कथा : आमाको चिहान र वाइन पार्टी

~खेमराज पोखरेल~

ऊसँग मेरो यो परदेशको ठाउँमा गहिरो दोस्ती भएको छ। ऊ सबै आफ्नो मन खोतलखातल पार्छ मसँग। म पनि मेरा डायस्पोरिक पीडा ऊसँग सेयर गर्छु। हामी असाध्य मिल्ने साथी भएका छौँ।

ऊ मलाइ परेको बेला सहयोग गर्छ। परदेशको ठाउँमा सहयोग गर्ने मान्छे पाउनु भनेको निकै महत्त्वपूर्ण कुरा हो।  उसले हिजो मलाइ भनेको थियो – किम, भोलि मेरी आमाको श्राद्ध छ। तिमी आऊ है बिहानै।’

म एकदम बिहानै उसको घर पुगेको थिएँ। उसले उठिवरि नुहाइ–धुवाइ सकेको रहेछ। मैले हेर्दा हेर्दै उसले चिकेन रोस्ट बनायो। राम्रोसँग प्याक गर्यो र झोलामा हाल्यो। झोलाको अर्को पट्टि रेड वाइनका केही बोतलहरू हाल्यो। पाउरोटीका केही स्ल्यासहरू फुडब्यागमा हाल्यो।

एउटा पिनट बटरको प्याक पनि बोक्यो। पानीका बोतलहरू बोक्यो। उसकी श्रीमती सुतिरहेकी थिइन्। उठायो र श्रीमतीलाई भन्यो–क्लाउडिया, आज आमा परमधाम गएको ठ्याक्कै ४ वर्ष भयो। आमाको श्राद्ध छ। म आज सिमेटरीतिर नै अलमलिन्छु है। म हिडेँ।

खासमा उसले श्रीमतीको उत्तर पनि पर्खेन। तर श्रीमती निदबाटै भन्दै थिइन्–सिनेमाको टिकट काटेकी छु। म सिनेमा हेर्न जान्छु। त्यसपछि नाइट क्लव पनि जान्छु। ढिलो हुनसक्छ। तिमी साँचो लिएर जाऊ। उसले गराजमा राखेको गाडी स्टार्ट गर्यो र हुइँकियौँ हामी। करिब आधा घण्टा पछि नर्थइस्ट सिमेटरी पार्क पुग्यौँ। गाडीलाई पार्किङ गरेर हामी भित्र पस्यौँ।

म निकै उत्सुक भएर हेरिरहेको छु यो चिहान पार्कलाई। लगभग ५० हेक्टरमा फैलिएको त्यो चिहान पार्कभित्र २४ फिटका कालोपत्रे सडकको सञ्जाल रहेछ। हार मिलाएर ढुङ्गाका स्तम्भहरू राखिएका रहेछन्। कुनै अलि होचा र कुनै अलि अग्ला रहेछन्। ती स्तम्भहरू मान्छेका चिहान रहेछन्।

उसको आमाको चिहानस्तम्भ अलि पर कुनामा रहेछ। ऊ त्यतै पुग्यो। त्यो स्तम्भमा उसकी आमाको बायोडाटा कुुँदिएको छ। त्यो बायोडाटामा उसकी आमाले गरेका मुख्यमुख्य सामाजिक कामहरू उल्लेख गरिएका छन्। त्यसको तलमाथि बाइबलका जीवनमरणसँग सम्बन्धी सूक्तिहरू कुँदिएका छन्।

त्यो चिहान स्तम्भ करिब २४ इञ्च चौडा र माटो माथि ५ फिट जति अग्लो छ। करिब अढाइ हात लम्बाइ र अढाइ हात चौडाइको वर्गाकारको जग्गा त्यो चिहानस्तम्भले बोकेको छ। स्तम्भको ठिक अगाडिपट्टि अलिकति ठाउँमा सिमेन्टेड गरिएको छ। दायाँवायाँ उसकी आमालाई मन पर्ने श्वेत भुइँकमल फूलहरू फुलिरहेका छन्। त्यो पार्कभरि नै यसैगरी मृतकलाई मनपर्ने फूलहरू त्यही आ–आफ्ना अढाइ हात जग्गामा लगाइएको छ। फूलले मगमग बासना छरिरहेका छन्। चिहान पार्कका बिचबिचमा ठूलठूला रुखहरू देखिन्छन्। ती रुख भने पातला छन्।

उसले आफ्नो झोला त्यही उसकी आमाको चिहानस्तम्भको आडमा राख्यो। स्तम्भ अगाडिको सिमेन्टेड भागमा आफूले लगेको चकटी ओछ्यायो र बज्रासनमा बस्यो। मलाइ त्यहीँ नजिकैको सडकको फलैँचामा बस्न लगायो र भन्यो–किम, तिमी आरामले बस। अल्छि लाग्यो भने यही सिमेटरी पार्कमा घुम्न सक्छौ।

गेटैमा भएको रेस्टुरेण्टमा गएर चिया कफी खाए पनि हुन्छ। यहाँका चिहानस्तम्भमा गएर हेर्न सक्छौ। पढ्न सक्छौ। गौर गरेर हेर्यौँ भने तिमीले यहाँ संसारको सत्य फेला पार्न पनि सक्छौ। राम्ररी हेर्यौ भने जीवनमरणका सत्यहरू यसै ठाउँमा आएर सुरु हुन्छन् जस्तो लाग्ने छ तिमीलाई।

त्यसपछि उसले त्यो चिहान स्तम्भलाई राम्रो मलमलको कपडाले पुछ्यो। त्यसपछि वेट टिस्युले पुछ्यो। त्यो चिहान स्तम्भको श्वेत सङ्गमरमर टलक्क टल्कियो। अनि सानो फूलबारी गोड्यो। पानी हाल्यो। सफा गर्यो। यो अढाइ हात जग्गालाई उसले सुन्दर बनायो। संसारको सबैभन्दा सुन्दर ठाउँ यही हो भनेर कल्पना गर्यो।

साँच्ची त्यो चिहानस्तम्भ निकै सुन्दर देखिएको थियो। अनि उसले झोलाबाट पाउरोटी, चिकेन रोस्ट, पानी, वाइन र ४ वटा काँचका वाइन ग्लास झिक्यो। वाइन दामासाहीले भाग लगायो। एउटा उसको आमाको चिहानस्तम्भको ठिक अगाडि राखिदियो। एक बोतल पानी पनि सँगै राखिदियो। अर्को ग्लास उसले उसकी आमाको चिहानस्तम्भसँगै जोडिएको उसको सौतेनी बाउको चिहानस्तम्भमा त्यसैगरी राखिदियो।

अर्को ग्लास मलाइ दियो। र अन्तिम ग्लास आफ्ना अगाडि राख्यो। र हातले ग्लास उठाएर चियर्स गर्यो। अनि मलाइ भन्यो – एकदम शान्त बस है किम, किनकि यो शान्तिको परमआदर्श बोकेको ठाउँ हो। म एकछिन् शान्ति पाठ गर्छु।

म चुपचाप उसलाई हेरिरहेँ। उसले जिससलाई साक्षी राखेर आमा र सौतेनी बाउको प्रार्थना गर्यो–आमा, तिमी ममताकी खानी हौ। तिमी यो संसारकी सबैभन्दा सुन्दर छौ। तिमी भाग्ममानी पनि छौ आमा। किनकि तिमीले डगलसजस्तो श्रीमान् पायौ। डगलस तिमी यो संसारको सबैभन्दा असल मान्छे हौ।

ओ जिसस, आज मेरी आमा यो स्तम्भमा बस्नु भएको ४ वर्ष पुग्यो। आगामी जुनीमा पनि मलाई मेरै आमाको छोरा बनाइ दिनु है। अनि मेरो सौतेनी बाउजस्तो असल मान्छे मेरी आमाको लोग्ने बनाइदिनु। म अनुगृहीत हुनेछु।

त्यसपछि उसले बाइबलका केही सूक्ति पाठ गर्यो। सायद जीवन, जगत, जन्म, मृत्युका भावहरू ती पाठमा थिए होलान्। पाठ सकिएपछि उसले आमालाई र सौतेनी बाउलाई चिकेन रोस्ट र वाइन खान अनुरोध गर्यो।

आफूले एक सुरुप लगायो। अनि ऊ आमाको चिहानलाई भन्न थाल्यो ‘आमा, कस्तो छ तिमीलाई? चिर शान्ति पाएकी छौ कि छैनौँ!’ अनि सौतेनी बाउको चिहानपट्टि फक्र्यो र सोध्यो–कस्तो छ डगलस तिमीलाई?, मेरी आमाको ख्याल राखेकै होलाऊ क्यारे!  उसले एकटकले आमाको चिहानलाई हेरिरह्यो।

उसलाई आमाले ‘छोरा, तिमीले मलाइ बिस्यौँ कि क्या हो! पोहोर साल ठ्याक्क यही श्राद्धको बेला आएका थियौ। त्यसपछि पनि मैले तिम्रो बाटो हेरिरहेँ। तर तिमी आएनौ। विषयवन्धनमा यसरी बाँधियौ भने यो विषयवन्धनले नै मर्नु न बाँच्नु बनाउने छ तिमीलाई। तिमी घरको न घाटको हुनेछौ’ भनेझैँ लाग्यो।

उसले आमाको चिहानको फेदमा एक सुरुप वाइन पोखिदियो। एक टुक्रा रोष्टलाई पनि टुक्रा पारेर राखिदियो। सौतेनी बाउ डगलसलाई पनि त्यसै गर्यो।

अनि भन्यो–म तिमीलाई कसरी बिर्सूँ आमा! तर व्यवहारले यति गाँज्छ कि मुण्टो उठाएर हेर्न कहाँ फुर्सद हुन्छ र! तिमीलाई थाहा छ आज तिमी यो चिहानपार्कमा आएको ठ्याक्कै ४ वर्ष पुगेर पाँच वर्ष लाग्यो। मलाई थाहा छ आमा, कति बेफ्वाँकमा बितिरहेछ जिन्दगी। खोई नमरी त यो विषयवन्धनले छोड्दैन होला आमा। जति गरे पनि हिमालका टाकुरा जस्तो रहेछ जिन्दगी। जति चढ्यो उति उकालो, उति उकालो। जेनिथबिहीन उकालो।

अनि उसले मपट्टि फर्केर भन्यो–किम, यता आऊ।

अनि उसले आमाको चिहानस्तम्भपट्टि फर्केर भन्यो–आमा, यिनी मेरो साथी हुन्, नेपालबाट आएका, किम। तिमी बाँचुञ्जेल माउण्ट एभरेष्ट हेर्न जान्छु भनिरह्यौँ। तर तिम्रो इच्छा कहिल्यै पूरा भएन। तिमी नै भन्थ्यौ–मान्छेका सबै इच्छाहरू कहाँ पूरा हुन्छन् र! हेर आज माउण्ट एभरेष्ट तिम्रो अगाडि उभिएको छ।

मेरो साथी किम, त्यही देशबाट आएका हुन्। तिमी भन्थ्यौ माउण्ट एभरेष्टको देशमा बस्न पाए पनि हुने। तर हेर ऊ त्यो आफ्नो देश छोडेर यो देशमा आएको छ। देश छोडेर आएकोमा पीडा त छ उसमा, तर ऊ कहिल्यै फिर्न पनि सक्दैन। मलाइ त लाग्छ, आखिर जता भए पनि मान्छेको मकसद त बाँच्नु न हो।

मैले उसकी आमाको चिहानलाई आफ्नै हात आफ्नै हृदयमा राखेर ढोगेँ। अनि आफूले आफ्नी स्वर्गवासी आमालाई सम्झेँ। मेरी आमा स्वर्गे हुँदा म ११ वर्षको थिएँ। आमाको प्राण मलाई काखमा राखिदिएपछि गएको थियो रे। म पनि अलिअलि सम्झन्छु। मेरी आमालाई नजिकैको बर्द खोलाको किनारमा लगेर दाउराको चाङमाथि राखेर डढाइएको थियो।

बाँकी रहेको खरानीलाई पनि पानीले पुछेर, धोएर मलामी घर फर्केका थिए। मलाइ समाजले जिन्दगी भरि सिकायो कि त्यो चिहानमा जानु हुन्न। भूत लाग्छ। प्रेत लाग्छ। मेरी त्यस्ती अकवरी सुनजस्ती ममतामयी आमालाई भूत बनाइदिएका थिए मान्छेले, समाजले। म कहिल्यै पनि डरले त्यो आमाको चिहानमा गइनँ। तर उफ, चिहानलाई पनि यति श्रद्धा गरिँदो रहेछ यहाँ। कास! मेरी आमाको पनि कुनै चिहान भएको भए!

अनि उसले फेरि आमाको चिहानलाई भन्यो–आमा तिमीले भनेकी थियौ नि यो सालमा गरिब गुरुवाको लागि बनाइएको वृद्धाश्रममा सहयोग गर्नु भनेर। मैले आफूले पाउने हरेक पे चेकबाट १० प्रतिशत लगातार दिँदै आएको छु। म बाचुञ्जेल दिन्छु आमा। तिमी चिन्ता नलेऊ। मैले अरू मान्छेसँग पनि चन्दा मागेर वृद्धाश्रमलाई दिएको छु आमा।

यति भनिसकेर उसले आमाको चिहानस्तम्भलाई हेर्यो। आमा उसलाई ‘धन्यवाद छोरा। स्यावास छोरा। हेर न वृद्धवृद्धाको हालत एकदम कमजोर हुन्छ। वृद्धवृद्धालाई सहयोग गरेकोमा तिमीलाई धन्यवाद छ छोरा। यो मान्छेको जीवन एकदम क्षणभङ्गुर छ भन्ने कुरा तिमीले बुझेका छौ। मलाइ यसैमा गर्व छ। यो अवर्णनीय संसारको एउटा सानो हिस्सा मात्र हामीले मान्छे भएर श्वास फेर्ने भएर बाँच्ने हो।

नत्र त हेर न म यही ढुङ्गामा युगौँ युग बाँचिरहन्छु। मान्छे त श्वास फेरेर कति बाँच्छ र! फेरि सारा समय त यही ढुङ्गामा समाहित भएर बाँच्ने त हो नि। यही ढुङ्गामा लेखिएका अक्षरहरूमा बाँच्ने त हो नि। यही ढुङ्गामा लेखिएका अक्षरहरूले मानव सभ्यताको इतिहास लेखिएको छ। तिमीले छोरा कुरा बुझेका छौ। मलाइ त्यसैले यहाँ शान्ति छ। गौरव छ’ भन्दै छिन् जस्तो उसलाई लाग्यो।

म हेरिरहेको छु, यही स्वीकारोक्ति भावमा उसले मुण्टो हल्लायो र भन्यो–त्यसै भएर त मैले तिम्रो छेउको अढाइ हात जग्गा अहिले नै किनेको छु आमा। म तिम्रोसमिपमा जुगजुग बस्न चाहन्छु। जति उफ्रे पनि आखिर यही अढाइ हात जमिन त चाहिने रहेछ मान्छेलाई!

उसले फेरि आमाको चिहानस्तम्भलाई हेर्यो। ऊ एकछिन चुप लाग्यो। सायद उसलाई आमाले ‘हो छोरा, जीवनको सार यत्ति हो। त्यसो भएर एउटा जुनीको एउटा सानो टुक्रा जिन्दगी बाँचेका बखत केका लागि रिसराग घमण्ड, चोरी, डकैती, गर्नु। त्यो तेरो मेरो भनेर मान्छे आफ्नो सभ्यता नै भुलेर बसिरहेको हुन्छ। मान्छेलाई नै मारिरहेको हुन्छ। खोई कस्तो मूर्ख हुँदै गएको हो कुन्नि मान्छे!’ भनेझैँ लाग्यो।

यसबेला उसले वाइनको चुस्की लिँदै थियो । रोस्ट मुखमा हालेको थियो। उसले भन्यो–आमा खाऊ यो रेडवाइन, तिमीलाई मनपर्ने खालको हो। फ्रेञ्च वाइन हो। पियोर अङ्गुरको हो। यो चिकेन पनि तिमीलाई मनपर्ने मसला हालेर बनाएको छु। पूरै मेक्सिकन स्वादमा छ। तिमी यो वाइन र यो चिकेन रोष्ट खाँदा कति खुसी हुन्थ्यौ आमा। आज मैले आफैँले बनाएर ल्याएको हो।

अनि उसले सौतेनी बाउ पट्टि फर्केर भन्यो–ए डगलस तिमी पनि खाऊ है। मेरी आमासँग वाइन र चिकेन रोस्ट खाँदा कति खुसी हुन्थ्यौ तिमी। बिचमा मैनबत्ती बालेर रातभरि तिमी र मेरी आमा वाइनको चुस्की लिँदै जीवनको परिभाषा खोज्थ्यौ। सम्वन्धका ईप्साहरू केलाउँथ्यौ। माया र ममताका नदीहरू बगाउँथ्यौ।

तिमी मलाई मेरी आमासँग बिहे गरेर सात स्वर्ग पाएको कुरा सुनाउँथ्यौ। मेरी आमासँग बिताएका क्षणहरूभन्दा सुन्दर कुनै अर्को लोक छैन भन्थ्यौ तिमी। अब तिमी पनि मजाले खाऊ । मातिने गरेर खाऊ। मातिएर जीवनका झिल्का बुझ्दाको रमाइलो तिमी पनि अनुभव गर अहिले पनि है डगलस। सबैले मातिन कहाँ पाउँछन् र! मातिएर जीवन बुझ्न कहाँ पाउँछन् र! मातिनु भनेको जीवनलाई गहिराइमा पुगेर बुझ्नु हो नि।

उसले मलाई पनि लगातार चिकेन रोस्ट र वाइन थपिरह्यो। अनि म त्यही चिहान पार्कमा वाइनको ग्लास बोकेर टण्डेली मार्न थालेँ। मान्छेका लासहरू आइरहेथे। विधिविधान भइरहेथे। पादरी जिसससँग जीवनको क्षणभङ्गुरताका बारेमा कुरा गर्दै थिए। चिहानस्तम्भमा मृतमान्छेका आत्मा हाल्दै थिए।

मैले हेर्दाहेर्दै झण्डै ४ वटा चिहानस्तम्भहरू गाडिए। त्यहाँ फूल रोपिए। त्यहाँ भेला भएका मलामीहरूले जीवन बुझाउने र मृत मान्छेको सम्झनामा संस्मरण कविताहरू वाचन गरे। कसैले मृत मान्छेको संस्मरणमा भाषण गरे। सम्झिए। र, दर्घदिशा लागे। चिहान पार्कमा निरव शान्ति थियो। त्यहाँका रुखमा चराहरू चिरविर चिरविर गरिरहेका थिए।

ऊ भने अझै आमाको चिहान अगाडि बसेर वाइनको चुस्कि लिइरहेको थियो। ऊ आमाको चिहानस्तम्भलाई गौर गरेर हेथ्र्यो अनि भावुक हुन्थ्यो। आमाले सन्देश दिएको बुझ्थ्यो। माया गरेको बुझ्थ्यो। अर्ति दिएको सम्झन्थ्यो।

अनि एकछिन ऊ घुँक्क घुँक्क रुन्थ्यो, अनि फेरि भन्न थाल्थ्यो–अनि नि आमा, तिमी भन्छ्यौ नि श्रीमतीसँग झगडा नगर्नु भनेर। तर के गर्नु, मेरी यो श्रीमती पनि काम लाग्ने खालकी परेकी छैन। ऊ आफ्नो मात्र स्वार्थ हो संसारमा भन्छे। फजुल खर्ची पनि त्यत्तिकै छे। अल्छि छे। वचन लाउँछे। मायालाई सौदा ठान्छे।

पहिलेकीले छोडेर योसँग बिहे गरेको त यो झन् खराब परी। यसले त मर्नु न मार्नु पारिसकी आमा। यो वर्ष यसलाई पनि डिभोर्स दिनुपर्छ होला। आमा, ऊ मलाई हाकाहाकी भन्छे– ‘छाला चाहिन्छ भने त्यसको मोल तिमीले तिर्नु पर्छ। मोल तिर्न सक्दैनौ भने भन, म तिमीलाई छोडेर जान्छु। मेरा छालाका लोभीहरू धेरै छन् यो संसारमा।’

ऊ एकछिन घ्वाँक्क घ्वाँक्क रोयो। मैले उसलाई हेर्न सकिनँ। उता पट्टि फर्किएँ। ऊ भने लगातार आमाको चिहानस्तम्भलाई नै हेरिरहेथ्यो। अनि आमातिर फर्केर भनिरहेथ्यो–मेरी श्रीमती कुरै बुझ्दिन आमा। ऊ सधैँ बाँचिन्छ जस्तै गर्छे। मरेपछि जेसुकै होस्, बाचुञ्जेल चयन गर्ने हो भन्छे। आखिर योसँग पनि घरजम नहुने भयो। तर के गर्ने आमा एउटा छोरा छ । त्यसलाई १८ वर्ष त पुर्याइदिनु पर्यो नि।

उसले पेपर टिस्युले आँशु पुछ्यो। एकछिन चुप लाग्यो। एक चुस्की वाइन पियो। अनि उसलाई आमाको चिहान स्तम्भ पनि रोएको जस्तो लाग्यो।

अनि उसले भन्यो–नरोऊ आमा, म बाचुञ्जेल केही न केही चिहानस्तम्भमा लेख्ने काम गरि नै रहन्छु। बिहान बेलुकाको हातमुख जोर्न त जसले पनि जोरेको छ। म तिम्रो छोरा हुँ आमा। डगलसले हुर्काएर मलाई संस्कार दिएको छ आमा। म केही न केही परोपकार गरि नै रहन्छु। तिमीले भनेअनुसार म यो वर्ष अनाथ केटाकेटीको स्कुलको लािग च्यारिटी सङ्कलन गर्ने प्रयाश गर्ने छु।

तिमी भन्थ्यौ नि यो संसारमा धेरै बालबच्चाहरू अनाथ छन्, खान पाएका छैनन्। लाउन पाएका छैनन्। शिक्षादीक्षाको त कुरा परैजाओस् कुपोषणले बाँच्न पनि गाह्रो छ। म त्यो च्यारिटीमा लागेको छु । अर्को वर्षसम्म केही नतिजा पनि आइहाल्छ।

ऊ एकछिन् चुपचाप बस्यो। अनि फेरि उसलाई उसकी आमाले उसका बाबुको क्रुरता बारे कुरा गरेझैँ लागेछ र ऊ अलि रिसाएर बोल्यो–भो त्यो क्रुर बाउको कुरा नगर आमा। तिमीले नै भनेको होइन, त्यो दिन तिमी नभागेको भए त्यो राक्षस बाउले तिमीलाई र मलाइ गर्भमै माथ्र्यो भनेर। धन्न तिमी भाग्न सफल भयौ। पुलिसकोमा पुग्यौ र पो म बाँचेको त! आजको यो शुभदिनमा त्यो राक्षसको नाम नलेऊ आमा। धन्न भनन आमा, तिमीले अर्को बिहे गर्यौ र पो यति गतिलो लोग्ने पायौ त। हैन त डगलस!

ऊ सौतेनी बाउतिर फर्कियो र भन्यो–डगलस, तिमी धन्य छौ। तिमीले मेरी आमाको मात्र होइन, मेरो पनि ख्याल गर्यौ। तिमी मलाई कति माया गथ्र्यौ थाहा छ। तिम्रो छोरा पनि निकै दयालु छ। हामी दुवै दाजुभाइ भेटेर तिम्रो महानताको कुरा गरिरहन्छौँ।

साँझ परिसकेको थियो। चिहान पार्कमा झलमल बत्ति बल्न थालेका थिए। चर्चबाट घण्ट बजिरहेको थियो। चराचुरुङ्गीहरू आफ्नो वासस्थानमा पुगेर सुस्ताउन थालेका थिए। झ्याउँकिरी भने एकसूरा भएर कराइरहेको थियो। झ्याउँकिरीको आवाजले कानमा एकप्रकारको झन्झनाहट उत्पन्न भएको थियो।

अनि उसले त्यहाँ आमा र डगलसका ग्लासमा बाँकी भएको वाइन त्यही चिहानस्तम्भमा खन्याइदियो। त्यहीँ भएका पाउरोटीका टुक्रा तथा चिकेन रोस्टका टुक्राहरू एउटा डस्टविन ब्यागमा हाल्यो। त्यो अढाइ हातको जग्गालाई राम्ररी फेरि सफा गर्यो। आमातिर पुलुक्क हेर्यो।

डगलसतिर पनि हेर्यो। अनि भन्यो–आमा अब रात पर्यो। तिमी पनि थाक्यौ होला। डगलस तिमी पनि थाक्यौ होला। अब जाँदैछु आमा। आमा, म एउटा निष्कर्षमा पुगेको छु कि तिमी जति मलाई माया गर्ने संसारमा कोही रहेनछ। मेरो असफलतामा रुने तिमी मात्र देखेको छु मैले । अरू त सबै स्वार्थी रहेछन् आमा।

हामी बाहिर निस्केका छौँ। ऊ मलाइ भन्दै छ–किम मलाइ जीवन बाँच्ने चौराहमा समस्या आयो भने म जतिबेला पनि आमाको यही चिहानमा आउने गर्छु। बेस्सरी रुन्छु। आमा चुपचाप सुनिरहनु हुन्छ।

नत्र त यो संसारमा कसका अगाडि गएर रुनु र! कुन मान्छेलाई अर्काको रुवाइलाई सुन्ने फुर्सद छ र! मेरो रुवाइ थामिएपछि आमाले मलाई सही सल्लाह दिनु हुन्छ। मेरो आत्मा छामेर नै बाटो देखाउनु हुन्छ।

म पनि आफ्नै आमालाई सम्झिएर भाव विह्वल भएको थिएँ। तर के गर्नु मेरो आमाको चिहानलाई भूत्याहा चिहान बनाइदिएको छ समाजले।
उसले गाडी हाँकेको छ। र फेरि हामी हराएका छौँ आफ्ना–आफ्ना सुसेधन्दामा।

अक्टोबर ८, २०२०
सान एण्टोनियो, अमेरिका

(स्रोत : डिसी नेपाल )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.