~डिल्लीराज आचार्य~
“ल है ड्याड यसपाली त गाडी लिएरै जानु पर्दछ” बैंग्लोरबाट फर्कने क्रममा पाल्पाको एकजना कार्यालय प्रमुखले आफ्नी छोरीलाई लिन सरकारी गाडी लिएर सुनौली पुगेको र करिब मध्यरातको समयको कारणले तत्काल अन्य सवारी साधन नपाएकोले आफूहरुपनि त्यही पिकअफ गाडीको पछाडि बसेर बुटबलसम्म आउन बाध्य भएको प्रसङ्ग संगै छोरी सञ्जुबाट आएका यसप्रकारका शब्दहरुभित्र धेरै कोणका भावहरु रहेको मनमनै अनुभव गरें ।
हुन्छ हुन्छ भन्दै ल्याप्टपतिर औंलाहरु चलाई रहें । तर दुर्भाग्य भोलिपल्ट गाडी नै बिग्रीयो । धकेलेर ग्यारेज लगेको त तयार हुनका लागि चार पाँच दिन लाग्ने भनियो ।
“लौ छोरी यसपाली पनि बसमै जानु पर्ने भयो…..” ग्यारेजबाट फर्केपछि भनेको त “होस तपाईका लागि मात्र ड्यूटीस्टेशन बाहेक अन्यत्र लैजान नहुने सरकारी गाडी, बिग्रीयो त तपाई कै बिचारलाई साथ दियो….. । लौ लौ ड्याड निजी बसमै सरर्र …हाम्रो त साधन नै त्यही हो, तपाईको १५ लाखजतिको होला हाम्रोत त २५ लाख पर्ने…” भन्दै हाँसिन । हामी पनि हाँस्यौं ।
हतारिदै पर्यटक बसपार्क पोखरा पुगेंं पछिल्लितिरको सिट पर्ला भनेर । आजैबाट भाडा बढेकोभन्दै जनही ४५० भन्दै थियो टिकट काट्ने स्थानमा हैन अँस्ति त ३५० मा पठाएको भनेपछि र एकजना त स्यांग्जाबाटबाट पो चढ्ने भनेपछि बल्ल बल्ल १२५० मा तीनवटा टिकट लिएं । भोलिपल्ट बिहानको साढेसात बजेबाट चल्यो पर्यटक सवार भनिने मिनि बस । भन्नपनि लाजमर्दो । हरेक दश रुपैया बराबरका लोकल यात्रीहरु राख्दै, ग्यार ग्यार गराउदै लग्न लाग्यो बसले स्यांग्जा हुदै ।
ठीक पल्लो छेउँमा करिब सत्तरी बर्षको जस्तो लाग्ने, अग्लो गोरो अनुहारले छिन्छिन्मा हामीहरु तिरै हेरेको लाग्दथ्यो । स्यांग्जा प्रबेश मात्र के भएको थियो उसले सोध्यो “तिम्रो छोरी” । यस अर्थात मैले हो मात्रै भनेर छोरीतिर हेरें ।
कसरी थाहा पायो ड्याड् ? मसंगको सवालसंग उनको हातपनि उठेको थियो इशाराको अर्थजस्तो गरी । उसले फेरि आफ्नै हिसाबले भन्यो “नाक मिल्छ तिमीहरुको, त्यसैले चिनेको…..” । फेरि हाँस्यौं बाबु छोरी दुर्बजना । उ पनि हाँस्यौं । कुरा बुझेर हास्यो वा नबुझैरै तर हाँस्यो । तत्क्षणमै हातको इशाराले पैसा गनेको बताउदै उसले भन्यो “अभिभावकका नाताले खर्च गर छोरा छोरीका लागि । आशा पनि गर केही गर्लान भनेर । तर ढुक्क चाँही नहोउ है …. आफ्नो भविष्यकालागि आफै सोंचेर बस र केही सञ्चय पनि गरेर राख.है” । बाह्य रुपमा हाँसोको फोहोरा नै चलाउन मन लाग्यो तर भित्री रुपमा भने अनेक कुराहरु खेली रहे । उसको अनुभवको अभिब्यक्ति मात्र थिएनन् ती शब्दहरुको भावमा । बर्तमान समयमा मानवीय जीवनको बास्तविकता र समकालीन नेपाली समाजको यथार्थताको उद्घोष जस्तो लाग्न पुग्यो ।
“लौ दिशापिशाब…..” जंगलको बिचमा गाडी रोकिएपछि सहचालकले आदेश दियो । संगसंगै झर्यौँ बसबाट । आ—आफ्नै धुन र कर्ममा यताउता लागेपछि बसको नजिक आएर उभियौं । “वारी पारी पहाड, बिचमा नदी, सुन्दर ठाउं, सुन्दर नेपाल” उसले भन्यो ।
मैले हांसेर भने— धन्यवाद । उसले चुरोट झिक्यो र मतिर तेस्र्यायो । भैरब अर्यालले लेखेको ख्बै ख्बै निबन्ध लौ लौ मा रुपान्तरित भएको जस्तो लागेर आयो । मैले भने “आजसम्म त्यसको स्वाद चाखेको छैन” ।
“माफ गर्नुहोला मैले त यात्राको आपूm जस्तै साथीका रुपमा सम्झेर” …उसले तत्कालै लज्जावोधको भाव पनि देखायो ।
“ठीकैछ तिमी लिउ न” भन्ने मेरो जवाफ पछि उ करिब ५ मिटर टाढा गयो र एकछिन स्वांठ स्वाठं्ती तान्यो चुरोट । चुरोटको धुंबासंगै उसका भावनाहरु पनि नेपाली आकाशमा उडिरहेको जस्तो सम्झे मैले ।
केही छिन मै आयो मेरो नजिक र भन्यो “मैलेपनि पहिले खादैन्थे, पहिलो श्रीमती दुर्घटनामा परेर मरेपछि खान थालेको हुं …………………..”
“घटनाकालागि मेरो सहानुभूति छ । तर चुरोट पिउने बानीका लागि तिमी सर्मिन्दा हुनुपर्ने केही छैन । देखेनौ सिट मै बसेर चालकले खाएको ….” मैले चालकको दृश्यलाई देखाँउदै भने ।
“नराम्रो, धेरै नराम्रो । चालकले सिटमा नै बसेर चुरोट खाने ?? तिम्रो देशमा कानून छैन ….” उसले असन्तुष्टिका शब्दहरु संगै जिद्दासा पनि राख्यो । चुरोटको बाँकी भाग बनतिर फाल्दै चालकले स्टार्ट गर्यो बस । बसमा चढें । उसको जिज्ञासाको जवाफ दिन भ्याउदै भ्याइन अझ भनौ दिन सकिन मैले ।
अब म करिब एकवर्षका लागि बैग्ंलोर जान हिडेकी छोरीसंग कुरा गरेर भावी एकवर्षको भेटलाई साँच्ने मौकाभन्दा पर पुगें । कतै यसले म कानूनको जानकार अथवा भनौं कानूनको खेती गर्ने कानून कै बाउसे अर्थात न्यायाधीश नै भएको थाहा पाउने हो कि ? मभित्र एक प्रकारको लघूताभास पो हुन थाल्यो । खचाखच यात्रू र थोत्रो बस भएको कारणले आएका समग्र आवाजले उ र म वल्लो पल्लो सिटमा भएपनि राम्ररी कुरागर्ने अवस्थामा भएनौ स्यांग्जा नकट्दासम्म ।
गलेंग बजारमा रोकियो बस । उत्रेर अली पर फेरि पुगी चुरोट सल्कायो । तान्यो र आयो मेरो छेउंमा । म संग केही थप कुरा गर्ने बहाना वा मेसो खोजिरहेको जस्तो लाग्यो मलाई । उसले भन्यो “रिसाउदैनो भने एउटा कुरा सोधुँ” । मैले केवल हुन्छ मात्र भने । “के गर्दछौ तिमी, तिम्रोलागि र तिम्रा छोराछोरीहरुको खर्चको लागि…… ? ”
अब भने म साच्ची कै पानी पानी जस्तो हुन लागें । अघि चुरोटको प्रसंगमा तिम्रो देशमा कानून छैन भनेर सोधेको सम्झे । बसको खचाखच अवस्थाका बिचमा मानिसहरु कराएको आवाजले दिक्क परेर होला, उसले आफ्नो कानमा एकछिन औंला हालेर बसेको पनि सम्झँे । मानिसहरु कराउनुको कारण दुईवटा थिए त्यसक्षणमा एउटा त भिड बढी अर्को त्यही दिनदेखि मात्रै बढेको भाडा दर । सहचालक पनि दिक्क भइसकेको थियो । कतिसंग त उ नराम्रो किसिमले नै प्रस्तुत भएको थियो । भाडादर बढ्ेको पर्याप्त जानकारी दिएपछि वा केहीसमय राखेर भाडा बढ्ने प्रसार प्रचार गरेपछि मात्र थपभाडा लिन पाउने कानून भइदिएको भए बढेको भाडाको जानकारीको अभाव भन्ने यात्रु र बढेको भाडा नतिरी अर्काको बसमा कहां चढन पाइन्छ ? भन्ने जस्ता सहचालकका शब्दहरु आउने थिएनन् होला लागि रह्यो ।
“नेपालको कानून दैवले जानुन” भनेको सुन्दथें सानो छँदा, यस्तै भएर रहेछ भन्नेपनि मनमा लागेर आयो । राज्यको तर्फबाटै सञ्चालन हुने सार्बजनिक बस हुने र सबैलाई बराबरी ब्यबहार हुने दिन कहिले आउला ? भन्ने चिन्ताले पनि मुटुको एक कुनामा हानिरह्यो । केही छिन चुपचाप रहंदै र केही समय छोरीसंग कुरागर्दै बितेपछि आयो कालीगण्डकीको पुल अर्थात राम्दीको पुल । “राम्दी तरेछि को कस्ले देख्छ र बसमा चढेछि” भन्ने शब्दको गीत पनि याद आयो त्यस क्षणमा ।
बस पुल पारी गएर रोकियो । झर्यो मेरो यात्राको जर्मनसाथी र म पनि झरें । यसपाली उसले आफैले छड्के पारेर भिरेको झोलाबाट बदाम काजू लियो र पकापक खायो । मलाई खाने भनेर टाढैबाट इशारा पनि गर्यो । मैले नखाने भन्दै सुन्तला खान लागेको भनेर देखांए र उसलाई सोधें, खान्छौ ? उसले पनि चिसो, अमिलो … हुन्छ होला खान्न खान्न भन्यो । चालकले चिया नास्ता के गर्न लागेर हो अली ढिलै होला जस्तो लाग्यो । सहचालकलाई भने “ए भाई दश दश रुपैया टिपेर आएका छौ फेरि यसरी बाटोमा धेरैबेर रोक्ने हो भने त साझँ मात्रै होला हैन सुनौली ….” ।
कहिले खाली खाली हिड्नु पर्ने, स्यांग्जा कटेपछि लोकल यात्रु नै नपाइने, तेलको बढेको भाउ, कतिले पुरा पैसा नै नदिने यावत सन्दर्भहरु एकै लर्कोमा पोख्यो मैमाथि । म उसका गन्थन सुन्न सक्ने अवस्थामा भइन र अली परतिर लागें । यात्राको जर्मन साथीपनि उतै उतै लाग्यो ।
उसैलाई सोद्धछु के गर्दो रहेछ ? भन्ने लागेर आयो । सोधें । बिश्वबिद्यालयमा समाजशास्त्र पढाएर अवकाश जीवन बिताईरहेको प्रोफेसर पो रहेछ । दुईवटी श्रीमतीतिरबाट मात्र एक एकवटा सन्तानको पिता । जेठीको दुर्घटना मृत्युपछि बिबाह गरेकी दोस्री श्रीमती उ भन्दा अली कम उमेरकी । कतै उ बसेको जर्मन भन्दा बेग्लै बाह्य देशमा काम गर्ने । उसको अवकाश जीवनको यात्रा पर्यटकीय भ्रमणमा लागेको यो दोस्रो वर्ष रे । वर्षमा करिब ३ महिना घुमेर अर्थात देशदेशावर हेरेर बिताउने रहेछ ।
के गर्नु र ? घरमा बसेर, अब अरु काम गरौं भन्ने पनि लाग्दैन । पेन्सन आदिले राम्ररी पुग्दछ आफूलाई, के का लागि थप दुख्ख गर्ने ? बरु बिभिन्न देश घुमेर सामाजिक तथा सास्ंकृतिक विविधताका बारेमा लेख वा पुस्तक प्रकाशन गर्न सके…. …उसको अबको धोको रहेछ ।
बैंक ब्यालेन्सको ब्याज, लगानी रहेका ब्यबसायबाट प्राप्त हुने मुनाफा र पेन्सनको रकमको एक चौथाई आफू जन्मेको हुर्केको समाजकालागि र पढेको बिद्यालय आदिका लागि सहयोग गरेर सक्ने रहेछ यात्रीले त । छोराछोरीलाई दिनु पर्दैन ? भनेको त पर्दैन पर्दैन । उनीहरु आ आफै सक्षम छन् । मेरोभन्दा धेरै आय छ । फेरि ठूलो भएका छोरा छोरीहरुलाई बाबुआमाले कमाएर दिनु भनेको उनीहरुलाई बिगार्नु हो । अल्छी बनाउनु हो । परनिर्भरतातिर लैजानु हो …..।
उसले मेरो जिज्ञासालाई नै कम वजनको मानेजसरी फटाफट भन्दै गयो । चालकको गाडी स्टार्टको इशारांसंगै हाम्रो भलाकुसारीमा ब्रेक लाग्यो । वल्लो पल्लो सिटमा कहिले हाँस्दै त कहिले इशाराले सहयात्रीभावका मालाहरु गाँस्दै अगाडि बढ्यौँ । बर्थुम पुग्यो बस । फेरि सहचालकले आदेश बजार्यो “लौ खाना खाने, मात्र २० मिनेट हे समय” ।
झर्यौ । तराईका फाँट देख्यो उसले । नाकै अगाडिको श्रीनगर र सल्लाका रुखहरु देखेपछि होला उसले मेरो नजिक आएर जिज्ञासा राख्यो कंहा हो यो ..?
”पाल्पा सुन्दर पहाडी वस्ती, श्रीनगर डाँडो हिमालय दृश्यावलोकनको एक महत्वपूर्ण बिन्दू, पहाडी ऋृंखलाहरुको मनोरम दृश्यावलोकनको स्थान …………….उ तलतिर तराई, हेर उ त्यतापट्टि लुम्बिनी…..।
उसले भन्यो, “हो हो म लुम्बिनी नै जान लागेको” । अली पर गयो । फेरि चुरोट सल्कायो श्रीनगरतिर हेर्दै तान्यो । टाउको एकफन्को लगायो ।
”खाना खाने समय हो ,नखाने केही ?, मैले सोधें उसलाई । उसले भन्यो हेर ख्बै सफा देख्दैन म त । भरसक बाटोमा खानु हुदैन । अस्वस्थकर हुन सक्दछ । त्यसैले मैले त यी झोलामा नै ल्याएको छु केही सुख्खा खाना । खाने भन्दै बाटो छेउमै उभिदै, झिकेर चपाउन लाग्यो बदाम, काजू, ..आदि के के । केही क्षणमा मेरो नजिक आएर सोध्यो “प्यारो साथी, तिमीले त भनेनौ नि के गर्दछौ भनेर” ।
म हाँसी मात्र रहें । किन हाँस्यौ ? मैले प्रश्न सोधेर गल्ती गरें ? फेरि तेस्र्यायो सवाल मैतिर । अब भने म उसको सवालको जवाफ दिन बाध्य भएं भन्ने लाग्यो र भने — म सरकारी सेवामा छुँ ।
“राम्रो, धेरै राम्रो । तिमीसंग गाडी छैन ?” उसले फेरि सोध्यो । मैले छ भन्ने अर्थमा टाउको हल्लाए । किन सार्बजनिक बसमा त ? फेरि सोध्यो र मलाई अर्कोपटक अप््ठयारो पारेको जस्तो लाग्यो । “म बिशेषतः लामो दुरीमा र बेला बेलामा सार्बजनिक बसमा नै यात्रा गर्दछु” मेरो जवाफ सुनेर उसले गुड भन्दै हात अगाडि बढायो र भन्यो “हेर म पनि समय भएसम्म सार्वजनिक बसमा नै यात्रा गरेर बिश्वबिद्यालयको सेवाबाट अवकाश लिएको हुं । एकजनाकालागि एउटा गाडी अनाबश्यक खर्च हैन ? सार्वजनिक यातायातले पनि उही समयमा पुर्याउने होभने किन चढ्ने सिंगल गाडी । बरु त्यो रकम जोगाउ र समाजसेवामा लगाउ । नभए कम्तिमा पनि देशदेशावर घुमेर आनन्द लेउ । शरीरले सकेसम्म र समयले भ्याएसम्म म त सार्बजनिक सवारी मै यात्रा गरेर आएको छँु आजसम्म ….” ।
अबभने मेरो मनको डर वा संकोच आफै हराएर गयौ । उसले जसरी आफ्नोपदको बारेमा भन्न पनि मैले चाहिन किनकी सार्बजनिक बसमा किन चढ्यौ त त्यस्तो माथिल्लो पदाधिकारी पनि ? भनेर सोद्धला भन्ने डरले नभनेको । सम्पन्न देशको पुगीसरी मान्छेको जीवनशैली र सकारात्मक सोंचले भित्रभित्र मलाई थिलथिलो हुनेगरी नै हिर्कायो । यात्राको अधिक समय पुस्तक पढी नै रह्यो ।
सज्जन र सकारात्मक देखिन्छौ तिमी यसो भनेर मलाई नै उचाल्यो उसले । मसंग धन्यवाद बाहेक अरु केही थिएन उसलाई दिने ।
देख्नुभो, उता (अर्थात स्यांग्जा जिल्लाभर) ढिला गरेपनि गुरुजीले हाँकेको, तोकेको टेम पौने दुईवजे भन्दा दशबिस मिनेट चांडै पुगिन्छ सुनौली …सहचालक गुरुजीले छिटो कुदाएकोमा दंग थियो । आफूलाई भने झुम्साक्षेत्रमा हुने दुर्घटनाका स्वरुप र रंगहरुले भित्रभित्र चिमोटिरहेका थिए । बुटवल हुदै बर्मेली टोल आई सक्योबस तर मेरो यात्राको जर्मनसाथी पुस्तक नै पढिरहेको छ । लौ आयो लुम्बिनी जाने बाटो । झरौं झरौं…………..।
ए ओ भन्दै, अली हतारमा झर्यो । छतमा रहेको झोला झिक्न भन्यो । समायो । कुइरे छाला देखेपछि ट्याक्सी र रिक्सावालहरु झुम्मिन आइपुगे । उनीहरुको सवाललाई नो नो भनेर जवाफ दिदै मेरो नजिक आएर भन्यो के तिमी मलाई लुम्बिनी गन्तब्यको लागि बाटो देखाएर मद्दत गर्न सक्दर्छौ ? मैले इशारा गर्दै आफूतिर आउन भने । केही रिक्सावाला र दुईवटा ट्याक्सीहरु पछ्याउदै थिए । लुम्बिनी जाने बसमा चढाउनै लागेको थिएं, उसले सोधि हाल्यो सरकारी सेवा त भन्यो तर कुन बिभागमा ?
अनाय।शै मित्र भन्ने शब्द आयो मेरो मुखबाट । मैलेभने मित्र म न्याय बिभागमा काम गर्दछु । न्यायाधीश पदको सेवा हो मेरो, नेपालको पुनराबेदन तहको अदालतमा, लाग्दछ तिमीहरुको देशको अभ्यासमा उच्च अदालत वा राज्य अदालत …? ।
मेरा शब्दहरु सकिदा नसकिदै उसले भन्यो “ओहो, धेरै राम्रो, मानवतावादी कर्मको पेशामा रहेछौ बधाई छ । धेरै सम्मानित पद । म छुटिट्ने वेलामा भन्दछु कि न्यायाधीशको कुर्सीमा बसेर काम गर्न धेरै गाह्रो अवश्य होला तर जतिसुकै गाह्रो भएपनि न्यायको पक्षमा, अझ गरीव र दीनदुखीको पक्षमा निडरताका साथ तिम्रो कलम चल्नु पर्दछ, म त धेरै टाढाको मान्छे, म थाहा पाउदिन तिम्रो कलमले निभाएको धर्मको मर्म । तिमी आफैले आफैलाई नै सोधेर काम गरे भन्दै दरोसंग हात मिलाएर लुम्बिनीतर्फको यात्राका लागि बसमा चढ्यो उ ।
ट्याक्सी चालकले नजिकै आएर भन्यो “कुइरेलाई बसमा चढाएर हामी नेपालीको पेटमा लात हान्नु भो हैन” ?
शब्द नमीठो लाग्यो तर प्रतिबाद गर्न वा उसलाई सम्झाउन आवश्यक देखेन मेरो अन्तरमनले ।
यात्राको एकजर्मन साथीका तिनै सन्देशहरु पोखरा फर्केर यी शब्दहरु नलेख्दासम्म कानमा झंन्किरहे । संस्मरणका खातिर यीनै पंिङतहरु लेखिसकेपछि मात्र नृत्यकारले पाउजु थन्काएको जस्तो कस्तो कस्तो अथवा भनौ मनमा एक प्रकारको शान्ति अनुभूति भयो ।
डिल्लीराज आचार्य
२०६७ कार्तिक, पोखरा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)