व्यङ्ग्य निबन्ध : केही खन्चुवाहरू

~होम सुवेदी~

मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी बुत्याएको कुरा देखिँदैन । तैपनि उहाँ बढी खाने खन्चुवाहरूलाई उसको अघिपछि कुनै बेला कस्तो अगस्तिरहेछ भन्नुहुन्छ । उहाँ अँझै भन्नुहुन्छ– ‘ताप्लेजुङ् अथवा पाँचथर कताको हो एक जना मान्छे एक पाथी चामलको भात, एक ठेकी दही, एक कराही दाल र अचारसँग हसुरेर हिंडेको ७ दिन लाग्ने बिजनबारीबाट केही नखाई १ मुरी नून बोकेर आइपुग्थ्यो अरे । घर आइपुगेपछि उसै गरी भात खाएर अर्को ७ दिनसम्म भोकै बस्तथ्यो अरे ! यस्ता नामुुद खन्चुवा ता मैले उति धेरै फेला पारिन तापनि माना चारेक धानका चामलको भात लतार्नेलाई भने मैले पनि बेहोरेको छु । आखिर उनै आमाको छोरो न भएँ ।

एक जना मान्छे थिए हाम्रो गाउँमा । उनलाई हामी ‘कुइरो’ भन्थ्यौं । आँखा कुइरा भएका कारणले उनको नाम ‘कुइरो’ राखेका थियौं । त्यो नाम मैले नै राखेको थिएँ । विचरा साहै दुःखी थिए । उनका मुखेन्जी ‘कुइरो’ नभनेर हामी ‘कान्छाउ’ भन्थ्यौं । कान्छाउ हाम्रो थरकै थिए । ढाकर बोकेर बनिबुतो गर्नु उनको पेसो थियो । त्यसबाहेक उनी गाउँघरको घरेलु काम पनि गर्दथे । गाउँका त्यस्तै गरिब गुर्वाकी छोरीका साथ उनको निकै अबेला भइसकेका बेलामा लगन जोडिएको थियो । अबेला भएको ठानेर हतार–हतार कोटा पुर्याउने ध्याउन्न थियो क्यारे, सातै वर्षमा आठवटा चल्ला काढे । जेठो र कान्छामा त उमेर छुट्टिन्थ्यो तर जेटो र अन्तरेसम्ममा उनका चल्लाहरू एकै नासका देखिन्थे । उचाइ, अनुहार, वजन, रूपरङ्ग सबैको बराबरी थियो । कसैले पनि तिनलाई एकै ठाउमा राखेर हेर्यो भने तिनको जेठकान्छी छुट्याउन सक्तैनथ्यो । केही ठूला भएपछि छरछिमेकीका आरुबखडा छिप्पिन पाएनन्, अम्बा सुन्निन पाएनन्, ज्यामिर र सुन्तलामा रस पस्न पाएन, गिट्ठा भ्याकुरले पनि थामिएनन् भन्ने हल्ला भएको सम्झन्छु । तर कसैकसैले भन्थे— नूनको भारी बोकेर गुजार चलाएको ‘कुइरो’ कान्छाउका छाउराहरू नूनै खाएको चल्ला जस्ता छन् । तैपनि खन्चुवामा उनीहरूलाई कसैले भेट्तैन । उनीहरू अहिले सूम्म अघाएका छैनन् ।

हाम्रो परिवार पनि उति सम्पन्न होइन । ‘कुइरो’भन्दा केही अघिको मात्र थियो । सानामा हामी पनि ‘कुइरो’ कान्छाउका चल्लाकै हाराहारीका थियौं अरे । तर खन्चुवाका मामलामा भने हामी उनका चल्ला जतिका चाहिँ थिएनौ अरे । इलामबाट उत्तरतिर निकै परसम्म अचेल भारी बोक्नु पर्दैन । तर ऊ बेला (२०३० पूर्व) इलामबाट नून नबोकेर धर थिएन । अँझ कहिले धरान र कहिले बिजनबारीबाट पनि नून लानुपर्थ्यो । कान्छाउलाई इलामले निकै सरेक पारेको थियो । इलामबाट नून नबोकको बेला पारेर कहिलेकाहीं कान्छाउ हाम्रा घरको काम गर्थै । पेचा बुनिदिनु, घुम छापिदिनु, जाँताको हातो लगाइदिनु, ढिकीको मुस्ली र कोलको चेपुवा मिलाइदिनु, हलो जुवा बाँधीदिनु, बाँस तान्न आङ्कुसे बनाइदिनु उनको काम हुन्थ्यो । भात खाने बोल पारेर उनी कहिलेकाहीं हाम्रोमा आएर हस्याङ्फस्याङ् गर्थे । हाम्री आमा भने डराउनुहुन्थ्यो । कारण भने केही पछि मात्र थाहा भयो ।

२०३६ साल असारको कुरा हो । म त्यो समयको विद्यार्थी आन्दोलनका बेला फिदिममा राष्ट्रिय विकास सेवा (रा.वि.से.) कार्यक्रम अन्तर्गतको विद्यार्थीका रूपमा फिदिममा नै कार्यरत थिएँ । त्यति बेलासम्म त्यहाँ गाडी चलेको थिएन । तर हातले खनिएको बाटोबाट बैशाख १ गतेका दिन फिदिममा २ वटा जिप पुगेका थिए । अचानक विद्यार्थीको (हाम्रै) आन्दोलनले गर्दाा हामीलाई कार्यक्षेत्रबाट विश्वविद्यालयले काठमाडौं फिर्ता बोलायो । काठमाडौं जानुअघि घरमा पितामातासँग भेटघाट गरेर फर्कने विचारले म घर गएको थिएँ । त्यो बेला ‘कुइरो’ बिरामी छन् भन्ने बुझेर उनकोमा पुगें । यसो विचार गरेको साधारण ज्वरो मात्रै पो आएको रहेछ । यसलार्य ता एउटा सिटामोले नै काम गरिहाल्ला नि भन्ने सोचें अनि सिटामोट दिएर घर फर्कें । कुइरो त भोलिपल्ट बिहानै ठमठम्ती हाम्रो घरमा पो आउँछ ए !
“साइँला तँ कहिलेदेखि दाग्दर भइस् ? पासै गरेर आको ?” ‘कुइरो’ले भने मतिर सङ्केत गर्दै ।
“किन कान्छाउ ?” मैले सोधें ।
“तैंले देको दवाइले मलाई च्वाट् भयो । हेर् न यी…..!”
“हँ, निको भयो ?’ मैले सोधें ।
उनले आफू निको भएको र आफू जस्ता रोगीको देखरेख गर्न गाउमै बस्नु पर्ने कुरा मलाई सङ्केत गरे । अँझै भने “दाग्दरी मात्र पढिस् कि रेडिया बनाउने, घडी बनाउने पनि पढिस् ?”

मैले त्यहाँ के भने त्यो अहिले मलाई हेक्का छैन । तर ‘कुइरो’लाई कसै गरेर चित्त बुझाएको थिएँ । उनको चित्त बुझाएपछि मैले काठमाडौं फर्कनु पर्ने कुरा भनें । पढ्न अँझै बाँकी भएको कुरा पनि भनें । अनि अन्त्यमा भने– “बरु फिदिममा मेरो बेडिङ छ, इलामसम्म बोकेर लगिदिनुहुन्छ ?” म जस्तो उनको बिरामी निको पार्ने दाग्दरको भारी उनले इलामसम्म ता होइन काठमान्डुसम्म पनि पुर्याइदिने कुरा गर्दै भने– “हेर् साइँला, तँ जाँ भन्छस् तेरो भारी त्याँसम्म पुर्याउने जिम्मा मेरो भो ।” म कुइरोको कुराले ढुक्क भएँ अनि घरबाट काठमाडौं फर्किने उपक्रममा लागें ।

पर्सिपल्टै फिदिमबाट मेरो बेडिङ बोकेर ‘कुइरो’सित म फटाफटी बाटो लागें । बिहानदेखि केही नखाएकाले मैले सुकेपोखरीमा होटलमा भात खाने विचार गरें । मैले होटेल्नीतिर सङ्केत गर्दै दुई जनाको खानाको अर्डर गरें । होटेल्नी अलिक ततर्किई । होटेल्नीले मतिर हेर्दै “हइन यो बुढोले खा’को पैसा चोई कोस्ले तिर्छा ?” भनी । मैले उत्तर दिएँ–“मो तिर्छा आबु । को तिर्छा त मेरो मुन्छेले खाएको कुरा ।” अनि होटेल्नीले अलिकति हाँसेर भनी— “आजो तिमी पोरेछा फेला !”

हाम्रो कुरा सुनिरहेका ‘कुइरो’ले अचानक भात नखाने कुरा गरे । म अलिक छक्क परे । केही पनि नखाने कुरा गरेर उनी त बेडिङ् बोकेर लागे बाटो । होटलतिर र बाटाघाटामा म केही खान्न साइँला उनले दिउसो बाटो हिंड्दै गर्दा भनेका थिए । मैले कुरा आधिउधी मात्र बुझें । होटेल्नीसँग अघिपछि झगडा परेको रहेछ क्यारे भनेजस्तो पनि लाग्यो । सोध्ने कुरा पनि भएन । “भरे इलाम पुगेपछि खाउँला ।” त्यसै गरी उनले हिंड्दाहिंड्दै भनेका थिए ।

मेरो सामान त्यही दिन भोकभोकै इलामसम्म पुर्याइदिएका थिए । त्यतिबेला इलाममा मेरा दाजुभाउजू थिए । साँझ साँझतिर ‘कुइरो’ र म इलाम पुगेका थियौं । भाउजूले मानाचारेक चामलको भात पकाएर ‘कुइरो’लाई पर सार्नुभयो । उहाँलाई ‘कुइरो’को खान्कीबारे थाहा रहेछ । अमिलो मोही, गुन्द्रुकको अचार, कालो दाल र चारमाना भचात ‘कुइरो’ले समसम लतार्यो बा ! त्यति खाइसकेर उठ्तै उसले भन्यो–“बिरामीले छिनाएछ साइँलाओ !! राम्रोसँग रुचेनह हाउ !” मलाई बडा अचम्म लागेर आयो । बिरामीले नछिनाएको बेला कति रुच्तो हो यो कुइरालाई ! हे दैव, अन्दाजी ४ किलो बराबरको खान्की खाँदा पनि रुचेन भने साँच्चै रुचेको बेला ‘कुइरो’ले कति लतार्दो हो ? मलाई मनभरि उत्सुकता जागिरह्यो । यही कारण रहेछ ‘कुइरो’बाट आमाले डराउनुको भन्ने भेउ बल्ल मैले पाएँ ।

“भोलि बिहानै भात पकाइदिनू । मुरी दुईएक जति नून लिएर फिर्छु ।” ‘कुइरो’ले भाउजूलाई अरायो । भाउजूको सातो गएझैं भएको मैले देखें । उहाँले बहाना पारेर भन्नुभयो— “बरु म खाजा सामाल हालिदिन्छु । पकाएर ख्वाउन त भ्याउँदिन कान्छाउ । भोलिबिहानै मेरो बजार जाने जरुरी काम छ ।”
नभन्दै भोलिबिहानका लागि उहाँले माना चारेक चामल र छिप्पिएका चार पाँच वटा जति इस्कुसका दाना हालिदिएर बेडा पार लगाउनुभयो । भोलिपल्ट बिहानै ‘कुइरो’ हाम्रोबाट बिदा भई लाग्यो बाटो । यो कुरा थियो खन्चुवामध्ये मैले आफैं देखेको र भोगेको खन्चुवा ‘कुइरो’को नामक व्यक्तिको । अलिक पछि कुनै बेला मैले ‘कुइरो’कै बारेमा के सूचना पाएँभने मुखिया बा खसेको सुद्धाइँका दिनको भतेरमा बाहेक जीवनभरि उसले अन्यत्र अघाउँजी खान पाएको छैन अरे ।

अब खन्चुवाका बारेका केही सुनेका कुरा । उड्वाको कुरा पनि आफैंमा एक गजबको छ । खान र अपानवायु छाड्नमा उड्वालाई गाउँमा कसैले उछिन्दैनथ्यो । तल्लो जातको परेकाले ऊ अलिक मापाको पनि थियो । तमोरका गढ्तिरको कुरा हो । अनि यो पनि नून बोक्न जाँदैको कुरा हो । लेउतीको गढ्तिरनिर पुगेपछि दुई टीन र ३ ट्याक्लो घिउ लिएर साथैमा हिँडिरहेको उसका साथीसँग उसको बाजी परेछ । “यो एक ट्याक्लो (चौथाई टीन) घिउ खान पाए त !”

साथीचाहिँलाई झोंक चलेछ— “ल यो एक ट्याक्लो चाटीपुछी पारेर खाइस् भने यसको दाम म तिर्छु । खान सकिस् भने भैगो यो बापतको खर्चवर्च मेरै भइहाल्यो । तर हेर खाइसकिनस् भने तैंले दोब्बर तिर्नुपर्छ । हुन्छ ?”

उड्वालाई के चाहियो अब ? बाजी थाप्यो । भाँडामा हालेर तताएर घिउ झोल पारेछन् । तनतनी खाएको एकै छिनमा बुत्याइदिएछ । साथीचाहिँ अनाहकमा डण्डमा परेछ । घिउखाएको आधाघन्टा जति पछिदेखि छेर्न थालेको उड्वाले लँगौटी नै छेर्न थालेको कुरा सुनिन्थ्यो । त्यसै मितिदेखि उसको अपानवायु नरोकिएको कुरा पनि सुनिन्थ्यो । यो खन्चुवा प्रसङ्ग मैले आँखाले नदेखेको भए पनि उसको वायुप्रवाह र वायु ध्वनि भने मैले मनग्गे सुनेको छु । अँझ पनि सम्झन्छु । उसले अपानवायुको ध्वनिबाट रुखमा बसेका भँगेरा बाहेक कागसम्म पनि तर्छाएर भगाउन सक्थ्यो भन्ने पनि सुनिएको हो । यो भने हाँसी हाँसी हाम्रो पिताज्यू भन्नुहन्थ्यो ।

होडबाजी पर्दा खन्चुवाका कथा अँझ पनि छन् । एक जना नाम भन्न नमिल्ने मित्र हुनुहुन्छ । मित्र नभई अब ता वृद्धभन्दा पनि हुन्छ । काडमाडौंमा होडबाजी पर्दा ८० वटा रसभरी, ८० वटा लालमोहन र बहत्तर कप चिया तन्काएका थिए अरे । पछि जिल्लाको सदरमुकाममा आएपछि शुरुमै होटलमा महिनावारी भात खाने बन्दोवस्त भएछ । महिनावारी ५००मा होटलले भात ख्याउने भएछ । तीन दिनसम्म त होटलले जिनतीन पालेछ । चौथो दिन होटलमालिकले तिनले जम्मा गरेको पेस्की पैसामा थप १०० रु. दिएर हात जोडेर भनेछ— “हजुर म अब तपाईंलाई ख्वाउन सक्तिनँ । यति बक्सिस पनि लिनुहोस्, मलाई माफ पनिदिनुहोस् ।”

आज ती वृद्ध भइसके । ती गुलियो र चियाका भोगीको आज अर्के कथा छ । आज मधुमेहका विरामी छन् । तर यसो भोजभतेर वा सानातिना पार्टीमा खाने मौका पर्यो भने रसभरि अँझ पनि भ्याएसम्म खान छाड्दैनन् । तर खाने शैली केही फरक छ । रसभरीको रस निचोरेर भए पनि २०,२५ वटा जति अँझ पनि खान्छन् । उनको एउटा स्मरणीय विशेषता के भएको छ भने उनी रसभरि पेट भरी खान्छन् तर चिया खाने बेलामा मात्र डायबिटिजको बिरामी ठान्छन् र चियाचाहिँ बिनाचिनीको फर्माउँछन् । एक दिन एउटा पार्टीमा उनले निचोरेर २० देखि ३०का बिचमा रसभरी बुत्याए । अनि अन्तमा विना चिनीको चिया फर्माए । त्यहाँ चिया दिनेले झुक्किएर चिनी हालेकै चिया दिएछ । चिया चाख्तै खेरी उनले थाहा पाइहाले । अनि भने— “बेहुदा, विना चिनीका चाय लेनेको बोलेथे ।का है चिनीका चाय लाया ? हमको डायविटिज है तुमको पत्ता नही ? ” डाँट खाएको त्यस मान्छेले उनले नसुन्ने गरी भन्यो— “साला बूढो एक धार्नी रसबरी चैं खानुहुने, चियामा चैं चिनी पर्यो अरे !”

खन्चुवाहरूका बारेमा मैले सुनेका यीभन्दा पनि अँझ घतलाग्दा कथा पनि छन् । यता इलामको एक खन्चुवाको कथा पनि मज्जको छ । उसको खान्की दश माना जतिको थियो भन्ने सुनेको छु । ऊ पनि विचरो किसानकै वर्गको थियो अरे । उसलाई इलाममा एक गुरु आमाले खेत जोताइछन् । हलीलाई खाना दिने चलन पनि छ । हलीहरू सामान्यभन्दा केही बढी भात खान्छन्, परिश्रम गरेपछि केही बढी खान चाहिन्छ भन्ने गुरुआमालाई थाहै रहेछ र माना चारेक भात पाक्ने भाँडामा भात पकाइछिन् ।

थालमा पस्किएको भात चारै गाँसमा सकिएपछि गुरुमाले थपिदिएको भात थालमा हाल्नै नपाई हातैमा थाप्न थालेछ र कप्ल्याक्क निल्न थालेछ । भाँडो रित्तिएको सङ्केत गरेपछि बिचरा भोकै उठेछ र गुरुआमालाई भनेछ— “आज त भोकै परिहालियो । भात पकाउने भाँडै साना रहेछन् । गुरुआमा आज जसोतसो गरी काम चलाउँला, दिउसो माना चारेक मकै भुटेर खाजा पठाइदिनुहोला । तर भोलिका लागि बाँडाको दोकानमा गएर भाँडो किनिहाल्नुहोला है ।” उसले सुझाव दिएथ्यो अरे ।

खन्चुवाका कथा धेरै सुनेको भए पनि अन्तिममा देखेकै एउटा खन्चुवाको कुरा पनि बिर्सिनसक्नुको छ । अहिले उमेरमा अलिक पाका भइसकेका छन् । तर सबुतै छन् । यदाकदा उनका साथ भेट समेत हुने गरेको छ । ओरपरबाट जानकारी के भएको छ भने बुढौलीका कारण उनले पहिलेको जति सारो भोजनमा बल गर्न छाडेका छन् । उसमाथि मधुमेह भइदिएका कारणले अहिले उनले भोजनलाई राल चुहाउँदै हेर्नुमात्र पर्न थालेको छ । उनी ब्राह्मण परिवारका मान्छे हुन् । उनका जीवनको यो अलिक अघिकै कुरा हो । उनको खान्कीलाई हेरेर म उनलाई खन्चुवा नै भन्दछु । ती खन्चुवा पनि मापाका छन् । अघिपछि त अघाउने गरी खान पाउँदैनथे बिचरा । कतै मराउपराउ, भोजभतेर वा बिहेबटुलो भयो भने उनी अघाउँजी खान्थे । हाम्रै पिताजीको बर्खान्तको कुरा हो । एक मुरीको रोटा पकाइएको थियो । त्यस्तो मौकामा बाँदरले ओद्रोमा हालेझैं गरी कहिल्यै नखानेले पनि धौ फुकाएर खान्छन् । ती ब्राह्मणका लागि त त्यो अपूर्व अवसर नै थियो । उनी खानमा नामुद हुन् भन्ने बुझेकाहरूले सेल गनेर दिएछन् म भने अलिक परतिरबाट यसो मौका पारेर मात्र हेर्दै थिएँ । ६० वटा सेल चियासँग खाएपछि उनले सास फेरेका थिए रे । सेल खाने पनि उनको निकै नयाँ भाँतिरहेछ । गोला सेललाई कच्याककुचुक पारेर फुरौलाका डल्लो जस्तो पार्यो अनि कप्लाक्क खायो । अनि सुरूपप चिया पियो । उनको खाने यो शैली निकै राम्रो र लाभदायक भएको कुरा उनी मान्छन् अरे । उनी निकै चलाख पनि छन् । खाँदाखाँदै भाँडो रित्तीन आँट्यो भने अघाएको बहाना पारेर बडो ज्ञानी भएर सरक्क उठ्छन् अरे । यो ता कतै पुगेन भने न हो । हाम्रोमा उनले यो बहानाबाजी गर्नु परेकै थिएन । अघाउँजी खाएका थिए ।

खन्चुवाका कुरा यति मात्र होइन अनेक छन् । हाललाई यति मात्रै भनूँ क्यारे । मृत वा जीवित मेरा खन्चुवाहरूसँग क्षमा माग्दै आज यस लेखलाई यहीं सक्नुपर्यो ।

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.