तामाङ लोक कथा : उँधौली, उँभौली र तामाङ सेलो

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~

उहिले उहिले बुद्व भगवान् मधेस (ग्यागर)मा बुद्व धर्मको प्रचार गर्दै हिँडेको थिए । यस्तैमा उनलाई अत्यन्त गर्मी लाग्यो । त्यो गर्मी हटाउन हिमाल (भोइगर)मा डुल्न मन लागेछ । अनि उनी गुरू रिम्पोर्छे भएर घुमफिर गर्न थाले । गुरू रिम्पोर्छे हिमाली (बाई) क्षेत्रमा बुद्व धर्म प्रचार गर्दै जाँदा त्यहाँकी एउटी भोटेनीसँग उनको माया बस्यो । उनले त्यसै भोटेनीसँग बिहे गरे । उनले भोटिनी श्रीमतीलाई गोमोस्या भन्ने नाम दिए ।

बिस्तारै हिमालमा जाडो बढ्दै गयो । त्यसैले एक दिन गुरू रिम्पोर्छे हिमालबाट जाडो छल्न अलि तलको न्यानो प्रदेशमा झरे । त्यहाँ एउटी अत्यन्तै सुन्दरी तामाङ कन्यासँग माया बस्यो । अब उनका दुईवटी श्रीमती भए । त्यसपछि उनी छ महिना जेठीसँग हिमाली प्रदेशमा र छ महिना कान्छीसँग मधेसमा बस्न थाले ।

गुरू रिमपोर्छे हिमाली प्रदेशमा त्यति बेलासम्म बस्थे जति बेलासम्म जाडो सुरू हुँदैनथ्यो । जाडो छल्न मधेस झर्थे । जाडो महिनाभरि मधेसमा बसेर गर्मी हुन थाल्दा हिमाली क्षेत्रतिर जान्थे ।

गरू रिम्पोर्छे सँगैसँगै भोट प्रदेशबाट मानिसहरू पनि जाडो सुरू भएपछि मधेस बिस्तारै आउन थाले । ती सबै मानिसहरूलाई पछ्याउँदै हिमाली प्रदेशबाट चराहरू पनि मधेसतिर झर्न थाले । पछिपछि त पानीमा बस्ने माछाहरूले पनि यो चाल पाए र मधेसतिर झर्न थाले । गुरू रिम्पोर्छेसँगै चरा, माछा सबै उँधो झर्ने भए, त्यसलाई उँधौली भन्न थालियो ।

छ महिना मधेसमा बसिसकेपछि फेरि हिमालतर्फ लाग्दा उनीसँगै उँधो झरेका चरा-माछाहरू उँभो लाग्न थाले । यसैलाई उँभौली भन्न थालियो । यसरी गरू रिम्पोर्छेकी जेठी श्रीमती भोटिनी र कान्छी श्रीमती तामाङनी मिलेर यसरी सेलो गाएछन्-

तोर तोर निजू भोइ काइ काइ, मरमर खादीग्यागगरघान
(कहिले उँभो-उँभो हिमालमा जाने, कहिले उँधो-उँधो मधेसमा जाने)

यसै घटनाका आधारमा गुरू रिम्पोर्छे दुवै श्रीमतीले गाएको गीत नै संसारमा मानवजातिले गाएको पहिलो गीत थियो त्यसलाई सेलो भनियो । यसरी सेलोको उत्पति भएपछि तामाङहरूले गुरू रिमपोर्छेको सम्झाना र सम्मानमा सङ्गीतलाई छन्दोबद्व गरू सेलो गाउन सुरू गरेका हुन् भनिन्छ ।

पुस्तकमा तामाङ समुदायमा प्रचलित ६२ वटा लोककथाहरु संकलित छन । यसमा सामाजिक कथा २२ वटा, ऐतिहासिक कथा ११ र धार्मिक कथा २९ वटा समावेश छन ।

(स्रोत : रत्न पुस्तक भण्डारद्वारा प्रकाशित “तामाङ लोककथा संगालो”बाट सभार)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.