~क्याथरिन म्यान्स्फिल्ड~
अनुवाद :राजनारायण प्रधान
रोजमरी साह्रै सुन्दरी त थिइनन् तर तिनी आकर्षक भने थिइन् । तिनी तरुनी नै थिइन् । तिनको अनुहार कान्तिमय थियो । तिनी आधुनिक लुगाहरु लगाउँथिन्, नयाँ–नयाँ साहित्यिक पुस्तकहरु पढ्थिन् ।
रोजमरीको विवाह भएको दुई वर्ष मात्र बितेको थियो । पति तिनलाई खुबै माया गर्दथे । यी दम्पती खुबै धनी थिए । रोजमरीले केही किन्न परे तिनी सोझै पेरिस गएर माल सामान किन्दथिन् । यदि तिनलाई फूल किन्न इच्छा लाग्यो भने तिनको मोटर सोझै रिजेन्ट स्ट्रिटको एक सुन्दर पसलमा गएर अड्दथ्यो अनि रोजमरी पसलभित्र पसेर प्रशन्न दृष्टिले चारैतिर हेरेर भन्दथिन्– ‘मलाई त्यो फ”ल पनि चाहियो । यस फूलको चार गुच्छा देऊ है !’ अनि पसलकी एक दुब्ली–पातली केटीले फूलका गुच्छाहरु बोकेर तिनको मोटरसम्म पुर्याइदिन्थी ।
जाडोको समय थियो । एक दिन तिनी कर्जन स्ट्रिटमा एउटा क्युरियो दोकानमा केही वस्तुहरु किनिरहेकी थिइन् । तिनलाई देखेर दोकानदार प्रशन्न हुन्थ्यो किनभने तिनी त्यहाँबाट प्रायः बहुमूल्य वस्तुहरु किन्ने गर्दथिन् ।
एसले विनम्र स्वरमा भन्यो, ‘महाशया, मखमलको यो बट्टा त हेर्नोस् !’
उसले बट्टा रोजमरीको अगाडि राखिदियो । यो बट्टा उसले तिनकै लागि अहिलेसम्म राखेको थियो । यो बट्टा उसले कुनै ग्राहकलाई देखाएको थिएन । रङ–विरङका चित्र अंकित भएको यो सानो बट्टा ज्यादै सुन्दर थियो । यो बट्टा तिनलाई ज्यादै मन पर्यो । तिनले बट्टा पल्टाई–पलटाई हेरिन्, यसलाई खोलिन् अनि फेरि बन्द गरिन् ।
रोजमरीले प्रशंसा गर्दै भनिन्, ‘यसको दाम कति नि ?’
‘अठ्ठाईस गिनी !’ दोकानदारले सानो स्वरमा भन्यो ।
रोजमरीले भनिन्, ‘हुन्छ, यो बट्टा मेरो निम्ति राखिदेऊ ।’
दोकानदारले शिर निहुर्याएर ‘हुन्छ’ भन्ने संकेत दियो ।
रोजमरी बाहिर आइन् । यसैबेला हल्का वर्षा भइरहेको थियो र वर्षाको साथै रातको आगमन पनि हुन लागिरहेको भान हुन्थ्यो । हावा चिसो थियो अनि भर्खरै बल्न थालेका सडकका बत्तीहरु उदासजस्ता देखिन्थे । मानिसहरु छाता ओढेर हतार–हतार दौडिरहेका थिए । रोजमरीलाई पनि चाँडै घर पुगेर एक कप तातो चिया पिउने इच्छा भयो । यति नै बेला एउटी दुब्ली–पातली तर तरुनी केटी तिनको कुहिनानेर आएर उभिइन् । त्यो केटी कुन्नी कहाँबाट आई । सानो र रुञ्चे स्वरमा उसले भनी, महाशया ! के म तपाईंसँग एउटा कुरा गर्नसक्छु ?’
‘भन न, के कुरा हो ?’ रोजमरीले केटीतिर फर्कंदै भनिन् । तिनले देखिन्, त्यस केटीले फाटेको लुगा लगाएकी थिई । उसका आँखा भने ठूला ठूला थिए । केटीको उमेर रोजमरीको भन्दा बढ्ता देखिँदैन्थ्यो । ऊ आफ्ना राता–राता हातले आफ्नो कोटको बटन समातिरहेकी थिई अनि यसरी कामिरहेकी थिई, मानौँ ऊ भर्खरै पानीबाट बाहिर निस्केकी थिई ।’
‘महाशया !’ लरबरिएको स्वरमा ऊ बोली, ‘तपाईं मलाई एक कप चियाको पैसा दिन सक्नुहुन्छ ?’
एक कप चिया ? त्यस केटीको आवाजमा सरलता र निष्कपटता थियो । यस्तो आवाज कुनै माग्नेको जस्तो अवश्य हुनसक्तैन । रोजमरीले सोधिन्, ‘तिमीसँग एक पैसा पनि छैन ?’
उत्तर आयो, ‘एक पैसा पनि छैन, हजूर ।’
कस्तो अचम्म ! रोजमेरीले अन्धकारमा यताउति हेरिन् । केटीले एकचोटि फेरि तिनलाई हेरी । रोजमरीले सोचिन्, कस्तो अचम्मको कुरा हो यो ! यो केटीलाई आफ्नो घर लगे के होला ? उसलाई मसँगै राखे, उसलाई कति खुशी लाग्ला ? अनि तिनले एक कदम अगाडि बढेर त्यो केटीलाई भनिन्, ‘हिँड, मेरै घरमा चिया खाऊँ ।’
केटी छक्क परेर पछि हटी । रोजमरीले आफ्नो एक हात फैलाएर उसको पाखुरा छोइन् अनि हाँस्दै भनिन्, ‘म साँच्ची नै तिमीलाई मेरो घर हिँड भनिरहेकी छु । ठट्टा गरेको होइन ।’ अनि उसलाई लाग्यो, उनको मुस्कान कत्ति सरल, निष्कपट तथा सहृदयतापूर्ण छ ।
‘तिमी मसँग किन हिँडन चाहदिनौं ? हिँड, अहिल्यै मेरो मोटरमा चढेर तिमी र म सँगसँगै मेरो घर जाऔँ, उहीँ पुगेर चिया खाऔं ।’
‘तपाईं…तपाईं ठट्टा गरिरहनु भएको छ, महाशया !’ केटीले अविश्वासमा भनी । उसको स्वरमा वेदना थियो ।
‘होइन ! तिमीलाई म साँचो कुरा भन्दैछु । म तिमीलाई लिएर घर जान चाहन्छु । हिँड ।’ रोजमरीले ठूलो स्वरमा भनिन् ।
केटीले आफ्ना औंलाहरु आफ्नो ओठमा राखी । ‘तपाईं, तपाईं मलाई थानामा त लैजानुहुन्न ?’ केटीले लरबरिएको स्वरमा भनी ।
‘थाना ?’ रोजमेरीले हाँस्दै भनिन्, ‘म यस्तो निर्दयी कसरी हुन सक्तछु ? म त खालि तिम्रो शरीरलाई न्यानो पार्न चाहान्छु अनि तिम्रो कुरा सुन्न चाहन्छु ।’
नोकरले मोटरको द्वार खोलिदियो र क्षणभरमै मोटर अन्धकारलाई चिर्दै दगुर्न थाल्यो ।
रोजमरी प्रशन्न थिइन् । तिनले केटीतिर मुख फर्काउँदै भनिन्, ‘नडराऊ, मसँग तिमी मेरो घर जान नहुने त्यस्तो के कारण छ ? हामी दुवै आइमाई हौं नि ! यदि म बढी भाग्यमानी छु भने तिमीले मबाट…..।’
वाक्य पूरा हुन नपाउँदै मोटर टक्क रोकियो, घरको घण्टी बज्यो, ढोका खुल्यो । अनि रोजमरीले केटीलाई माया गरेजस्तो ढंगले उसलाई अँगालो हाल्दै घरको बैठकभित्र लगिन् । बैठक कोठा न्यानो थियो, अनि एक किसिमको मीठो बास्ना पनि त्यहाँ आइरहेको थियो । ती सब आनन्दहरुसित रोजमरी अभ्यस्त भइसकेकी थिइन् । तर त्यो केटीले यी आनन्दका सामग्रीहरुलाई कसरी ग्रहण गरिरहेकी छ, त्यही तिनी निरीक्षण गर्न लागिन् । यस्तो निरीक्षणबाट तिनलाई एक किसिमको आनन्द लाग्यो ।
‘आऊ, माथि जाऔँ अब,’ रोजमरीले भनिन् । तिनमा अब केटीप्रति उदारता प्रकट गर्ने इच्छा भयो । तिनले भनिन्, ‘हिँड, अब माथि कोठामा जाऔँ ।’ तिनले नोकरलाई पनि छेउमा आउन दिइनन् । सबै काम स्वाभाविक रीतबाट होस् भन्ने विचार गरिन् ।
‘मेरो कोठा यही हो,’ आफ्नो ठूलो शयन–कक्षमा आइपुगेपछि रोजमरीले भनिन्, ‘शयन–कक्षका सबै झ्याल, ढोकाहरुमा सुन्दर पर्दा लगाइएका थिए । एउटा कुनामा अँगेनो थियो । त्यहाँ बलिरहेको आगोको उज्यालो सुन्दर बुट्टाहरुले भरिएको मेच, आलमारी तथा रङ्गीन कम्बलहरुमा परिरहेको थियो ।
केटी कोठाभित्र प्रवेश गरी तर ऊ ढोकामा उभिरही । ऊ अक्क न बक्क परेजस्तो देखिन्थी तर रोजमरीले यस कुरामा ध्यान दिइनन् ।
‘यहाँ बस,’ रोजमरीले भनिन् ।
‘यसमा बस्ने साहस ममा छैन, हजूर !’ केटीले भनी अनि पछि हटी ।
रोजमरीले अगाडि बढ्दै भनिन्, ‘त्यहीँ बस न । तिमी किन डराएकी ? यो कुर्सीमा बस । म पहिले लुगा फेर्छु अनि अर्को कोठामा गएर हामी चिया पिउनेछौँ ।’ अनि तिनले त्यस दुब्ली–पातली केटीलाई समातेर कुर्सीमा बसालिदिइन् ।
केटी चुपचाप बसिरही । उसले कुनै उत्तर दिइन । रोजमरीले उसलाई जसरी कुर्सीमा बसालिदिएकी थिइन्, त्यसरी नै ऊ बसिरही । उसको हात घुँडामाथि थियो औ उसको मुख केही खुला थियो । साँच्ची नै भन्ने हो भने ऊ यसबखत लाटीजस्ती देखिन्थी ।
‘तिम्रो कोट म फुकालिदिऊँ ? ’ रोजमेरीले भनिन् ।
केटी उभिएर खडा भई तर एक हातले कुर्सी थामिरही र रोजमरीलाई कोट फुकाल्न दिई । कोट फुकाल्नमा रोजमरीलाई ज्यादै अप्ठयारो भयो, कारण केटीले कोट फुकाल्नमा सहायता दिइरहेकी थिइन् । ऊ एक बालिकाझैं लरखराइरही । केहीबेरपछि केटीले अत्यन्त नरम स्वरमा भनी, ‘महाशया… म अब बेहोस हुँदैछु । केही खान पाइनँ भने म…म बेहोस हुनेछु, महाशया !’
‘म कस्तो अविवेकी रहेछु, हे भगवान् ?’ यति भनी रोजमरी घण्टी बजाउन दौडिन् ।
‘चिया ! झट्टै लिएर आऊ… अनि केही ब्राण्डी पनि ! झट्टै !’
नोकर्नी तुरुन्तै चिया र ब्राण्डी लिन गई तर केटीले चिच्याउँदै भन्नलागी, ‘नाइँ । मलाई ब्राण्डी चाहिँदैन । म कहिले पनि ब्राण्डी पिउँदिनँ । महाशया ! मलाई केवल एक कप चिया भए पुग्छ !’
अनि ऊ रुन थाली ।
यो एक हृदयस्पर्शी तर मनोहर क्षण थियो । रोजामेरी उसको कुर्सी अगाडि झुकिन् । ‘नरोऊ बहिनी, नरोऊ,’ तिनले भनिन् । अनि तिनले उसलाई आफ्नो बुट्टेदार रुमाल दिइन् । साँच्ची यसबेला अद्भूत करुणा र सहानुभूतिले उसको हृदय भरिएको थियो । तिनले आफ्नो पाखुरा त्यस केटीको दुब्लो–पातलो, पक्षीकोझैँ नरम काँधमा राखिन् ।
अब केटीले लज्जा र संकोच त्यागी । यसबेला तिनीहरु दुईजना नारी मात्र हुन्– यति कुराबाहेक अरु सबै कुरा उसले बिर्सी । उसले भनी, ‘अब यसरी म बाँचिरहन सक्तिनँ । अब म सहन सक्तिनँ । अब म सहन सक्तिनँ । म आत्माहत्या गर्छु ।’
‘तिमीले यस्तो गर्ने छैनौ । तिमीले यस्तो गर्नु आवश्यक छैन । म तिम्रो हेरचाह गर्छु । अब नरोऊ । अब हामी चिया पिऔँ–अनि त्यसपछि तिमीले आफ्नो कथा सुनाउनु । म तिम्रो लागि केही व्यवस्था गरिदिन्छु । म तिमीलाई वचन दिन्छु । ल, अब चुप लाग नरोऊ अब ।’
केटी चुप लागी र रोजमेरी उठ्न लागेकै समय नोकर्नी चिया लिएर आइपुगी । रोजमरीले टेबल दुवैको बीचमा राख्न लगाइन् । त्यसपछि तिनले विचरी केटीलाई बेस्सरी खानेकुरा खुवाउन शुरु गरिन्, उसको कप खाली हुनेबित्तिकै रोजमेरीले चिया थपिदिन्थिन्, त्यसमा प्रशस्त चिनी पनि हालिदिन्थिन् । चिनी पुष्टिकारक हुन्छ भन्ने तिनले सुन्ने गरेकी थिइन् । रोजमरीले भने स्वयं केही खाइनन् । केवल सिगरेटको धुवाँ उडाइरहिन् र केटीले खाँदा लाज नहोस् भनेर तिनले आँखा छलेर अन्ततिर हेरिरहिन् ।
अनि साँच्चै नै केटीमाथि यस भोजनको ज्यादै आश्चर्यजनक असर पर्यो । अब त्यहाँ कुर्सीमा एकदमै एक नयाँ केटी बसेकी थिई । ऊ हल्का र पातली थिई । उसको केश राम्रोसँग अल्झिएको थियो । उसको ओठको रङ गहिरो हुनगएको थियो र आँखामा ज्योति बढेको थियो । ऊ आलस्यपूर्ण आँखाले आगोतिर हेरिरहेकी थिई । रोजमेरीले अर्को एउटा सिगरेट सल्काइन् । तिनले नरम स्वरमा भनिन्, ‘यसअघि तिमीले कहिले खाना खाएकी थियौ ?’
परन्तु यसैबखत ढोका खुलेको आवाज आयो ।
‘रोजमरी ! म भित्र आऊँ ?’ यो रोजमरीको पति फिलिपको आवाज थियो ।
‘आउनोस्, आउनोस् ।’
फिलिप कोठाभित्र आए, ‘अहो !’– उनले भने अनि एकटक लाएर उनले केटीलाई हेर्न थाले ।
‘के भयो र ?’ हाँस्दै रोजमरीले भनिन्, ‘यी मेरी सहेली …।’
‘मिस स्मिथ,’ केटीले रोजमरीको वाक्य पूरा गरिदिई । यसबखत ऊ एकदम मौन र निश्चल देखिन्थी । उसको संकोच अब हराइसकेको थियो ।
‘अँ ! हामी एकछिन कुरा गर्छौं,’ रोजमरीले फिलिपतिर हेर्दै भनिन् ।
‘हुन्छ, हुन्छ । कुरा गर न !’ फिलिपले भने अनि सहसा उनको दृष्टि अलि पर फालिराखेको कोटमाथि पर्यो । उनी अगेनानजिक गएर पिठ्युँ त्यसतिर फकार्एर आगो ताप्न थाले । उनी अझै त्यो मौन र अन्यमनस्क भावले बसिरहेको निश्चल प्राणीतिर छक्क परेर हेरिरहेका थिए । उनी त्यसको हात र जुत्तातिर दृष्टि पुर्याइरहेका थिए ।
फिलिपको चेहरामा मीठो मुस्कान फैलिएको देखियो । उनले भने, ‘कुरा के भने मैले तिमीलाई लाइब्रेरी लैजान खोजेको थिएँ । एक छिनको निम्ति के मिस स्मिथले हामीलाई क्षमा गर्नेछिन् ?’
केटीका दुई लामा, ठूला आँखाहरु फिलिपतिर सोझिए । रोजमरी उसको तर्फबाट बोलिदिइन्, ‘मिस स्मिथले अवश्य माफ गर्नेछिन् ।’ अनि पति र पत्नी सँगसँगै बाहिर निस्के ।
फिलिपले एकान्तमा सोधे, ‘भन त ऊ को हो ? सब कुरा मलाई स्पष्ट बताऊ । यो सब के तमाशा हो ?’
रोजमरी हाँस्न लागिन् । ढोकाको आड् लिँद तिनले भनिन, ‘मैले उसलाई कर्जन स्ट्रिटमा भेट्टाएकी थिएँ । त्यहीँबाट उठाएर ल्याएकी हुँ । साँच्ची भन्छु, मैले त्यहाँबाट उसलाई उठाएर ल्याएकी हुँ । उसले मसँग एक कप चिया खानको निम्ति पैसा मागेकी थिई र मैले उसलाई यहाँ ल्याएँ ।’
‘तर उसलाई यहाँ ल्याएर तिमी के गर्न चाहान्छौ ?’ चिच्याउँदै फिलिपले भने ।
झट्ट रोजमरीले जवाब दिइन्, ‘ऊसँग राम्रो व्यवहार गर्नेछु । तर यो कसरी गर्ने भन्ने कुरा अहिले भन्न सक्तिनँ । अहिले हामी दुई जनाको कुरा हुन पाएको छैन । तर उसलाई यहाँ राखेर ऊसँग राम्रो व्यवहार गर्नेछु…।’
फिलिपले भने, ‘तिमी बहुला त भइनौ ? तिमी के कुरा गर्दैछौ ? यो एकदमै हुन सक्तैन ।’
‘तर’, फिलिपले सिगरेट समात्दै भने, ‘त्यो केटी कति राम्री नि !’
‘राम्री !’ रोजमरी पतिको शब्द सुनेर यति आश्चर्यचकित भइन् कि तिनको मुख रातो भएर आयो । तिनले भनिन्, ‘तपाईं साँच्ची नै ऊ राम्री छ भन्ने ठान्नुहुन्छ ? मैले …मैले यस कुरातिर ध्यान नै दिएकी रैनछु ।’
माचिस पार्दै फिलिपले भने, ‘हे भगवान्! ऊ त अचम्मै सुन्दरी रहिछ, हेर त उसलाई एकचोटि फेरि । अहिले भर्खर तिम्रो कोठामा जाँदा उसलाई मेखेर मेरो होश नै उडेको थियो । …मेरो विचारमा तिमी भयंकर भुल गरिरहेकी छौ । मैले यस्तो कठोर वचन गरेकोमा मलाई खेद छ तर पहिले मलाई भन, मिस स्मिथले आज राति हामीसित खाना खाने हो कि होइन ? हो भने खानाको अघि म अखबार पढिसक्छु ।’
‘तपाईं कस्तो अचम्मको कुरा गरिरहनु भएको छ ? ’ रोजमरीले भनिन् अनि तिनी तुरुन्तै लाइब्रेरी बाहिर गइन् अनि तिनी सरासर अध्ययन कक्षमा गइन् र कुर्सीमा बसिन् । राम्री रे ! तिनको होश नै उड्यो रे ! तिनको मुटु गह्रौं घण्टी बजेजस्तो ढुक–ढुक गरी बज्न थाल्यो । ऊ राम्री रे ! ऊ सुन्दरी रै ! यही कुरा उनको मगजमा ठक्कर खाइरहर्यो ।
उनले बाकसबाट चेकबुक झिकिन् । तर अँहँ यो चेकको उसलाई के काम ? तिनले आलमारीबाट एक–एक सयको पाँचवटा नोट झिकिन् । ती नोटहरु मुठ्ठीमा दबाएर तिनी आफ्नो शयनकक्षतिर हिँडिन् ।
आधा घण्टापछि रोजमरी लाइब्रेरी कोठामा फर्किन् । फिलिप अझै त्यहाँ बसिरहेका थिए ।
म तपाईंलाई यति कुरा मात्र भन्न आएकी हुँ,’ रोजमरीले ढोका लगाउँदै आफ्नो पतिलाई आश्चर्यपूर्ण दृष्टिले हेर्दै भनिन्, ‘कुरा के भने मिस स्मिथ आज राति हामीसँग खान नसक्ने भइन् ।’
फिलिपले अखबार राखिदिए । ‘साँचो कुरा के हो ? उसको अन्तै केही काम पर्यो कि ?’
रोजमरी कोठाभित्र आई फिलिपको घुँडामा अडेस लगाउँदै बसिन् । अनि बिस्तारै भनिन्, ‘उसले जान्छु कि जान्छु भनी । त्यसैले विचरीलाई केही रुपियाँ दिई बिदा गरिदिएँ । उसको इच्छाविरुद्ध म उसलाई बस्नैपर्छ भनी कसरी भन्न सक्थेँ । होइन त ?’
रोजमरीले भर्खर केश सिँगारेकी थिइन्, आँखामा अलिअलि गाजल लगाएकी थिइन् । घाँटी मोतीको माला लगाएकी थिइन् । आफ्नो हात उठाएर तिनले फिलिपको गाला छोइन ।
‘म राम्री लाग्छु कि लाग्दिनँ ?’ रोजमरीले भनिन् । तिनको मधुर तर धोक्रो स्वरले फिलिपलाई दुःखी तुल्यायो ।
‘खुब राम्री छौ !’ फिलिपले बिस्तारै भने ।
केही क्षण निस्तब्धता छायो । अनि रोजमरीले स्वप्नवत् स्वरमा भनिन्, ‘आज मैले एउटा सुन्दर बट्टा देखेकी थिएँ । यसको मूल्य अठाइस गिनी रहेछ । म किनुँ कि नकिनुँ ?’
फिलिपले उनको शिर थपथपाउँदै भने, ‘किन नकिन्नु ? किन न ! पैसा त तिमीले सधैँ उडाइरहेकै छौ नि !’
‘फिलिप !’ उनको खासखुस गर्ने स्वरमा भनिन् अनि आफ्नो पतिको कुममा शिर राख्दै भनिन्, ‘म राम्री छु त ?’