~शङ्करप्रसाद गैरे~
म भर्खर खर्बारीमा पुगेर एक सप्को घाँस काट्न मात्र भ्याएकी थिएँ, फोनको रिङटोन बज्यो । हतपत हँसिया भुईँमा फ्याकेर फोन भएनजिक पुगेँ र मोबाइलको स्क्रिनमा हेरेँ । उनको मुस्कुराएको फोटो देखेँ । हतपत फोन हातमा लिएँ ।
जहिलेसुकै रातिको खाना खाएर सुत्ने बेलामा फोन गर्ने मान्छेले आज यति बेला किन फोन गरे ? मनमनै प्रश्न गर्दै फोन उठाएँ, “हजुर ऽऽ !”
“के गर्दै छौ ?” उनले सोधे ।
“के गर्नु छ र ? जे गर्न भनी छोडेका थियौ…” मनमा लाग्यो भनिदिऊँ । हिँड्ने बेलामा उनले भनेका थिए “मीरा बुबाको मन नदुखाउनू, भने अराएको गरी बस्नू ।”
“हजुर !” नबुझेर सोधे ।
“खरबारीमा छु । घाँस काट्न आएकी अनि आज यति बेला…?”
“सुन न मीरा म के कम्पनी बन्द भयो । अर्को साता घर आउँदै छु क्या ।”
उनको कुरा सुनेर कुन्नि किन मन एकाएक भड्कियो । यस्तो भयो मानौँ सास नै बन्द हुन्छ । प्रतिक्रियामा मैले केही भन्नै सकिनँ । केही बोल्नै सकिनँ । म भन्न सक्दिनँ यो खबरले मन रमायो कि चिन्तित भयो । म यो पनि भन्न सक्दिनँ यो मेरा लागि रमाउनुपर्ने विषय हो कि पिर मान्नुपर्ने ।
“मीरा ! ए मीरा !” मेरो लामो मौनतालाई चिर्दै उनले बोले ।
“अहिले फोन राख्नुस् । साँझ बोलौँला” भनेँ र फोन काटेँ । फोन काटेपछि दुवै हातले खर समाएँ । आँखाबाट बर्बरी आँसु खसे । किन खसे आँसु खुसीले कि चिन्ताले म भन्न सक्दिनँ । मनमा छटपटी भयो । उठूँ कि बसूँ भयो । कता-कता चिटचिट पसिना आएझैँ भयो । पछ्यौराले हम्किएँ । म अचेत पनि थिइनँ र पूर्ण चेतना पनि थिएन । आखिर उनी फर्किआउने खबरले म यतिविघ्न किन आत्तिएँ ? मैलाई थाहा छैन ।
के उनी फर्केर आउँदा मेरो खर्च गर्ने बाटो नै बन्द हुने भयो भन्ने चिन्ता हो त ? पक्कै पनि त्यसो होइन । मलाई पूरा-पूरा सम्झना छ हाम्रो बिहे भएको सात महिना भयो र यसबीचमा मैले न सासूससुरासँग खर्च मागेँ, न उनले पठाएको पैसा खर्च गरेकी छु ।
उनी धेरैचोटि दुबई जानेआउने गरेका मान्छे । हरेकपटक केही न केही रकम आफ्ना आमाबाबुसँग नबताई बैङ्कमा राख्ने गरेका रहेछन् । हिँड्ने बेलामा पूरै चेकबुकमा हस्ताक्षर गरेर गएका थिए र भनेका थिए “मीरा खर्चको समस्या पऱ्यो भने निकाल्नु र खर्च गर्नु ।”
तर मैले एउटा पनि चेक प्रयोग गरेकी छैन । उल्टै उनले मेरो नाममा पठाएको खर्च त्यही खातामा जम्मा गरेकी छु ।
आखिर यो छटपटी किन त ? म आफैँ अचम्म परेकी छु । केही बेरपछि मनलाई सम्हाल्ने प्रयास गरेँ । रित्तै घर जानु भएन “के भयो बुहारी ?” भनी सोधे के जबाफ दिनु सासूससुरालाई ।
जाँगर पनि बिस्तारै नलागे हँसिया चलाएँ ।
मैले घाँसमा बिस्तारै हँसिया चलाइरहेकी थिएँ । मेरो मन आफैँ-आफैँ चलिरहेको थियो । मेरो मनमा अनेक विचारहरू आइरहेका थिए ।
आखिर मैले प्रकाशलाई राम्रोसँग बुझ्न पनि त पाएकी छैन । उनी मेरा लोग्ने नै भए पनि कति दिन पो हामीले साथ बिताएका छौँ र ! न प्रकाश मसँग राम्ररी खुल्न पाएका थिए, न म नै उनीसँग राम्रोसँग खुल्न पाएकी थिएँ ।
बस चार-दिन चार रात हामीले सँगै बिताएका थियौँ । चार रात पनि के भन्नु ? एक रात गीता दिदी लोकन्दी बनेर हामीसँगै एउटै कोठामा सुतेकी थिइन् । अर्को दिन बिहानै मेरो महिनाबारी भएको थियो । म तीन दिनको नुहाएर आउँदा उनी हिँड्न ठिक्क परेका थिए । सायद मलाई त्यो अवस्थामा छोडी हिँड्नुको पीडा उनको अनुहारभरि थियो र मेरा आँखा रसाएका थिए । म उनको नजिक पर्न सकिनँ । साइत बिग्रिएला भन्ने चिन्ता थोरै थियो, धेरै चिन्ता थियो वियोगको ।
मलाई थाहा थियो बिहे भएको चार दिनमै उनी दुबई जानेछन् तर यो थाहा थिएन कि मेरो नियमित मिन्स प्रक्रिया पाँच दिन अगाडि सर्दै छ ।
+ + +
कहिल्यै लाहुरेसँग बिहे गर्ने रहर थिएन मेरो । म भन्ने गर्थेँ, “एक महिना सँगै बितायो । तीन वर्ष छुट्टियो । त्यस्तो पनि जिन्दगी हुन्छ ! त्यस्तो पनि लोग्नेस्वास्नीको सम्बन्ध हुन्छ !”
तर नियतिमा त्यस्तै लेखेको रहेछ । भाग्यमा त्यस्तै रहेछ । अझ एक महिना पनि कहाँ हो र चार दिनसँगै बस्न लेखेको रहेछ पहिलोपटकमै । त्यो पनि सुहागरात नमनाई, लोग्ने–स्वास्नीको शारीरिक सम्बन्धको अनुभवसम्म नगरी, एकान्तमा एक स्नेहको स्पर्शसम्म प्राप्त नगरी छोडेर गएका थिए प्रकाश मलाई ।
राति बिस्तरामा पुगेर जब प्रकाशको कोठामा एक्लै हुन्थेँ कति रोएँ हिसाबै भएन । बिहान उठ्दा आँखा सुन्निएका हुन्थे । ससुराले बुझेर होला तर भन्न नसकेर होला भन्नुहुन्थ्यो, “मीरा सन्चो भएन कि ? आँखा रसिला देखिन्छन् ।”
“होइन बुबा ठिकै छ । टाउको दुखेकाले होला” ,यसै भनेर मैले कुरा टिमालेकी थिएँ । प्रकाशले दुबई पुगेर फोन गरे । उनले नियमितजस्तो फोन गर्न थालेपछि मनमा केही शान्ति मिल्यो । मैले प्रकाश बनेर आफैँलाई सम्झाएँ– म त आफ्ना कारणले पीडित भएँ । प्रकाश त मेरा कारण पीडित भएका छन् । के बित्तो हो उनका मनमा !
उनले फोनबाटै भनेका थिए चेकबुकको कुरा र खर्चको कुरा ।
आखिर किन गरे प्रकाशले त्यसरी अन्तिम पारेर विवाह । किन गरेँ मैले प्रकाशसँग विवाह लाहुरे हुन् भन्ने जानेर पनि ।
मैले पछि सुनेकी थिएँ कि प्रकाश विवाह गर्ने तयारी गरेर तीन महिनाको बिदामा नेपाल आएका थिए । यता आमाबुबाले छोराका लागि केटी हेरेर ठिक्क पारेका थिए । उनी मङ्सिरको प्रारम्भमा नेपाल आए । मङ्सिरको अन्त्यमा विवाह गर्ने दुई महिना हनिमुन मनाउने र दुबई फर्कने योजनामा थिए उनी तर उनीसँग विवाह गर्न ठिक पारिएकी केटी टिकोटालो गर्नुअगावै अर्कै केटासँग भागेपछि उनले सोचेअनुकूल भएन र पनि प्रकाशका निम्ति अर्की केटी खोजी हुन थाल्यो ।
पढेका केटीहरू “दुबईको लाहुरेसँग को बिहे गरोस्” भन्थे रे ! कोही “केटामा खोट भएर नै केटी भागेकी हो” भन्नेहरू पनि भेटिए रे ! कुरा चल्दाचल्दै मङ्सिर बित्यो । पुसमा बिहे गर्ने कुरा भएन । माघको त प्रारम्भमै बिहे गर्ने भन्ने विचार थियो रे ! भनेजस्तो भएन । “अब समय छैन अर्कोपटक आएर गरौँला बिहे” ,भन्न थालेका थिए रे प्रकाशले । यत्तिमै मेरा फुपाजुले कुरो लगेछन् । धेरैका धेरै विचारका बीचमा केटाकेटी देखाउने भन्ने भयो ।
एकदिन फुफाजु र प्रकाश हाम्रो घरमा आए । भावीको लेखा भनौँ– मैले पनि हुन्न भन्न सकिनँ । बिहे हुने भयो । बुबा “तयारीलाई समय चाहिन्छ । पन्ध्र दिनपछि बिहे गरौँला” ,भन्दै हुनुहुन्थ्यो । प्रकाशले “यसपालि मेरो समय छैन । आगौँसाल आएर गरौँला” भन्दै थिए रे !
फुफाजुले उनलाई एकान्तमा लगेर झपारेछन् र भनेछन्, “अर्को सालसम्म यिनीहरू तँलाई पर्खेर बस्लान् ?”
यसरी छोटो समयमा हाम्रो बिहे भयो र एकअर्कालाई चिन्न नपाएरै प्रकाश दुबई गए । मैले उनलाई जति चिनेँ, दुबई गएपछि मोबाइलमा हुने कुराकानीकै आधारमा चिनेकी हुँ ।
हो, आज जब अचानक उनले फोन गरेर भने– “मीरा म अर्को साता आउँदै छु ।” मलाई कताकता काउकुती लाग्यो, छट्पटी भयो । आँखाबाट आँसु खसे ।
मनमा यस्ता अनेक विचारहरू खेल्दै रहे । शृङ्खलाहीन भएर कति कुरा मनमा आए गए । भारी पुगेछ । थाहै भएन । भारी लिएर घर पुगेँ । साँझ परिसकेको थियो । सासू भान्सामा खाना बसाल्ने सुरसारमा हुनुहुन्थ्यो । ससुरा गोठको काममा ।
घरभित्र पसेपछि ससुराले सोध्नुभयो, “मीरा प्रकाशले फोन गरेको थियो ?”
यो कस्तो प्रश्न हो ! उनी बाक्लै फोन गरिरहन्छन् । मलाई पनि र आमाबालाई पनि । मनमनै सोचिरहेकी थिएँ । सासूले केही आवेश र आक्रोशमा भन्नुभयो, “किन गरेन होला र यिनैले आऊ भनेर त होला नि !”
मैले बुझिहालेँ आमाबालाई पनि फोन गरेर सुनाएका रहेछन् ।
“चुप् लाग् ! कति बेला के बोल्ने हो भन्ने पनि थाहा छैन” ,ससुराले सासूलाई हप्काउँदै भन्नुभयो ।
“अहिले दुबईमा धमाधम कम्पनी बन्द भएर अरू पनि फर्किरहेका छन् । त्यसैमाथि बोलाएकै भए पनि के फरक पर्छ त । बिचरा बिहे गरेर सँगै बस्न पनि पाएका छैनन् । एकअर्कालाई राम्ररी चिन्न बुझ्न पनि पाएका छैनन् । मलाई त आफैँ बोलाऊँ-बोलाऊँ भन्ने लागेको थियो । राम्रै भयो फर्किने भो ।”
सासूको रुखो बोलीले चसक्क मन बिझेको थियो । मन दुःखेको थियो । आफूले सोच्दै नसोचेको, गर्दै नगरेको कुराको आरोप लगाउँदा मन नदुख्ने कुरा पनि त भएन । मनमा पिरो गाँठो परेको थियो । पानीको गाँठो रहेछ क्यारे ! जब ससुराले सासूलाई हप्काउँदै मप्रति सहानुभूति प्रकट गर्नुभयो, त्यो पानीको गाँठो फुट्यो र भलभली आँखाबाट खस्यो । कसैको माया र सहानुभूतिले पनि यसरी आँसु खस्दो रहेछ आज थाहा पाएँ ।
“आओस् दुई-चार महिना घरमा बसोस् । फेरि अर्को प्रोसेस गरौँला । अझ राम्रो देशको प्रोसेस गरौँला” ,ससुरा भन्दै हुनुहुन्थ्यो । सासूले कुनै प्रतिक्रिया दिनुभएन ।
भान्सा गरेर सासूससुरा बिस्तरामा गएपछि मैले सफाइ गर्न थालेँ । पटक्कै जाँगर थिएन । मनमा विचारहरूको द्वन्द्वले बाढी ल्याएको थियो । “किन फर्किएका हुन् प्रकाश ? के साँच्चै कम्पनी बन्द भएको हो त ? कि बहाना बनाएका हुन् उनले ? सासूले कस्तो पाप चिताएकी ! ससुराले कति सहानुभूति प्रकट गरे ।
सारा काम सिध्याएर अबेर राति कोठामा गएर बिस्तरामा पल्टिएँ । बत्ती निभाउने मन थिएन । भित्तामा झुन्डिएका प्रकाशका तस्बिरहरूले मलाई नै टुलुटुलु हेरिरहेजस्तो लाग्यो । मलाई लाज लाएर आयो । प्रकाशको तस्बिरसँग यसरी लाज लाग्छ भने प्रकाश कोठामा हुँदा के हाल होला मेरो ! सम्झेर झनै लाज लाग्यो । प्रकाश एक्लै बसेको कोठामा म कसरी छिर्नु ? झन् बढी लाज लागेर आयो । उनका तस्बिरहरूले अझ बढी घुरेर हेरेजस्तो लाग्यो । मलाई जिस्क्याइरहेको जस्तो लाग्यो । म लाजले खुम्चिएँ । त्यही लाजबाट बच्न हतपत बत्ती निभाएँ ।
सम्झना आयो दिउँस मैले केही नबोली प्रकाशको फोन काटेकी थिएँ । त्यसैले अब उनी पक्कै फोन गर्नेछन् । सम्झेर झन् अप्ठेरो लाग्यो । “हे भगवान् उनको फोन नआओस्” ,मनैमन कामना गरिरहेँ । तर गरिहाले भने ? एक मन त लाग्यो, मोबाइल स्विचअफ गरिदिऊँ । फोन हातमा उठाएँ पनि तर त्यसो गरिहाल्न भने सकिनँ । अँधेरो कोठामा धेरैपटक कोल्टे फेरेँ । निद लाग्ने सङ्केत नै थिएन । शरीर र मन सँगसँगै छट्पटाइरहेका थिए ।
सिरक ओढ्थेँ हपहपी गर्मी हुन्थ्यो, खलखली पसिना आउँथ्यो । सिरक हुर्ऱ्याएँ । केही क्षणमै थुरुथुरु मुटु काम्थ्यो तर जाडो थिएन । भदौको महिना, पानी परेको थिएन । शङ्का लाग्यो कतै ज्वरो आएको त होइन ? निधार छामेँ । ठिक्क थियो, न ज्यादा तातो न चिसो ।
छट्पटिँदाछट्पटिँदै कति बेला निद्रा परेछ ध्यानै भएन । संयोग, प्रकाशले त्यस रात फोन पनि गरेनन् । मनमा जतिसुकै छट्पटी भए पनि आफ्ना नियमित कार्य गरिरहेँ ।
जति-जति प्रकाश घर आउने दिन नजिकिँदै थियो मन उति-उति अस्थिर हुँदै थियो । सम्झियो कि मन झसङ्ग भएर आउँथ्यो, “ला ! अब कसो गर्ने होला ?”
त्यसैबीच एकदिन ससुराले भन्नुभयो, “आज प्रकाश काठमाडौँ आइपुग्छ ।” सुनेर मन भुक्क फुलेर आयो । शरीरमा कहाँ-कहाँ झन्न झन्का छुटेझैँ भयो । शरीरका सबै रौँ ठाडा भए । सम्झेँ, साँच्चै यसबीचमा प्रकाशले मलाई एकपटक पनि फोन गरेनन् त ! साँच्चै प्रकाशले मलाई किन फोन गरेनन् ? कतै त्यस दिन मैले फोन काटेकाले रिसाएका त छैनन् ?
त्यसै दिन साँझ नयाँ नम्बरबाट फोन आयो । म भर्खर घरको काम सिध्याएर कोठामा पुगेकी थिएँ । बिस्तरामा जान पनि भ्याएकी थिइनँ । कसले फोन गऱ्यो यति बेला ? मनमनै यही सोच्दै उठाएँ, “मीरा !” उनैको आवाज । सुनेर अचम्मको अनुभूति भयो । कस्तो असहज ! आखिर किन ?
“के गर्दै छौ ?” प्रश्न गरे ।
“हजुर ?” नबुझेझैँ मसिनो आवाजमा बोलेँ । म जहाँ उभिएकी थिएँ त्यहीँ उभिइरहेँ स्थिर ।
“के गर्दै छौ ?” उनले प्रश्न पुनः दोहोऱ्याए ।
“सुत्न लागेको” ,मेरो उत्तरमा पर्याप्त सङ्कोच र भय थियो । सायद उनले अनुभूति गरे बोलीबाट र त सोधेका थिए, “के सन्चो छैन ?”
“सन्चै छु” ,यतिमात्र भनेकी थिएँ उत्तरमा ।
मलाई लाग्छ उनलाई लामो कुरा गर्ने रहर हुँदो हो । अर्को दिन प्रत्यक्ष भेट्न पाइने भएर पनि उनलाई न्यास्रो लागेको हुँदो हो तर मेरो बोली सुनेर उनले भने, “म काठमाडौँ आइपुगेँ मीरा । भोलि साँझसम्म घर आइपुग्छु । ल सुत अब भोलि भेट हुन्छ ।”
उनको “अब भोलि भेट हुन्छ” भन्ने अभिव्यक्ति यतिविघ्न असहज लाग्यो कि म त्यसलाई व्यक्त गर्न सक्दिनँ ।
+ + +
उनी घर आइपुग्दा म बारीमा थिएँ । सासूले बोलाउनुभयो, “मीरा छिटो घर आऊ ।” मैले बुझेँ पक्कै प्रकाश आइपुगे । साँच्चै म कसरी उनका सामु पुग्नु ! के गर्नु अगाडि पुगेर ? के भन्नु ? मलाई आफ्नै घर जान पनि ज्यादै अप्ठेरो लाग्यो जहाँ म सात महिनाअगाडि भित्रिएकी थिएँ । जहाँका हरेक वस्तुसँग मेरो अपनत्व थियो तर जसका कारण यो साइनो गाँसियो आखिर उही किन यति असहज बनिरहेछ ?
जे भए पनि घर त जानु नै थियो, गएँ । उनी बरन्डामा थिए । नजिकै दुईवटा ठूलाठूला सुटकेश र एउटा सानो ब्याग । छिमेकका केही केटाकेटी र बुढापाका जम्मा भएका थिए । बजारबाट उनकै साथीहरू छोड्न आएका रहेछन् । “भाउजू नमस्कार” ,भने । मलाई उनीहरूलाई नमस्कार फर्काउन पनि अप्ठेरो लाग्यो ।
‘भाउजू’ यो शब्दले मलाई सम्बोधन गर्न लागेको सात महिना भयो तर आज यस्तो लाग्छ पहिलोपटक कोही मलाई ‘भाउजू’ भन्दै छ ।
मैले नमस्कार त फर्काएँ तर उनीहरूको मुखमा हेर्न सकिनँ, न त प्रकाशलाई नै हेर्न सकेँ । म हतपत घरभित्र पसेँ । यो काम पनि मैले योजनाबद्ध तरिकाले गरेको होइन जस्तो लाग्छ । अचानकै भयो ।
भित्र पसेर सासूलाई भान्साको काममा सघाउन थालेँ । सासू चिया बनाउँदै हुनुहुन्थ्यो । मलाई चिया लैजान नभने हुन्थ्यो भन्ने लाग्यो । धन्न सासूले आफैँ लैजानुभयो ।
चिया पिएर उनका साथीहरू बिदा भए । साँझ परेकाले छिमेकका नानीबाबुहरू पनि आआफ्नो घरतिर लागे । सुटकेसहरू कोठामा राखेर ससुरा र प्रकाश भान्सामा पसे । प्रकाशले बुबाआमासँग अनेक कुरा गरे । गाउँको हालखबर सोधे । कम्पनी बन्द हुनुको कारण बताए । मैले ध्यान दिएकी थिएँ प्रायः उनको नजर मतिर नै थियो । मैले भने एक नजर उनको मुखमा हेर्न सकेकी थिइनँ ।
खाना खाएर सासूससुरा सुत्न जानुभयो । प्रकाश पनि कोठामा निस्किए । मैले नियमित रात्रिकालीन कामधन्दा गर्न थालेँ । हात त एकसुरमा काम गरिरहेको थियो तर मन ? मन भने यही सोच्दै थियो कि म अब कसरी जानु त्यो कोठामा जहाँ प्रकाश एक्लै छन् ।
राति केही ढिलो गरेर म कोठामा गएँ, भारी पाइला चालेर । ढोका उघार्दा आवाज नआओस् भनेर सुस्तरी उघारेँ । के भन्लान् थाहा पाए सासूससुराले ? के गर्दै होलान् प्रकाश कोठाभित्र ? आजको यो अनुभव मेरा लागि त्यस्तै असहज थियो जस्तो हरेक नारीलाई विवाहपछिको पहिलो रात कोठामा प्रवेश गर्दा हुँदो हो सायद ।
कोठामा छिर्दा प्रकाश निदाएका थिए । मलाई केही सहज लाग्यो । बिस्तारै दिउँस काम गर्दा लगाउने कपडा फेरेँ र सुत्दा लगाउने लुगा लगाएँ । प्रकाशले थाहा नपाऊन् भन्नेमा पूरा सचेत थिएँ म । हेङ्गरमा मेरा कपडामाथि नै प्रकाशले आफ्ना कपडा राखेका रहेछन् । ‘छिः !’ कस्तो असहज लाग्यो । येनकेन कपडा त फेरेँ तर हाम्रो कोठामा पलङ एउटै छ । म कहाँ सुत्नु ? प्रकाश सुतिरहेको पलङमा कसरी सुत्नु ?
यही विचार मनभरि उठिरहेको थियो प्रकाशले आँखा खोले र भने, “मीरा आयौ ?”
उनको बोलीले ज्यानै सिरिङ्ग भयो । म मौन रहेँ ।
“आऊ, बस” ,यति भन्दै उनले मेरो पाखुरामा समाए र आफूनजिक ताने । उनको त्यो हातको स्पर्शले मनको धड्कन बढ्यो । मैले प्रकाशलाई हेर्न पनि सकिनँ । आँखा तल झुकेका थिए । प्रकाशले मेरो शिर उठाउँदै भने, “मीरा किन लजाएकी ?”
मैले एकपटक आँखा उठाएर उनलाई हेरेँ तर हेरिरहन सकिनँ । मैले आँखा चिम्म गरेँ ।
मलाई लाग्यो प्रकाश बिस्तारै मनिकट आइरहेका छन् । उनको मुखबाट निस्किएको तातो सास मेरो मुखनजिक स्पर्श गर्दै थियो । मैले थाहा पाएँ प्रकाशको ओठ मेरो ओठसँग जोडिन पुग्यो । बिस्तारै उनले ओठ खोले । मेरा दुवै ओठ उनका दुई ओठका बीचमा थिए । एकप्रकारको तातो र गिलोपन मेरा ओठले महसुस गर्दै थिए । मैले आफ्ना हातले प्रकाशलाई पर सार्न चाहेँ तर बल गर्न सकिनँ ।
उनी मेरो दुवै गाला आफ्ना हातले सुमसुम्याउँदै थिए र आफ्नो मुख मेरो मुखसँग निकट तुल्याउँदै थिए । बिस्तारै आफ्नो मुख मेरो काननेर पुऱ्याएर प्रकाशले “मीरा” भने ।
मेरो मुखबाट अनायास लामो “हुँऽऽऽऽ….!” निस्कियो ।
म भय, लाज र सङ्कोचले आफैँभित्र सिकुडिएकी थिएँ । पलङको बारमा म यसरी दपेटिएकी थिएँ मानौँ, त्यसैमा विलय हुँदै छु ।
त्यसपछि प्रकाशले के के भने, के के गरे मलाई केही पनि होस रहेन, चेत रहेन । अलि-अलि सम्झन्छु कताकता दुखेजस्तो, त्यही दुखाइभित्र एकप्रकारको आनन्द आएजस्तो लागेको थियो बेहोसीमै पनि । प्रकाशको स्पर्शले शरीर थरर्र कामेको पनि सम्झन्छु । छाती फुलेर हो वा पीडाले हो सुन्निएर सधैँभन्दा ठूला भएजस्तो पनि लाग्छ ।
के के भयो ममा केही चेतना रहेन । म बेहोस त थिइनँ तर चेतना पनि थिएन । म अलिअलि सम्झन्छु, प्रकाशलाई आफूबाट धकेलेर टाढा बनाउन चाहन्थेँ तर अचम्म आफ्नै अँगालोमा यसरी बेरेकी थिएँ कि उनले छुट्न चाहेर पनि सक्दैनथे ।
प्रकाशले यो के गरिरहेका थिए मलाई केही थाहा थिएन । उनले यसरी मसँग कति बेर खेले त्यो पनि मलाई होस छैन । कति बेला उनी निदाएछन्, त्यो पनि मलाई थाहा छैन ।
राति एक्कासि मेरो निद्रा खुल्यो । निद्रा खुल्दा कोठाको बत्ती बलेकै थियो । प्रकाश अहिले पनि मेरो अँगालामा थिए । मलाई महसुस भयो, सिरकभित्र उनी र म निर्वस्त्र छौँ । उनी मस्त निद्रामा छन् । मलाई उनीसँग कुनै लाज लागेन, कुनै सङ्कोच लागेन । लाग्यो, उनलाई एकोहोरो हेरिरहूँ । लाग्यो एकनास उनको मुहारमा चुमिरहूँ ।
मन थाम्न नसकेर मैले एकपटक प्रकाशलाई चुमेँ । उनले थाहा पाएछन् । आँखा खोले । हामी दुवै एक अर्कोलाई हेरेर मुस्कुरायौँ । प्रकाश फेरि चञ्चल देखिन थाले । यसपटक प्रकाशको चञ्चलतालाई सायद मैले पनि निसङ्कोच साथ दिएँ ।
(स्रोत : साहित्यपोस्ट डट कम)