~हिमाल घिमिरे~
एकदम भीड थियो, साँझको समय । मान्छेहरू कताबाट कता गइरहेका हुन्, थाहा पाउनै कठिन थियो । गन्तव्य हराएझैँ लाग्ने अनुहार बोकेका मान्छेहरू यताउता हिँडेकाहिँड्यै थिए । बजार घुमेपछि हामी दुईवटा पसलबाट निस्किसकेका थियौँ ।
दशैँको बेला थियो । हामी दुई जोर सर्ट-प्यान्ट किन्न भनेर घरबाट निस्किएका थियौँ ।
मैले दृष्यमलाई पटक-पटक सम्झाएको थिएँ, ‘एकै खालको कपडा सधैँ लगाउनु हुँदैन । लगाउने लुगाहरूको परिवर्तनले पनि मान्छेमा केही नयाँपन दिन्छ । हौसला जस्तो केही दिन्छ ।’ तर उसको यो सबै बुझ्ने सायद बेला थिएन ।
हामी तेस्रो पसलमा पस्न लाग्दा मैले उसलाई भनेँ, ‘हृवाइट लगाऊ, चेक लगाऊ वा अरू कुनै लगाऊ न । कति एउटै कलरको लुगा छानेको !’
उसले भने अघिदेखि नै ब्ल्याक प्यान्ट र टिसर्ट भनेर हैरान पारेको थियो । पसलमा पस्दापस्दै फेरि उसले अलि टठिलो आवाजमा भन्यो, ‘ब्ल्याक नै सुहाउँछ रे !’
उसलाई कस्तो रङ्गको कपडा सुहाउँछ भन्ने कुरा मलाई उस्तो थाहा थिएन । सायद उसको कुरा सही थियो । यसैले पनि उसलाई मन परेको लुगा मैले किनीदिनु पर्थ्यो । मैले कालो रङ्गकै कपडा किनीदिएँ पनि । उसको भाई आकृतलाई पनि उसले नै रोजीदियो । अनि हामी घर फर्कियौँ दुई जोर सर्ट-प्यान्ट लिएर ।
दृष्यम अहिले हाईस्कूल पढ्छ । गत वर्षदेखि मसितै बस्छ काठमाण्डौमा । उसको एसएलसी परीक्षा सकिए लगत्तै मैले दिदीलाई फोनमा भनेको थिएँ, ‘अब भान्जालाई यतै पठाईदिनु । मसितै बस्छन् । यतै पढ्छन् । गाउँमा त्यस्तो राम्रो पढाई छैन ।’
मेरो यस्तो प्रस्ताव सुनेर दिदीले खुशीका आँसु झार्नु भएको थियो । बोल्न अवरूद्ध भएको थियो दिदीको गला । मैले बुझेँ । दिदीले यस्तै सोच्नुभयो होला, ‘सानू भाई पनि अब कति ठूलो भैसकेको छ । जिम्मेवार मान्छे झैँ कुरा गर्छ ।’
त्यसपछि खासै कुरा भएन । दिदीले ‘फेरि कुरा गरौँला’ भन्दै फोन राख्नुभयो ।
हुन पनि हो । किन नहोस् त दिदीको गला अवरूद्ध ! दृष्यम जस्तै हुँदा, एसएलसीको नतिजा आएपछि, मैले मेरा दाजुलाई मलिनो आवाजमा भनेको थिएँ, ‘आमाबुवा यतै बस भन्नुहुन्छ !’ तर दाजुले हाँस्दै भन्नुभएको थियो, ‘होइन, तँ आईज न । यहाँ कमर्स पढ्नु पर्छ । यतै आईज । गाउँमा के छ र !’ र, मैले खुशी हुँदै फोन राखेको थिएँ । त्यो संवाद अझै ताजा छ मलाई भलै दश वर्ष पूरानो किन नहोस् ।
मलाई आमाको आँसुले रोकेन । बाको अर्तीले झन् के छेक्थ्यो ! गौँडाको बकाइनाको फेदसम्म आएकी आमाले मलाई घुम्ती नकटुन्जेल हेरिरहनु भयो । मैले फर्किफर्कि हेरेँ । तल गाउँको अन्तिम चौतारासम्म पुर्याउन आउनु भएको बाले मलाई मोलुङ्ग तरून्जेल हेर्नु भयो होला । तिलचामले कपाल भएका मेरा बाले साउने भेलसितै म काठमाण्डौतिर उर्लिएको के-के सोच्दै हेर्नु भयो होला !
एक दशक बितेछ ! हिजैजस्तो लाग्थ्यो मलाई पहिलोपल्ट काठमाण्डौ आएको । बित्यो एक दशक । अझ दृष्यम आएको समेत एक वर्ष भैसकेको थियो । मैले बितेका दश वर्षमा कति के-के गरेँ सबै मलाई यकिन छैन । तर, पनि छोटो जिन्दगीको दश वर्ष निक्कै महत्वपूर्ण कालखण्ड हुन सक्छ । मैले यो बिचको सम्भिmहाल्ने एउटा घटना हो- डेरा सर्नु ।
दाजु-भाउजूसित सात वर्ष बसेपछि मैले सोचेँ कि म आफैँ किन केही नगरूँ ! मैले हाईस्कूल सके लगत्तै जागीर खान थालेको थिएँ । डेरा सर्ने बेला त जागीर पनि राम्रै थियो । एउटा प्राइभेट कम्पनीको लेखापाल थिएँ र मलाई पुग्दो पैसा थियो तलबमा । मलाई पुग्नलाई के नै पो चाहिन्थ्यो र ! कोठाभाडा, आतेजाते, मीठो खाना, र केही किताबहरू । यस्तै गर्नलाई पुग्छ तलबले भन्ने सोचेर मैले दाजु-भाउजूलाई एकदिन डराउँदै दबेको आवाजमा भनेको थिएँ, ‘अब म डेरा सर्छु !’
मेरो कुरालाई दाजुले वास्ता गर्नु भएन । भोलिपल्ट पनि मैले भनेपछि उहाँले भन्नुभयो, ‘दुई दिनमा रून्छस् तँ । लुगा धुँदा तेरो हातको पत्र जान्छ । चिया बनाउन तँ सक्तैनस् । यो कुरा नगर ।’ भाउजूले पनि मलाई खुब सम्झाउनु भएथ्यो । हुन पनि हो, भाउजूले कस्तो माया गरेर मेरा कपडासमेत धोईदिनु हुन्थ्यो । म भनेँ एकदम अल्छिको अल्छि । मैले हाईस्कूल सकेपछि दाजुले बिहे गर्नु भएथ्यो । र, मैले भान्साको जिम्मेवारीबाट पाएको फुर्सदीलाई महान् मुक्ति नै ठानेको थिएँ । आमा बुवाले पनि मलाई डेरा नसर्नु भन्नु भएथ्यो । ख्वै मलाई मात्र केले घुमाएको थियो ! म डेरा सर्ने नै भएँ । मेरो जिद्दीको अघि कसैको पनि केही चलेन । एकदिन म डेरा सरेँ ।
गएको पुषमा डेरा सरेँ म । आउँदो साउनमा आएको थियो दृष्यम काठमाण्डौ ।
त्यो पुषको ठण्डीमा मैले कोठा खोजेपछि एकदिन बिदा बसेरै किनमेल गरेको थिएँ । ओछ्यानदेखि चुल्होसम्म, नेल क्लिपरदेखि ऐनासम्म । एक्लो ज्यानलाई चाहिने सबै-सबै चीजहरू मैले हतारिँदै किनेको थिएँ त्यो बुधबार । म हतारिएको थिएँ किनकि त्यही साँझबाट म कोठा सरेको थिएँ । भोलिदेखि फेरि उही कार्यालयको दगुरादगुर ।
साँझतिर किनेका चीजबीजहरू मिलाउँदा उनले मलाई भनेकी थिईन्, ‘एउटा ज्याकेट किन्नु न । यस्तो जाडो छ । पोहोर पनि यही खैरो ज्याकेट लगाएर बिताउनु भयो । कस्तो रङ गएजस्तो छ । यस्तो राम्रो मान्छे, ज्याकेटले नराम्रो देखिनु भएको छ ।’
मैले उनलाई सुनिरहेँ । त्यो खैरो ज्याकेट साँच्चै पूरानो भएको थियो । त्यो ज्याकेटले तीनवटा जाडोहरू खाईसकेको थियो । अब चौथो जाडोको पालोमा उनले त्यसो भनेर त्यसलाई झन् पूरानो बनाईदिएकी थिईन् । मलाई भने त्यो ज्याकेट किन-किन कहिल्यै पूरानो नभएजस्तो लाग्थ्यो, कहिल्यै नफाटोस् जस्तो पनि लाग्थ्यो ।
ठूलो साँझ परेपछि हामीले एकपटक चिटिक्क मिलाईएको कोठालाई हेर्यौँ । एउटा बेड उत्तरी भित्तामा, एउटा किचेन र्याक र सबै चुल्होका सामाग्रीहरू दक्षिणी भित्तामा ढोकाबाट पस्दा दायाँतिर र पश्चिमी भित्तामा कपडाको लागि आल्ना र किताबहरूले टम्म भरिएको र्याक । सबै ठिक भएजस्तो । पूरा भएजस्तो । त्यसपछि आफू-आफूलाई हेर्यौँ । कोठाभरि भरियो मायालु मुस्कान । त्यस्तैमा उनी मतिर आईन् । भाव बुझे झैँ मैले पनि दुवै हातले कम्मरमा समातेर उनका ओठ चुमेँ । उघारै ढोकाबाट कसैले देख्ला भनेर उनी हत्तपत्त छुटिन् । हामी हाँस्दै बाहिरियौँ । अनि निस्कियौँ चोकको क्याफेमा त्यो साँझको खानाका लागि । निक्कै कर गरेपछि उनले हामी ज्याकेट किन्न पनि गएका थियौँ ।
ज्याकेट पसलमा उनले मलाई भनेकी थिईन्, ‘ग्रे लगाउनु न । तपाईँलाई म्याच गर्छ क्या !’
मेरो मुखबाट अनायसै फुत्कियो, ‘मलाई त ब्राउन सुट गर्छ रे !’ मैले भनेर चल्नेवाला थिएन । ग्रे कलरकै उनैले रोजेको ज्याकेट किनेँ । उनी खुशी भईन् । मैले उनलाई न्यानो ऊनीको स्वीटर किनीदिएँ, कालो ऊनीको स्वीटर ।
त्यो साँझ हामी क्याफेमा खाना खाएर छुट्टनिे सोचमा थियौँ । प्रायः म उनको डेरामा गैरहन्थे । रात पनि सँगै बिताएको थिएँ मैले उनीसित । अब त मेरो आˆनै कोठा थियो । हामी एउटै टोलमा बस्न थालेका थियौँ । डेरा सरेको पहिलो रात म एक्लै बिताउन चाहान्थेँ । अनुभव गर्न चाहान्थेँ कस्तो हुन्थ्यो दाजु-भाउजूबाट छुट्दा ! कस्तो हुन्थ्यो एक्लै बस्दा ! यस्तै कुरा मैले खाना खाँदा उनलाई भनेको थिएँ । अनि क्याफेबाट निस्किँदा रात परेको थियो । जाडो पनि निक्कै बढेको थियो । क्याफेबाट दुई-दुई मिनेटको दुरीमा थिए हाम्रा डेराहरू । उनको पूर्व र मेरो चाहिँ पश्चिम । हामी छुट्नु पर्थ्यो त्यही क्याफेबाटै ।
मैले मायालु प्याट्ट गालामा दिएर उनलाई भनेको थिएँ, ‘जाऊ । म पनि जान्छु । शुक्रबार राति त सँगै बस्ने । दुई दिन त बाँकी छ नि ।’
शनिबार छुट्टकिो दिन हुनाले हामी सधैँ शुक्रबारको रात सँगै बस्थ्यौँ । बिहान उठेर कतै जाने हतार हुँदैनथ्यो । बिहान अबेरसम्म एकअर्काको अँगालोमा हराउनको मज्जाले हामीलाई तानिराख्थ्यो । हाम्रा आँखाहरू हरेक समय सुखद् शुक्रबारको आगमन पर्खि बस्थे ।
उनले मायालु आवाजमा भनिन्, ‘आज मलाई तपाईँसितै बस्न मन छ । तर तपाईँको यो एकान्त अनुभव गर्ने कुराले मलाई रोकिरहेछ । नभए त म तपाईँसँगै जान्थेँ ।’
‘तिमी पनि… हामी सधैँ साथ छौँ मेरी प्यारी मान्छे । ल भोलि नै हामी रातभरि गफ गर्दै बस्ने । हुन्छ ?’
‘हुन्छ ।’- उनले स्वीकृतीको टाउको हल्लाईन् ।
उनी गह्रौँ गरेर हाँसिन् । अलि नखुले झैँ लाग्यो उनको हाँसो । सायद छुट्टिनु पर्दाको पीडा होला भन्ने मलाई लाग्यो ।
उनलाई कोठासम्म पुर्याएर फर्किँदा नौ बज्न लागेको थियो । कोठा खोलेँ । किनेर ल्याएको मिनेरल वाटरको बोतल ओछ्यान छेऊमा राखेँ । म सुतेँ ।
मलाई भोलिपल्ट ब्यूँझिदा मात्रै अनौठो लाग्यो कि मैले हिजो राति किन रोजीलाई फोन गरिनँ ! मैले नगर्दा पनि उनले गर्नु पर्ने । उनले पनि गरिनन् । किन फोन गरिनन् मेरी पि्रय रोजीले मलाई त्यो रात ? मैले आफैँले पनि किन गरिनँ ? मैले केही पनि अड्कल गर्न सकिनँ । म उठ्दा आठ बजिसकेको थियो । उनी त्यतिबेला ड्युटीमा हुन्थिन् र फोन उठाउँदिनथिन् भन्ने मलाई थाहा थियो । तैपनि मैले डायल गरेँ । घण्टी गयो, उनले उठाईनन् ।
हिजोको असजिलो मुस्कानमा के थियो ? मैले अनेक-अनेक सोचेर त्यो बिहान बिताएँ र कार्यालय पुगेँ । कार्यालयमा पहिलो घण्टा म निक्कै व्यस्त हुन्थेँ तर पनि उनीसित एक पटक गफ हुन्थ्यो । उनी खाना खान निस्किँदा मलाई फोन गर्थिन् । कानमा कुमले मोबाइल च्यापेर सधैँ म पाँचै मिनेट मात्र भए पनि उनीसित कुरा गर्थेँ त्यो बेला । उनले मलाई फोन गरिनन्, तर । मैले पनि त्यसबेला भ्याईनँ । हिजोको छुट्टलिे थुपि्रएको काम । त्यसै भयो फोन गर्न ।
सधैँ झैँ दुई बजे मेरो फुर्सद भयो । खाजाको लागि निस्किँदा उनीसित कुरा भयो । ‘ड्युटीबाट फर्किँदै छु, बसमा छु, भीडभाड छू भनेर उनले फोन राखिन् । मैले सामान्य सम्झेँ ।’साँझमा भेटौँला’ भन्ने समेत मेरो होस पुगेन । छुट्टि बसेको भोलिपल्ट सधैँ त्यस्तै हुन्थ्यो । कामको काम ।
छ बजेसम्मको कार्यालय ख्वै के गर्दागर्दै सात बज्थ्यो । फर्किँदाफर्किँदै कहिले त आठै बज्थ्यो । काठमाण्डौको कहिल्यै नसु”निे यातायातले त्यो साँझ मेरो प्रेम सम्बन्धलाई असर गर्दै थियो । उनले खाना बनाएर पर्खेकी थिईन् भन्नेमा मलाई पूरा विश्वास थियो । तर गजब त यो थियो कि फोनको घण्टी किन बज्दैनथ्यो !
म बल्लतल्ल पुगेँ । सीधा उनैकहाँ गएँ । फोन गरेँ ।
‘गेट खुल्लै छ, ढोका खुल्लै छ, म खुल्लै छु ।’ भनेर उनले फोन राखिन् ।
के भएकी केटी हो ! थाकेको बेला रिसरिस उठ्यो ।
कोठामा पसेँ र ढोका बन्द गरेँ । खाना पकाएको छ कि भनेर हेरेँ शुरूमै । आˆना पेटमा मूसा कुदेका थिए । अहँ, पकाएको रहेनछ । अनि उनीतिर ध्यान गयो । उनी सुतेकी थिईन् र रोए झैँ थिए आँखाहरू । अलिकति सिरक पन्छाएर हेरेँ, एकदम सुनिएका, राता गोलभेँडा जस्ता थिए आँखा । ज्याकेट खोलेँ र घुसि्रएँ उनीतिरै ओछ्यानमा । एउटै सिरकभित्र थियौँ हामी । नभन्दै नग्न थिईन् ।
सधैँ झैँ जिस्किएर काउकुती लगाईदिएँ । अहँ, वास्तै गरिनन् । अनि घाँटीतिर छरिएको कपाल पन्छाएर चुम्बन गरेँ । त्यसपछि पो बल्ल मतिर फर्किईन् र रोईन् । मेरो छातीमा टाँसिएर रोईन् । मैले केही बुझिनँ । सोधेको केही भनेको भए पो त । रोएको रोएकै मात्र अनि । आँसुले लेखेको उनको कहानी मैले बुझिनँ । आखिर हिजो साँझसम्म त केही भएकै थिएन । त्यही हो राति मैले फोन गरिनँ । त्यतिमा यस्तो गर्नु पर्ने त केही थिएन । मैले अनेक भनेर सम्झाउन खोजेँ । अहँ, उनले मानिन् । अन्ततः मलाई निक्कै भोक लागेको, हिजो राति कोठा सरेको धुनमा फोन गर्न बिर्सेको, कार्यालय पुगेपछि फोन पर्खेको जस्ता कुराको बेलीबिस्तार गरेपछि उनी उठ्न खोजिन् । आँसुले भिजेका चिसा गाला मेरो दाह्रीवाला गालामा रगडेर उनी उठिन् । कपडा लगाईन् र खानाको तयारी थालिन् ।
‘के तालकी केटी हो यो !’- मलाई रमरम शंका झैँ लागेर आयो, ‘यसलाई छोपुवा बिमार छ कि क्या हो ! अहिले रून्छे, अहिले ठीक छे । पहिला यस्ती थिईन यो ।’ मनमा निक्कै कुराहरू खेले ।
खाना खाएपछि मैले भनेँ, ‘गएँ ।’
‘कहाँ ?’- उनले सोधिन् ।
ढोकामा पुग्दै मैले भनेँ, ‘सुत्न । कोठामा ।’
‘यो राति… एघार बज्न लाग्यो अब । बौलाएको छ कि क्या हो ! ज्याकेट यहिँ छोडेको छ त ! मन परेन ? कि कलर सुट गरेन रे ?’- उनले भनिन् ।
ए ! कुरा त्यसो पो ! उनले ‘रे’मा दिएको जोडले मैले कुरो बुझेँ ।
म ज्याकेट लिन फर्किएँ । त्यसैबेला रोजीले ढोका बन्द गरिन् र नशालु आँखाले हेरिरहिन् । उनले मजाक गरेजस्तो लाग्यो मलाई । त्यसै बेला आˆनी पि्रयसीलाई त्यस्तो रातमा छोडीजाने वैगुनी सोच्लिन् जस्तो पनि लाग्यो । अनि मैले फटाफट सर्ट र प्यान्ट खोलेँ । सिरकभित्र पसेँ ।
उनले हलुका ट्राउजर लगाईन् । ब्रा खोलिन् र हलुका टिसर्ट लगाईन् । उनले एकदिन भनेकी थिईन्, ‘अप्ठ्यारो लाग्छ मलाई । केहीले बाँधेजस्तो । त्यसैले हलुका कपडा मन पर्छ सुत्दा ।’म चुपचाप उनलाई हेरिरहेको थिएँ । सोच्दै पनि थिएँ, ‘राति अब के-के चैँ गर्ने हो यसले । दिनभरि रोएको निकाल्दी हो मबाट ।’ यस्तैमा उनी पसिन् सिरकभित्र ।
‘बाहिर माया नदेखाए पनि ओछ्यानमा प्रेम गर्न चैँ हजुर जस्तो खप्पीस कोही छैन होला यो संसारमा !’- उनको छातीतिर सलबलाएको मेरो हात च्याप्प समातेर हटाउँदै भनिन् ।
‘अनि अरू के के ? भन त, के-केमा खप्पीस छु ?’- मैले हात फेरि छातीमै पुर्याएर सोधेँ ।
उनी मेरो छातीमा टाँसिईन् र फेरि सुँक्क-सुँक्क गर्न थालिन् । मैले भनेँ, ‘मलाई ग्रे कलरको ज्याकेट सुहाउँछ रे नि !
उनले हतारमा सोधिन्, ‘कसले भन्यो ?’
मैले जिस्किँदै उनको नाक तानिदिएर भनेँ, ‘मेरी प्यारी सानीले । छुच्ची कान्छीले ।’
‘अनि ब्राउन ज्याकेट चैँ असल जेठीले सुहाउँछ भनेकी होला नि । होइन त ?’- उनी जंगिईन् ।
‘हरे ! यो केटीले आज मलाई सुत्न दिन्न ।’- मनमनै सोचेँ । अनि एक मन त यस्तो पनि सोचेँ, ‘रोजीलाई म किन नसुनाऊँ मेरो एउटा विगत ! ब्राउन कलर्ड पास्ट ।’
मेरो सोचलाई चिथोर्दै उनी बोलिन्, ‘भन्नु त । को थियो त्यो ? हजुरले मबाट के लुकाउनु भएको छ ? भन्नु न ।’
म मौन थिएँ अझ पनि । उनीले झर्किएर सोधिन्, ‘किन नबोलेको यो मान्छे ? कि अझै छ त्यो नकचरी ? … म भोलि नै मर्छु । मलाई धोका दिने !’
अब उनी क्वाँक्वाँ रून थालिन् । रातभरि मेरा आँखा जोडिएनन् !
(स्रोत : अनलाईनखबर डट कम)