कृष्ण बाउसेका पाँच मुक्तकहरू

~कृष्ण बाउसे~

१
कुरीकुरी लाग्ने तमासा देखाउँदैछौ बाटोमा
लाग्छ, तिमीलाई कुनै गौरव छैन यस माटोमा
सायद ‘तमासे बन्नू’ भनेरै लेखेको हुँदो हो
सधैँ सिउँडी उम्रने तिम्रो निधारको पाटोमा ।।

२
न त हो सुम्पने मञ्चस्थ विदूषक वा खलनायक डफ्फालाई
न त भूत भइसकेका वा पराइ–पोषित स्वत्वहीन जत्थालाई
मेरो चाहना त हो पूरै तीनकरोड हकदारकै साझा बनाउने
भूलवश बाँदरको हातपरेको मेरो देशको सार्वभौमसत्तालाई ।।

३
सुन्थे किन हाम्रा कुरा ? सुन्ने कान भए पो !
गर्थे किन जनसेवा ? इमानका भए पो !
कुठाउँमा दान गर्छौं हाम्रो मत हामी आफैं
तहलाग्थे नेताहरू सिस्नूपानी लाए पो ।।

४
घरघर धाएर चिल्लो घस्ने पनि नेता नै
प्रतिनिधि भइखाएर डस्ने पनि नेता नै
जब जनता नामको सुतेको सिंह बिउँझन्छ
विदेशमा शरणार्थी भएर बस्ने पनि नेता नै ।।

५
दुवै भन्छौँ – तँलाई नमारे म के खानु ?
म मात्रै बाँच्नुपर्छ, पर्दैन तँ बाँचिरहनु ।
मेरो ‘तँ’ तँ नै होस् र म पनि हुँ तेरो ‘तँ’
धिक्कार छ हामी दुवैले परपीडामा हाँसिरहनु ।।

-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ

(स्रोत : मध्यान्ह डेली डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.