~मदनदेव भट्टराई~
जाडोको मौसम भएकाले दुई मित्र विनोद र चीलबहादुर एक दिन कौसीको पर्खालमा बसेर रापिलो घाम ताप्दै आधुनिक समाज र नारी मनोविज्ञानको बारेमा गफ गरिरहेका थिए । यत्तिकैमा उनीहरुलको आँखा पल्ला घरकी युवतीका आँखासँग जोडिन पुगे । हृष्टपुष्ट शरीरमा चोलो नगलाएको र टिनिक्क परेको चुच्चे छातीलाई धोतीको सप्कोले छोप्दै एक हातमा करुवा र अर्को हातमा साबुन र पुस्तक लिएर पढिरहेको थियो । उनको मुखमा शृङ्गार बिग्रेको थियो । कपाल खजमजिएको थियो । ओठमा हाँसो थियो । तर मुख भने उदास देखिन्थ्यो । धारामा पुग्ने बेलामा ठूलो स्वरले भाडा माझ्न लागेको रामेलाई झपार्दै “छाड् मोरा, मलाई अबेर भइसक्यो एकै छिन पर जा” भन्दै रामेसँग ढेस्सिँदै करुवामा पानी भरिन् अनि करुवालाई डिलमा राखेर मुख धुन लागिन् । मुख धोएर रुमालले पुछ्दै रुमालले एक हातमा करुवामा पानी र अर्को हातमा पुस्तक लिँदै पल्लो घरतिर एकपल्ट पिलिक्क आँखा लगाउँदै टिमटिम परेर मस्कँदै चोकमा आइन् । करुवालाई आँखी झ्यालमा राखेर त्यहाँनिर रहेको गलैँचामा घोप्टो परेर घाम ताप्दै कुशवाह कान्तको उपन्यास “पतिता” पढ्न लागिन् । उपन्यास पढ्दापढ्दै एकएक खित्का छाडेर हाँस्दै यसो टाउको उठाएर हेरिन् । त्यसबेला उनको आँखा आफूतिर आउन लागेको एकतीन चार वर्षको बालकमाथि पर्यो । अनि उत्तानो परेर एकैछिन् त्यस बालकको मुख हेर्न लागिन् । अनि अकस्मात् उठेर चीलले चल्लालाई झम्टेझैँ, बाजले परेवालाईै गाजेझैँ एकैपल्टमा बालककलाई ट्याप्प समातेर छातीमाथि राखेर दुवै हातले बच्चालाई जोडसित च्यापिन् । अनि आफ्नो गालालाई उसको गालासित जोडिन् । फेरि बच्चोको दुवै गालामा च्याप्प म्वाइँ खाइन् र मेरो बाबा राजा, प्राण भन्दै भुक्क भुक्क उठेको बालकको दाहिने गालामा जोडसित दाँतले टोकिन् । बालक अत्तालिँदै रुँदै उनको पञ्जाबाट उम्केर भाग्यो । जसरी एउटा मुसा बिरालोको पञ्जाबाट उम्केर भाग्छ ।
त्यसैबेला नौ दस वर्षकी बालिका आएर “ए ना हाम्रो गोठमा आएर धाईकहाँ बस्ने त्यो नयाँ स्वास्नीमान्छे को हँ ? कत्ति राम्री रहिछ । को हँ त्यो ? ” भन्दै सोधी । युवतीले हाँस्दै भनिन्, “ए, त्यो हिजो आएको स्वास्नी मान्छे ? त्यो त धाईको भाइसित पोइला आएकी रे ।”
अबोध बालिकाले फेरि सोधी,“ त्यस्ती राम्री स्वास्नीमान्छे त्यस्तो नराम्रो भाइसित किन आएकी होली ? फेरि त्यस्तो फोहोर गोठमका किन बसेको छ्या । ए ना, त्यसको आमाबुवा दाजुभाइ कोही छैनन् ? किन एक्लै आएकी ?”
युवतीले झर्किँदै भनिन्, “अँ त नि, पोइल जाँदा पनि सबैलाई लिएर जान्छन् क्यारे ।”
बालिकाले अचम्म मान्दै फेरि प्रश्न गरी, “हरे शिव, सबै जनालाई छाडेर एक्लै पोइल आएकी, कस्ती मोरी ! आफ्ना आमाबुवा, दिदी बहिनी कसैको पनि माया नलागेको हरे राम । ए ना, वीरबहादुरकी छोरी पनि पोइल गई रे । लालबहादुरकी बहिनी पनि पोइल गई । किन हँ स्वास्नीमान्छेहरू पोइल गएको नगएको भए पनि त हुन्थ्यो नि ?”
अबोध बालिकाको सोझो प्रश्नले युवतीलाई अफ्ठ्यारोमा पारिदियो । “कुन्नि कुन्नि मलाई थाहा छैन । तँ केटाकेटालाई यस्तो कुराको केको चासो ? आफैँ थाहा पाउँछेस् पछि ।” यति भनी बीच चोकमा सुकुल विछ्याएर भागवतको पुस्तक हेरिरहेका महानुभावतिर युवतीले घृणापूर्ण दृष्टिले हेरिन् ।
कपाल सेतै फुलिसकेका, शारीरिक बनोटको ढङ्गबाट हेर्दा लम्बाइभन्दा बढ्दा चौडाइ भएको उनको ठूलो गोल्फुजत्रो भुँडीको बयान गरेर साध्य छैन । भुँडीको गरुङ्गोपनाले भार थाम्न नसकेर होला उत्तानो पारेर भागवतको पुस्तक हेरिररहेका थिए । यसो गर्दा उनी कुनै अखडाबाट कुस्ती खेलेर भर्खरै थाकेर आएका हुन् कि जस्तो देखिन्थ्यो । यसैबेला एकजना ठाँटिएका अप टु डेट युवक त्यहाँ आइपुग्यो । आगन्तुकले दुवैलाई नमस्कार गरे । युवतीले उनले गरेको नमस्कारलाई बढो कलापूर्ण एक हातले धोतीको सप्कोले छातीलाई छोपेर शर्मिला नजर लगाउँदै कठिनतापूर्वक नमस्कारको उत्तर दिइन् । कहिले कौसीका ठिटाहरु तर्फ र कहिले आफ्नो शरीरलाई हेर्दै आगन्तुकसित कुरा गर्न लागिन् । उनको कुरा गराइमा तिखोपना थियो, हँसाइमा लज्जाभन्दा धेरै अट्टाहास थियो । एउटा हात छातीमाथि नै थियो । अर्को हात चाहिँ कहिले गालामा पुग्थ्यो । कहिले सिउँदो चिरेको कपालको बीचमा पुग्थ्यो । गाला राता भइरहेका थिए । निधारमा थाहा नपाइने किसिमले चिटचिट पसिना आइरहेका थिए ।
आगन्तुकले उनको कुरामा ध्यान नदिएर भुँडे महानुभावसित कुरा गर्न लागे । आफ्नो कुरोको जवाफ नपाएर पछि युवतीले विस्तारै धोतीको फुर्को मुखमा हालेर टोक्न लागिन् । अनि कपाल फुकाइन् । जोडसित, टाउकाको पछिल्लो भागमा कन्याइन अनि त्यहाँनिर नजिकै खेल्न लागेकी बालिकालाई झम्टँदै “ए तँलाई पढ्न पर्दैन । जुनबेला पनि खेलेरै बस्ने, अझ पढ्न जान्नस” भन्दै लछारपछार पार्दै भुत्लाइन् । बालिका कङ्कला शब्द गर्दै रुँदै भित्र आई ।
अनि घाममा सुतिरहेको कुकुरलाई “आ पप्पी आ” भन्दै बोलाएर त्यसलाई काखमा सुताएर कुकुरको मसिनो चिप्लो रेशमजस्तो रौमा हात फेर्न लागिन् । एकैछिनमा नजाने के विचारले हो सुतिरहको कुकुरलाई एक्कासि उठाएर “खडे गर पपी, खडे गर” भन्दै खडा गाइन् । कुकुर मुखबाट लामो लामो जिब्रो बाहिर झिक्दै सास लिँदै अघिल्लो खुटटा थरथर कमाउँदै खडे गरेको युवतीले ध्यानपूर्वक हेरिरहेकी थिइन् । त्यसैबीच बाहिर कुकुर भुकेको सुनेर पपी पनि दौडँदै आवाज आएको दिशातिर भुक्तै गयो । आगन्तुकसँग कुरा गरी ती भुँडे महानुभाव पनि उनीसितै बाहिर गए ।
युवतीचाहिँ आँखिझ्यालतिर गएर ध्यानमग्न भएर पल्लो घरको कौसीतिर हेर्दै दाहिने खुट्टाको बूढी औँलाले भुइँ मन्तिरको माटो कोप्रन थालिन् । अनि पिच्च थुक्दै छातीको अर्धभाग देखाउँदै करुवा उचालेर टुटीबाट पानी त्वारर गर्दै नजिकको खाडलमा पानी फालिन् । अनि फेरि धारामा गएर करुवामा पानी भरिन् । पानी भरेको करुवालाई पेटीमा राखेर धाराको टुटीबाट मुख लगाएर कलकल गर्दै पानी पिइन् । फेरि मुखभरी पानी लिँदै पिच्चपिच्च गर्दै निक्कै टाढासम्म पुग्ने गरी फालिन् । कर्के नजरले फेरि एकपटक कौसीतिर हेर्दै माथिल्लो दाँतले तल्लो ओठलाई टोक्दै घरभित्र पसिन् ।
युवती भित्र गएको केही बेरपछि रेडियोबाट फिल्मी गीत घन्किन थाल्यो । अलिबेरपछि शृङ्गारपटार पारेर, कपाल सपाल कोरेर लुगाको पोको लिएर चोकमा आएर धोतीको सानो फुर्काले छाती छोप्दै चुच्चेदार चेस्टर लगाइन् । अनि बडो जतनसाथ टाउकोबाट छिराएर पेटिकोट लगाइन् । पेटिकोट र चेस्टर मात्र लगाएर ठिङ्ग उभिएर चारैतिर हेरिन् । यसैबीच रामे आइपुग्यो । युवतीले रामेलाई क्रोधपूर्वक हेर्दै भनिन्, “मोरो स्वास्नी मान्छेले लुगा लगाएको बेलामा आउनुहुन्छ ? नकच्चरा, भित्र जाडो भयो भने बाहिर आएर लुगा लगाउन लागेको के भन्नु यो घरको मानिसको त सोमत नै छैन । भैगो, त यो धोती चुन्याइँदे ।”
यति भनी उसको हातमा धोती राखिदिइन् । अनि आफू ब्लाउज लगाउन थालिन् । रामेलो धोती चुन्याउँदै भन्यो, “अस्ति सूचीकारले ल्याएको फलाटिनको चोलो लगाए भइहाल्यो नि । यो जाडोमा किन यस्तो ठुटे लगाएको हजुरले ?”
“मोरा बढ्ता न हो । तैँले मात्र जानेको छस् ? तैँ स्वास्नीमान्छे भएको भए थाहा पाउने थिइस् । ” यति भनी युवतीले उसको हातबाट धोती खोसेर लगाउँदै भनिन्, “ अस्ति नै मैले यो चोले र धोती लगाएको तँलाई धेरै नै राम्रो लाग्यो भनेको होइन ?”
रामे खिस्स हाँस्यो ।
युवतीले रामेलाई केही पैसा दिँदै भनिन्, “जा अमिलो सुन्तला किनेर ले, मलाई आज पिरो अमिलो खान मनज लाग्यो ।” रामेलाई सुन्तला किन्न पठाई युवतीले कताकता मन नलागेको जस्तो गरी एकपल्ट कौसीतिर हेर्दै धारामा गइन् र धाराको टुटीभित्र मुख हालेर पानी पिउन खोजिन् । तर त्यसबेला धारामा पानी आउन बन्द भइसकेको थियो । पानी नआएको देखेर धारालाई धारेहात लगाउँदै फत्फताउँदै धारानिरको पर्खालमा चढेर फुलेको रातो गुलाफको फूल टिपेर कपालमा सिउरिन् । त्यसपछि चारैतिर हेरेर फरिया फरक्क फर्काएर थ्याच्च बसिन् । त्यो देखेर विनोदले जिल्ल परेर टाउको फर्कायो । उता चील बहादुरले थुक लिएर, “थुक्क मोरी, जा राँडी, छिल्लिएकी मोरी, कस्ती रण्डी रहिछ,” भन्दै थुक्क थुके ।
विनोदले भने, “हा, अर्कालाई किन गाली गर्नु त्यसै । बिचरीलाई पिसाब लागेको होला, रोक्न सकिनँ होली, के लाग्छ । हामी पनि त बाटोमा पिसाब फेर्दछौ नि । शरीरविज्ञानले पनि त दिशापिसाब रोक्नाले हानि हुन्छ भनेर । यसमा गाली गर्ने के कुरा भयो र ?”
यो कुरा सुनेर चीलबहादुरले भने, “होइन तपाइँलाई थाहै छैन यसको कुरा । यसको चालै यस्तै छ । जहिले पनि यस्तै गर्छे । अस्ति साझाको बसमा चढ्ने बेलामा पनि मलाई ढेस्सा लगाउँदै भित्र पस्न खोजी । अनि मैले के गरेको यस्तो भनेको त राँडी त “लेडिज फस्ट” भन्दै मलाई त लौ पो झनै घचेडी दिई । मलाई झन् झन् रीस उठ्यो । अनि भनिहालेँ, “माफ गर्नुहोला” आज मामला गडबड भइहाल्यो । अर्कोपल्ट देखि लेडिज फस्ट गरौँला । ”
उता युवती रामे आएको आवाज सुनेर हत्पताउँदै दौडेर गई उसको हातबाट सुन्तला लिएर छोडाउन लागिन् । सुन्तला छोडाउँदा सुन्तलाको राग रामेको नाकमा पर्यो । उसले नाक चेप्राउँदै– चेप्राउँदै हाछ्उिँ हाछ्उिँ गर्न लाग्यो । हाच्छिउँ गदा जोड पर्न गएर होला उसको सुरुवालको इँजार चुँडेर फुस्कियो । रामेले हत्तपत्त सुरुवाल समात्यो । उसको मुख लाजले निहुरियो । युवतीले आफ्नो हाँसो रोक्न सकिनन् । उनले हाँसोको बीचमा तुरुन्तै आफ्नो टाउकोको रिबन झिकेर इँजार हाल्न दिइन् । डराएको मुद्रामा रामे जिल्ल परेर उनको मुख हेर्न थाल्यो र भन्यो, “हजुर माफ पाउँ, हजुरलाई केको तकलिफ, म आफैँ हालिहाल्छु नि !”
यति भनी युवतीले रामेको मुखमा हेर्यो । युवतीको मुखमा अझै हाँसो थियो । उनको रिसको आभास नपाएर सन्तोषको सास फेरेर भन्यो, “रिबन चिप्लो हुन्छ । फेरि फुस्कयो भने त के गर्नु नि ! ” उसको कुरा सुनेर युवतीले भनिन्, “हुन त मैले एक पल्ट इजार नपाएर रिबनको इँजार हालेर जाँदा बीच बाटोमा फुस्केर कस्तो आपत्, तर तिमीहरू लोग्ने मान्छेलाई त फुस्के पनि के हुन्छ र? यति भनी युवती रामेतिर अगाडि बढिन् । रामे डरले थरथर काम्दै भन्न लाग्यो, “मालिक भएर के गरेको हजुरले ? कसैले देख्यो भने ?”
उता खलखल पसिना आएको रातोपिरो मुख लगाउँदै युवतीले मसिनो स्वरमा भनिन्, “भगवानको मन्दिरमा सानोठूलो र उँचनीचको भेदभाव हुँदैन । नोकर मालिकको सवाल जर्जर पुरानो सामन्ती प्रथाको प्रतीक हो । मानव मानवमा केको भेद ?” रामे र उनकोबीच तानातान हुँदाहुँदै रामेको सुरुवाल फुस्क्यो। रामे त्यहाँबाट भाग्न खोज्दा खुट्टा अल्झेर युवतीको छातीमाथि पछारिन पुग्यो ।
उता दुवैभित्र खित्का छोडेर हाँस्न लागे । ठीक त्यसैबेला भुँडे महाहनुभाव पनि चोकमा आइपुगे ।
(स्रोत : प्रमोद प्रधानद्वारा सम्पादित “नेपाली यौनकथा” (वाणी प्रकाशन, विराटनगर,२०५४)बाट सभार)