हुन्छन् । के यही स्तरसम्मनमा यिनीहरू सीमित तथा तृप्त छैनन र ?
फेरि किन यिनीहरू नैतिकताका समस्याहरू उठून् ? मलाई यिनीहरूले बिउँझेर देख्नेबित्तिकै यही समस्याको प्रारम्भ हुन्छ । नैतिकताको प्रश्न ? के यिनीहरू खप्न सक्दछन् ? चरित्र भ्रष्टको भावनाले गर्दा भर्खर यिनीहरूले पाएको सम्पूर्ण शारीरिक तथा वासनायुक्त तृप्ति एकदम लुप्त हुँदैन र ? बिचराहरू !

म चाहान्नँ कि यिनीहरूले अहिले भोगिरहेको सन्तुष्टिमा कुनै प्रकारका भौतिक या नैतिक प्रश्नहरूले उथलपुथल र गडबढी मच्चइदिऊन् र सम्पूर्ण जीवनपर्यन्त यिनीहरूलाई विकृतिले टोकिरहोस्, लखेटिरहोस् ।

तै पनि मैले केही बेर अझै उनीहरुको शान्त, निश्चित अनुहार तथा शरीरलाई हेरिरहेँ र बत्ती निभाइदिएँ । तिनीहरू आरामसँग सुतून् । म सुस्तरी चाल मारेर बरन्डामा निस्केँ ।

भोलिपल्ट बिहान, म उठिसकेको थिएँ । मेरी स्वास्नी अत्यन्त निश्चिन्त र सन्तुष्ट भावमा थिई । ऊ घरमा कामहरू हाँसीखेली गरिरहेकी थिई । मलाई आएर सोधी, “कहिले आउनु भने ?” मैले हाँसेर जवाफ दिएँ, “केही बेर भो !”

ऊ फूलको थुँगाझैँ हलुकी थिई, कुनै प्रकारको बेचैनी उसमा थिएन । पुतलीझैँ उफ्रीउफ्री तलमाथि ओहरदोहर गरी काममा व्यस्त भइरहेकी थिई । म पनि उसलाई र उसको प्रसन्न मुद्रालाई देखेर आश्चर्र्यान्वित भइरहेको थिएँ । आफ्नो मानसिक स्तरमा सनतुष्टि पाउनेबित्तिकै के जो पनि यस्तै प्रकारको व्यवहार गर्दैनन् ? उसको यस प्रसन्नताले ममा कुनै प्रकारको भिन्नता ल्याउनन सक्तछ र? तिनीहरूको आफ्नो लोक कति रमाइलो र उल्लासपूर्ण छ ।

फुल राम्ररी तारेर, चिया लिएर मेरा कोठामा पसी, उसको छरितो सुन्दर बदन जरुर केही अंशमा आर्कषक छ । मेरो पानीले र भुइँमा पल्टेका हुनाले लागेको कोट र लुगाहरूको फोहर मैले टक्टक्याएर मिलाउँदैछ ऊ भन्न थाली, “त्यसो भए हिजो पानीमा भिज्नुभो र कहीँ पछारिनु पनि भो ।” उसको स्वरमा निःसन्देह मिठास थियो । आज ऊ वास्तवमा नै अत्यन्त मोहक देखिन्थी ।

त्यसैबखत मेरो छिमेकी साथी आइपुग्यो । मलाई देख्नेबित्तिकै केही विचलित भयो । उसका नैतिक दुर्बलताको सचेतता मरिसकेको रहेछ । यस भागभङ्गिमाले मेरो स्वास्नीको चेहरा पनि गड्बडियो । ऊ हडबडाई पनि र अनुहार क्षणभर म्लान पनि भयो । तर मैले हाँसेर उसलाई चिया खान निम्ताएपछि दुवैको अस्थिरता केही अंशमा घट्यो ।

मैले केही कुरामा ध्यान नदिएझैँ गरी हातको पत्रिका पल्टाउन थालेपछि दुवैमा आएको हडबडी र असमञजस्यता विस्तारै घट्दै गयो । र अनि मैले आफ्नो आँखाको कोशबाट देखेँ, तिनीहरू दुवैको आँखामा क्रमशः मुस्कान नाचिरहेछ र सपनाको नयाँ संसार बस्तै गइरहेछ । सुकुमार कोलम भावनाहरूले गर्दा अनुहार नै स्वच्छ गएर गएझैँ उनीहरू मलाई निर्दोष बालक बालिकाझैँ लागे । यस्ता सुकुमार व्यक्तिहरूलाई म किन कुनै प्रकारको दुःखपीडामा झेस्न चाहान्छु ? बिचराहरूलाई मैले केही भेउ पाएको छु भन्ने थाहा पाएमात्र पनि सामाजिक नैतिकतामा कठोर बन्धन र अपराधको भावले लखेट्न थाल्ने छ । यिनीहरूमा वास्तवमा त्यस मान्यताप्रति उपेक्षा वा विद्रोहको भाव नै छैन । निःसन्देह ती आँखाहरूमा सपना छन्, वासाना छन्, सुन्दर मिठासपूर्ण । सृष्टिका प्रथम फूलहरू ।

मैले दुवैलाई यही कौतुक भावले ख्यालै नगरी नियालेर हेरिरहेछु । उनीहरू अलि विचलित भए र कुरा गर्दैरहेका दुवैजना टक्क रोकिए । उनीहरूमा मलाई केही थाहा भयो कि भन्ने शङ्का त्यसबखत जरुरै उठेको होला । केही अल्मलिए । असजिलो मान्न थाले । मेरी स्वास्नी उठेर निस्कन खोज्दै थिई । अनि मलाई लाग्यो यी बिचराहरू आफैँप्रति सशङ्कित छन् । मेरो आँखाको निरपेक्ष भावलाई यिनीहरूले बुझ्न सकेनन् । म आफैँसँग मुसुक्क हाँसे ।

यिनीहरूलाई म कुनै हालतमा पनि पीडा पुर्याउन चाहान्नँ । यिनीहरूलाई शङ्का नै नहोस् कि मलाई थाहा छ या म थाहा पाउन सक्छु । यिनीहरूले खेल्ने गरेको लोकलाई भताभुङ्ग गरेर मलाई के उपलब्धि हुन्छ ! ममा के वृद्धि हुन्छ र ?

उनीहरू आफ्नो लोकमा रमाउन सक्छन्, रम्नदिऊँ ! तर नैतिकताको विचारले गर्दा उनीहरूको भौतिक वासनात्मक लोक विनिष्ट हुनसक्छ । हुन दिन्नँ । त्यसैले म थाहा नपाऊँ । यही ठीक छ ।

आँखाबाट नै अनुहारमा खेलिएका अधिकांश भाव बुझिन्छन् । त्यसैले अब म त्यसलाई छोप्न गगल्स लगाउँछु – कालो चस्मा । म एक प्रकारले ढाकिन्छु । उनीहरूको आफ्नो स्तरको लोक सुरक्षित रहन्छ ।

मलाई केही सोचिरहेको देखेर , झन उनीहरू अतासिएछन् र अपराधीहरूको मनोवृतिमा झैँ उनीहरूमा परिवर्तन आयो । त्यो तृप्तिको भाव नै हरायो । सपनाहरूको कोमलता आँखैमा बिलायो र त्रासका रेखीहरू छोप्ने चेष्टामा मेरो सम्मुखबाट उनीहरू हट्न चाहे । बिचराहरू सामाजिक निषेधात्मक नियमप्रति कति जागरुक छन् । उनीहरूको विवेकात्मक कसौटी कुन स्तरमा छ भन्ने कुरा बुझ्नलाई कति सरल ।

तर म उनीहरूमा त्यस्ता उदासीनता, त्रास, भय जगाउन चाहन्नँ । म उठेँ र सङ्कल्प गरेँ कि अहिल्यै नै गएर गगलस किनेर ल्याउँछु । आँखामा गगल्स लगाउँछु । मेरो निकटतामा पनि उनीहरूमा डरको आभास नहोस् । यिनीहरू प्रसन्न भएर खेलिरहरुन् । यस लोकको पनि अस्तित्व छ भन्ने कुरालाई म किन इन्कार गरौँ ।

मैले आँखाको कोशबाट नदेखिने गरी फेरि फर्केर हेरेँ– उनीहरूका आँखामा मधुर कोमल भावहरू र ओठमा सरसता छचल्किरहेका थिए ।

निःसन्देह म अब गगल्स किन्न जान्छु । कालो चस्मा लगाएर सामाजिक नैतिक मनुष्यको रुपमा प्रत्यक्षतः नै पृथक बन्छु ।
कालो चस्मा कालो गगल्स ।

(स्रोत : प्रमोद प्रधानद्वारा सम्पादित “नेपाली यौनकथा” (वाणी प्रकाशन, विराटनगर,२०५४)बाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.