~मधुवन पौडेल~
अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै निस्फिक्री बाँच्न सजिलो भएन ! नयाँ देश, नयाँ शहर, ठूलो ठाउँ, आफुले सोचेभन्दा वेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहन सहनवारे केही जान्ने इच्छा पनि गरेन ! देश छोड्नु अघि ऊ सँधै आफ्नो बाबुलाई हेर्थ्यो, एउटा मोनोटोनस् जीवन कालको सत्तरीको दशकमा बाँचिरहेका सेवनिवृत्त कर्मचारी थिए उनी ! विचरा विहान दुइ गाँस दालि भात टिपेर हिँड्थे र अनि बेलुकी थकित भएर घरभित्र पस्थे । तर एउटा लक्का जवान, शिक्षित, विवेकशील र परिवारको चिन्ता गर्ने एक्लो छोरो भएर पनि अविनाश कुनै पनि निश्चित काम नभएको एउटा बेरोजगार थियो । त्यसैले गर्दा पनि अविनाशले नचाहेरै बिदेशिइने निर्णय लिएको थियो !
अहिले अविनाश एउटा बिशाल र गगनचुम्बी भवन को दोस्रो तल्लामा बन्द झ्यालको छेउमा उभिएर तल चौडा र व्यस्त सडकमा वेगले गुडिरहेका गाडीहरु र कहिले टाढा देखिने मरुभूमि र तुवाँलोले ढाकेको क्षितिजतिर नियालिरहेको थियो । अनि एक्कासी आफ्नो पूर्वस्मृतिमा पुगेको अनुभव गर्न थाल्छ ऊ ! अविनाशको जीवनमा एकपछि अर्को गर्दै बसाई सरिरहने क्षणहरु वारम्बार आइरहने गरेका छन्।आफ्नो विगत सम्झँदा कहिलेकाँही अविनाशलाई दिक्क पनि लाग्छ । अविनाशका बाबु कुलघर ओखलढुंगाको सबै कुरा त्यतै छोडेर काठमाडौँ बसाई सरेपछि नयाँ जीवन शुरु गर्नु परेको कुरा सम्झन्छ ऊ ! बाबु गाउं छोडेर लालाबालासहित राजधानी पसेपछि स्कूले साथी नयाँ, टोले साथी नयाँ, यता उती घुम्ने ठाउँ नयाँ, अनि बजार पार्क आदि सबै नयाँ देख्दा उसलाई उदेक लाग्थ्यो। अनि अविनाशको मनमा अनेकौँ प्रश्न उठ्ने गर्थे,
“किन गाउँ छाडेर यता आउनु परेको होला । उता गाउँमा पनि कम रमाइलो हुन्थ्यो र ? खोलापारी मामाघर, २० मिनेट टाढा स्कूल, स्कूल जाँदा सँगै हिँड्ने जानी साथी संगाती, अनि मास्टरहरु पनि सबै जसो कि बाबु कि काका अथवा टाढाको नाता पर्ने र नाता नपर्नेहरु पनि उसको गाउँमा आउना साथ सवै एउटा न एउटा बन्धनमा बाँधिइन्थे!” त्यो समयलाई सँधै अविनाश आफ्नो जीवनको मधुर क्षणको रुपमा लिने गर्थ्यो । “तैपनि बाले नमानेर हामी सबै जनालाई जर्वदस्ती ल्याउनुभो”, भन्ने सम्झँदै धेरै समयसम्म अविनाश मनमनै चिढिने गर्थ्यो ।शुरुमा नयाँ ठाउँमा स्कूल जाने बेला ‘पढाइको नयाँ विषय र साथी भाई पनि सबै नयाँ, कसरी व्यहोर्ने होला, कसरी आफुलाई यो शहरमा आफ्नो भने अनुसारको ठाउँ बनाउने होला ? नयाँ ठाउँमा आफुलाई साथी भाई र अरुले कसरी हेर्ने हुन् र आफुले कस्तो व्यवहार गर्नुपर्ने हो’ आदि कुराले उसलाई चिन्तित बनाइरहन्थे । तैपनि समय कट्दै गयो, उसको अनुभवमा दिन बित्न सजिलो थियो तिन्ताका !
शहरमा आएर सात क्लासमा भर्ना भएको अविनाशले यम्. ए. पास गरिसकेको थियो । उसका बाबु रमेशप्रसादले ४० वर्षको जागीरे जीवनपछि पनि एउटा न एउटा काम समातिरहेका थिए। उनी त्यसपछि पनि पुराना सरकारी हिसाव किताबको अडिट् गर्दै थिए अन्यत्रै करार सेवामा रहेर ! सरकारले पेन्सन बापत तलब काट्छ रे अब भने पछि उनलाई काम गरिरहने जाँगर घट्दै गएको थियो, जाबो ५ हजारको लागि के को दौडिरहनु पनि भन्थे । तर अविनाशलाई थाहा थियो, उनले भन्ने मात्र हुन्, छोड्न सक्दैनन् । हिजै मात्र जस्तो लाग्छ आमाले बालाई “अब त जान छाडे पनि हुन्छ नि” भन्दै गनगन गरिरहेको सुनेको !
“भो अब ! कति स्वाँ स्वाँ गर्दै दगुरिरहनुहुन्छ रात दिन ?”
“के गर्ने त ? घरमा बसे झन् रोग लाग्छ सुर्ताले, भन्छन् सबै साथीभाई !”
“जागीर सकिएपछि फेरी खायो भनेर रिस गर्ने मात्र छन्, कतिले कति हसुरेको चाँही कसैले देख्दैन !”
“हो हुन त ! अविनाशले एउटा स्थायी काम पाए त साँच्चै यो नयाँ जागीर छोड्ने थिएँ !”
बाबुको पछिल्लो कुरा अविनाशको मनमा च्वास्स छोएको थियो । हुन पनि यम्. ए. पास गरेर बसेको २ वर्ष भइसकेको थियो र बहिनीको विहे भएपछि त उसलाई एक्लै घर बस्न मन पनि लाग्दैनथ्यो, आमासँग के कुरा गरिरहने, बाहिर जान पनि मन नलाग्ने ! भनेजस्तो काम नपाइने, लोकसेवा आयोगतिर कस्सिएर लाग्ने जाँगर र उमेर गइगो भन्ने अनुभूति हुने गर्थ्यो उसलाई !
आमाको प्राय: गनगन हुने गर्थ्यो, “ए बाबु ! के विचार गरिस् त ? अमेरिका, अस्ट्रेलिया नमिले छाडिदे अब ! नभए खाडीतिरै पो जाने कि ?”
“जता गए पनि जाने त भनेको हो, तर गतिलो ठाउँ नै पाइन्न, पाए पनि दलालले भने जति पैसा तिर्न सकिँदैन !”
“तेसो भए गाउँतिर स्कूलमा पढाउन जा न त, राम्रै छ रे अस्ति काकाले भने जस्तो !”
अविनाश केही बोल्दैनथ्यो । उसलाई गाउँको मोह त्यतिबेला थियो जुनबेला बाबुले मधेशबाट काठमाडौँ सरुवा हुनासाथ जवर्दस्ती सबै जनालाई लिएर यता आएका थिए । अहित अरुका मुखबाट सुन्दा कहाली लागेजस्तो गर्थ्यो। अनि केही वर्ष अघि खाडीमा जाउँ भनेर साथीहरुले भन्दा उसले मानेको थिएन । सबैभन्दा बढी योग्यता भएर किन जुन पायो त्यही काम गर्न जानु भनेर ऊ गएको थिएन । त्यतिबेला १२ क्लास पास गरेर गएको अरुण अहिले “त्यहाँ एउटा क्लबको मेनेजर भएँ म त !” भन्दै वर्षैपिच्छे छुट्टीमा आएर उसलाई सुनाइरहन्थ्यो । सुनाउने मात्र होइन सँगै जान पनि टोकिरहन्थ्यो, अघिल्लो ईदको छुट्टीमा घर आउँदा उसले भनेका कुरा अविनाशको कानमा अहिले पनि बज्रिरहन्छन् ।
“अहिले जे काम भए पनि जाउँ न ! मैले कुरा गरेपछि एक महिनाको तलब मात्र कमिसन बापत दिए पुग्छ । बरु हवाई टिकट र जाने अरु खर्च आफुले हाल्नुपर्छ नि !”
“५ वर्ष पढेर यम्. ए. पास गरेको के काम ? तँ गएकै बेलाको काम गर्नुपर्ने भए !” भन्दै अविनाश झर्केको थियो ।
“के गर्नु हेर् न ! अस्ट्रेलियामा म भन्दा कम नम्बर ल्याउनेको चाँही भयो, मेरो भएन यसपालि पनि ! मलाई चाँही उही एक पाने चिठ्ठी, “तिम्रो निवेदनलाई अर्को पटकका लागि विचार गरिनेछ” भनेर आउँछ ! भाग्यै छैन भन्या ..!”
साँढे पाँच बजिसकेछ, अब त बाबु सुईय्य सुस्केरा काढ्दै आउने बेला हुन लागिसक्यो । आउनासाथ उनको एउटै रट् हुन्छ–
”केही आयो बाबु अविनाश ?” आज पनि उनी त्यही सोध्छन्, भोली अनि पर्सि पनि …!
”छैन बा ! आएको भए त म फोनमै भनिहाल्थेँ नि !”
”अब केही लागेन अरुणले भने झैँ यो गर्ने हो कि ? बरु उता गएर पनि कोशिस गर्दै गरे हुन्छ नि ? लोक सेवा दिएर पनि ननिक्लने भैगो त्यति ठूलो हूलमा !”
अविनाश ढोका खोलेको आवाजले झसङ्ग हुन्छ । आज बाबुले केही सोधेनन् । उसले बाबुको अनुहार हेर्यो, उनी गम्भीर देखिन्थे । उसले केही नबोल्दै बाबुले भित्र पस्नासाथ भन्न थालेका थिए,
“मैले अरुणलाई ५०,००० दिएर पठाएँ भर्खरै। के भन्छस् तँ ? केही त गर्नै पर्यो नि अब ! म पनि थाकेँ बाबु, यो पुरानो दमले पनि अब मलाई सहेन ! अरु रोग पनि निको भइहाल्ने खालका भएनन् क्यार !”
अविनाशले बाबुको अनुहारमा एक पटक हेर्यो, फुङ्ग उडेको, थकित, पहेँलो, सेताम्य केश र झुस्स तिलचामले दाह्री, अनि लगभग ५ फीट १० इञ्चको दुब्लो शरीर ! उसले आफ्नो गाला छामेको थियो, अनि त्यो विहान आफुले ऐनामा हेरेको आफ्नै अनुहार सम्झ्यो । यदाकदा उसलाई एउटा हीनभावनाले पनि सताइरहन्थ्यो, ऊ न यताको भयो न उताको !
अविनाशले बाबुलाई केही जवाफ दिएको थिएन, जवाफ दिएर पनि के गर्ने, केही बोल्दा अर्को १५ मिनेट सम्म उनको सुगारटाइ सुन्नुपथ्र्यो । बरु बेलुकी पहिलै जस्तै अरुणलाई सम्झाइ बुझाइ गरेर पैसा फिर्ता ल्याउने अनि आमालाई बुझाइदिने गर्नुपर्ला भन्ने सोचमा थियो ऊ ! दुई वर्ष अधि पनि उसका बाबुले काकाको प्रस्ताव अस्वीकार गर्दा ऊ बाबु र काकासँग रिसाएको थियो । अविनाशलाई साथमा लिएर जाने, बैंकसंग रिन लिएर भए पनि पहाडको बाँकी पाखामा चिया र कफी खेती गर्ने योजना बनाएर उनीहरुको जग्गा पनि हडप्ने र थप २।४ लाख लगानी पनि गराउने योजना लिएर काका आएका थिए । २।३ दशकदेखि गाउँमा राजनीति गरेर दल बदल गरिरहने उसका काका त्यो भेगकै जाली फटाहामा पर्छन् भन्ने थाहा हुँदाहुँदै उसका बाबु लहलहैमा लागेका थिए । पछि जग्गाको कागजात नमिलेको र प्रोजेक्ट प्रपोजलमा पनि समस्या देखाएर बैङ्कले ऋण दिन नमानेपछि उनको योजना त्यसै थक्किएको थियो । जग्गाको आयस्ता त बर्षौँदेखि काकाले त्यसै पनि दश थोक कुरा गरेर आफै खल्ती भर्ने गरेकै थिए !
बाबु र आमाबीच कुरा भइरहेको भित्रबाट आवाज आइरहेको थियो । यता अविनाश अझै दोधारमा थियो, अरुणसँग कतार जाने कि फेरी अर्को पटक अस्ट्रेलिया जाने प्रतीक्षा गर्ने ! अर्को तेस्स्रो विकल्प खोज्न कठिन थियो । ऊ त्यो दिन रातभर राम्ररी सुत्न सकेन । विहान ऊ उठ्दा बाबु निस्कनै लागेका थिए । उनलाई देख्नासाथ अविनाशले मसिनो स्वरमा भन्यो,
“म अरुणसँग कतार नै जान्छु बुवा !” अविनाशतिर फर्कँदै बाबु हेरेको हेर्यै भएका थिए । उनको आँखामा खुशीको आँसु टप्किएका थिए ।
अनि त्यसको अर्को हप्ता अविनाश ईच्छा अनिच्छाको दोधारमा कतारतिर उडेको थियो ।
अहिले दोहा एयरपोर्टको डिपार्चर लाउन्जमा नेपाल फर्कने हवाईजहाज कुरिरहेको अविनाशलाई कता कता “बिनासित्ति किन घर छाडेर यता आएँछु” भन्ने आत्मग्लानी भइरहेको थियो । तीन महिना अघि रातभरी नसुतेर चिन्ताग्रस्त भइरहँदा ऊ अकस्मात् यता आउने निर्णयमा पुगेको थियो। बाबुको जिद्दी त छँदै थियो, तर ऊ पनि यता आउने आफ्नै निर्णयलाई ‘अनिर्णय’ पो थियो कि भनी आफुलाई नै दोषी मानिरहेको थियो ।
वास्तवमा अविनाश यता आउँदाका दिन बेग्लै थिए, त्यो देश एउटा शान्त, सुरक्षित र बैभवपूर्ण गन्तव्य मानिन्थ्यो ।तर भर्खरै त्यो क्षेत्रको तनावपूर्ण स्थितिले उसले अहिले कतारमा कार्यरत आप्रवासी सवैको अनुहारमा अनौठो खालको त्रास र भयको रेखा स्पष्ट देखिरहेको थियो । विदामा गएका जति आफ्न देशमै अड्किएका र नयाँ आप्रवासी त तुरुन्त आउन सक्ने स्थिति नै थिएन ! उसलाई लाग्थ्यो, त्यो परिस्थिति अनि त्यो समय पनि अविनाशले आफैँ रोजेको थियो । समयसँग साथै जाने धैर्य थिएन उसमा ! ऊ त त्यहाँको बदलिएको परिवेशलाई नै आफ्नो प्रतिकूल भएको देखिरहेको थियो । छिमेकतिरबाट आएको अघोषित युध्दको हुंकार, उपभोग्य सामाग्रीको पहिले मूल्यबृध्दि र अहिले अभावसाथै निराश हुँदै गएको आफ्नो कम्पनी प्रशासन र मालिकको निरन्तर गुनाशो, कम्पनी बन्द हुन सक्ने चेतावनी र निकाल्नुपर्ने स्थिति आउने धम्की आदिले अविनाशलाई नेपाल फर्कनैपर्ने स्थितिमा पुर्याएको थियो ।
मनमा कुरा खेलाउँदा खेलाउँदै अविनाशले झण्डै उडानको समय नै बिर्सेको थियो, “ए भाई जाने होइन अब ?” भन्दै लाउन्जमा सँगै बसेका अधबैँसे सहयात्रीले उसलाई झस्काएपछि ऊ तन्द्राबाट जुरुक्क उठेर सहयात्रीहरुको लामतिर लाग्यो, अर्को पाँच छ घण्टामा रित्तै हात भए पनि फेरी हिमालको चीसो हावा खान आफ्नै माटोमा पुग्ने र बाबु आमाको काखमा पल्टिने सोच लिँदै ! उसको भित्री मनमा आशा पनि जागेको थियो-देशले ठूलो परिवर्तनपछि नयाँ युगमा प्रबेश गरेको अनुभूति भइरहेकोले केही होला कि ? उसको सामु एउटा अर्को संघर्षपूर्ण जीवन झन्झन् टड्कारो हुँदै थियो ।
(स्रोत : कान्तिपुर कोसेली, जेठ २६, २०७५ )