~दमन बहादुर सिंह~
रारा स्मरणीय छ
रमणीय छ
मननीय छ
स्वर्गको
उपमा दिए हुन्छ
शिरमा लिए हुन्छ
विश्वको आश्चर्यमध्ये
एउटा अर्को आश्चर्यको
उपमा दिए हुन्छ
क्या अलौकिक
सुन्दरता
बिर्सनै नसकिने
मनमोहकता
सुशील कालिगढको
कलाकारिताले
निकै मेहेनतका साथ
निर्माण गरेजस्तो
सोह्र शृङ्गारले
दुलहीको
अनुहार भरेजस्तो
स्वर्गको
इन्द्राआशन
पृथ्वी तलमा
खसेजस्तो
बिश्व ब्रह्माण्डको
सुन्दरतालाई
हरेजस्तो
यसका अगाडि
अरूको सुन्दरता
मरेजस्तो
सारा मानव जातिको
ध्यान आफैतिर
कसेजस्तो
इन्द्रेणीको सुन्दरता
राराको गर्भमा
खसेजस्तो
हिउँचुलीको
डुबुल्की
यसैभित्र
पसेजस्तो
यो कसरी
हुन गयो
साराको मनलाई
छुन गयो
यसले
यति सफासँग
कसरी
आफ्नो तनलाई
धुन गयो
कति सफा छ यो
कति कञ्चन छ यो
कति पवित्र छ यो
कति विचित्र छ यो
कति शान्त छ यो
कति धीर छ यो
कति गर्भिलो छ यो
कति भरिलो छ यो
मानव चक्षुले
यसको सुन्दरता
नियाल्न सक्दैन
यसको गर्भको
मोती निकाल्न सक्दैन
यसको अथाहा
प्राकृतिक भण्डारलाई
रित्याउन सक्दैन
यसको निर्विकल्प
सुन्दरतालाई
हराउन सक्दैन
रारालाई
मनभित्रै
बसाएका छन् सबैले
यसप्रतिको
प्रेमलाई
कसाएका सबैले
यसको अलौकिक
सुन्दरतामा
आफूलाई
पसाएका छन् सबैले
यसको कौमार्यलाई
आफूभित्र
सजाएका छन् सबैले
त्यो कञ्चन
स्वच्छ वदनमा
टँसाएका छन् सबैले
जसले
स्पर्श गर्यो यसको
जो समीपमा
सर्यो यसको
जसले वदनलाई
चर्यो यसको
जसले अलौकिकता
छर्यो यसको
त्यसले
पुण्य प्राप्त गर्यो
स्वर्गको आनन्द
आफूभित्र छर्यो
मनमोहकता
प्राप्त गर्यो
यसरी
रारा सुन्दर छ
सबैको आँखामा
प्रिय छ
सबैको मनमा
स्वच्छ छ
सबैको विचारमा
चारैतिर
वनकुञ्जले
घेरिएको छ
अलौकिक सुन्दरताले
बेरिएको छ
विश्वमाझ यसको
सुन्दरता
कोरिएको छ
विश्व जनमानसद्वारा
हेरिएको छ
फैलाउनु छ
राराको सुन्दरतालाई
सजाउनु छ
राराको वैभवतालाई
अपनाउनु छ
राराको
वास्तविकतालाई
आत्मसात गर्नु छ
राराको
सुनौलो भविष्यलाई
राराको
सुन्दरतालाई
विश्वले मनमा
सजाएको छ
आफूलाई
रारामै
रमाएको छ
आफ्नो तन
रारामै
टँसाएको छ
मनभरि
रहरै रहर बोकी
प्रफुल्लित
मुद्रामा
पुनः
भेट्ने आशामा
आफूलाई
मुस्किलले
टाढा गराएको छ।।
दमन बहादुर सिंह
चैनपुर बझाङ्ग
हाल रातोपुल काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )