~दौलतविक्रम विष्ट~
त्यो मान्छेको जब्बर अँगालो खुकुलो भयो । कान्ति मानौँ बिउँझिई । ऊ लरखराउँदै भुइँबाट उठी र भयले त्रस्तझैँ छिनभर जहाँको त्यहीँ उभिरही । त्यो मान्छेको घरमा रतेलीलाई रमाइलो तुल्याउन बसेकी उसकी आमा र भाउजुको थगीतको स्वरले उसको कानमा ठक्कर दिइरहन्छ तर ऊ कुनै अदृश्य आँधीले घचेटिएझैँ अन्धाधुन्ध गतिले अगाडि बढी । अँध्यारोले छोपेको गोरटो छाटिँदै रह्यो । ऊ एकपल्ट पनि पछाडि फर्किन ।
आफ्नो घरको सङ्घारलाई नाघेर ऊ सरासर माथि उक्ली । जन्त गएका उसको बा आमा फर्किसकेका थिए । उनको कोठामा ढोका खुल्लै थियो । भित्र उनी बत्तीको उज्यालोमा कसैसँग खासखुस गरिरहेका थिए । तर ऊ बाबु चाहिनेको कोठालाई छाडेर एक सासमा कोैसीमाथि पुगी । फेरि तरक्क आँसु काटेर के गरुँ के गरुँ, भएझैँ फरियाको सप्कोलाई त्यसै मडार्न थाली ।
उफ्, आज ऊ लुटिई । केही सोचविचार गर्न नपाउँदै निमेषमै लुटिई । उसको हेर्याहेर्यै भयो, उसको अहम हेर्याहेर्यै भयो । हरे ! उसले केही गर्न सकिन केही गर्न सकिन ।
उसलाई त्यसैत्यसै डाँको छाडेर रुन मन लाग्यो, आफ्नो रुवाइले उसलाई सारा रात नै खलबल्याउन मन लाग्यो । तर तर रोएर के फाइदा साँच्चि के फाइदा ? उसले गम खाई । हुन पनि उसको गोरो छालामा बसेको त्यो मान्छेको दाँतको डामलाई पखाल्न सक्ने होइन क्यारे । उसको आँसुले उसको जीउमा लिप्सिएको त्यो मान्छेको पसिानाको गन्धलाई भेटन सक्ने होइन क्यारे । त्यो मान्छेको रातो रगत उसको हाड, मासु झोलमा रक्तियो, रक्तियो । त्यो सारा बाग्मती नै फर्किन्छ भने पनि पखालिने होइन । अब त ऊ बिटुलिई बिटुलिई । ऊ आफूमा उत्तेजना अनुभव गर्न थाल्छे । उसलाई आफ्नो कौमार्य त्यति प्यारो थियो भने त्यो मान्छेले उसलाई कक्रक्क पारेर समाउँदा उसले च्च्यिाएर किनन सारा बिहे घरलाई नै खलबल्याउन सकिन । त्यो मान्छेले उसको पेटिकोट पन्छ्याउँदा उसले नजिकको ढुङ्गा टिपेर उसको खप्परमा किन बजाउन सकिन ? किन दाँत र नङले चिथोरेर उसको अनुहारलाई रगतपच्छे पार्न सकिन किन किन कान्ति कान्ति कि किन !
ऊ चिसिई । एउटा लामो सास फेरेर उसले परपर आँखा गाडी । अन्धकार कुनै भयानक प्रेताम्ताझैँ सानो सानो बत्तीको घाँटी निमोठिरहेको थियो । बिहाघरमा बलेको म्यान्टोलको उज्यालो अन्धकारसँग लठारिहरेको थियो र छायाँमा रतेली खेल्न लागेका आइमाईहरूका आकृति कठपुतलीझैँ चलमलाइरहेका थिए । सबथोक प्रष्ट देखिइरहेको थियो, एकदम प्रष्ट जहाँ ऊ लुटिएकी थिई त्यो ठाउँ पनि, जहाँ ऊ पछारिहेकी थिई त्यो ठाउँ पनि ।
उसले आफूलाई राम्ररी केलाई । पक्कापक्का उसको मनमा अलिकति पनि खोट थिएन । ऊ त्यस काँटकी स्वास्नी मान्छे नै होइन । तर कस्तो अनौठो, कस्तो आश्चर्य, त्यतिबेला उसलाई के भएको थियो कुन्नि, उसले छुनेबित्तिकै लज्जावती झरझैँ त्यसै लल्याकलुलुक भएकी थिई ।
ऊ आफ्ना हुलियाहरूलाई पहिलेको भन्दा झन् गहिरिएर कोट्याउन थाली ।
साँच्चि, आजको दिनसम्म पहिले त्यो मान्छेको घरमा पाइलासम्म हालेकी थिइनँ । उसकी आमा त्यहाँ नगएकी भए सायद आज पनि ऊ त्यस घरलाई चिन्ने थिइनँ । हो, यसो कहिलेकाहीँ कौसीमा उभिँदा आक्कलझुक्कल उसको आँखा त्यो मान्छेको घरमा गई अड्किन्थयो । तर त्यो अडकाईमा कुनै भाव थिएन, कुनै राग थिएन, मृत्युले सुघेझैँ खालि शून्य । त्यो घर आफ्ना हुलियाहरु लिएर सकभर आफूलाई चिनाउने प्रयत्न गथ्र्यो । तर माटोमाटैमा भासिएझैँ घरैघरहरूको बीचमा त्यो घर भासिन्थ्यो । उसको घरमा बिहान बेलुकी धन्धा गर्न आउने घर्तिनी कान्छीले त्यस घरको निन्दा चर्चा नगरेकी भए सायद अहिलेसम्म पनि ऊ त्यस घरको निन्दा चर्चा नगरेकी भए सायद अहिलेसम्म पनि ऊ त्यस घरको बारेमा जान्दिनथिई होली । घर्तिनी कान्छी उसको खुट्टा मिचिदिन्थी, कपाल कोरिदिन्थी, पराई घरको न्निदा चर्चाले उसको कान रसाइदिन्थी । कान्ति कहिलेकाहीँ उसको आँखा छलेर उसको पोल्टामा माना चामल हालिदिन्थी । किन हो किन चामलले पोल्टा भरेपछि ऊ उठने बेलामा ऊ खास गरेर त्यो मान्छेलाई सराप्न पुग्थी । सराप्तासराप्दै ऊ भन्थी, “के भन्नु मैयाँ, त्यसको नाम नलिनु भन्यो जिब्रोमा आइहाल्छ । टोलमा साराका सारा त्यो मरोस् भने भाकल गर्छन् । मोरालाई दुई खुट्टा उभिएकी आइमाई देख्नुहुन्न, भैरव साधेको छ कि क्या हो फुँडोले छँडुलीहरू पनि उसको निम्ती त्यसैत्यसै भुतक्क हुन्छन् ।”
नोकरचाकरको कुरा एक कानले सुनेर अर्को कानले उठाइदिनु भन्छन् । वास्तवमा कान्तिले पनि त्यसलाई एउटा हाँसोभन्दा बर्ता महत्व दिएकी थिइन । तर कसो हो कसो यसको कौसीमा उभियो कि उसले थाहा नपाइकन नै वरिपरिका घरकालाई उछिनेर त्यो घरमा उसको आँखा दगुथ्र्यो । त्यो घर उसलाई मुख बाउँदै विस्तार विस्तार घिस्रिएर उसको घरसँग टाँसिन टाँसिन आएझैँ लाग्दथ्यो ।
हेर्दाहेर्दै त्यो घरको कौसीमा त्यो मान्छेको आकृति अग्लो अग्लो हुँदै जान्थ्यो । फेरि उसका दुवै हात लामा हुँदाहुँदै उसलाई टपक्कै टिपेर खोकिलाभित्र लुकाउन बढिरहेझैँ लाग्दथ्यो । अनि त ऊ डरले त्यसैत्यसै थर्कमान हुन्थी र हडबढाउँदै एक सासमा भर्याङ ओर्लिएर ऊ कोठामा पुगी । फेरि घरका मानिससँग चाहिँदोभन्दा पनि ठूलो स्वर निकालेर आफूलाई छल्न चाहान्थी, आफ्नो भाग्यलाई मेट्न चाहान्थी ।
कौसीलाई छाडेर ऊ फेरि तल झरी । बाबुचाहिनेको कोठानिर आइपुगेपछि एकछिन सास रोकेर उभिई । उसको बाको कोठा बन्द थियो । ढोकाको खापाबाट चिहाइरहेको बत्तीको उज्यालोमा मटान कस्तो कस्तो अनौठो लागिरहेको थियो । उसले सन्तोषको सास तानी र विस्तारै आफ्नो कोठाको ढोका खोेलेर भित्र पसी । फेरि अँध्यारोमै ऊ लम्पट भई ।
पल्टिएको पल्टियै उसले अँध्यारोमा चारैतिर आँखा घुमाई । उसको कोठाको झ्याल खुल्लै थियो । चकमन्नताकासाथ मुछिएको जून झ्यालबाट चिहाइरहेको थियो । उसले बिछ्यौनाबाट उठ्ने चेष्टा गरी । तर ऊ फेरि अल्छीझैँ पल्टीरही ।
साँच्चि अहिले उसका दुवै तिघ्रा कटकटी खाइरहेको थियो । छाती पनि घाउ बल्किएझैँ बल्किरहेको थियो । ऊ आफ्नो छाती र तिघ्रालाई सुम्सुम्उाउन थाली । सुम्सुम्याउँदा सुम्याउँदै अगाडि पहिलेका केही घट्ना तस्बिरझैँ उदाउन थाले ।
त्यसलदिन पनि त ऊ यसैगरी खाटमा लम्पसार परेकी थिई । खाटमा ओल्टेकोल्टे गरेर स्वतन्त्र स्वछन्दझैँ आफ्नै मस्तीमा उडिरहेकी थिई । खाटमा जून यसैगरी छिरेको थियो । ऊ अनायस झस्किएकी थिई । उसलाई झ्यालबाहिर बारीमा त्यो मान्छे ठिङ्गिएर घाँटी तन्काई ऊतिर आँखा नचाइरहेको लागेथ्यो । उसको आङ ढक्क फुलेको थियो । बिछ्यौनाबाट उठ्न चाहेकी थिई ऊ । बिछ्यौनाबाट उठेर ढोका बन्द गर्न चाहेकी थिई । तर उसका तिघ्रा यसरी लगलगाए उसले भुइँमा पैताला टेक्न नै सकिनँ । खालि ओढ्नेले मुख घुम्लुङ्ग छोपेर डर पुछ्ने कोसिस गरिरही । तर उसको मुटुको धुककुकी झ्न झन् चर्किएको थियो । उसले चुपचाप छातीमा हात राखेर ओढ्ने भित्रैबाट कान थापेकी थिई । उसलाई त्यो मान्छे स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै झ्याल छेड्न लागेझैँ लागेको थियो र विस्तारै विस्तारै पैताला सार्दै ऊतिर आउन लागको झैँ । ऊ डरले बिछ्यौनामा झन्झन् धसिएकी थिई । डरबाट पार पाउन उसले केटाकेटीमा सिकेको गीतलाई गुनगुनाएक्ी थिई । त्यतिबेलासम्म ऊ गाई नै रोखेकी थिई, जुनबेलासम्म उसकी आमाले आएर उसलाई मार झपारिनन् ।
मात्र एउटा आभास एउटा बहम्, ऊ आफैँमा जिल्लिएकी थिई र जिल्लिदा जिल्लिँदै सपनामा पुगेकी थिई ।
भोलिपल्ट घरका सबैको आँखा छलेर ऊ सुटुक्क झ्यालमुनि उभिन पुगेकी थिई । फेरि आँखा आँखाले त्यो मान्छेको पैतालालाई टिप्ने कोसिस गरेकी थिई । तर त्यहाँ पैतालाका छाप थिएनन् । फेरि पनि ऊ चुपचाप मानो धसिँदै गइरहेको थिई । कति आँखा च्यात्दा पनि पैतालामा छाप नभेट्टाएकीले ऊ आफैँमा खिन्नता अनुभव गर्दै गइरहेकी थिई । बारीमा आएकी उसकी भाउजूसँग जब उसका आँखा जुध्यो तब ऊ त्यसै त्यसै लाजले भुतुक्कै भएर आफ्नो कोठामा धुमधुमती आएर बसेकी थिई ।
उसलाई फेरि सम्झना आयो । एकदिन ऊ आफ्नो शृङगारदान अगाडि राखेर शृङ्गार गर्न लागेकी थिई । झ्यालनेर उभिएकी कान्छी घतिर्नी उसको आँखाको तारिफ गरिरहेकी थिई, उसको जवानीको भारले लच्किएको फूलको थुङ्गा झैँ शरीरको तारिफ गरिरहेकी थिई । सुकुमारी, रसले भरिएकी मिठासले छचल्बिएबी तरुनीझैँ ऊ “के साँच्चि कान्छी दी ? के साँच्चि कान्छी दी” भन्ने वाक्यलाई हाँस्दै खितखिताउँद्यै दोर्होयाइरहेकी थिई । एकाएक उसको जीउको तारिफ गर्न छाडेर कान्छी घर्तिनी त्यो मान्छे आयो भनेर बारीको गोरेटोतिर ईशारा गर्न पुगेकी थिई । त्यो मान्छे साँच्चै आइरहेको थियो । उसलाई आफ्नो शृङ्गार घातकझैँ लागेको थियो । आफ्नो जीवन उसलाई अङ्गारझैँ बोध भएको थियो । उसले एक सासमा त्यत्रो मिहिनेतको साथ कोरेका कपाललाई भताभुङ्ग पारेकी थिई । फेरि आफ्नो अनुहारको पाउडर र लालीलाई पानीले छप्छप्ती पखाली मुहारलाई विकृतझैँ तुल्याएकी थिई । फेरि चुपचाप आँखीझ्यालको दुलोबाट त्यो मान्छेलाई चिहाएकी थिई ।
ऊ थक्क थक्क भएकी थिई । उसले आफ्नो अनुहारलाई बिगारेर केही स्वाद लिन सकेकी थिइनँ । त्यो मान्छे उसको घरको बाटोतिर आउँदै नआई अर्कै बाटोमा गायब भइसकेको थियो ।
तर फेरि उसलाई प्यास लाग्यो । ऊ बिछ्यौनाबाट उठी र फेरि बाहिर निस्की । निस्कँदा एकपल्ट उसलाई चुरा बजेझैँ लाग्यो । उसले खापा समातेको समातै एकछिन कान थापी । तर चारैतिर उही शून्यता र उही निस्तब्धाबाहेक अर्थोक केही थिएन । उसलाई आफ्नै चुरा बजेझैँ लाग्यो । फेरि हातको चुरालाई माथिमाथि सारी ऊ तल आँगनमा ओलिई र अँध्यारोमा धुमधुम्ती उभिरही ।
फेरि टहलिन थाली ऊ । टहलिँदा टहलिँदै ऊ आजै बिहानको कुरोलाइृ कोट्यान पुगी । त्यो मान्छेको घरबाट निम्ता दिन भनेर एउटा बूढी आएकी थिई । त्यसलाई कुटुनी भनेर मनमनै साह्रै झेक्किएको थिई । घुम्दाघुम्दै उसको मानसमा बूढीको आकृतिको तस्बिर खिँचिदै गयो । दुब्ली, पातली, गउनको बीस हातको फरिया लगाई सलवार कुर्ता लाएका तरुनीहरुको साथमा ओहोरदोहोर गर्दा ऊ दुरुस्त कुटुनीजस्ती देखिन्थी । उसले कतिपल्ट मस्त तरुनीहरुसँग ओहोरदोहोर गरेको देखेकी थिई । उसले मनमनै कतिपल्ट बिचरी बूढीलाई थुकेको थिई । कतिपल्ट उसको साथमा हिँड्ने तरुनीहरुलाई बस्से भनेर गाली गरेकी थिई । बिहान अचानक उसलाई आफ्नो दैलोभित्र पसको देख्दा त्यसै त्यसै आत्तिएकी थिई । ऊ आफ्नी आमालाई त्यो बूढीलाई घरभित्र पस्न नदेऊ भनेर सफसफी नै भन्न चाहान्थी । तर नजाने कुन किसिमको कमजोरीले हो, ऊ बूढीको अगाडि पुग्नै सकिनँ । ऊ खुम्चिएर जहाँको त्यहीँ बसीरही । जब त्यो बूढी त्यो घरबाट निस्केर अदृश्य भई तब ऊ केके न बित्यास परेझैँ आफ्नी आमा चाहिनेको अगाडि उभिन पुगेकी थिई तर उसको मुखबाट बोली फुटेको थिएन । जब उसकी आमाले बूढीले बिहेको न्मितो ल्याएकी थिई भन्ने समाचार सुनाई तब ऊ झन् लाटी भएकी थिई ।
दिउँसो जब बिहेघरमा जाने सुरसारमा बाकसबाट सुकुमारी सारी झिकिन थाले तब ऊ आफैसँग अल्झिएर बसिरही । उसकी आमा किन लुगा नफेरेको भन्दै झपारिरही, तर ऊ अल्लारेझैँ अटेरी झैँ आमाको अनुहार टुलुटुलु हेरेर उभिरही । अन्त्यमा केही सीप नलागेर उसलाई मारी गाली गरेर जब उसकी आमा बाहिर निस्केकी थिई तब बल्ल उसले मानो बिहेमा भन्ने कुराको अर्थ बुझेकी थिई । फेरि हत्त न पत्त लुगा फेरेर आमा म पनि आउँछु भनेर एउटी अल्लारे ठिटीझैँ ऊ कराउँदै दगुरेकी थिई ।
आमासँग टाँसिएर त्यो घरभित्र पस्दा पनि उसको छाती ढाल भएन । ऊ खुम्ची खुम्ची भित्र पसी र त्यो लोग्ने मान्छेको तलासमा चोर आँखालाई दगुराएकी थिई । उसलाई त्यो मान्छेलाई ठम्याउन गाह्रो परेन । त्यो मान्छे रिजेन्ट चुरोटको धुवाँ उडाउँदै उसको दलको स्वागत गर्न कोठाको एक छेउमा उभिएको थियो । ऊ बातैपिच्छे त्यसै पनि साँढेझैँ किच्चकिच्च हाँसिरहन्थ्यो । कुराकानीले उसले उसको हडबडाइलाई भाँच्ने प्रयत्न गरेको थियो । तर ऊ झन् झन् निली भएकी थिई । झन्झन् भयले खुम्चिएकी थिई । त्यो मान्छे छिनभर अगाडिबाट अलग हुन्थ्यो भने फेरि उसको अगाडि टुप्लुक्क उसको अगाडि किच्च दाँत देखाउन आइपुग्थ्यो । उसको छिनछिनको तलमाथिले उसको मुटु बेस्सरी धड्किएको थियो । उसलाई कस्तो कस्तो अफ्ठ्यारो लागिरहेको थियो । उकुसमुकुसझैँ अनुभव गरिरहेकी थिई ऊ । एकतमासको कुनै पर्वतले थिचेजस्तो उसलाई त्यहाँ जम्मा भएका मान्छेहरूले उसको विपक्षमा ष्डयन्त्र गर्न लागेझैँ लागेको थियो । त्यो घर, त्यो भित्तो सबैसबै नै उसका विपक्षीहरूसँग मतो गर्न लागेझैँ उसलाई लागेथ्यो । जब अन्धकार त्यस घरमा पनि ओर्लियो तब ऊ सबको हुलियाहरूबाट तर्सेकी थिई र आफ्नी आमालाई पनि तर्साउनेझैँ देखेकी थिई ।
ऊ चुपचाप रतेली खेल्न लागेका आइमाईहरूको आँखा छलेर बाहिर निस्किएकी थिई । फेरि त्यो रात सर्केझैँ विस्तारै विस्तारै बाटो काट्न थालेकी थिई । कोठाबाट ढोकामा, चोकमा, चोकबाट बगैँचामा ऊ के आइपुगेकी थिई अचानक त्यो मान्छेले उसको हात कक्रक्क समायो । केवल थरथराइरही ऊ । बोल्नसम्म पनि पटक्क सकिन । जादुले तानेझैँ ऊ तानिँद्यै गई । फेरि कुनबेला उसले उसलाई छातीमा टाँसेथ्यो उसलाई केही होश भएन । खालि उसलाई आफ्नो शरीरको अङ्गप्रत्यङ्गबाट आगोको लप्का उठेझैँ लागेथ्यो, बस त्यत्ति ।
स्मृतिलाई केलाउँदा केलाउँदै उसका आँखा मानो शून्यमा टाँसिए । ढुङ्गाका खामोझैँ उयभिरही उभिरही ।
एकाएक झस्केर ऊ पछाडि फर्किई । जूनको टहटह उज्यालोमा उसले देखी खुट्टामा चट्टी घुसारेकी, जीउलाई चिल्लो सारीले सजाएकी उसकी दौतरी कुन्ती आइरहेकी थिई । सम्भवतः ऊ रतेली खेल्न आएकी होली । फेरि कुन्तीसँगको प्रत्यक्षको सम्भावनाले ऊ मानो चिसिन थाली । कुन्ती निनिष्फिक्री थिई, बढो हलुको किसिमले पाइला सारिरहेकी थिई । तर कुन्तीले उसलाई देखिन । ऊ अँध्यारोमा हराएको हरायै एकदम बाहिर सडकमा बिलाई । कान्ति खाली हेरेको हर्यै भई । खाली हेरेको हेर्यै ।
उसको मुटुमा चिसो पसेझैँ स्मृतिले मानो ऊ सोच्न सक्ने स्थितिमा पुग्छे । यति राति यहाँ यसरी । प्रश्नलाई मनमनै दोहोर्याउँदे ऊ विस्तारै विस्तारै अघि बढी र अगाडि पाइला सार्दासार्दा आफ्नो स्मृतिमा कुन्तीको नक्सा कोर्न थाली – सिउँदोमा सिन्दूर लाएर, नयाँ फेसनको चोलो फरियाले आफूलाई सजाएर हिँड्ने सँगिनीहरूमा उजयाली कुन्ती टोलकी एउटी गनिएकी तरुनी थिई । खास गरेर कुन्ती ऊसँग उठबस गर्न ज्यादा मन पराउँथी । फेरि आज ऊ त्यसै तकिर्एएर अँध्यारोभित्र किन हराई ? उसले भेट्नुपर्ने मान्छे त ऊ बाहेक त त्यस घरमा अरू कुनै थिएनन् । फेरि यति राति । ऊ मानो शङ्केशङ्काले चुटिन थाली । एकाएक उसको मस्तिष्कमा टोल छिमेकमा सोझा साझा ठहरिएका भलाद्मी गनिएका उसको बाको चित्र उदायो । उसलाई आफ्नो बाबुको चलेको खासखुसको सम्झना भयो । हिँड्दाहिँड्दै आफ्नो ओठमा अगाडि एउटा विरक्त किसिमको मुस्कान चिप्लिएको अनुभव भयो उसलाई । उसको अगाडि मानौँ रहस्यको गाँठो फुस्किसकेको थियो । मानौँ लुकाउने कुरा केही थिएन, सारा नाङ्गो सारा नाङ्गो । उफ् ! कत्रो लाज मर्नु कुरो । एउटा नाति नातिनाको मुख देख्ने बेलाको लोग्नेमान्छेको काखमा एउटा भर्खरकी तरुनी देखिनु, त्यो पनि कसैको इज्जत, कसैको धर्म । कस्तो उपहास कस्तो व्यङ्ग्य ।
ऊ त्यसै त्यसै तमतमाई । त्यसै त्यसै छड्किई । पापी, अधम , नीच । उसलाई एकदम दौडेर गएर आफ्नो बाबुको अनुहार लुछेर रगतपच्छे पार्न मन लाग्यो । उसलाई एकदम दौडेर गएर कुन्तीलाई जगल्ट्याउँदै थुक्न मन लाग्यो । ऊ उत्तेजितझैँ झन्झन् छिटो पाइला सार्न लागी ।
ऊ रातसरी पनि भउभीत भइनँ, ऊ भूतसित पनि भयभीत भइनँ । ऊ मानौँ हावासित कुरा गर्दै अगाडि बढ्न थाली, ऊ मानौँ अँध्यारोसित मितेरी साइनोलाई गहिरो तुल्याउँदै अगाडि बढ्न थाली आँधीझैँ, तुफानझैँ ।
एकाएक ऊ शिथिल भई । उसको बाबुको सट्टामा उसको अगाडि त्यो लोग्नेमान्छे उदायो जोसँग जोसँग ऊ लिप्सिएकी थिई । अरूअरू कुन्तीको साटोमा ऊ आफै उदाई । उसलाई आफैसित हाँसो उठ्यो ।
आफ्ना सम्भावनाहरूसँग हाँसो उठ्यो, फेरि आजको अप्रत्याशित ढङ्गले घटेको घटनासत हाँसो उठ्यो । एउटा हाँसोको लहर त्यसभित्र अनन्त कथा ! ऊ हाँस्थी रही, मुस्कुराउँदै रही । हिँड्दाहिँड्दै ऊ अनजानमै रतेली खेल्न लागेको आइमाई बीचमा उभिन पुगी ।
उसले देखी– रतेलीमा जम्मा भएका सबै आइमाईहरू लोग्नेस्वास्नीको भेष बद्लेर त्यही खेलको महत्व दर्शाइरहेका थिए, जुन खेल, उसले खेलेकी थिई, उसकी सँगिनी कुन्तीले खेलेकी थिई । त्यो लोग्नेमान्छेले खेलेको थियो र उसको बाबुले खेलेको थियो । पहिलोपल्ट उसलाई यस्तो लाग्यो मानौँ यो संसारको सृजना खेल्नकै निम्ति भएको हो, बस खेल्नेको निम्ति । ऊ विस्तारै विस्तारै रतेली खेल्नेहरूको बीचमा नारिएर बसी । फेरि विस्तारै विस्तारै उसले उनीहरूको स्वरसँग आफ्नो स्वर मिलाई । गाउँदागाउँदा ऊ नाच्न थाली । नाच्दानाच्दै ऊ यस्तरी नाची ऊ पोखरीबीचको कमलको फूलझैँ देखिन थाली । ऊ मानौँ त्यहाँ फगतएक्ली थिई, ऊ बाहेक मानौँ सब शून्य थियो । त्यस शून्यतामा मानो उसको गालामा बसेको त्यो मान्छेको उसको हाडमासुमा रक्तिएको मासुको गन्ध धोइरहेको थियो । ऊ झन् झन् नाच्दै गई, झन् झन् नाच्दै गई । उसको अगाडिको वातावरण नाचमय नहुन्ज्यालसम्म ऊ नाच्दै गई, नाच्दै गई अनि सारा शून्य सारा चकमन्न हुँदै गयो ।
(स्रोत : प्रमोद प्रधानद्वारा सम्पादित “नेपाली यौनकथा” (वाणी प्रकाशन, विराटनगर,२०५४)बाट सभार)