छन्द कविता : नवमानव

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

छन्द : द्रुतविलम्वित

जगतमा नव-मानव भो अरे
फगत-मा-नव मानव जो छ रे ।
छ त कुनै उस-मा-नवता कतै
भन सखे ! मन-मा-नवता भए ।।१।।

पर छ जो उस-मा- नवता-समा
भर छ केवल ऊ रति-रासमा ।
छ लत धेर्‍ उसको मधु-मांसमा
तर नि भन्छ सधैँ छ विवेक् ममा ।।२।।

न छ दया अनि सत्य, पवित्रता
नियम, ज्ञान र ध्यान, सुमित्रता ।
छ त कतै नव चिन्तन वेदको
सकल लोक छ व्यापक भेदको ।।३।।

न छ कुनै उसमा-नव संस्कृति
न छ कुनै उसमा नव आकृति ।
तर नि ऊ नव-मानव भो अरे
फगत-मा-नव मानव जो छ रे ।।४।।

भन न मानव-मा-नवता गयो
अब त मा-नव दानव पो भयो ।
र पनि भन्छ म मानव हो अरे
जगतमा नव-मानव भो अरे ।।५।।

2076/11/24 गते शनिबार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.