~डिल्लीराज आचार्य~
जलेका झुप्राहरु देखें
ढलेका लासहरु देखें
रुँदारुदै मैले रुकुमको कविता लेखें
(कवि नदीराम के.सी. कलम अङ्क ३०)
शैली मन प¥यो । त्यसैले मैले पनि द्धन्द्धकालमा यही शैलीलाई पछ्याउदै “जे देखें त्यही लेखें” शिर्षकमा कविता लेखेर दाङ्गमा सञ्चालित हुने साहित्य सौजन्य माला कार्यक्रमको एक बसाईमा बिच त्यो कविता सहभागीहरुका सामु राखेको थिएं । सुन्नेहरु केही डरले जिब्रो टोके सरहको भएका थिए । किनकी कविताको भाव तत्कालिन राज्यसत्ताको ज्यादतीको बिरोधमा केन्द्रीत थियो ।
द्धन्द्धकालिन साहित्य द्धन्द्धको सेरोफेरोमा नै रहनु स्वभाबिक थियो । द्धन्द्धकालमा पनि धेरैले कलम चलाए । कोही आत्तिएर लेखेनन् । कोहीले आँखै अगाडिका क्रुर यातना पनि डर वा बाच्ने रहरले देखेनन् । साहित्य सिर्जना नै सङ्कटकालमा प¥यो । कस्तो थियो त्यो सङ्कटकाल, कविवर माधब घिमिरेका यी पङ्गितहरुलाई हेरेपनि धेरै अनुभूतिहरु दोहोरिएर आउँछन् ।
नेपाली कै रगतले नेपाल रगताम्मे
यो हत्यारा पागलपन कहिले होला साम्मे
किन पागल बनी रैछ आज बीरजाति
खाँडो जगाई हानीरैछ आफ्नै शीर माथि
आज हत्या यसको भयो भोलि हत्या उसको
पर्सि हत्या कसको होला अनि हत्या देशको
सङ्कटकाललाई सम्झदा कवि श्रीपुरुष ढकालले तत्काल लेखेका यी शब्दहरु पनि मेरो आखाँ वरिपरि नाचिरहन्छन्ः
“भाई म¥यो, दाजु म¥यो,
बाबु छोरा दुबै मरेः
यसरी नै मर्दै जादां
देशै रित्तो होला भरे”
(श्रीपुरुष ढकाल, कान्तिपुर, असार ९),
सङ्कटकालीन अवस्थाका कतिपय सिर्जनाहरु छापिएनन् । सर्जकहरुका कलमले त्यसलाई उतारीमात्र रहे । कतिपय सन्दर्भहरु सङ्कटकालमा लेखिएनन् पछि आएर कथा कविता वा निबन्ध वा अनुभूतिका रुपमा लेखिए । यही बाटोमा आएको तत्कालको अनुभूतिको एक संगालो हो —नटुङ्गिएको कथा ।
कुलमा मिलाएर दुईसय बयालिस पृष्टमा रहेको राम्रो कागज र उपयुक्त साजसज्जामा रहेको सरल भाषाको प्रस्तुतिको यो अनुभति सङ्कटकालीन नेपाली जीवनीहरुको कथा हो भन्दा अत्युक्ति नहोला । यसका सर्जकहरु हुन् मानव अधिकारकर्मीहरुः ओमप्रकाश अर्याल, कमलराज पाठक, काशीराम ढुंगाना, कोपिला अधिकारी, तीर्थराज पन्त, नन्दबहदुर भण्डारी, बालकृष्ण आचार्य, राम शर्मा, वसन्त गौतम्, शिवप्रसाद गौडेल तथा मन्दिरा शर्मा र पाहुना बनेर आएका मनोबिश्लेषक बार्बरा बेयरम्यान ।
मानव अधिकारकर्मीका रुपमा काम गर्दा देखे भोगेका डर, आघात, यातना, जर्बजस्ती बेपत्ता, बलात्कार, गैरन्यायिक हत्या, अपाङ्गता, पीडितहरुको आक्रोस र शोकलाई शब्दमा उतारेर पस्केका छन् सर्जकहरुले । सर्जकहरुको भोगाई र बुझाईमा बिबाह गर्न तयार भएका जोडीहरु पनि थुनामा परेका छन् र कतिपय बनकर्मचारीहरु पनि माओवादीको आरोपमा जनता वा मानवअधिकारकर्मीहरुलाई सताउने क्रममा तत्कालिन शाही सैनिक सरहको भूमिकमा रहेका छन् । घटनाका बारेमा बुझन जाँदा माओवादीको फायरिङ्गमा परेका मात्र हैन, सेनाको घेराउमा परेका एकै पटकका पीडाहरु पनि छन् यसमा ।
सेनाको यौन दुब्र्यबहारको बारेमा बुझ्न जाने मानवअधिकारकर्मीहरु पनि माओवादीको नजर वा बुझाईमा सुराकी सरह बन्न बाध्य भएका अबस्थाहरु छन् । बन्दीहरु गैर कानूनी थुनाका बिरुद्ध अदालतमा जान चाहदैनन् किनकी जेलमुक्ति कठिन छ । भैहाले पनि पूनः पक्राउको त्रास मात्र हैन, पक्राउपछि बेपत्ताको डरलाग्दो बादल आफ्नै निधकारमाथि नाँचिरहेको देखाइएको छ उनीहरुलाई रातदिन ।
पटकौं तत्कालिन शाहीसेनाले मान्छेहरु पक्रेको देख्ने तर आफन्त वा मानवअधिकारकर्मीहरुले सास वा लास कुनै नपाउने बर्गेल्ती घटना वा अवस्थाहरुको झल्को दिएका छन् लेखकहरुले । पैरबी वा सहायता गरे बापत कानून ब्यबसायीहरु यातनामा परेका वा बन्दी जीवन बिताएका दुखहरु छन् । अरु त के ठेकेदारले दिनौको श्रमको ज्याला नदिएकोमा माग्न जादां पनि माओवादीको आरोपमा थुनाामा बस्नु परेको र चरम कुटपिटले गर्भपातसम्म सहन बाध्य भएको नारी बेदनाका पानाहरु पनि छन् । देशभरका संकलित करिब ६००० घटनाहरुमा करिब १००० चरम यातनाका घृणाजन्य अवस्थाहरुको तथ्यांकको आंकडा पनि रहेको छ यसमा । वलात्कार जस्तो गम्भीर अपराधमा पनि गैरन्यायिक निर्णयलाई स्विकार्दै अस्मितालाई एकआध बिगाहा जमिनसंग साट्न पुगेका पिडाहरु पढ्दा कसको पो मन कहालिन नपुग्ला र ? माओवादीका जर्बजस्ती बास गास र सहायता मागका अवस्थाहरुदेखि तत्कालिन शाहीसेनाका जर्बजस्ती, बलात्कार र यातनाका बर्गेल्ती घटनाहरुको दृश्य दोहोरिरहेको छ पुस्तकमा । माओवादीले पार्टी छोडेकोलाई कुटीकुटी मारेको ह्रदयबिदारक दृश्य छ । बेवारिसे बमबाट अनजानबस अपांग भएको पीडा छ । सेनाले गस्ती गर्दा गांउ पसेर मनपरी ज्यादती (बलात्कार, खानपान र यातना ) गरेका दृश्यहरुले पूर्णकालिन रुपमा माओबादी बनेर लाग्न उत्पे्ररित गर्ने त सैन्य र सुरक्षाकर्मीहरुका ज्यादति नै रहेछन् भन्ने लाग्दछ ।
संङ्कटकालमा कानून र न्यायालयका आदेशहरु पनि निरिह बनेका छन् । कानून महाराजको जिब्रोको टुप्पामा रहेको काल थियो संकटकाल । कानून नसक्नेले मात्रै मानूनको भन्ने अर्थवोधको समय थियो संकटकाल ।
मनोसामाजिक अर्थबाट हेर्दा कानून व्यवसायीहरु यातनाको डरले पेशाबाट पलायन भएका र पेशामा रहनेहरु पनि कमजोर रुपमा रहेका, बलात्कृृतहरु सहानूभूति र सहायता पाउनुको बदला घर परिवार समाज सबैतिरबाट अपहेलित भएका जस्ता दर्दनाक दृश्यहरुले बाचुन्जेल उठ्न नसक्ने गरी थचारिएका दृश्यहरु छन् । बेपत्ताहरु मारिए भन्न नहुने तर बाँचेर कहिल्यै नआउने अवस्थामा पुगेकाले परिवार र आफन्तजनहरु के हेरेर चित्त बुझाउने ? भन्ने सवाल उठेको छ ।
ब्राजिलमा जस्तो आफन्तहरु घरै नसर्ने गरेर वा अर्जेन्टिनामा जस्तो बेपत्ताको घरकोठा जस्ताको तस्तै राखेर पनि नपुग्ने भएपनि कम्तिमा जापानमा जस्तो बर्षको एकदिन उनीहरुको सम्झनासम्म गर्नुपर्ने बाध्यतामा पुगेका सयौंजनहरुको पीडा छ । निरकुंश राज्यसत्ताको क्रुरताको बिरुद्ध आन्दोलन, सशक्त आन्दोलन र शशस्त्र द्धन्द्ध बाहेक अरु बिकल्प नै हुदैन भन्ने बुझ्न बाध्य पार्ने तत्कालको सर्च एण्ड डिस्ट्राय (क्भबचअज बलम मभकतचयथ ) को सरकारी नीति एवम् त्रासादिलाई सम्झाईएको छ । समग्रमा भन्नु पर्दा १२ जना मानवअधिकारकर्मीहरुको भोगाई र बुझाईमा चलेको कलमले सिर्जेका शब्दहरुले नेपालको द्धन्द्धकालिन समयको पीडालाई प्रतिनिधिमूलक अर्थमा लिएको छ र द्धन्द्धकालिन अवस्थामा भएको मानव अधिकारको चरम उलंघनका मनग्गे दृश्यहरु दिईएको छ । संगसगै कानूनकर्मीहरुका लागि खबरदारी पनि गरेको छ ।
एड्भोकेसी फोरम (ब्मखयअचबअथ ायचगm) सन् २००१ मा स्थापना भएको मानवअधिकारको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्था हो । मन्दिरा शर्माको पहल र नेतृत्व तथा केही जुझारु कानून व्यवसायीहरुको सक्रियताका अगाडि बढेको यो सस्ंथाले द्धन्द्धकालीन पीडाहरुमा मल्हम लगाउने कार्यका उल्लेखनिय काम गरेको छ । एकसयभन्दा बढी पीडित समूह बनाएको छ । ६००० भन्दा बढी मुद्दामा ७००० भन्दा बढीलाई कानूनी सहायता दिएको छ । धेरैको ज्यान बचाएको छ । अपहरणपछि मुक्ति दिलाएको छ । आफैले खप्की खाएको छ तर क्रुर शासनका क्रुर प्रशासक वा न्यायकर्मी वा सुरक्षा अधिकारीहरुलाई कामगर्नु अघि एकपटक सोच्न बाध्य पारेको पनि छ । यसकै कदमले बन्दी बेपत्ताका लामबन्दीहरु घटेका हुन भन्दा पनि बढी हुने अवस्था छैन । अन्तराष्ट्रिय ध्यान आकर्षंणकालागि यसको अगुवाईले धेरै काम गरेको हो । डरपोक न्यायकर्मीहरुलाई त्राण दिन वा क्रुर सुरक्षाकर्मीहरुको सातो लिन पनि यसका कार्यहरुले बांकी राखेन द्धन्द्धकालमा । ऐले पनि मानवअधिकारको पक्षमा र दण्डहिनताको बिरोधमा अघोषित आन्दोलन जारी राखेको छ । पीडकहरुमा बाँच्ने आशा मात्र जगाईन यसले लालशा पनि बढाईरहेको छ ।
हो, यही सस्ंथाले प्रकाशन गरेको कृति हो नटुङ्गिएका कथा । भन्न त सकिन्छ द्धन्द्धको कथा मानव रहेसम्म कहिल्यै टुङ्गिदैनन् भनेर । किन टुङ्गिएन त कथा भन्नेहरुकालागि कथाका अरु पानाहरु धेरै छन्, त्यसैलेपनि भन्न सकिन्छ तर बाँचेका जीवनहरुमा ज्यान पलाउने कर्मको पाटोको अर्थमा यसलाई लिने हो भने जतिबेला मानव अधिकारको सम्मान हुन्छ, जतिबेला दण्डहिनताको अन्त्य हुन्छ र जतिबेला कानूनमा साच्चै जीवन छ र न्यायालयहरु साधिकार रुपमा आबाज बोल्ने क्षमता र बिश्वासका धरोहर बनेका छन् भन्ने बिश्वास आमनागरिकहरुमा जाग्दछ, त्यतिबेलामात्र यसमा समेटिएका कथा पानाहरु टुङ्गिएलान् भन्ने लाग्दछ । अझ भन्ने होभने कहिल्यै नआउने सुनिश्चित वातावरण र द्धन्द्धकालका पीडाका हरेक घाउहरुमा मल्हम लगाउदा मात्र टुङ्गिने छन् यसखालका कथाका पानाहरु भन्नुपर्ने हुन्छ ।
पुस्तकको कमजोर बाइडिङ्ग नभएको भए, पुस्तकमा सबैतिर काल्पनिक नाम नभएको भए, घटनाबाट पाठ सिक्नुपर्ने कर्ताहरुका नितान्त नीजि जीवनका कुराहरु नपरेको भए, सुनमा सुगन्ध जस्तो हुन्थ्यो होला भन्ने पनि लागेर आयो पढ्दै जादा । तर भित्रभित्रै सोचें भन्न जति सजिलो छ गर्न त्यति नै कठिन । नपत्याए साच्चै सदाचारी बनेर हेरौं त आफूलाई । पूर्णनिष्पक्ष बनेर देखाउ त जीवनका हरेक कार्यहरुमा । न्यायपूर्ण समाजको चाहनालाई आफ्ना कर्महरुले तोलेर हेरौ त । शान्ति र सिर्जना सबैको तिर्सनाको बिषय हुने तर सबैको मन र कर्म यसतिर नजाने सन्दर्भलाई बिचार गरौं त ? यसोभनिरहदा आफैले आफैलाई यसखालका सवालहरु राखेर द्धन्द्धकालीन आफ्ना दुखहरुलाईपनि संक्षिप्तमा स्मरण गर्न मनलाग्यो ।
द्धन्द्धकालको कार्यक्षेत्र जुम्ला, सुर्खेत, बांके, बुटवल, बाग्लुंग, तुल्सीपुर, र बुटवल रह्यो । जुम्लामा रहदा आर्मीका डुलुवाहरु हुदा रहेछन् र तिनीहरु नै आर्मीका सुराकीहरु हुदा रहेछन् भन्ने थाहा भयो । त्यस्तौ डा.बाबुराम भटट्राई भेडांको बथानकासाथ कर्णाली टेक्नीकलको तलको दोभानमा राती छलफल गरी डांफेको लेक हुदै मुगु काटेपछि मात्र सेनाको डुलुुवाले थाहा पाएको तर राष्ट्रिय अनुसन्धान र प्रहरीका डुलुवाहरु डुल्दै हराएका कथाहरु पनि त्यही थाहा पाइयो । जुम्लामा तत्काल त्यति तातेको थिएन माओवादी जनयुद्ध तैपनि मनको रापले सबैलाई पोलेको थियो । त्यही रहदा नै रोल्पाको सिडिओमा जानकालागि बामदेबको उर्दी आएको र जसरी तसरी ( बिशेषतः कायम मुकाय प्रथम श्रेणीको पदमा रहेको बेला द्धितिय श्रेणीको त्यसमा पनि जनयुद्धको आगो बलिरहेको क्षेत्रमा भित्रदेखिनै जान मन नलागेको अवस्थामा अदालतबाट पूर्व सहमति नलिई अर्को सेवामा खटाइएकोले प्रक्रिया नै नमिलेको) तोकिएको कार्यक्षेत्रमा जान नपर्ने हुन गएको बेजोड तनाबको जिन्दगी भोगका जस्ता जनयुद्ध वा सशस्त्रद्धनद्धकालीन निजात्मक अनुभूतिहरु धेरै छन् ।
बन्दीहरुलाई अदालतबाटै हाँेतरेर लैजान लागेका दृश्यहरु अदालतहरुमा देखिएकै हुन् । कतिपय न्यायाधीशहरु बन्दीका मुद्दा हेर्नमा खुट्टा कमाएका हुन भने कतिपयले सुरक्षा निकायको गुनासोदेखि प्रधानन्यायाधीशसम्मको चासो पनि सुन्न परेको हो । बिशेषगरी द्धन्द्धको पीडाको अधिक अनूभूति त्यतिवेला भयो जतिबेला आफैसंग काम गर्ने कर्मचारीहरु माओवादी अपहरण परे वा सेनाको पक्राउमा परे ।
बाग्लुंगमा काम गर्दा सुब्बालाई अपहरण गरेर म्याग्दीमा पु¥याएका र मुक्तिकालागि मानव अधिकारकर्मीहरुसंग सहयोग माग गरेका क्षणहरु, बुटवलमा काम गर्दा कपिलवस्तुमा कार्यरत श्रेस्तेदार कृष्णराम कोइरालाको अपहरणपछिको तनाव र ओमप्रकाश अर्यालसमेत संगको सहकार्यबाट मुक्त राख्न सकेका क्षणहरु, रातभर प्रहरीको घेराउमा अदालतभित्रै बसेर भएपनि बिनोदप्रसाद उपाध्यायहरुको सकुसल र ससम्मान रिहाईकालागि भोगेका दुख्खहरु कुनै मानवअधिकारकर्मीहरुका दुख्ख भन्दा कम छैनन् भन्ने गर्वात्मक अनुभूति ओइरिएर आउँदछ भित्री मनदेखि ।
इजलासले त छोड्यो बन्दी तर अदालतभित्रैबाट पक्राउ गरेर लैजान लागे के गर्ने ? कसो गर्ने ?? इजलासको आदेशको कार्यान्यन गर्ने दायित्व र अधिकार प्राप्त अधिकारी रजिष्ट्रारका नाताले पटकौं झडप मात्र बेहोरिएको हैन, बाथरुमका झ्यालबाट पनि जान सकिन्छ भन्नेसम्मको सुईको वा एककिसिमले आदेश दिएर पनि आदेशको कार्यान्वयनको सन्तोष लिएका स्मरणहरु पनि छन् । सेनाका जर्नेलले ख्याल राख्नुस आफ्नो ज्यानको भनेर राती दम्काएको भनाई पनि सहिएकै हो । बोल्दा पोलेको छटपटिले सुरक्षाको बैठकको पात्र बनेको पनि हो । अञ्चल प्रशासक रामकृष्ण पन्तसंगको झोकाझोकी मात्र हैन, उनकै पहलले दरबार र प्रधान न्यायाधीशसमक्ष समेत पुगेका सिकायतहरुमा सफाई दिदै जागिर खानु परेको पनि हो ।
संसारमा मानव अधिकारको उलंघनको बिन्दूबाट मूल्यांकन गर्दा मेरो देश त्यस्मा पर्योभने म सबैभन्दा बढी पिडाको बोध गर्ने नागरिककमा पर्नेछु भनेर हानेको ब्यंगलाई राजधानी दैनिकले “संसारमा सर्बाधिक मानव अधिकार उलंघनको देश नेपालः रजिष्ट्रार आचार्य” भन्ने शिर्षकमा छापेको समाचारले रातारात राजधानी पुगेर ष्पष्टिकरण पनि दिनु परेको हो । तैपनि थाकेन कलम र थाकेन मन । न त हरेश नै खायो । जे देख्यो करिब करिब त्यहि लेख्यो मेरो कलमले पनि र त्यही बोल्यो मेरो मुखले । त्यसैले त द्धन्द्धकालभरी पनि सरुवाले लखेटिरह्यो ।
बिचारमा भिन्नता मानव जातिको बिशेषता हो र फरक बिचारको सम्मानकासाथ सहकार्य मानब बिकासको आधार हो । समाज त के एउटा परिवारभित्र पनि फरक फरक बिचार हुनु स्वभाविक र बैयक्तिक हकको बिषय पनि हो । यहाँका कतिपय राजनेताहरु राज्यको बागडोर आफ्नो दलको हातमा रहेको बेला सबै राष्ट्रसेवकहरु आफ्नै बिचारको समर्थक हुुन पर्दछ भन्ने मान्यता राख्नेहरु पनि छन् । यो सोह्रैआना गलत सोच र सस्ंकार हो । यही कारणले आम कर्मचारी प्रशासनमा राजनीतिकरणको बिजारोपण भएको हो र त्यसैले पनि मुलुकी प्रशासन एकपछि अर्को गर्दै कमजोर अबस्थामा पुग्न गएको हो ।
सरकारमा जो सुकै भए वा गएपनि उसले बनाएको नीतिलाई आधार मानेर काम गर्नु हरेक क्षेत्रका कर्मचारीहरुको कर्तव्य हो, जँहा काम गर्न मनले मान्दैन, त्यँहा उ स्वतन्त्र नागरिक भएर बस्ने मात्र अधिकार राख्दछ अर्थात राजीनामा दिएर मात्र राजनीतिमा लाग्ने हक लाग्दछ । तर बैयक्ति बिचार परिवर्तन गर्न उसलाई न त बाध्य पार्न सकिन्छ न त सबै कर्मचारीहरुलाई आफ्नै बिचारमा लैजान सकिन्छ । यो असम्भव प्रायः बिचार सस्ंकार र व्यवहार हुन जान्छ । हो, यही अवस्था देखियो नेपालको द्धन्द्धकालिन समय र केहीहदसम्म वर्तमानमा पनि यसका अवशेषहरु रहेका छन् । खासगरी माओवादीलाई आतंककारी मान्ने बिषयमा असहमत राख्नेहरु माओबादी कै आरोपमा हेरिन थाले । केरीन थाले । मानसिक र शारिरीक रुपमा समेतयातनामा पर्न थाले । अरु धेरै जस्तै, त्यही भोगाईको एक अंश हो यो पङितकार पनि ।
आफन्त वा परिचितहरु माओबादी जनयुद्धमा भूमिगत भएर हिडेको निहूंमा पीडा भोग्ने कर्मचारी वा जनसाधारणहरु धेरै नै भए । आफन्त वा परिचितहरु सेना वा प्रहरीमा जागिर खाएको कारणले माओबादीबाट प्रताडनामा पर्नेहरु पनि धेरै भए । यस्तै यस्तै कारणहरुले गर्दा संकटकालीन समयका पीडाहरु छाम्ने प्रयासमा यो पङितकारले संकटकालिन साहित्यः अनुभूति र यथार्थता, टाउकोको मोल र ब्यथित न्याय, सिर्जना र अभिब्यक्तिहरुमा ः कृष्णसेन इच्छुक, ……आदि सिर्जना (पुस्तक) हरु तयार गरेपनि प्रकाशन गर्न सकेन । केवल (१) कानूनको शासन ः सिद्धान्त र ब्यबहार (२) माननीय महात्म्य (३) संकटकाल र संकटकालीन अभिब्यक्तिहरु (३) भूपरिबेष्ठितदेखि समुद्रबेष्ठिसम्म र केहीपछि बिद्युतीय सरकार र बिद्युतीय न्यायालय जस्ता कृतिहरु मात्र प्रकाशन गर्न सक्यो ।
बास्तवमा धेरै अर्थमा शशस्त्र द्धन्द्धकाल मौनताको कालजस्तो भयो । धेरै बोलीहरु हराए । धेरै भाकाहरु हराए । भित्रभित्रै पाके । नचाहेर पनि कति आबाजहरु थाके । अल्जेरियन कवि ताहिर जाउतले लेखेको निम्न पङितहरु सम्झाउने खालको समय बन्यो ।
मौनता मृत्यु हो
तिमी बोल्छौभने मारिन्छौ
नबोल्दापनि मारिन्छौ
तसर्थ
बोल र मृत्यु स्विकार गर ।
हो, केहीहदसम्म मौन रहेर केही हदसम्म फुस्फुसाउदै बित्यो मेरा लागि पनि द्धन्दकाल । कवि नारायण प्रसाद शर्माले लेखे वा भनेजस्तो मेरो जीवन आगो हुन सकेन ।
जीवन पनि त आगो हो
यो वली रहनु पर्दछ
जलिरहनु पर्दछ
पुतपुत्याएर सकिनु हुन्न
ज्वाला बनेर दन्किनु राम्रो हो (मातेको मान्छे र प्रजातन्त्र)
केवल पुत्पुत्याएर सकिन दिइएन जीवनलाई । जमेर हाँस्न सकिएन र पुरै अर्थमा रमेर बाँच्न पनि सकिएन । बैरीहरुलाई केही अर्थमा चिमोठेर मात्र भएपनि केही गरें भन्ने आत्मानुभावले बाँच्यो द्धन्द्धकालको जीन्दगी । त्यसैमा सन्तोष लागेर आउँछ आजकल सम्झदा ।
द्धन्द्धकालिन अबस्थाको केही पाटोलाई चित्रण गर्ने यात्रामा धेरै हदसम्म सफल रहेको यो कृति ढिलो जन्मिए पनि द्धन्द्धकालिन साहित्यको एक गतिलो उपहार हो । यसले मानब अधिकारको रक्षाका खातिर जुटेका मान्छेहरुकालागि केही त्राण दिएको छ । कठिनकालका कलमजीबीहरुको सम्मान गरेको छ । यसमा अभिलिखित अभिलेखहरु सदासदाकालागि सम्पत्ति बनेर बसेका छन् । मनोसामाजिक संरचनामा ढाल्न गरिएका प्रयासहरुले जीवनप्रतिको भरोषालाई जागएका छन् । धम्कीहरुले डर पैदा गरेको, बिध्वंसहरुले आघात बढाएको र क्षतिहरुले शोक थपेको त्यो कालो समयको पीडालाई पनि सरल रुपमा प्रस्तुति गरेर गरिएको बार्बराको मनोसामाजिक बिश्लेषण धेरै हदसम्म नेपाली मन र नेपालीपन छुने खालको रहेको छ । त्यसैले भन्न मन लाग्दछः
यो पुस्तक कर्मठहरुको इतिहास मात्र हैन,
एकहदसम्म बर्तमानको ऐना हो
र भविष्यको लागि खबरदारी पनि हो ।
तर नबिर्सौ नजिकैको खरबारीमा लागेको आगो
राम्ररी निभी सकेको छैन ।
आफ्नै घरबारीमा आउने संभावना अझै बाँकी नै रहेको छ ।
अझै पनि झट्काहरु छोडिरहेको छ
फेरि संकटकाल लाग्न सक्दछ,
त्यसैले खबरदारी गरौं द्धन्द्धका नायक र खलनायकहरुलाई
तिमीहरु जलेर जाउ तर देशलाई नजलाउ
मात्र तिमीहरु काटमार गर
अन्याय अभाव र उत्पिडनमा परेका
न्याय सद्भाव र शान्तिका प्यासी
जनजनको नेपाली वस्तीमा फेरि
चरमद्धन्द्ध र संकटकाल भित्र्याउने दुशप्रयास कहिल्यै नगर ।
बादभन्दा माथि उठी राजनीतिमा हास्न खोज
नेपाल र नेपालीलाई हिंसाबिना राख्न खोज ।
हरेश नखाँउ कृपयाः । सधै हिंसा, सधै अभाव र सधै बेचैन हुने छैन । काला कतूर्तहरु पर्दाफास हुदै जानेछन् र देश र जनताको मुक्तिका लागि ज्यानको बाजी राखेर युद्धको मैदानमा होमिने योद्धाहरुले एक न एकदिन सुनौलो बिहान लिएर तिम्रो बलेनीमा आउने छन् ।
समग्रमा भन्नुपर्दा पुस्तकले कठिनाईहरुका बिच बाँचेका र हाँसेका दृश्यहरुलाई परोक्ष्य रुपमा राख्दै भविष्यप्रति आशा जगाएको छ र बर्तमानको डर एकहदसम्म भगाएको छ ।
अन्तमा प्रिय कवि कष्णसेन इच्छुकका कविताका निम्न पङितहरुलाई साभार गर्दै, सुखद भविष्यको आशाकासाथ जीइरहेका बर्तमानका सबैप्रति सम्मानको लागि यो कलमको सलाम छ ।
चिन्ता नगर मेरा प्रियजनहरु
सधै समयको गतिलाई पक्र
हाम्रा आशाहरु
सुन्दर गुराँस बनेर फुल्ने छन्
(बन्दी र चन्द्रागिरि)
डिल्लीराज आचार्य
(बैशाख ६,२०६७ गते होटेल न्यूआनन्द, महेन्द्रनगरमा भएको पुस्तक सार्वजनिक कार्यक्रममा पुस्तकका बारेमा बोलेका शब्दहरुको लिखित डायरीका पानाहरुको परिमार्जित रुप)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)