उपन्यास : चम्पा

~लक्ष्मीप्रसाद देवकाेटा~

नेपाली सामाजिक उपन्यास | चम्पा | लक्ष्मीप्रसाद देवकाेटा

अध्याय १
बालचिन्ता

लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरे जस्तो भाव लिएको थियो, तर उनका आँखा तीखा देखिन्थे ।

नेपाली सेतो भोटो लगाएका र सेतो सुरुवाल । शरीर सुक्नाले दुवै अलि खुकुलो देखिन्थे । कालो पालिसदार चौपाया खटियाउपर घोप्टिरहेका । रातो सीसाकलम लिएर भागवतको खुला पुस्कमा बराबर चिनो लगाउँथे । बराबर थूक लगाउने बानी थियो ।

कोठा थियो पैसावाल मध्यवर्गीय । मैलिएको टर्की कार्पेट चार किनारमा । बीचमा सत्रंजा……. ढोकानेर फुटरग् । एउटा टेबिल पनि थियो दक्षिणतर्फ भित्तामा । उत्तरतर्फ रातो पालिसदार बुट्टा काटेको बन्द दराज । अगाडि सेता, सफेद दुइटा चकटी । टेबिलउपर एक ऐना थियो…………. टेबिलमा दुइटा काँचका फूलदान एक रिकापीमा चारौटा मोसम । भित्तामा तल्लो एकहत्ती भाग गाढा नीलो थियो, उपर फिका नीला तस्बिरहरु टाँगिएका थिए । एउटा श्री कृष्णको………. राधिकासँग यमुनातीरमा अर्धनङ्गन हँसिलो मुरली-लीलामा…….. । एउटा ईसामसीहका चित्र, जीवनको दश भाग चित्रण, एउटा सरस्वती, अर्को विष्णु भगवानको विश्वरुप । सफाइ बेकसिँगर थियो । ठूलो बालिष्ठको आड लिएर सुब्बाबाजेले ओठमा शीशा लगाए । ठीक यसै वेला चुनु र बुलु दुई बुहारी भित्र पसे । चोसे मुख लाएर बूढाले गौड गरेको देखेर चुनुले चञ्चले कुत्कुत्याइलो बैँसको छातीबाट हाँसो फुट्यो, उनीले दबेको स्वरमा देब्रे हातका चोरमाझीले मुगा-ओठ छेकेर खिर्खिराइन् ।

बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् “… जा मोरो ! के विघ्न उत्ताउली … ?’’

“माक्क ! मोरी !” भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले टोकिन् । तब ती दुई बुहारीहरु सासूको काठाभित्र पसे ।

अक्सर बूढाबाजेलाई संसारसँग रीस, डाह लाग्दैनथ्यो । उनी शान्त, गम्भीर थिए । तर यो उत्ताउली वयसीहरुको खिसीटेप्लीले उनलाई आफ्नो धार्मिक कल्पनाको जगतबाट अलिकति यस संसारतर्फ सचेत गराइदियो । बूढाले सोच्न लागे । आजकालका ठिटीहरु के विघ्न उत्ताउला ! अलपक्का नजडी आँग नहिलाई, आँखा नतर्की, नचलमलाई त हिँड्नै नसक्ने । कति सिँगारिनु परेको ? सेतो छाला छँदैछ…. बस, गुलाफउपर रङ थप्याझैँ हेरन कति बाक्लो फा ! अनि लाली ।

नकलीपनाको यत्रो चहलपहल । रेशमी चूरी………ल…. हेरन कपालका पत्ती…….. मुन्द्रा बटार्छन् बा ! दिनभरी कप्ट्यारो सेकाएर………. भौँ टिप्याछन् उस्तै…….. नामै त कामिनी अब …….. कुरकुर बैँस……… कति हाँस्नुपर्‍यो ल …….. जे देखे पनि कुतकुती लाग्याछ, लाग्याछ…….. ससुरा भनेर रोकिने हुन र ? ……. माक्क मोरी … भनेर हिँड्छन् ए ! कस्ता बेशरम ल ! यिनको माकल हुन आएँ अब ए चपलचन्डी हो ……….. ।

तर बूढाले उठ्दो रीस दबाए….. यी यस्तै हुन्, सेती पाडीहरु भनेर चित्त बुझाए । उनी खूब राम्रा, लायक थिए आफ्नो बैँसमा । उनलाई रुपको मोहनीले नै धेरै राजाले सुब्बाङ्गी दिएका थिए ।

“ए ! सुब्बा हुन लायक त यिनी पो रहेछन् ए ! जेठ्ठा ! यस्तो रातोपिरो मोटोघाटो मान्छे पो सुहाउँछ, कसो ?’’

“महाराज !”

“होइन त ? …….. हेर्न यिनको बल्दो चेहरा, रातोपिरो मान्छे मात्रै मन पर्छ ए ….. मलाई त ! … च्याँसे सुब्बाले कल्की भिर्‍या राम्रो देखिन्छ त !”

“सुब्बाङ्गी बक्सिन खूब लायक हुन सरकार !”

“अँ ? ऐना स्रेस्ता हेर्‍या छौ पण्डिता ?’’

“ल………. चौबीस सयको मीर सुब्बा भयौ……. रुपियाँ राख ।”

“बस……… त्यो जमाना कहाँ गयो, अब यी मुकुँडीहरुले खिर्र खुर्र गरेर हँस्सी उडाउन लायक रे ए आज त ? …… तरुनीहरु हाम्रा टायममा रातो मुख लाएर हेर्थे ए हामीलाई पनि ।”

सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए….. हातमा काँढे लट्ठी थियो । उनले हल्पी ऐना अगाडि आफ्नो चेहेरा जाँचे मुखको गतिपति थिएन । अलिकति जिल्ल परे । मानिस आफ्नो उपहास योग्यतामा सचेतता राख्दैन । किन नहाँसुन नाइँ, छेपाराले चुस्या जस्ता ढुम्म मोहीहरु । … उनको जीजन नै हाँसी थियो ……….. वृद्धताउपर निरादरको दृष्टि पनि स्वभाविकै हो, उनले चित्त बुझाए । हामी पनि त हाँस्यौ नि आफ्नो जमानामा…….. हर्के बूढो, अरिमर्दन बूढो, सुक्बेनी माइज्यूलाई देखेर कति जिस्काइन्थ्यो तिनलाई ! उहिले, उहिले !

उनको यस्तो मानसिक अवस्थामा नातिनी चम्पा भित्र पसिन् । बूढाले ऐना हेर्न लागेको देखेर उनलाई बडो आश्चर्य लाग्यो । त्यस्तो बूढो मान्छेल किन ऐना हेर्‍या होला । के मजा लाग्दो होला, छिः ! ………

बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, “हैन हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?”

बूढा नातिनीतिर फर्के…….. दाढीमा हात लगाएर भने…….. “आम्मै हाम्रो आँखा हैन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र आँखा मुख हुन्छ त ?”

“बुवा हजूर ! हजूरलाई आफ्नो मुहार चौपट्ट राम्रो लाग्छ हकि ?”

“चोरको खुट्टा काट्…..”, बूढाले उत्तर दिए…….“हेरन, आफ्नो मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ? जुँघामा कति तमाखुको काइ लाग्यो भनेर । तिमीहरुलाई पो जुन बेला पनि सिँगार गरिरहूँ, ऐनामा मुख हेरिरहूँ जस्तो लाग्छ ।”

“हजूरबुवाको मुहार मलाई त चौपट्ट हिसी भएको जस्तो लाग्छ । मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो लाग्दैन, बाबै !”

“कस्ती बाठी ठिटी । कागको फुल चोर्ने, हेरन । म राम्रो छु ? फटाही !”

“राम्रो भन्या त अँ-अँ-अँ-व्यास ऋषि जस्तो त हो नि ! दाढी फुलेको अनि, अनि, निधारमा चाउरी परेको ।”

“यो मान्छे हुनि कि छैन” सुब्बाबाजेले नातिनीको गाला चिमोटेर भने, “त्यसो भए चम्पालाई बूढो पोइ खोजी दिने भएँ, हुन्छ कि हुन्न ?”

“छिः के कुरा गरिबक्स्या होला ? अँ…… हामी बिहे गर्छौँ त्यस्तरी क्या ?”

“छोड्लिस अब बिहे गर्न ? ह्वा माग्न आइसके…….. अर्काले ।”

“उ….. हो ?”

बहत्तर वर्षका बूढा कानका तीखा थिए, आँखाका पनि छिटा । पुराना बूढाहरुलाई सत्ययुगको दूध, दही, घीउको असर रहेकै हुन्छ । विज्ञानको युगको जीणर्शीणर्ता कम हुन्छ ।

“अझ उ हो भनेकी हेरन ?………… सत्ते ! चम्पा ! मैले ठट्टा गर्‍या भन्ठानिस् ! माग्न आ’छन् तँलाई अधिकारीको घरबाट ……… ।”

“त्यस्तो मोरो अधिकारी ! बिहे नै गर्दैनौँ ।’’

बूढाले भने, “हा उल्लू ! अर्कालाई झ्वाट्ट त्यसरी मोरो भन्न हुन्छ ? पाप लान्छ ।’’, पाप नामको एउटा विचित्र, आधा बुझिएको, अस्पष्ट, नगर्न हुने तर आकलझुकलमा या खराब स्वभावले गरिने कुनै कल्संँदो वस्तुले बाहुनकी छोरी अलि झस्किन् । ब्राह्मण कन्यामा ज्यादै धार्मिक मोलतोकको असर पर्दछ…. उनीहरु कट्टर हुन्छन्……… कुनै कुनै, जसको व्यक्तित्व ज्यादै परिस्थिति या धर्मले च्याँट्ठिन्छ र हाँकिन्छ बलवा गर्न थाल्दछन् । चम्पाको निर्दोष शैशवको रंगीलो सुगन्धी भावनामा परम्परतर्फ विरोधको विचार उठिसकेको थिएन ।

चम्पाले भनिन्, “हजूरबुवा ! पाप भन्या के हो हँ ?”, उनका आँखा बाटुला बोध-प्रयासी थिए ।

बूढाले उत्तर दिए…..“पाप भन्या अर्कालाई दुःख दिनु ।”

चम्पाले जवाफ दिइन्, “उसो भए राजाले किन चोर बदमाशलाई दुःख दियो त ? पाप लागेन ? हजूरबुवा !”

बूढाले चोरको निन्दनीयता तथा बदमाशहरुको दण्ढनीयता उपर सानो घरेलु व्याख्यान छाँटे । चम्पाको चित्त राम्ररी बुझेन । उनले घूँघरदार शिर हल्लाइन् ।

“भोक लागेपछि चोर्दैन त ? बिरालोले पनि चोर्छ । सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन् त ? ………. हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ बाबै !”

चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहराइसमेत थियो । “यो मान्छे चौपट्टकी छ”, बूढाले सम्झे, “अघोर बाठी …. पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले”, तर कडा मुख लगाएर उनले थपे, “हाः गवन्धि ? ………. राजाको कुरा केटाकेटीले गर्नुहुन्छ ?”

कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ।

“अँ ? ……. ” उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, “होला अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ! बेस्करी हुन्छ हजूरबुवा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! हजूर पनि ।’’

बूढाले झिझिएर खेल्न जाऊ भने । तब चम्मा उफ्रँदै, नाच्दै कोठाबाट बाहिर निस्किन् । छुक छुक छैयाँ, छुक छुक, छैयाँ चकचक चुकचुक, चुक……… ।

ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरसाफर चापल्य र रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो ।

“यस्ती मिर्गकी छाउरी !” बूढाले मनमनै भने, “यसले पराइघरकी बुहार्तन कसरी गर्छे ? …….. उमेर नपुगी कत्रो बिहा गरिदिनको शौक ल ?”

उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । ढोका बाहिर कठवारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको ठोके ।

“यी ढोकाहरु………. साना तला नगरी नहुने नेपालमा.. के गर्नु……….. ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो । यी यस्तो होचो ल ……… ।”

बूढाको आवाज सुनेर उनले निधार छामेको देखेर सुब्बेनी बज्यै आफ्नो अढाई हत्ते गद्दीको माथितिरको सेतो लंपटबाट उडिन् ।

“के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?”

“केही भएन……….. अलिकति ठक्कर मात्रै लाग्यो ।’’

“दुख्यो कि साह्रै ?’’

“होइन ……. केही भएन……….. ।’’

सुब्बाबाजेको आँखा कोठावरिपरि घुमेर सुब्बेनीबज्यैको कोठा सिँगारदार, रङ्रगीलो थियो । वालपेपरले सजेको………. पालिसदार दराजहरुले सुसज्जित…….. दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरु ठाँटेको, कार्पेट नयाँ, सत्रञ्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना, साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरुको खात, आधा दर्जन चियाका प्यालाहरु ………… थिए । अढाइहत्ते गद्दीउपर साटिनदार झूलको बारलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो……… दुइटा चकडीमा बसेर बुलु र चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन कृष्णाष्टमी छ ।

सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, “सुब्बाभन्दा त सुब्बेनीकै दर्जा पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छौ, ए तिमी त अझ । उमेर पनि त ताजै छ नि ।’’

“ऊँ ! कसरी मर्जी भा होला ….. अचम्म ! अर्काको केश काँस भैसक्यो ह्वा ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा भन्थेँ ! तर छोराहरु छन् नि हजूरका …….. टेबिल भएन रे, फूलदान भएन रे ……. ज्येठाले कलकत्ताबाट ल्याइलिएका प्लेट र प्यालाहरु सब । म बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।”

बूढा तस्बिर जाँच्दैहिँडे……. कृष्ण र विष्णु…….. जरीदार, मालादार, सिँगारदार……….. तस्बिरमनि साना तख्ता, तिनउपर एक एक ढलौटे पाला । तेल टम्म । बूढाले विचार गरे बूढीको कोठामा रातभर कृष्णजी चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा होलान् । स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी रचना गरेर वास्तविक मांसयुक्त स्वामी मूर्तिको कमी पूरा गर्दछन् । त्यति चिसा बूढालाई सम्म हृदयमा सानो डाहाडको अङ्कुर पैदा भयो । के हामी पुरुषहरु यिनका खेलौना मात्र हौँ ?…….. नकली भावले पूजा गरिने त्यस वस्तुको प्राप्तिको निमित्त जसलाई उनीहरु आदर्श सुन्दर पुरुष मान्दछन् !

“ए निशा !” सुब्बाबाजेले टिप्पणी गरे, “ठाँट अल्लि ज्यादा भएन तिम्रो ?’’

सुब्बेनी बज्यैले वरिपरि हेरिन्…..“आज कृष्णपूजाको तयारी भएर मात्र । उस्तो ज्यादा मलाई पनि कहाँ मन पर्छ र ?’’

नजिकको मेचमा बसेर बूढा भन्न लागे, “विचार गरन । ऋषिमुनिलाई मूढोको मञ्च कस्तो थियो वनको छहारी, फूलपातको सिँगार । कृष्णाष्टमी भन्छौ भन्न त तिमीहरु…… म त यस चाडमा पनि यन्त्रको युग आएको पो देख्न लागेँ । विचार गर यो बुलुको कार्चोपीको चोली, र चुनुको रेशमी सारी । कति फलामको क्रियाले तयार भए यी त । यो रेशमको युग भनेर तरुणो दुनियाँ सलसलाएर फुरुक्क पर्छ । म भन्छु रेशमको भित्र हजार हत्या छ….. अनगिन्ती पुतली मार, ठिटीहो ! …….. यो रेशमी निर्दयी छ ………….. यसले तिमीहरुको नसा सुक्नेछ एक दिन । दूधका सिर्का शिशुका मुखमा जानेछैनन्, भोलि पर्सि…… हामी बोक्रे भएरहेछौँ …….. आत्मा आज टाढा गइसक्यो ……… कुरकुरे बैँसको अन्धो खोल, यो रेशम, यसमा प्रशस्त जलन छ …….. के नेपाल राम्रो भयो ? के तिमीहरु राम्रा भयौ ? यो पैरो हो, वैरो होइन । हामी छालामा आएर नाच्छौँ , ठिटी हो ! ……. अहिँसाको वथ पालन गरन ।’’

वाल्ल परेर चकित नजरले दुई बुहारीले ससुराको मुहार जाँचिरहे, एक छिन ।

तब एकले दोस्रोलाई कोट्याएर मुसमुसाए, घुम्टोको पर्दापछाडि ।

उनीहरुलाई बूढोले के भन्न खोजेको राम्ररी चढेन । ज्यादा सिँगारिए वेस हुन्न भन्या होला । उत्ताउनी बनिन्छ रे !

बूढाले एक छिनपछि थपे……..“वस्तुको व्यावहारमा चरित्र छ, लसुन नखानु नै बाहुन हुनु हो । तिमीहरु वृत्ति भाँडिरहेछौ । ईशामसीहको स्वर्ग गुमेको कथा जस्तो हुनेछ, नेपाल एक दिन माक्क हुँदा बुझौला तिमीहरु ।’’

“माक्क” शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,“जाऊ मोरी ! कस्तो हेपेर गुच्छा पार्‍या ? फूलै पुग्या छैन, मोरी !” बुहारीहरु विचार गर्दथे कि बूढाबूढीहरु एक किसिमका जीव हुन् जो ठिटीलाई हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि ….. मोहनी त बैँसको धन हो । उनीहरु दुवैले बूढो मर्न लाग्या- फ्याउरोको काहानी सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यौ बूढा ……. ? तिमी पनि उनको कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको लबार पाँडेको नक्कल हेथ्र्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ? ……. छालामा त्यति मुजा पर्‍या ल, के विघ्न ? चञ्चल नानीको पिउनी जस्तो ……..

बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । १/२ वर्ष हड्बडाउनुको जरुरत थिएन ।

बूढाले भने, “बिचरी कोपिलै छ, आँग फुकेकै छैन । पिटिबक जान्न पराई घरमा ?’’

बूढीको चित्त बुझेन । त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष थोरा हो ?.. अनि आफूलाई ज्यामराजले निम्तादिइसके । मौका आँउछ, पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ? अचम्म ! यो साल कि नकसाल । बाह्र वर्ष थोरै हो त ? च्वाट्ट पर सरे, बिताएन ? कुनामा बसेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या जस्तो, एः ? ….. अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति सजिलो बाटो होइन हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि त सम्भावना थियो ।

घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरु भए गर्छन्, खुकुलो भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन छ । असहयोगभन्दा कडा ।

बूढाले आखिर हारे ……. ज्योतिषी बाजे आइपुगे ……… भोलिपल्ट चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो नयाँ डबल हातमा राखेर उठाइन् ………. चम्पाको हाउभाउ अत्यन्त मनोहर थियो । बुहारीहरुले भने ठिक्क सिनेमा ….. ।

बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व, महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो, नकली रुपमा । कुनै वस्तु, घटना कृत्रिमता या यथार्थ रुपभन्दा राम्रो र आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा । दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक स्वरुपले अभिनेत्रीको रुप धारण गर्दा दुलहीहरु रुन्छन् । यो व्यक्तित्वको स्वतन्त्रतालाई सीमित गर्ने वस्तु हो । यति गर्‍हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने, यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो मृत्युको खतरा हो । परिर्वतन विरोधी पौधा मर्छन् । शैशवमा कोही कोही मात्र सप्रन्छन् । धेरै चढ्दो बढ्दो उमेरमा बिग्रन्छन्, बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी पुतलीहरु घर भन्ने पराई जेलमा पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी मनको विकाश हुने फुल्छन् । तर बालखको जेलखानाको स्वरुपमा घर भन्ने यति भीषण वस्तु छ- यो अन्तर्दृष्टिरहित पुरुषको चैतन्यको पकडबाहिर छ ।

चम्पाको बिहाखेल रमाइलो क्रीडा थियो । तर अब बिहा हुने रे ? यसै साल । उनलाई एक किसिमको अनौठो डर लाग्न थाल्यो । मन तरङ्गिन लाग्यो । पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी इत्यादि- पाउडर, सुनको किलीप, काँटा-अनि त के ?- ल्याउँछन् रे ! जस्तो फलानीको बिहामा । वेस । तर सितै ल्या होला त ? उसको पनि त मतलब होला नि ? हामीलाई दासी रे ! ऊँ हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल । चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी आमा ? छिःमाक परी भने नि ? कसै कसैकी आमा एकदम राम्री हुन्न वा ! यति बाक्लो आँखीभौँ बाबै ? अनि कोही कति दुच्छर हुन्छन् ! नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! नाइँ बा, म त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसे जस्तो छ ! साँच्ची अस्ति राजाको छोरी दिया कस्तो कलच्वाँठ थियो छिः ……. दुरुस्त देहाती मधिसे ……. कत्रो जुँघा …….. ? पूरा खान पनि घीन लाग्ला जस्तो । कसैको गाला खबटे हुन्छ, मुख चुस्स पर्‍या । हामी बाँदरसँग बिहा गर्छम् थोरै ? …. हामी ठूलो हुने, छात्रे आफ्नै आँखाले, अनि बिहा गर्ने बा !

यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे । पोइ भन्या के होला ? ……. साँच्ची ? हाम्री कुमाको पोइ बुबारे ! ……… तँ यसको भनेर लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिएको होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको बाबै, खुकुरीको दापै दापले । छिः कस्तो चाँडल मोरो । म भए त नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्ने मान्छे किन त्यति बलियो भा होला ? उसको हत्केला हातको पञ्जा नै कत्रो ? हकि ! एक चटकन दियो भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ ……. हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा भागसम्म चिन्तित रहिन् जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको राह भन्ने विषय पर्नासाथ मानव मनमा महती समस्या खडा भएर क्रान्तियुगमा प्रजातन्त्रमन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरुझैँ घचघच्याउन थाल्दछन् ।

घडीले दुवै हात जोर्‍यो विधातासँग पानी वर्षाउने परमेश्वरको शिरोबिन्दु पदमा । चम्पा थाकेर लोलाउँदै निदाइन् । त्यस रात उनी झस्किन् र कराइन्, धाई आमाले मात्र सुनिन् रे ।

अध्याय २

कान्तिपुरको जनसङ्ख्या विचित्र तवरले बढिरहेछ । विदेशीको त्रासलाई उनले गढी राखिदिएकी छन् । स्वदेशीतर्फबाट पहाडमा जीवन र उपार्जनको प्रयोग हुन्छ । जब पहाडी प्रयोग सफल भएर मोटाउँछ, मानिसहरू कान्तिपुरीको दोसाँधको टिपकारीदार घर सम्झन्छन् । मैतीदेवीको फाँट हामीले देखुन्जेल लोभलाग्दो हरियो थियो । पशुपति बुढाको महान् उदरपूर्तिलाई भक्तगणले खडा गरी राखिदिएको धानबालीको ठुलो फैलावट थियो । पुलदेखि खरीको बोटसम्म वनस्पतिको विस्तृत साम्राज्य निष्कण्टक देखिन्थ्यो । कुन चाहिने राजा हुन् पशुपतिलाई बराबर बेइज्जत गर्छु भनेर गाली दिँदै आउँथे रे र विचित्र बुढा बाबाको प्रभावले तर्सेर हच्केर “बुढो धोबी त्यसलाई मैले जान्या छ, पख् भोलिको दिन’’ भनेर फर्कन्थे भन्ने भनाइ छ, जसले रुद्रमती (उत्ताउली, डरलाग्दी, चट्टानकटुवै रुद्रमती) धोवीखोलाको नामले नेपालमा प्रसिद्ध भइन् रे । उनको खाडीमा जलेको उपजदार क्रियाले पशुपतिबाबालाई वेश बाली उमार्ने र उपभोग गर्ने सौभाग्य मिलेको थियो । धोबीखोलाले चट्टान काटेर वाणेश्वरको पयर चुम्दै पूर्वपट्टि बडा सुन्दर, विचित्र शिल्पकारी तयार गरेकी छन् । जुनेलीको जाग्रतका दिनमा सौन्दर्यका विहारीहरूको झल्कने बालुवाको सिताराले झलमलाउँदी वन बगैँचाले सदा लहलहाउँदी निर्मल कलकले धोबीखोलाले पानी-पटाइ तथा जमिन तयारीको काम यति राम्रो देखाएकी थिइन् कि यो जग्गा अति रमणीय देखिन्थ्यो । भण्डारखालको पशुपतिनन्दनको पश्चिम पर्खालको गेरु घेरामनि विशाल फाँटमा मानव शिल्पकलाले आक्रमण गरेको थिएन । केवल सरकारतर्फबाट बिरुवा लगाइएको इँटघेराले सिँगारिएको मैतीदेवीको मूल सडकले मात्र खाडीको विशाल वक्षस्थलबिचमा चिरेको थियो ।

तर अब यस समयमा (जसको हामी उल्लेख गरिरहेछौँ) यस फाँटका किनारामा मानवको कृत्रिम सभ्यताले इँटका ढेरीले आक्रमण गर्न सुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये एउटा घर थियो रमाकान्त अधिकारीको ।

उनी पूर्व तीन नम्बर ओखलढुंगाका थिए । ओखलढुंगा कविको चाहिनी अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुंगाका चोसेमोसे घर, जाली खड्का र चतुरे काकीहरूको ज्यादा जमात भएको वेलामा, पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजीमात गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित कम्र्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन । पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र कान्तिपुरीको संभावना परीक्षा गरुँ भन्ने मनसायले उनी मैतीदेवी फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोखा मिले । एक जना माष्टरबोजेको भर पर्दा झण्डै खोलामा परेका थिए । भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू ग्जबका छट्टू हुँदा रहेछन् । कुराकानी त के भन्नु खै ?…. आकाशले फूल टिपिहाल्ने पो पच्चीस हज्जारको काम उठाएको पन्ध्र हज्जार ता ओठै ओठले पो चपाइदिए । बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हज्जारसम्म जमाएका पहाडी राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने विचार अलि मसाँग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने होशियारद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठण्डा पानी हालिदिएको थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरी अगाडि अडेदथ्यो रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर यति साह्रो हेलाँ गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने घर रे ! “मुखिया ढिँडो रे !’’ तीते फापरको कथा रे । बित्पातका पो हुन्छन् नेपाली ठिटाहरू त ।

पं. रमाकान्तले राजाको चाकरी गर्न लागे । धेरै दिन फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठालू बूद्त सबसँग राजासँग भएका कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । कमाडचीफको पेवाको बन्दोबस्त उनले पाए । दुई चार यस्ता हात लगाउन पाए केको दुःख ए ? …… व्यापारमा भने अघोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको के टिकाउ थियो र ? एउटा बाहुन सप्र्‍या देखिएन बा ! ग्वालियरमा भोटे वस्ताद गा जस्तो ।

अब छोराछोरीहरूलाई अंग्रेजी पढाएर दरबारमा घुसाउनुपर्छ ।

उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधूस । तीनौटा पोइलाई फ्याँक्न सख्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तहलाउने अब । काम पनि भन्नै नपर्ने, स्वाइँ स्वाइँ मस्यौटा, चाइँ जाँतो, भ्याङ्लाङ् भ्याङ्लाङ् ढिक्की …. तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने । सासूलाई पनि अटेर्ने अब त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी……. त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी यस साल प्रवेशिका पास गर्ने भएको थियो । उसको पनि बिहा भएको थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पंपा, बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् ……. ।

साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह गरेकी थिइन् । उसको मुख केही बांगो थियो । ओखरको बोटबाट लडेर बायाँ गालामा चार अंगुलको खत परेको थियो । मुखभरि मखिबुट्टे चायाँ, डंडीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड टंग्रं∙, आँखा च्याँसे । तर अघोर ठाँटिनु पर्ने उसैलाई । प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डण्डीफोरका चोसामा हेज्लिन स्नोको हिउँ बुट्टा- सेता कोठीका रमाइला स्वरुपमा लागेका देखिन्थे । भौं छाट्नुपन्थ्र्यो । नेपाली बाबुसाहेबका देखासिकीमा लिपस्टिक दल्ने आदत लिएका थिए । रामकान्तको चर्तिकला भनेपछि डिल्लीबजारमा मशूहर छाँट थियो । बाटुकल्ली पपलिन ग्रीष्ममा, भेला हिउँदमा- अथवा कश्मीर ! मान्छे च्याण्टे ! कालो कोटकश्मीराको या जमोठको आङमा नचढाई, निख्खर कालो बलि चाहने महाकाली झैँ उनी प्रसन्न रहन सक्तैनथे । आँखा कमजोर नभए पनि उनी चक्षुविषेज्ञकहाँ पुगेका थिए ।

“के हुन्छ बाबु ?’’

“के के किरकिर लागिरहन्छ । धमिलो दृष्टि छ ।’’

“ह्या ! बाहुन म त ! के भन्या ?’’

“हँ ? …… कलकत्ता जानुभा छैन ? पहेंलो त नजरको औषधि, त्यसको, बुझ्नु भएन ?’’

“होला तर हांले खानु कसरी नि ? …… भान्सां उकाल्छन् र ?’’

“व्यक्तित्व चाहिन्छ ….. त्यति लुकाएर खान नजाने के काम गर्नुहुन्छ त दुनियाँमा ?’’ ……

“फेला पर्‍योभने ? मारेन ?’’

“के गर्छ त ? …….. प्रायश्चित्त छ नि ……… चश्मा लाउने ?’’

“तब के गर्नु त ?’’

“शून्य पावरको लिनोस् न त । के ? ……… ल यो फस्ट किलासको क्रुक्स । असी रुपियाँ ।’’

उनको चौचश्मी व्यक्तित्व बाराटमा ठम्ठमाउँथ्यो या पांग्रामा बग्थ्यो । अलकत्राको माग गरेर- जसको अभावले उनी नेपाललाई गाली गर्थे …… सिंहदरबारको सडक रे- छीः छीः छीः कति खडखडा ……. नदीको ढुंगा छुसमुसेले पेल्या हेरन । हामी बाग्मतीको बाटो हिंड्छौं नि बरु । ईश्वरले बना, छैनन् बाटो र ? जलले पेल्छ बरु ए ! उखु पेलेझैँ सडक पेलेर हुन्छ ? हर्निया हुन्छ रे ? किन हुँदैन त नौजवान साइक्लिस्ट्लाई ? कति गरीब सरकार । ….

“त्यत्रो सिंहदरबार बन्य के काम लाग्यो ल ? गडी ओल्र्या जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर बन्य ? नेपालमा म्यूनिसिप्यालिटीले के गर्छ ? गांजा खाने जागीर दिया त होइन ?’’ इत्यादि ……… नौजवानहरू आफ्नो सुविस्ता (शारीरिक या मानसिकद्वारा) सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ………

उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो । “म ता च्यान्टा मान्छे ⁄ मैले बिहे गरेंभने त चीनीया मैयाँ, बुझिनस् कि ?’’

एक साथी भन्थ्यो, “हँ ? साँच्ची पटनामा कस्तो म छकिया बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो लागेर, होइन, दि ! काँट आ’ हँ ?’’ भनेर च्याट्ठ बोल्या त, ए “चाङ वाङ चुबु कारु कानवान’’- गरी म ता सुइँकुच्चा ठोकें बा ! हाँस्दा हाँस्दा हैरान । कस्तो ठीक्क गुरुङसेनी जस्ती हँ ?’’ …….

आर्को भन्थ्यो, “बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू मंगोलियन् जातिलाई अत्यन्त हेलाँ गर्छौ, वा तँ एकजनाले जाति मिलाउन लागिस् के कसो ए ?’’

रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न लाग्थे । उनलाई चीनीया च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ-काइ-शेकसँग एक दिन हात मिलाउनु थियो । “हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा ! रोगन सुन जस्तो, कपूर जस्तो होइन ।’’

यस्तो कुराकानी, जापानी बङ्लो, इत्यादि विषयमा हुँदै थियो । जापानी, चित्रपटमुताबिक बुढानिलकंठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे कि जीवनको ठाट कल्पना मुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, जाति, परिस्थिति यी कंटहरू ! “मैले देख्नु न सेख्नु वाह ! बिहे रे ! कति मज्जा कुरा ? जाँतोसँग जेठो दाज्यूले बिहे गरे । फूलपुतलीसँग माहिला दाज्यूले बिहे गरे, अब म कोसँग….. बाँससँग कि ढोइसँग ? उनको त खुट्टा मिच्ने मान्छे जोर्ने कुरा छ । मेथी चँशूरको सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ? कुल रे ? …… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन् । काम गर्दैनन् । गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जूवा खेल्या हो र ?’’

यस्ता तर्क-वितर्कमा रामकान्त बाबुले बिहाको चल्दो कुरा सुने । उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको कति कदर देखाउँछन् ।

उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अंग्रेजहरू कति बेश ! प्रेमको बाटो त रोक्तैन् । यहाँ प्रेम भन्ने चीज नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन । “हरूको आँखा, हाम्रो जिन्दगी, वाह ! ………. हामी पुतली होइनौं क्या र ? अथवा चल्ला चल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।’’

रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब परिश्रमी पनि । उनको गुण्डोपन केवल बोक्रे थियो । तलाश, स्नान, पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का, जेहेनका तीब्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अंग्रेजी उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले बनाइसकेका थिए । उनसाई अब कस्ती होला भन्ने समस्याले घनघोर बाधा गरिरहेको थियो ।

“कन्या अत्यन्त उम्दा छन् बाबु ⁄ लाखमा रोजा ।’’ आमा रमादेवीले भनिन् । “को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैंचालोको सवाईलाई कालिदास ठान्या जस्तो । पित्तको आँखामा मान्छेले जाँच्या बालुवा सब सुन सुन ।’’

“होइन आमाले संझाइन्, सबले हेरिसकेको, बाबु ! तिमीहरू मात्र आँखा भा’ छौ, अब दुनियामा ? अरूका आँखा छैनन् क्या र ?’’

“अँगार, अँगार अरूका आँखा ……. काँच अरूका नजर, आमा ! तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?’’ रामकान्त जाग्यो ।

“अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आँफै खोजेर ले ।’’

यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सरा जस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेश ……… तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! …….. अस्तु ! ………….

रामकान्तले कन्या हेर्न जाने निश्चय गरे …….. साथीको मोटर साइकिल मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटर साइकिल राखेर सिगरेट किने । हेर्न भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट साना साना ठिटीहरू खेल्न लागेका देखे ।
बगैँचा रमणीय थियो ……. सुन्तला, हलुवावेद, भोगटे, मोसम, इत्यादिका प्रशस्त रुखहरू थिए । जाईका झांगहरू पनि देखिन्थे । एउटा ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो पीङ मच्चाउने काममा ठिटीहरू सोरसराधमै दशैंको पूर्वस्मरण गरिरहेका थिए ।

एक ठिटी भन्न लागेकी थिई “दशैमा ता चम्पानानीको बिहा बाबै !’’

आर्कीले उत्तर दिई, “अँ ? हो ! ………. दधैंमा बिहे गर्छ कोही ?’’

तेस्रीले भनी, “त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै न खेल्ने ! बुवालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! नकच्चरीहरूहो !’’

रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी उनीतर्फ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ ।
रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने, “चिनिया कदको भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालू छन् । अग्ली गोरीमाको हुन् । भेनेशियन सुन्दरी ! ……… यो ककेसियन् टाईपकी । म चाहान्छु आफू जस्ती च्यान्टी ।

पहेंली यति छेपाराले चुसे जस्ती होइन । मसालाको बोटको जंघा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति डेडो रहेछ । नाक बिलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख ता खूब हिसीलाग्दो हो । केश पनि आर्य दृष्टिले ता उत्तम । मेरो च्यान्टा आदर्श भए त खासा हो, हुने हो-तर । मलाई डर लाग्छ यिनी हलक्क बढनेछिन् । अनि भर्‍याङको उखान पर्‍योभने । रतौलीमा खियौटे पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँभने या काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा । मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन्- मलको मूला जस्तो के गर्नु ? ……. चीनीयाचम्पा खिल्दो मुसमुसे । अच्छा ! बेश रहिछन् तर विचारणीय ।’’

यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाउरु(अक्सर नेपालमा) विचार गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो । नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्म-प्रशंसा । नार्सिसस् सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामथ्र्यउपर ज्यादा जोड दिँदैनन्- आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चस्मा-कोट इत्यादिद्वारा उनीहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामाथ्र्यउपर ज्यादा जोड दिँदैनन्- आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवान, ढाँचाकाँचा, चस्मा कोट इत्यादिद्वारा उनीहरू आफ्नो व्यक्तित्व बनाउँछन् र त्यसैलाई व्यक्तित्व भनेर पालन गर्दछन् ।

यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त । तर उनले चम्पालाई आफू योग्य हुनुभन्दा कति मात्र तल माथि परेकी होलिन् भनेर ग्राह्मताको हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए ।

सुवासिनी मान्छेका जोड जिद्दीले चम्पा र रामकान्तको बिहा भयो । दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट बिहानसम्म सुँक्क सुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहा बाजे रामकान्त पोशाक उतारेर भान्सा घरतर्फ रवाना भएका थिए, दुलहीले आफ्नो दुलाहाको शारीरिक सौन्दर्यको भेद पत्ता लगाइन् । “छाती’’ उनले विचार गरिन्, “डमरुको छाला जस्तो सुक्यारहेछ । परेवा छाती रे त्यस्तो बाङ्गेकाे हाड उठेको ……… हाम्रो बुबाले भन्नुहुन्थ्यो । आङभरि छिः के विधि डंडीफोर होला । ……….. सब पाक्या छ … कस्तो फोहोरी मान्छे होला छिः । ……. गालामा के त्यति लामो खुकुरीले काट्या जस्तो अथवा भालूले चिथोर्‍या जस्तो ? ….. च्यान्ट घोडा भनेर जस्तो गिज्याएको हो ? … नामै च्यान्टी भइसक्यो आर्का ! कति सानो मान्छे होला ? चिमिरे ! भँगेर ……. काखी गन्हाएर वाक्क आइरहेछ अझ ।’’ दुलहीले गरेकी थिइन् त्यस बिहान । दुलहादुलहीलाई एकै ओछ्यानमा त्यस रात सुताइदिएका नन्द, आमाजूले । रातभरि दुलहीलाई निद्रा लागेन । शरीरको गन्ध कुनै मान्छेको, वाफै, तातै नै कस्तो कस्तो पेट उमठ्ला जस्तो ……… दुलहीलाई घनघोर घीन लाग्यो ।

जज्ञ, मंत्र, पवित्र बन्धन, लगनगाँठो वैदिक भए पनि हृदय वैदिक हुनुपर्छ भन्ने ब्राह्माण, गुरुज्यू, पुरोहितको भूल थियो । सफेद भूत !

चम्पा चाहन्थिन् केही आर्कै, पर्न गयो केही आर्कै । स्वीकारले कसैको व्यक्तित्व बन्दछ, कसैको बाँगिन्छ । चम्पाको सपना चकनाचूर भयो । कहाँ सिनेमा स्टार हुने भावना, कहाँ यो भङेरदेव ! बालकै भएपनि राम्रा मीठा सपना बराबर उनलाई आउँथे । उनले आफ्नो जेलजीवनको पहिलो अनुहार देखिन् । उनलाई घृणा लाग्यो पहिलोबार पाउको पानी पिउँदा, दोस्रोपालि वान्त भयो । तब दुलहान फर्काउनु ……… सोह्र दिनको भेटघाट ……… सासू अहिलेसम्म बेशै थिइन् । भोलि पर्सि ह्वाङग्राङ्गी खाइदिने पो हो कि ? ……… ज्येठानी कत्री ढोइ ! के बिघ्न धम्मरधूस……. शुद्ध कँठेनी …… कस्ती मापाकी । कस्ती वालँघी ! ए ! तर माहिली ज्येठानी कस्ती सुकुटी फेरि ! बिहा गरेको पन्ध्र दिन भा छैन माइतमा कुरा गरिसकेकी …… ए ! आँखा डेढो रहेछ रे आकाश पाताल देउरानी रे …….. मासुमा नून हाल्या चर्को कलबिख रे ….. ज्येठानीलाई तपाई भनिन् रे …. कस्तो ठाडो बोली रे ……. हजूर भन्न जान्या रहेनछ रे ….. घर त कुरौटे रहेछ बा……. लोग्नेले पनि के नाउँ राख्यो होला त्यस्तो कीचक रे …….. कीचक ता कोही सुवासिनीको नाउँ नराखोस् ए दुनियाँमा ? …. म कीचक जस्ती छु त ?

चम्पा, पुरोहित बाजेसँग सोधिन् माइतमा “होइन पुरेतबाजे ! कौचक भन्या के हँ ?’’

पुरीहितबाजेले संझाएका थिए, “कीचक भन्या एउटा भीमसेनले घन्ट्याएको कामी, एक हावामा आफै बज्ने बाँस…….’’ तर कीचक । कति नराम्रो नाम ? के नाम राख्यो होला ? … “म अग्ली छु भनेर बाँस जस्तो भन्या होला अब ?’’

“ज्यादा च्याण्टा घोडा जस्तो भए मन पर्दीहुँदा ।’’

यसरी १२ बाट १२ वर्षमा प्रवेश गर्दी चम्पा दुलहीको हृदयमा त्यस व्यक्तित्वदेखि विरोधका लहरीहरू उछालिन लागे जुन व्यक्तित्वले उनको छनाइको क्षेत्रबाट बाहिर रहेर उनलाई गाँजेको थियो । अति चुरोट, तमाखु खानुपर्ने … जुँघाको कथा कथा हाल्नु जस्तो ….. कति नराम्रो कैलो भुवा जुँघाको नाममा ……. असल असल मगरका नास्ति जूँघा न दाह्री ।

अलि मगर छाँटको……. थेप्चो नाक पनि ….. तलतिर फेरि पुट्ट पर्‍या …. मेरो हातले नाप्योभने पनि तीन हात पुग्दैनन् जरुर । ठाँट पार्नुपर्‍यो के विघ्न नि ! लुगा छोडायो कि भँगेरा भुत्ल्याए जस्तो इत्यादि- माइतमा पछि बज्यै अलि चुकचुकाइन् । “चम्पू !’’ उसले गाला मुसारिन् ।

“अलिकति तिमी सुहाउँदो भएन ।”

“अलिकति तिमी सुहाउँदो भएन हकि बा ! …. अब तिम्रो भाग्य यस्तै रहेछ । धन, पैसा, इज्जत, मान, सन्तान हो भाग्य भनेको ।’’

चम्पाको हृदयमा आफ्नो स्वामीतर्फको न्यूनताको भाव समर्थित भयो । उनलाई बराबर गाली गरेको, हियाएको वचनले रिस उठ्दथ्यो । तर उनको व्यक्तित्वमा यौनभावनाका चक्रहरू स्पष्टतासँग काम गर्न लागिसकेका थिएनन् ।

दुलहा-दुलहीलाई आमाबाबुले अलग राखे यस निमित्त कि रामकान्तको पढाइ बाँकी थियो तथा दुलहीको उमेर पुगेको थिएन । रामकान्त खूब पढ्न लागिरहेका थिए, रात-रातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने भावना राजा मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध हुन्थ्यो । रुपमा उनी पछाडि परेका थिए । भ्यागुतो जत्तिकै बौद्धिक सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो नराम्रा पंडितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशंकरको मोहनी लाग्यो । यस संग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको कीटाणु मनुष्यभन्दा चंख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू हुने काम गर्छ ।

कीटाणुले भन्यो- “को घाममा कम बस्छ ? को हावामा ज्यादा निस्कँदैन यो शारदीय निर्मल समयमा, हँ ?’’ साना सर्पजस्ता काला सूक्ष्मवीक्षण यंत्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला भन्ने आशाले हावा धूलोमा घुम्दै आए ।
बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई डाक्टरले कालको वारण्ट दियो …… दुवै फोक्सा प्रभावित, भक्षित भयंकर धब्बाहरू …….. आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।

रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई भयानक गाली दिए । के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । बी.ए.मा विश्वास गराउनु के एक भयंकर धोखाबाजी होइन ? किन स्पष्ट भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवान अगाडि, “हामीहरू बिलकुल महामूर्ख हौं । लवज बेचेर खाने हाम्रो यो चालाकी हो । हाम्रो पाठन कलामा विज्ञान छैन । हामी जीवन विकाशक होइनौं । हामी उदरपूरक हौं । हामी पाश्चात्य सभ्यताले युवक भांडेर खान्छौं, पछि गुरु तथा तानाशाहका पंजाबाट आत्मसंस्कार र संशोधन गर्नाको लागि । हाम्रो मोलतोल ठीक छैन । हाम्रो अंग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लण्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौं । हामी अक्षरकीट हौं । शोपेरहाँर साहेबले मात्र शिक्षकवर्ग- हामीलाई चिनेका छन् ।’’

हा ! म मूर्ख बंगाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म कस्तो मूर्ख !

उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर भने, “प्यारी कीचक ! मेरो इतिश्री स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह गरे । तिमी पढ । तिमीलाई पढन र बुझ्न व्यक्तित्व हासिल गर्नाको जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी. लाग्यो । धर्मले त्यो टि.बी. तिमीलाई सल्काउन खोज्दछ, चम्पा ! तिमी सक्छ्यौ, चाहन्छ्यौ भने पर सर । आजदेखि तिमी मबाट आजाद भयौ ।’’

चम्पा जानिनन् किन तर उनी रोइन्-बर्र । तीब्र सहानुभूतिले । साथीसँग छुट्टिने वेलामा राएझैँ ।……..

प्रेमको प्रारंभ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी भन्ने नामानुसार उनमा मान्नु पर्ने भन्ने भावनासम्म रहेको थियो । तर त्यो आँसुदार, जल्दो, जाग्दो, वियोग ज्वलित भाव, त्यो मधुर आनन्दको स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ- त्यो थिएन । न साधारण तवरले यस्तो चीज कुनै घरमा-कुनै सुवासीनी लोग्नेको विवाहित जीवनमा-पूर्वीय देशमा अक्सर-प्राप्य छ । विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदै छ, तर प्रेमको शुरु नै नहुनु खास पूर्वीयता हो ।

रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने विचानहरू । आमाका आँखा हरहमेशा भिज्दथे । दिदी बहिनीका पनि । तर रामकान्त सारा पुरुष, स्त्री, घरबार, वस्तुलाई परदेशी ठहर्‍याए । अब उनको आत्मा ईश्वर-चिन्तनमा अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? ……..

एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।

चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्- भँवरा र फूललाई । उनको चौधवर्षीय जीवन फल्दो भएर फुक्न लागेको थियो । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।

चम्पा सोचिन्, “के मेरो जीवनको सौगात यत्ति हो ? यो रुप, यो रंग, यो निशाना ?’’ स्वामीले बिदाइमा दिएको वचन उपर उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ? … उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् ।

उसले माने बताइदियो, “स्वतन्त्रता’’ । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।

उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन् । तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य ।

चम्पाले भनिन्, “चित्त दुखेर भन्या होला ।’’

त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् । उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथी सँगी भेट्टाइने । प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया भिजाउँथिन् । श्री कृष्णको तस्बिर काखी च्याप्दथिन्, रुन्थिन् । तर उनलाई फेरि फेरि सिनेमातिरै जान मन लाग्दथ्यो । फिल्म-स्टार हुने वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त हुन्थ्यो-कमसे कम तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न पाउँदथे । त्यो नाटकीय चित्रणमा यथार्थको रमरम आस्वादन त मिल्दथ्यो । बैंसालु कल्पना बराबर उत्तजेजना र पोषण पाउँथ्यो ।

यस्तै रीतसँग २/३ महिना बित्तै गए । बराबर मोटर भाडा लिएर टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको पनि ध्वाँक, गाला याहमान, शरीरै चौडा भएजस्तो, बोसो मात्र बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास आउँथ्यो-शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित-गरायो भन्न सकिन्न । उनी जीवनको चिप्लो अवाधि गति होला भनेर अलिकति प्रसन्न हुन मात्र खोज्थिन् ।

रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, गञ्जीफा पक्रेका थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र रुप उनका नजरले सिफरिश गरे । तर उनी त्यस बैंसको मोहनीदेखि त्रस्त भएर मनमन रोेए ।

अध्याय तीन

चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।

“आँखीभौँ सिसाकलमले लेख्याजस्तो हुन्छ कसैको ता” सासूले टिपिन् ।”

“छुसछुस छुरा नलाई चित्त बुझ्दैन रे ।”- ज्येठी बुहारीले टीका थपिन् ।

माहिलीले भनिन्- “आँखीभौँ नटिप्ने ता को होला र आजकल नाइँ ?” उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन्, “पत्ता मिलाउनसमेत कैँची-छुरा लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर । झिलमिल तारा नलगाई कहिल्यै चित्त बुझ्दैन । राति-राति अरू सुतिसकेपछि पो सिँगार चल्दो रहेछ । हिजो राति जापानी पोसाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी फिल्मका गीत हरहमेसा गाइरहनुपर्दछ ……… नङमा पालिस, गालामा लाली, जर्जेट दिनभरि छ, छ ।”

यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर मटानमा पलेँठोपछाडि कान थापिन् ।

“चौपट्ट ढाँचा है नेपालेका छोरीका त”- पोख्रेलपुत्रीले टिप्पणी गरिन् ।

माहिली बुहारीले भनिन्- “जुन गोरुको सिङै छैन उसको नाम तिखे ।” यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले मुरमुरिएर उभ्भिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।

“ज्यादा यत्ताउलो भा’त बेस होइन मान्छेले !” माहिली चुनुले तेल थपिन् । “कृष्णको तस्बिर लिएर छाती लगाएर म्वाई खाएर उधुम छ ।” सासूले एकै छिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । माहिलीले फेरि थपिन्- “कान्छाबाबुको त्यो हालत छ । लोग्ने घरमा सद्दे भए कसैले केही भन्ने थिएन तर !”

यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थे ।

तब सासूले मुख फोरिन् । “ए क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्‍याजस्तो छ ए ?”

चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्,

“कँठेनीहरूले सभ्य सिँगार देख्या भे पो त कहिल्यै !”

सासू उफ्रिन् । “जान पाउन्नस् बाहिर ….. बस् ! कल्लाई कँठेनी भन्या, ए सहरिया ?”

“छन् नि कोही-कोही यहाँ”- पहिलो नजर पोख्रेलपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।

“त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् । कसुर तेरै हो ।”

“लुगा लगाउनु पनि अपराध रहेछ अब !”

“समयले पो हुन्छ सबै कुरा ।”

“आफ्नो समयमा को कम छन् र ह्याँ ?”

“तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् । अलि ओठ सेला । कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?”

“साग नकेला छैन । कुचो नबढार्‍या छैन । बिछौना तह नला छैन ।”

“अँ ? ……. भर्‍याङ तलमाथि पनि नगर्‍या छैन भन्न ।”

चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् ।

“हेर, रिसाही !” सासूले देखाइन्, “फन्क्या हेरन । पख् । यसको मेख मार्नुपर्‍या छ एकदिन ।”

यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के …… रामकान्तले सिन्दूर जात्र गरेर घर भित्र्याए । ठुलो भाग्यले छोरो बच्यो भन्ने ठुलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा जोड दिएको थियो ।

रामकान्त गजबसँग मोटाएका थिए । खुब लाल-लाल गाला हालेका थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको थियो । अब सबको मुटु ढुक्क थियो- रामकान्त बाँच्यो ।

एक हप्ताबाद रामकान्त साथी भाइकहाँ जानु, डुलाडाल गर्नु, हँसी ठट्टामा भाग लिनु, सब चिज गर्न लागे ।

बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन तापनि उनलाई बराबर आउने जाने कुरामा ज्यादा रोकावट राखिएको थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँका आँखा देख्थे तर उनले च्वाट्ट मुख फोर्न सकिनन्- छोराको डरले । बुहारी चम्पालाई होसियारी मात्र दिएकी थिइन्- त्यस्तै छोरालाई पनि तर रामकान्त आफैँ बराबर काम अह्राउन बोलाउँथे ।

विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस आत्माप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन खोज्दथ्यो । प्रेमविनाको पतिलाई नाटकीय नमुना बनाएर सिनेमा खेल्न चाहन्थ्यो । फिल्म-स्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो । ऋषिमुनि मसिहाले “ह्या” भन्दिदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुँचिन्छन् । प्रेमदेखि डराउँछन् र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिर नाटकीय आश्रयको मात्र आधार लिन्छन् तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टोरी आकाङ्क्षाको पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको नाटकीय रँग पाएर सन्तोष लिने कोसिस गर्छन् ।

वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने, “कीचक ……. तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई ? के विघ्न सप्रेकी ? हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?”

चम्पा- “के कीचक मर्जी भा होला ? राम्रो नाम पनि न भाजस्तो ?”

“कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झन । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रँग आयो ?”

“के नाम राख्या होलान् छिः ? …. नेप्टी रे, चेप्टी रे, आलु रे, ग्वाङ रे रे, डेब्री रे, ड्यौढी रे, ……. नेपालमा सुवासिनी मान्छेलाई चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देसी मधिसे नै हो कि अङ्ग्रेज ।”

“जी हाँ ? त्यति विधि रिसाएकी ? हार भनूँ त ? आजदेखि ?”

“नाइँ ।”

“के विघ्न बढेकी तिमी ? म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यो ।”

“के गरेर घट्ने होला , खै ?”

“कोलमा हाल्नुपर्‍यो ….. हुन्न ?”

दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।

“मलाई सुवासिनी निषेध छ के गर्ने ? ….. चम्पा ।”

“केही पनि नगर्ने ।” ………

“अङ्ग्रेजी युवक, युवति अभ्यर्थना गर्छन् । जीवनको वसन्ती समयमा । मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन ? … के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छौ ?”

“पर्दैन ब्यारे । म त राम्री छैन ।”

“पत्याउँछ दुनियाँ ? वाह ? ….. भोटेनी पालिस लाए मात्र, नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्याजस्तो ! फटाही !”

“उस…. कति राम्रा चिज देखिसक्या आँखाले ?”

“म ? ….. ए डेस्डेमोना ! …. तिमीले ता बितायौ बा ? …. म ? मन-जोगी ? आजकल पो जपमाला छोडेँ ।”

“माफ पाऊँ न ! हाँले के भन्या छ र त्यस्तो नराम्रो !”

“ए बिजुली म त तिम्रो नाम बिजुक्ती राख्छु आजदेखि हुन्छ ?”

“हवस् … इच्छा …….”

ढोका कर्के थियो । आमाचाहिँ भर्‍याङ उक्लिन लागेकी थिइन् । रामकान्तले नवयौवन सुन्दरीको कपालको लाली के रहेछ भनेर पहिलोबार छामे ।

“ह्या ? … फटाहा ?” चम्पाले गाली गरिन् “कस्तो मनजोगी, ओहो ? उस् ! उस् ! स्स ! स्स !”

आधा कपाल फुलेकी रगादेवी हातमा पुरानो अचारको सिसी लिएर ढोका उघारेर खडा भइन् ।

“बाबु ! कस्तो छ तँलाई आजकल ?”

“बेस आमा ! …. बिलकुल पहलमान ।”

“त्यस्तो भएर मात्र हुन्न । एक दुई वर्ष हेर्नुपर्छ रे । फर्कन्छ रे । सुवासिनी बार्नैपर्छ है बाबु, तैँले । धोखामा पर्लास् । अब यो चम्पेलाई कोठा बन्द-आजदेखि …….. हरहमेसा कोठामा पसिरहन हुन्छ ? लोग्नेलाई त्यस्तो छ भनेपछि । मार्लिस् तेरो लोग्नेलाई थाहा छ ?

कस्तो साइत पर्‍या !…….

“चम्पु ! ल आइज अचार पार्नु छ ।”

“हवस् !”

चम्पाको गाला वसन्तपुर भयो ।

उनको जीvनको प्रथम पौरुषस्पर्श किसलयकपोलमा पाएर उनलाई अनौठा असजिलो लागेको थियो । उनले फिल्मको “अशोककुमार” नायकको आर्यचेहराको प्रेम, ज्वलन्त मिठाससँगको एकलासे अधर मिलन या उर मिलन कल्पना गरेकी थिइन् । त्यस कक्षाबाट, त्यस आदर्शबाट खस्के पनि अनुभवमा औपन्यासिकता थियो । …. तर उनको आत्माले भन्यो- “कस्तो कुसमयमा अर्कालाई छुन आ’होला ! मैले बिरालो आयो भन्या पनि नसुनेर । रहिछन् उनै घोरमुखा । देखिन् कि ?”

चम्पाले सासूतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी थिइन् तर उति खराब, तीव्र होइन । मन-मन उनले सासूको नाम दिएको थियो- घोरमुखा ।

“बस न !”

“अँ, मार्दैनन् अर्कालाई ?”

“कसले मार्ने ?”

“कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि । जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !”

चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र ? “के ?” “के ?” “अहो ! छुँदैमा हातको छाप लाग्छ त ?” “क्या हो ?” “क्या हो !”

“छिः” उनले भनिन् “कसरी माथि जाने ! थाहा पाउँदैनन् ……. “

‘के आम्मै … के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !’

‘भो बा ! म त फेरि हजुरकहाँ फर्केर नआउने बा ! डर लाग्यो ।’

चम्पा निस्किन् …….

त्यस दिन माथि घरमा जेठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बुढीले बताइसकेकी थिइन् ।

‘तरुणाहरूको आर्कै रँग । आर्कै रोशन !” चुनुले खिसी गरिन् !

“म भा भै त- तिमी मोरीलाई काँचै मासु खाइदिने ।” बुलु बोलिन् ।

‘यसो कोठामा बराबर जाने गर्नु …… पाउ दाब्नु ! …. कस्ती लाटी ?’

चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्सा कोठाबाट तल ओर्लिन् । घर भन्ने कस्तो बिकेबा जेल हुन्छ । अर्काको मानो खानु । त्यो पनि काम गरिन् भनेर सासू जेठानी बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने- बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने ! बचनको केरी खानु उस्तै । खिसीटेप्ली, खिसीटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन् । बुहारीहरू मस्यौँटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने ? डुँडो भयो भने ? अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही ? वसुन्धरीले पाउडर ला’जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको ? दालभात, गुदगुद, कुचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी ताप्के सिवाय साथीको नाममा बन्द । जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन् । आफ्नो त्यति पनि छैन । कोठाभित्र पसी रे । किन नपस्नु त आफ्नो कोठामा । बिनासित्तिको बुहार्तन । पहाडिया सासू ता नपरोस् छिः कसलाई । के जखडबन्धी ! फलामे चोलीले बैँसको आङ कस्ने साह्रै ! धोती चुन्नु, दोलाई पट्याउन, कुचो लाउन, टेबिल सज्न सम्याउन पनि कोठाभित्र नपस्नू रे ? पुग्ने कुरा हो ? हामीले के गरिदिएको छौँ र ? … छोरालाई पक्रन गा’ छैन क्यारे उनको ? …. यस्तै गरी मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर आफ्नो केश सिँगारेकी थिइन् । डालीभरि रङ्गीबिरङ्गी फूलहरू थिए । रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर फूलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहन स्वरूपको बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । एक ता बैँसको मिठो रुपौलो मुहार, त्यसउपर काँचको रङ्गिलो बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि निकै मज्जाको कुरा हो । रावणको चोरी सीताको सौन्दर्यको एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता जरुर कम छ, एक ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन होला । जीवनको नाममा हामी के पाउँछौँ त ? ….. दाल भात डुकु …. पुगनपुग दासत्व- एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी पर्‍यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे बन्दनी भनेर हँस्सी दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक क्षेत्रमा एक मिठो घटना थिएन । “म मरिरहेछु तिम्रा निमित्त” भन्ने ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् । नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न जान्दैनन् । न उनको सासूमा जलनको मिठो दबेको उच्छ्वास छ …… न हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कमारीलाई राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो ? अर्काको पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस्, खतम । स्त्री आत्माको चाख या प्यास स्वतन्त्र अधिकारको हुन्छ । विवाह एक पैसाको बलजफ्ती हो । विधिको सुर्काउने । छिः न गान, न नाच, न भावना, हो कि हाम्रो नेपाली जीवन ?

चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक स्वस्थ युवतिको हुनैपर्दछ । यस अवस्थामा जस्तो झनक रिस कहिल्यै उठ्दैन । यस वेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने जवानीको फुल्दो तेजले उसको हाँगाको पूरा जोड अनुभव गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ ।

चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो मूर्तिको पूरा तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या प्रेमदेवीको शिल्प चित्रमा कसर हुँदो हो, गणितको कलात्मक अभाव उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा पातला दीवारकी कैदी बनेर बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइनन् त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको मेथीचमसुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन तर दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिइकन नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म ! पाप लाग्छ । यताउति विचार गर्नु सतीत्वको विरोध गर्नु- त्यो पनि आफ्नै तर जरुर प्रकृतिले उनलाई योभन्दा असल चिजका निम्ति कल्पना गरेकी थिइन् ।

नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ? देविकारानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो या कल्सेन्डो मुखमा सेतो रोगन लगाएर लाइट लगादिए पनि त खुब सुन्दर हुँदो होला । उनले कमसे कम क्षेत्र पाएकी थिइन् । तर “तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् ।” के घर पनि एउटा कैद होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । कैद ! जाँतो पिँधजस्तो कैद ढुङ्गा फोर्छन् । वचनका कोर्रा कम हुन्छन् र ? कति काला टीका लगाई माग्नु छ बाबा, देउरानी, जेठानी, सासूबाट । अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके चुल्होमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथी-चमशूर, गान्टेमूला, काउली, बन्दा । के जीवन यति भन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली जीवनको व्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू, ढुम्म बनेर, जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाँउछन् । कावा खान्छन्, बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन । मझौलापना भन्दा आर्को चिज नेपाली नै होइन मानो । पहाड मात्र ठुला छन् यहाँ । गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान् अन्डिरका रुख । यहाँका वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठुलो, न सानो । एक चिज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त ? सौन्दर्य ।

अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन सक्तछ, के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ कुनै क्षेत्र छ ? के यसको विकाश र पोषण छ यहाँ ? चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्राइन् । ठिक यसै वेला स्वामीजी चिमिरे, च्यान्टे, च्याँसे, फिब्टे स्वामीजी ठमठमाउँदै भित्र पसे ।

उनको ढोका घरकाइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको सामुन्ने छाइरहेको थियो ।

चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर रहिन् ।

उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोसाक राखे । उनको हातबाट एक, एक पोसाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा खुटीमा तन्दुरुस्त राखिदिइन् । तब अब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।

जान लागेको देखेर रामकान्तले भने, “चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर को कि ? किन ? आज केही पनि नबोलेकी ।”

चम्पाले फर्केर मसिनो स्वरले भनिन्- “नबोल्दा त यस्तो छ अर्कालाई । म जाउँ क्यार !”

रामकान्तले आफ्नो पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए । चम्पा यस्तो निर्दोष, यति सुन्दरी, यति बेकसुर बाला छिन् । के यिनी कोहीभन्दा कम छिन् त ? ठकुरीकी छोरी भन्नु मात्र हो । मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसे कम उच्च सौन्दर्य विशेषज्ञको आदर्श मूर्ति छन् । मेरो आर्दशमा मेरै च्यान्टावनाको प्रभाव अड्ढित छ । यो उनको भूल होइन । तर टी.बी. ………. हा ! पाहुना टी.बी. …….. तँ मेरो सर्वस्व खान आएर कर-बल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरोउपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।

उनको तरङ्गका मूक क्षणमा चम्पादेवीले खुब तिखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाको अन्तर्भाव खुब पढ्न खोजिन् । उनले सम्झिन्- यी पुरुष चिन्तनशील छन् आज- सायद आफ्नो बिरामीको विषयमा । सायद उनलाई आमा चिढ्याउन देखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर मसँग कुरा गरिरहनको सल्लाह नि यताउपर चिन्तित छन् ।

यी विचारले चम्पा तुरुन्त ढोकाको पल्याँटो उघारेर खुरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतिहरू गर्दछन् जो स्वामीलाई कहिले कहिले निराश पार्न या कज्याउन चाहन्छन् ।

“ए ! ए !! चम्पा !!!” सचेत रामकान्तले गालीको टोनले बोलाए- मानो टेबिलको मसलादार तरुवा माछो टिपेर हिँडेको बिरालालाई हप्काएझैँ । तब उनी फेरि गौडदार बने ।

बैँस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो तर मेरो अवस्था खराब छ । हुन त आमाले भन्नुभएको कुरा बेमुनासीब होइन । ब्रह्मचर्यको पालन । त्यसैमा ऋषिमुनि र धर्मको जोड छ । तर, तर ती चम्पा ! त्यति राम्री, त्यति सुकुमारी ! त्यति फुकेकी, फुलेकी, त्यति ललित र त्यति लाल । मानो उनको पुष्पसदृश विकाशमा केवल माहुरी र भँवराको खोजीको सिवाय नक्कलझक्कल नै थिएन । पोसाक उनको सँगी थियो । राम्रो हुनु उनको धर्म । शृङ्गार उनको कला, आकर्षण उनको जीवन । मानो प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो … जीवन ! ….. जीवन ! प्रेममय जीवन !”

यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? यस वेलासम्म चम्पा सेती मैली गोधूलि र आँसुकी तारा हुँदी हुन् । उनका इन्द्रेनीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो मिठास- मारूँ, मारूँ निलोको मधुर त्रासको गाढापन …….. पहेँलोको धनी वसन्त, इत्यादि, इत्यादि …….. शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट दूर रहन्थे । उनी अधमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरू मरेका नागिनझैँ अजिब रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति संसारलाई गिज्याउन खडा रहन्थ्यो ।

उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफ्ना निम्ति एक महान् प्रहसन थियो । खै ! तिम्रो पुरुषार्थ ? खै तिम्रो योग्यता, त्यस कर्मका लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको स्वरूपमा अतिमानव सन्तानोत्पादनका लागि अश्वयकीय र आदरणीय सम्झिएकी थिइन् प्रकृतिदेवीले ?

उनीलाई यी भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट बच्नैपर्छ । के चम्पाको दोष थियो यस विषयमा ? …. उनी पहाडकी फूल थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा । उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन गरिरहेको थियो । त्यो त अबलाको प्राकृत कला र कर्म नै हो ।

उनी बैँसालु हुनु र यसरी सुन्दरी हुनु उनको दोष जरुर होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग गरेर परमार्थ सुधार्नु बेस ? …..

उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर घचघच्याउँदथे, बराबर जोडका साथ तर दबाब नै उनले हरहमेसा स्मरणीय पाठ सम्झन्थे तर दबाब प्रकृतिले कानेखुसी गर्न आँउथिन्, के दबाब स्वास्थ्य हो ? रातका बिचमा रामकान्तलाई बराबर विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीपझैँ एक नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक दुई बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन आज होइन । म बुद्धदेवजस्तै कहाँ छु र ?

प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित-बदमाश बैँस अगाडि झल्याक्क झुल्लुक्क देखाहा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो । दृष्टिक्षेत्रबाट संसार अध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो । कत्रो भयानक सौन्दर्यको ज्वाला ? ……. मानो ऊ आफ्नो जगत्‌को सम्राट् छ । उसको आज्ञाको विरोध गर्न कसैको ताकत थिएन । ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो- पुरुषको पौरुषलाई के विघ्न डरलाग्दो ?

रामकान्त तँ मर्छस् । खामोस । होसियार । तँ बत्तीमा पुतली भएर नहोमिई । रामकान्त गीता पढ्न लागे र धर्मपद पढ्न लागे । उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले ।

एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बाह्र बजे राति नुहाउन लागिरहेछ । यो के गजब ? रहेछ आफ्नो छोरो । हप्काइन् । बदमास ! उल्लू ! के गरिरहेको यस वेला ? उनी मरेकी थिइन् र ? माउसुलीले छोयो रे ! फटाहा ! … अवश्य यसले देवीको साधन गर्न लागेकी हुनुपर्दछ ।

बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, रामकान्तका निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो । हाँसोको पहिलो भाग मात्र नानीको चमचमिलो चमकबाट छेडेर । बराबर मेनका नाचेझैँ वस्तुहरूको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको लचक, उसको लोचन, ! उसको पुष्टता, हाँकदार विकचता । कति बेसरम सर्माइलो मिठास ! मानो मनुष्य उसको बागमा फूल थियो- शिखर सौन्दर्यमा- र त्यही रूपको पुनरुत्थान र अमरत्वको सङ्केतका निमित्त त्यसको पूर्ण आत्मविकाशका सजीव क्रिया चलिरहन्थे- मानो पुष्पवनमा ।

एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, “एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।”

उनको भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे । वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्राकृत क्रियाउपर ! उनको अस्वाभाविक कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्मबाट पनि संसार रचना भएन । प्रेम प्राकृत क्रिया हो । भालेपोथी, पोथीभाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? ….. पशुपति-गुह्वेश्वरी-पशुपति । लिङ्गदर्शन संसारको उच्चात्युच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति होइन- पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाका निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ, कुनै धर्मले चम्पालाई टी.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई टी.बी. लागेको छैन । स्वस्थ छन्, उनी डल्ला फोरिएकी जमिन छिन् । उनी लहलहाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छन् । म रोगी किसान । त्यसपछि उनी यौन साहित्यतिर लागे । डी.एच. लारेन्स्का निबन्धहरू अध्ययन गर्न लागे । उनले त्यस ग्रन्थकारमा असाहित्यिक साहित्यिक तवरको सरल यौन विवरणहरू पाए । ग्रन्थकार थियो यौनभावको परम भक्त र पुजारी । यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला हो जीवनको, स्वणर्मन्दिरमा यही रहस्य हो यही विश्वको मर्म हो । यसभन्दा अरू चिज छैन । यस वस्तुका हाँगाबिँगा सबै सभ्यता हुन् । कत्रो यौनभावको पूजा ।

उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे जति यौनभाव परमेश्वर भए पनि, त्यो उनका लागि विध्वंसक, प्रज्वालक क्षयक थियो । यदि यौनभाव कस्तो पवित्र वस्तु हो भने, आफ्नो अयोग्यताको विचार राखेर त्यसलाई आफू जल्ने, बल्ने, उज्वाल्ने क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कण्टक नहुनु पनि त एक सच्चा अन्तःकरणवाला पुरुषको वौवेकिक साधुता र सच्चाइको कर्म हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊ । यो खतरादार छ । यसले खान्छ यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त नाटक सुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको गाँठो परेर आउँथ्यो तर जीवन संरक्षणी शक्ति जो उनको बाहिरी सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी- उसले भनी खतरा छ, रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस् । यो सच्चा मृत्यु हो । “त्यो जीवन संरक्षणी शक्ति बडी स्वार्थी थिई । बडी मतलबी थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो अपरिभाषेय कोही ।

“रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको बग्गीमा वाहक अश्वका रूपमा ताजा तगडा भएर जित स्वीकार गर्नु हो । तँ यसैका लागि जन्मिइस् । तँ मरे के बेफाइदा छ ? ……. तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्योपयोगको बाटामा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानवधर्मको वेदीमा । किन डराइस् ?”

तर जीवनसंरक्षणी शक्तिले जिती । स्वार्थी भावहरू ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।

रामकान्तको हालसालको मूक निन्याउरो अलग्गीपना देखर त्रस्त चम्पा भित्री प्रेरणले झन्-झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।

तब रातभर चिन्ताशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, “म जिउन चाहन्छु, मर्न चाहन्नँ ।” तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र आमाकहाँ मिरमिरे उज्यालामा गएर भने- त्यस दिन साथी भाइहरूसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए …… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एकबार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।

अध्याय चार

पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो- रामकान्त किन घर आएनन् । साथी भाइहरूकहाँ खबर पठाइयो । कतै कसैको दक्षिणकालिका जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट गर्दथे । के रामकान्त घरमा छैन ? ………

आखिर सुस्त-सुस्त यथार्थ कुरा खुल्न गयो रामकान्त अवश्यमेव भागेर बेपत्ता भएका थिए । चम्पाले पाँचौँ दिनका दिन आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका शब्दहरू भरिएका थिए –

चम्पा ! ……. मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ तर तिमी विचार गर कि मलाई स्त्री विष छ । म अभागी टी.बी.को शिकार छु । निको भएजस्तो मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र ज्वालामा होमिएर शीघ्र मर्न चाहन्नँ ।

म जान्दछु म तिम्रा निम्ति अयोग्य छु । सन्तान उत्पादनको लागि मेरो योग्यता खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, कीटाणुयुक्त पैदावारी गर्नु, अर्कातिर आत्मध्वंस, तेस्रोतर्फ, तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न चाहन्छु । सन्तान भए पनि म तिमीलाई रक्षा गर्न बाँचिरहने छैन । पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैन । तिमी एक परिछ्यौ । म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो बैँस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहे हुना जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्य जीवनका निमित्त झारतिराइ माग्नुभन्दा आत्मवचन या छाया, बोक्रो माग्नुभन्दा, त्यसको आशा छोड्नु नै मलाई ज्यादा वेश लाग्यो । किन परालको त्यान्द्रामा झुन्डिनु जब हामी दुवै जान्दछौँ कि यो पिटिक्क चुँडिन्छ ? अफसोस ! हामी ब्राह्मणवर्गमा विश्वासविच्छेद छैन ।

म तिम्रो रूपको मनमनको पुजारी थिएँ । जीवन-पुष्प तिम्रो पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो । यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको सिकार अझ तिमी हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसिज्जत सुकुमारी उर्वरा बैँसलाई स्पर्श गर्न चाहन्नँ । किनकि यो अनैतिक कर्म हो । म तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको डरले पन्सिन्छु ।

म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैन ।

मैले तिमीलाई हृदयबाट निमिट्यान्न मेट्नका लागि यो विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे धर्म विरुद्धमा) ठिक गर्ने उपाय सोचे । तिम्रा निमित्त पुरुष म होइन । पुरुष अर्कै कतै जन्मिएको जरुर होला ….

मैतीदेवी तिम्रो कोही पनि नाइँ

१ वैशाख १९२६ श्री रामकान्त अधिकारी ।

यस पत्रलाई पढेर चम्पालाई एक किसिमको अनौठा जिल्म-जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएको अबलालाई लाग्छ । अब उनी बुझ्न सक्तिन थिइन् बिहे गरेर दिएको घर आफ्नो थियो कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर । आफ्नो कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?

उनले पत्रका सब कुराहरूको स्पष्ट अर्थ बुझ्न सकिनन् । “सायद रोगी भएकाले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो ? हामीसँग पनि ? … कसरी छोड्न सक्नु ? … कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?” अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्‌का हावा आँधीमा उनको के दशा हुने अब ? ….. उनी बरबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । यसरी अवहेलित हुनु, आह ! “मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?” हामी यिन आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ अब । “संन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले छुनु भन्या थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले छेक्या थियो र ?” इत्यादि ।

चम्पाको हृदयले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एक रत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झन्तिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएनन् फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जरजरती परेका, अरिमठे मोराहरू ।

दया भए पो मान्छे । ती पशुपतिमा नाङ्गा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि ……. दया हुन्छ र दिलमा जोगी भएर मात्र ? …. मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।

दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरू प्रधान थिए । विशेषतः यसकारणले कि तिनीहरूमा एक बलिवेदीमा आत्मआहूतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले तीव्र वेदनाले प्रस्थान गरेको थियो । नैतिक तत्त्वका लागि समेत । पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता तथा जीवनप्रयोजनको अपूर्तिको चेतनाले दुःखित थिई- हतियार र हराएका योद्धाहरूझैँ जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् । अस्तु ।

चम्पाले अरूहरूलाई पनि आफूले बुझेको कुराको सङ्केत दिइन् । दुई-चार रोज, हप्ता, पक्ष, एक मास, खोजतलाशमा बिते । अर्को महिना चिठीको प्रतीक्षामा व्यर्थ तीस पङ्खामा उडेर पश्चिम गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतीदेवीको घरमा वास गर्न थाल्यो । त्यस सुनौला पिँजराबाट एक बोल्दो, गम्किदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर अक्कासिएर गएको थियो ।

त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरू उपस्थित भए । उनी साराका अगाडि निरस्त्र जस्ती भइन् । सबकी हास्यपात्र उनी हुन्थिन् । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली जेठानी …… चुनु ।

“आज शनिश्चरवार होइन ?”

“खूँ…. खूँ …. खूँ …. खूँ … !”

कत्रो “खूँ ! खूँ ! खूँ ! – त ?” खुनै चुस्लाजस्तो बा हाँसो तिनीहरूको ! अरू पर्‍यो देखे खुब दाँत बजाउँछन् । खाडलमा पर्‍या देखे त ब्वाँसोजस्तो हाँसिरहँदा होलान् दिनभरि, कुन्नि ?

आइतवार भन्न पनि नहुने ! …

सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने घोरमुखा ! ……

“तँ आएदेखिन् खुब लच्छिन लागिरहेछ घरमा । मेरो कान्छो छोरालाई रोग लाग्यो तँ आएदेखि । तैँले नै गरेर ऊ घरबाट वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न भित्र पसेकी सेती बिराली ।” बस् ! त्यसका साथ झन् ऊ नै पो रुन थाल्ने, ए !

चालामाला ? कठेनी, पहाडिनीले राम्ररी हाँस्या, खेल्या, चल्या देख्न हुन्छ र ? नाक चलाई रे ! भौँ बङ्ग्याई रे ! त्यस्तो पनि हो मान्छेलाई ? पनेला चोली लगाउने सासू ता नपरोस् वा कसैलाई ! एक आँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कँठेनी । रेसम लाएर सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ? कस्तो असभ्य घर छिः ! जिब्रो ता भो, गाईको के खस्रो होला र ?

अघिल्लो जनममा बघिनी थिइन् कि भालुनी, कुन्नी ?

सासूबुहारीको कथा घरेलु दैनिक उपन्यासका रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण गर्दा यौनभावको प्रतियोगितामा आपखरी बैठान बसाएका छन् । विनाछोराकी बुहारी घरकी कसिङ्गार देखिन्छे ………. विधवा होस् या सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गर्दिन्छ, तर सासूहरू खहरे भएर गड्कन्छन् त्यस वेला जुन वेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी ….. भावना सायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस वेला देउरानीजेठानीका बलले समेत सासूको साम्राज्याधिकारको दाबा पोषण गर्ने थाल्दछन् ।

चम्पालाई घर टिकिसक्नुको भएन । कस्तो घर ! कुरा फाँड्या छन् । फाँड्या छन् । कस्ता सुवासिनी मान्छेहरू छिः … एउटा बाजे आँखामा हाले पनि नबिझाउनेजस्ता नभा भे त भो !

चम्पाको जीवनस्वप्नको स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन । एक भरोस । बैँस गुनकेसरी, लाहुरे सुनगाभाझैँ फुल्यो । तर केका लागि ? रुन, च्याँठिन, बोक्सी लाग्न । बुहार्तन खान ।

जीवन भन्या खै ? उनले विचार गर्न थालिन् । खै जीवन ? …. के छानामनि वास गर्नु चिथरेसन र कोपरेसनको नाम जीवन हो ? हामी किन जन्म्यौँ ? चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्त्वहरू प्रारम्भिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, विचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्तिझैँ ती आफूउपरका नियन्त्रक अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोज्थ्यो जो हामीहरू अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तर्हृदयमा राख्तछन् । यो सहानुभूतिहीन भरेलु जीवन ? बोक्रा बाख्राहरू साथसाथ राखिँदा मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेष छैन ? …..

चिमट, विष छदाइ, कोट्याइ, छेड, रुवाइ, खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका हौँ र ? …

चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द उकुसमुकुसीबाट आत्माविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो उनलाई घर टिकिसक्नु भएन । एक दिन चम्पा कुनै माइतबाट भेट्न आएको मानिससँग कुरा गर्न लागेकी थिइन् । सासूले उनको हँसाइ, चलाइ इत्यादिबाट उनको चालचलनको टीकाटिप्पणी गर्न थालिन् ।

“यो मान्छे नचिनेकी हो र ? यो वेश्ये हुन्छे । वेश्ये ।’

चम्पाको हृदय विदीर्ण भयो । यति काइदासँग धर्म सम्झ्यो त्यसका लागि जो आफूलाई “तिम्रो कोही होइन” भनेर त्याग गरेर एक वचनविना बिदेसिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ? यति गर्दागर्दै जेठानी छिमेकीहरूको अगाडि वेश्ये हुन्छे ?’ वेश्ये हुन मन लाग्या भए कल्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? … गुण पर्‍यो भकून् थापा .. कस्तो मुखाले घोरमुखाहरू ! ….

घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना न्यूनतम मात्र पनि छैन । परिवारिक जीवनको माने सुरु हुन्छ जब बुहारीले मातृत्वको आरम्भ गर्दछे तर चम्पालाई कुनै किसिमको प्राकृतिक या अरू दावा घर नामको विदेशतर्फ लगाउने अवकाश दिएको थिएन ।

उनको हृदयले तीव्र वेदनाको स्वरमा उद्गार गर्न लाग्यो “हाय ! अभागिनी चम्पा ! खै तेरो घर ! यत्रो संसारमा तेरो को छ ?”

चम्पालाई घरतर्फ झन् झन् वैराग्य लाग्दै गयो । उनी बोल्न चाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान दिन्थिन् । उनलाई अरू आश्रय या अरू कुनै पक्रिने हाँगो थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रयस्थान जसलाई हामी कृष्णजी भन्छौँ सब स्त्री जातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन् कि सब दबाबमा रहेका अन्तर्व्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत छन् । ज्यादाजसो ती स्त्रीहरू श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका आभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साँघुरा रहन्छन् । निरोधक कुलो श्रीकृष्ण चम्पाका निमित्त दिनदिन फैलिँदै भरिँदै जान लागेर तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ् विरोधी समालोचना भयङ्कर टिप्पणी !

संसारमा मानिसहरूलाई त राक्षस भन्नु न दैत्य । कति असहनशील हुन्छन् तिनीहरू ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन सक्ने यी-यी पापिनीहरू !

श्रीकृष्णको चित्र बडो सुन्दर सिँगारेर चम्पाले आफ्नो कोठाभित्र सजिसजाउ टेबिलउपर राखेकी थिइन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको, सुकलाको । सुसारको समेत । कल्पनाले ती सब चिज कृष्णको चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्यो, जतिको अभाव चम्पाको घरेलु जीवनको बैँसालु विकासमा उनी आफैँ भित्र-भित्र अनुभव गर्ने गर्थिन् ।

उनलाई कहिले पूरा तवरले विश्वास लाग्दथ्यो कि ती कृष्णजी चित्रबाट सजीव भएर जीवनकार पुरुषका स्वरूपमा चट्ट टेबिलबाट उर्लेर उनका बगलमा जुनेली रात बिताउन आउन सक्थे । सुन्दरतम मानव । एक आदर्श-मानवीय, राजसी मानवीय-सब युगका स्त्रीहरूका निमित्त आवश्यकीय पाइनुमा नै धर्मको मुख्य आधार र आश्रय बनेको छ ।

चुम्बन, वन्दन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरागराइ, टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा यौनभावमा प्रशाखास्वरूप पनि । यस काल्पनिक नाटकीय दाम्पत्यजीवनमा चम्पालाई ठुलो सोख बढ्दै गयो अरू तवरको अदृश आश्रयको अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न सक्नेहरूका निमित्त, किनकि सब सभ्य व्यभिचारजस्तो असन्तोष प्रेरित आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष-धनीबाट जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो तर यो धर्म\समर्थित व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना गरिएको छ भन्नु फजुल थियो ।

चम्पाको, अरू नेपाली दलित अचेत या अर्धचेत या अर्धविकसित स्त्रीहरूको झैँ व्यक्तित्व विकासको भरखर आरम्भ हुने चेष्टासम्म देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो । यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चिज हुँ भन्दछ, र अरू चिजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चिजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालका रूपमा रहन्छ । मत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णु सहस्रनाम सबैले लेखेका छन् तर केवल झकाइ र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाका निमित्त, प्रकृतिका नियमले नै, जीवनको सर्वस्वाभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तानपुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् तर प्रकृतिले उनलाई वर्ड्स्वर्थकी लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एक कदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।

तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्‍यो ।

“ए कान्छी !”

चम्पाले आधा सुनिनन् ।

“अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिइन ।”

“अ३”- चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।

“एक चम्पा ! तेरो कान छैन ! अझ बोल्दिनस् अजिर्नी ?”

चम्पा सासूको कोठामा फन्किँदै पसिन्-रिसले । बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।

“आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !”

“कस्तो घिउ घस्नुपर्‍यो ….. पहाडीका पिँडौला ।”

च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मन-मनमै भने भन्ठानेकी थिइन् । बस् ! वज्र चड्क्यो ।

“के भनिस् चोथाले ? च्यात्नुपर्‍यो वेश्येका गाला ?”

“खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !”

“म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?”

“सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्या छन् कानले । असल छ भन्ठान्नुभाहोला महारानीसाब !”

“कसैका आँखा फुट्या होवैनन् । कसैका कान फुट्या होवैनन्, ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।”

“लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेका वचन । मेरा आँखा फुट्या छन् रे ? मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्‍याछन् रे ! बाबा ! यो कुन सहरियाकी पाडी आइलागेकी हो नि ? मेरी आमाले यसरी गाली गर्‍या थिइन मलाई ! मेरी सौताले यसरी सराप्या थिइन् नि मलाई !

बस, रडाको चल्यो आइन् जेठी जेठानी । आइन् माहिली देउरानी पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।

“यो केको रढाको हो ए ! मध्यरातमा ?”

तब बेली वृत्तान्त चले ।

“तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?”

“मैले केही पनि भन्या छैन । पहाडियाका छोरी त कस्तो आजमाउन जान्ने हुँदा रान् ।”

चम्पा ‘रान्’ शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखन्डा जल्यो । घरदेखि सब स्त्रीका अधिकारबाट वञ्चित भएको ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको वेलामा आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिब्रो आज अरू ज्यादा तिखो तथा कस्टिक थियो ।

सासू झन्‌-झन् डाँको छाड्न लागिन् त्यससँग एक छानामनि वास गर्न किमार्थ सक्तिन थिइन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी भएर आएकी रे । पण्डितजीले दुवै बुहारीलाई बेसरी हप्काए । बुहारी मुरमुरिँदै आफ्नो कोठाभित्र पसिन् ।

तब आए खिसीटेप्लेका स्वरहरू ! “बघिनी, बघिनी .. कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा नेपालमा-कसाही टोलमा मासु खुवाएर पालेको त दी !”

“कल्लाई भन्या ? …… खूँ खूँ खूँ खूँ खिर खिर ।”

“कसैलाई पनि होइन … साँच्चिकै बाबै । अस्ति बज्यै र म जाँदा झम्टेर कस्तो ! ठिक्क ! कोही-कोही मान्छेजस्तो !”

खिर ….. खिर …. खिर ….. खिर …..

एक कानदेखि अर्को कानसम्म हाँस्दा मुख च्यात्तिने गँड्याही वसन्धरी फलाक्न थाली ।

“छिः आजकालका बुहारी ता भो ! … सासूको ता चोक्टा पो लुछ्ने रैछ ! कस्तो जिब्रो ए ! कस्तो लाग्ने छुराजस्तो !”

“गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा बस्न । दिनरातको रडाको ।” चम्पा मुरमुरिन लागिन् भनभन । त्यसपछि सब आफ्नो कोठातिर लागे । वसन्धुरीले मात्र सुइँक्क सुइँक्क गर्दी सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो । कठबारले छेकेको पल्लो कोठाबाट ।

झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्र वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।

अच्छा । म पनि यस छानामनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ….

बस्छु कहाँ त ? …..

त्यो थियो साँच्चिकैको समस्या । माइतमा त !

घरफाला बुहारीको माइत भाउज्यू बुहारी नामका दन्तदार आँखादार दुम्सीहरूको काँढोफेकाइको झन् बिस्टे खेर हुन्छ ।

जे भए पनि उनीलाई बरु माइतै बेस हुने थियो । दुई चार महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन भने देखा जायगा । यत्रो संसारमा एक ठाउँ कसो न मिल्ला ? घमन्डी, भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित, चम्पाले त्यो रातभर नसुतीकन पोका-पुन्तरा ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी वसुन्धरीकी छोरी पानमतीसँग वाग्मतीपारी माइतीको बाटामा रमाना भइन् ।

-समाप्त-

Read Champa Upanyas in PDF : HERE
(Please let us know if the link if broken)

This entry was posted in नेपाली उपन्यास and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.