~नवराज सुब्बा~
पाथीभरा नाम लिनासाथ सबैको मन कुम्भकर्ण हिमालको काखमा रहेको अग्लो पहाडमा स्थापित पाथीभरा माताको मन्दिरमा पुग्दछ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा मन्दिरमा जाने भीडमा आजकल आदिवासी किरात लिम्बू जाति भन्दा नेपालका विभिन्न जिल्ला र भारतबाट हिन्दू तीर्थालुको लर्को बढी देखिन्छ । पाथीभरा एक शक्तिरुपा हिन्दू देवी हुन् । आदिवासी किरात लिम्बू जातिले पाथीभरालाई मुक्कुलुङ साम्माङ शक्तिमाताको रूपमा पूजा गर्ने चलन छ ।
कुम्भकर्ण हिमाललाई किरात लिम्बू भाषामा फक्ताङलुङ भनिन्छ । हिमालको फेद अघि किरातेश्वर महादेवको क्रिडास्थल रहेको जनविश्वास रहेको छ । किरात लिम्बू मुन्धुममा यो भूभाग जातीय उत्पत्तिस्थलको रुपमा चर्चित छ । यो क्षेत्रलाई आफ्ना पितृदेवको पवित्रस्थलको रुपमा आदिवासीले मान्ने गरेका छन् । किरात लिम्बू मुन्धुममा वर्णित मुक्कुलुङ आज पाथीभरा माताको पवित्र तीर्थस्थलको रुपमा प्रख्यात छ ।
धान पाथीमा भर्दा जुन भिरालो अग्लो आकृति देखिन्छ, त्यही सादृश्य झल्काउने शब्द पाथीभरा नेपाली भाषामा प्रचलित भएको अनुमान गर्न गाह्रो छैन । टाढाबाट हेर्दा भरिएको पाथिजस्तो देखिने अग्लो पवित्रस्थल पाथीभरा टाढा टाढाबाट देखिन्छ । यो एक मातृशक्ति पीठका रुपमा अग्लो पहाडमा अवस्थित छ । यसको महिमा धार्मिक तथा आध्यात्मिक जगतमा चारैतिर फैलिएको छ । किंवदन्तिअनुसार त्यहाँ अदृश्य शक्तिको वास छ । स्थानीयवासीले आरम्भमा आफ्ना गाईवस्तु र गोठालाका रक्षार्थ देवीको प्रतिमा स्थापना गरेका थिए भन्ने कथा सुनिन्छ । सोही स्थानमा हाल पाथीभरा मन्दिरको भव्य मूर्ति स्थापना गरिएको छ । जहाँ टाढा टाढाबाट मानिस दर्शनार्थ आउने गर्दछन् । हात हातमा पाठा डोर्याउँदै बलि चढाउन जानेको बाटामा लर्को देखिन्छ । आफूले चिताएको कुरा पुगोस् भनेर शक्ति माग्नलाई भाकलसहित मानिस जाने गर्दछन् । कोही आफ्नो इच्छा पूरा भएकामा भाकल बमोजिम भोग चढाउन जाने गर्दछन् । यहाँ रमिता हेर्नेको पनि भीड लाग्ने गर्दछ ।
भौगोलिक हिसाबले यो तीर्थस्थलको उँचाई ३७९४ मीटर छ । बाटामा होस् वा मन्दिर परिसरबाट देखिने प्राकृतिक शुन्दरता अनुपम् छ । कुम्भकर्ण हिमालको दृष्य र त्यहाँबाट बहने हावा र हिमालको सेतो छायाले तीर्थालुलाई बेग्लै आनन्द दिन्छ । त्यसैले पाथीभरामा पर्यटकहरुको पनि उत्तिकै भीड लाग्ने गर्दछ । उत्तरतर्फ कन्चनजङ्घा, कुम्भकर्ण, जलजला हिमश्रृङ्खलाका पूर्व–पश्चिम लहरै मालाझैं गाँसिएका क्षितिजमा शोभायमान देखिन्छन् । विहानको सूर्योदय र बेलुका सुर्यास्तमा हिमालमा देखिने पहेंला, राता रङ्ले यात्रुका मनमा उमङ्ग छाउँछ । जति नै अँध्यारो रात किन नपरोस् सामुन्नेको कुम्भकर्ण हिमाल भने जुनताराको टहकले निक्खर सेतो पहिरनमा ठिङ्ग उभिएको देवताजस्तो देखिन्छ । अलि फेदमा अग्ला पहाडका काला, निला, हरिया गलबन्दीले सिङ्गो आकासलाई छुन खोजेजस्ता देखिन्छन् । पाथीभरा परिसरबाट वरिपरि हेर्दा साँच्ची प्रकृतिको अनौठो रुप देखिन्छ । त्यसैले यो स्थान तीर्थस्थलको अतिरिक्त सुन्दर पर्यटकीय स्थल र पदयात्रा भएको छ ।
यति उच्च स्थानमा जान त्यत्ति सजिलो भने छैन । यो हिमाली जिल्लामा पर्दछ । त्यसैले भौगोलिक स्थिति र दूरीको हिसाबले यो स्थान दूर्गम छ । अर्को, यहाँको पदयात्रामा तीर्थालुलाई लेक लाग्ने संभावना रहन्छ । फलस्वरुप कोही बीच बाटामै टाउको दुखेर, रिङटा लागेर, उल्टी आएर विरामी हुन्छन् । त्यो जानेर त्यहाँ जने यात्रुले साथमा मकैको सातु बोकेका हुन्छन् । उकालो चढ्दै जाँदा सातु खाँदै हिड्ने चलन पनि छ । सातुको सेवनले लेक लाग्न दिदैन भन्ने चलन छ ।
अहिले पाथीभरा पुग्न पहिलेभन्दा सुविधा भएको छ । बाटामा होटल खुलेका छन् । पहिले त्यस्तो केही थिएन । राती गोठमा, पाटीमा बास बस्नुपर्दथ्यो । आफै खाना पकाएर खानुको बिकल्प थिएन । आजकल समयले सुविधा थप्दै ल्याएको छ । मोटरबाटोले पनि यात्रा सहज बनाइदिएको छ । यद्यपि, सबैका लागि पाथीभरा जान पाउनु सजिलो छैन । यही चाहना पूरा गर्न तथा शक्ति मातालाई दर्शन गर्न वा आराधना गर्न अन्य अग्ला पहाडमा पनि पाथीभरा, मानाभरा देवी स्थापना गरिएका छन् । कुम्भकर्ण हिमालको फेदमा अवस्थित पाथीभरामा जान नसक्ने तीर्थालु आफूलाई पायक पर्ने पहाडि स्थलमा रहेका पाथीभरा, मानाभरामा जाने गर्दछन् । आजकल यस्ता पाथीभरा तराई क्षेत्रमा पनि स्थापित भएका छन् । ताप्लेजुङको पाथीभरा पहाड उक्लन नसक्ने, नभ्याउने मानिसले त्यहाँबाटै पाथीभरा माताको दर्शन र भाकल पूरा गर्ने चलन छ ।
विराटनगरमा पनि एक पाथीभरा मन्दिर शक्तिपीठको स्थापना गरिएको छ । आस्थाकी देवी पाथिभराको नाममा कुशलटोलस्थित विराटनगरमा स्थापित शक्तिपीठले केवल धार्मिक र आध्यात्मिक कृयाकलाप मात्र नभएर सामाजिक सेवासमेत प्रदान गर्ने गरेको छ । यहाँ आउने तीर्थालु पाथिभरा माताद्वारा मनोकामना पूरा हुने विश्वास गर्दछन् । हाल धार्मिक तथा आध्यात्मिक रूपमा प्रसिद्धि बढ्दै गएको यस शक्तिपीठले महत्वाकांक्षी सामाजिक सेवाको लक्ष्य लिएको देखिन्छ । मन्दिरले सीमान्तकृत समुदाय र गरिव वर्गलाई शिक्षादीक्षा दिने गरेको छ । मानवता बचाउन खोज्नेलाई समाजले पनि साथ दिएको छन् । शक्तिपीठमा शारीरिक सुख, मानसिक शान्तिका लागि विभिन्न प्रशिक्षण दिइन्छन् । विहान बेलुका भजन, योग शिविर आदि गर्ने गरिन्छ ।
कुनै व्यक्तिले आत्मबल र आत्मविश्वास हासिल गर्न, मानसिक स्वास्थ चाहिन्छ । यो दिशामा आज धार्मिक जगत उदार भएर लागेको देखिन्छ । धार्मिक तथा आध्यात्मिक गतिविधिले व्यक्तिलाई आत्मिक शान्ति प्रदान गर्दछ । आधुनिक स्वास्थ्य विज्ञानले पनि योग, ध्यान, भजन आदिले मानिसलाई आत्मिक शान्ति मिल्ने तथ्य स्वीकार गरेको छ । त्यसैले, यस्ता गतिविधिलाई हामी मानसिक स्वास्थ्यको दृष्टिले सकारात्मक कदम मान्दछौं ।
मानसिक स्वास्थ तन्दुरुस्त राख्न ध्यान, योग, भजन, प्रवचन आदि उपयोगी हुने कुरा विज्ञान र बैज्ञानिकहरूले समेत स्वीकार गरेका छन् । त्यसैले शक्तिपीठमा चलाइने त्यस्ता क्रियाकलाप तथा शिविर जनस्वास्थ्यको लागि उपयोगी छन् । छिमेकी मुलुक भारतमा विभिन्न मठहरूमा चिकित्सालय, अनाथालय, छात्रावास जस्ता मानवसेवा दिइएका उदाहरणीय परम्परा भेटिन्छन् । यस्ता सेवाभाव हिन्दू जगतमा मात्र नभएर अन्य धार्मिक सम्प्रदायमा पनि पाइन्छन् । मानवोपयोगी सेवालाई हामी सबैले सम्मान गर्नुपर्दछ ।
अन्तमा, मुन्धुममा जसरी मानवजातिको उत्थानमा शक्तिको महत्व र महिमा गाइन्छ । सनातन हिन्दू परम्परामा पनि सदा असत्य माथि सत्यको विजय हुन्छ भन्ने मनोकांक्षा जीवन्त राख्दै शक्तिको पूजा गर्ने गरिन्छ । यी दुवै अभ्यास वास्तवमा मानव जीवन र अस्तित्वका लागि अपरिहार्य जीवन दर्शन हुन् । यसर्थ, मानव जातिको असीम मनोकांक्षा पूरा गर्ने शक्तिरूपा पाथीभरा माता मुक्कुलुङको म प्रार्थना गर्दछु । मानव सेवामा लागेका मनलाई सफलता मिलोस् । मानव जातिलाई सुश, शान्ति मिलोस्, शक्तिमाता प्रकृतिलाई मेरो सदा प्रार्थना छ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )