व्यङ्ग्य कविता : कान चिरेका जोगीहरु

~कुबेर काका~


यो व्यासको जन्म भूमि
जन्मना साथ सालनाल सहित 
आत्मनिर्भर बन्न हिडने
नवजात शिशुहरुको हो यो माटो
यो सिध्दार्थको ज्ञान भूमि
बृद्ध भएर मृत्यु बरण गर्नु भन्दा
मृत्यु टार्न अग्रसर हुने
नवयुवकहरुको हो यो माटो
यो बाल्मिकीको तपोभूमि
कुण्ठा र परहिंसा त्यागेर
सत्मार्गमा लाग्ने रत्नाकर जस्ता
बयस्कहरुको हो यो माटो
यो विदेहको कर्मभूमि
काम क्रोध लोभ तृष्णा माथि विजय गर्ने
सदभाव र सदाचार अनुशरण गर्दै
प्रजापालक शिरध्वज जस्ता
पिताहरुको हो यो माटो 
यो वीर वीराङ्गनाहरुको रणभूमि
पराधिन हुन नचाहनेहरुले 
आत्मरक्षा गर्न भोको पेट र प्यास मेटाउन
तोपको अगाडि उभिने
भक्तिहरुको हो यो माटो ।


रसायनिक तत्वहरुको समिश्रणले
माटो प्राकृतिक गुण ह्रास भएर होला
बैदिक सनातन धर्मालम्बीहरु
विभिन्न मार्ग अपनाएर स्वर्ग सुरक्षित गर्न
कान चिरेर
  गरुवा पहिरेर
टीकाको पहिचान बोकेर 
सडकमा माग्न निक्लिएका जोगीहरु हुन वा
दल दर्ता गराएर ठगी गर्न नैतृत्व लिदै
मादलको पृथक पृथक ताल निकालेर 
मनोरञ्जन गराउदै आस देखाउने 
रुप र भेष परिवत्र्तन गरेर आउने
अलग अलग संगीतालयमा वाद्यबादन सिकेका
सबै कान चिरेका जोगीहरु न हुन 


जुन जोगी आए पनि कान चिरे कै छन 
सबैको लक्ष्य माग्ने नै हो 
स्वाभिमान विक्री गर्ने नै हो
आत्मनिर्भर बन्न नचाहने नै हो
परनिर्भर हुनका प्रलोभन देखाउनका लागि नै हो 
आत्मरतिमा रमाएर माग्न पनि नसक्ने
मागेको पनि देख्न नसक्ने बाँदरहरुले
खोक्रो मादल ठटाएर स्वर मिलाउदै 
भिड जम्मा गराएर जीवन निर्वाह गर्ने
कुचक्र त हो ।


विपा भित्र्याउनेका मतियारहरु पनि माग्ने जोगी नै हुन
एमसिसी लागु गराउनेका समर्थकहरु पनि माग्ने भोगी नै हुन
विपिआर माग्ने मनोरोगीहरुको अनुशरण गर्ने पनि रोगी नै हुन
जोगी भोगी मनोरोगी जो भए पनि
माग्न पल्किएकाहरुले यो माटोको बदनाम गरे
तर पनि माग्न आउनेलाई फिर्ता नगर्ने 
हाम्रो बैदिक परम्परामा
हामीले आस्वस्त गराएर पठाए कै छौ 
सक्नेले हाम्रो अस्मिता र स्वाभिमान विक्री गर्नेलाई 
आफ्नो मत विक्री गरेर पनि दिएकै छौं
नसक्नेले सित्तैमा भए पनि गरेर खाओ भनेर 
मत दिएर पठाएका छौ 
दस्तखत दिएर पठाएका छौ 
हामीले हाम्रो अभिमत दिएर पठाएका छौं ।


व्यासहरुको जन्मभूमि हरण हुदा पनि
कोही चुइक्क  बोल्न सक्तैनन
सिद्धार्थहरुको ज्ञानभूमिको भुभाग
कोतरिदा टुलु टुलु हेरेर बस्ने न हुन
बाल्मिकीहरुको तपोभूमिमा
अराजकताको डडेला फैलिदा पनि 
हाम्रो सेवा गर्न हामीबाटै असुल गरेको कर खाएर
उग्राएर बसेका छन राष्ट्र सेवकहरु 
बरु तोकिएको तलबमान भन्दा महगा विद्यालयमा
सन्तानको अध्यापन गराउन नपुगेर 
विकास बजेटको दुरुपयोग गरेकै छन 
जनकहरुको निस्वार्थ भेदभाव रहित कर्मथलोमा 
हाम्रो अभिमत खरिद गरेर स्वार्थ पूर्ति गर्न 
पालो पर्खेर बसे कुरेकै छन
पालो नपाउने भनक पाए गठ बन्धन गरेर भए पनि
ब्रह्मलुट गरेकै छन 
भक्तिहरुले स्वाधिनता र स्वाभिमानका लागि  
प्राण उत्सर्ग गरेको यो रण भूमिमा 
आज स्वाधिनता र स्वाभिमान बिक्री गरेको
यश लिन हानाथाप भई रहेको छ
हामी तरवारको धारमा असुरक्षित भएर
बसी रहनु परेको छ । 
कान चिरेका जोगीहरुको भेष फेरिए पनि 
बोल्ने भाखा फेरिए पनि 
उद्देश्य र लक्ष्य फेरिएको छैन ।

२०७६÷९÷११ साँझ
कुबेर काका
तित्री गाछी, जलजले उदयपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.