~सुरेन उप्रेती~
हजुर हाकिम भएर पनि यस्तो । हाम्रो चैं एउटा घर पनि छैन । मुखिया र खर्दार त के त्यो दलबहादुर भन्सारको पिउन अरे । उसको पनि घट्टेकुलामा कस्तो राम्रो दुई तले घर छ । भुइँ तलाको भाडा मात्रै पचास हजार उठ्छ रे । त्यसको पनि पहाड घर त हजुरको सँगै हो अरे नि । श्रीराम पनि त एउटा मुखिया त हो नि । उसका त काठमाडौमा मात्रै तीन ठाउँमा घडेरी छन् अरे । उसका छोराछोरी कहाँ पढ्छन् हजुरलाई थाहा छ ? रातो बंगला स्कूलमा गोराका छोराछोरीसँगै पढ्छन् रे । रातो नम्वर प्लेट भएको प्राइवेट गाडीमा श्रीमती सपिङ गर्न जान्छे । आफ्नो चैं श्रीमान् हाकिम रे । हजुर अधिकृत भएर काम गरेको पनि डेढ दशक पुग्न लाग्यो । कहिलै बढुवा पनि हुँदैन । जहिले पनि बढुवामा मलमास लागेको लाग्यै मात्र छ । हाम्रो चैं बसाइ पनि डेरामा छ। छोरा छोरी पढ्ने पनि सरकारी स्कूलमा । कतै जानु परे थोत्रो खटेरे मोटरसाइकलमा चढ्नुपर्ने । कहिले त्यही पनि स्टार्ट नभएर डारेयाउनुपर्छ । अस्ति के हो त साथीले डिनरका लागि बोलाउँदा कीर्तिपुरको उकालोमा मोटरसाइकल बन्द भएर कस्तो विजोग भएको थियो । धन्न प्राधिकरणको हाकिमले साइड दिएर जान पाइयो । नत्र डिनर न सिनर । छोरी त भोकले कराउन थालिसकेकी थिई ।
कोही चिनेका मानिसले देख्दा पनि शीर नै निहुराएर हिंड्नुपर्ने । एक दिन हैन दुई दिन हैन । मलाई त माइती जान पनि हुँदैन । सबै दिदीबहिनीका लुगा गरगहना हेर्यो भने आफू त माग्ने भएजस्तै लाग्छ । उनीहरूका छोराछोरीहरूका जुत्ता लुगा खेलौना हेर्यो भने लाखौं पर्ने छन् । हाम्रा राष्ट्र र स्वाभिमानी भने अरूका खेलौनाहरू हेरेको हेरै हुन्छन् । अरू केटाकेटीहरूहाम्रा राष्ट्रहरूसँग खेल्न पनि मान्दैनन् । राष्ट्रले कस्तो चित्त दुखाउँदै थियो।
म को हुँ र हजुरका लागि । मैले कति भन्दा पनि लाग्ने हैन । अस्ति त्यो टेण्डरको स्विकृति मात्र गरिदिनु भन्दै दस लाख लिएर ठेकेदार घरमै आएको थियो । कुरो भैंमा खस्न दिया हैन । उल्टै पुलिस लगाएर पक्डाउँ कि जान्छस् भनेर तर्साएर खेद्नेलाई के भन्नु । सधंै इमानदारी हुनुपर्छ । घुस खानु अपराध हो भन्दै आदर्श छाँटेर के गर्नु । आदर्शले पेट भरिंदैन । केटाकेटीको जिउ ढाकिंदैन । घरभाडा तिरिंदैन । देख्दादेख्दै सँगैका साथीभाइहरू करोडपति भैसकै । हजुरका आदर्श भाँडमा जाए ।
सुन्दासुन्दा दिक्कै लागेछ क्यारे । विजय जुरुक्क उठ्यो । के तिमीले मलाई चोर बन्नु भनेको हो । अरूले चोरे भनेर म पनि चोर बनौं । चोरेर, लुटेर ल्याएर म घर, गाडी किनौं । म मेरा छोराछोरीलाई चोरेको धन र अनैतिक कामबाट कमाएको पैसाबाट बोर्डिङमा पढाऊँ ? देशलाई लुटेर म तिम्रा लागि साडी र गहना किनौं? हेर एकदिन न एकदिन राज्य दोहन गरेर सम्पति थुपार्नेहरूले त्यसको मूल्य चुकाउनुपर्नेछ । त्यसबेला मात्र तिमीले मेरो इमान्दारीताको महत्व बुझ्ने छ्यौ । मेरो सरल जीवन र आदर्शको अर्थ तिमीलाई थाहा हुनेछ । चोरी गरेर लुटेर ल्याएको सम्पतिले कहिलै पनि चयन हुँदैन । अरूलाई ढाँट्न सके पनि तिमी आफैंलाई त ढाँट्न सक्दिनौ नि । मलाई अनैतिक रूपमा कमाएको सम्पतिले ऐश्वर्य लुट्नु छैन । बहुसंख्यक नेपालीहरूभन्दा भिन्दै भएर पूँजीपति साहु या संभ्रान्त वर्गमा दरिनु छैन । आफूलाई अरू सर्वसाधारण नेपालीहरूसँग तुलना गरे र त हेर । आफूलाई सुखी राख्ने हो भने मानिसमा सन्तोष हुनु पर्दछ । “सन्तोषम् परं सुखम्” । हामी कति सुखी छौं । हाम्रा राष्ट्र र स्वभिमानी कति सुखी छन् । उनीहरू अरू केटाकेटीझैं भोकभोकै काममा दौडनु परेको छैन । आज लाखौं बालवालिकाहरू शिक्षाबाट वन्चित छन् । हाम्रा छोराछोरीहरू पेटभरि खाएर स्कुल जान्छन् । अझ दिउँसाका लागि भनेर लंच र खाजाहरू खाएर पढ्न पाएका छन् । देशको राजधानीमा बसेका छन् । कुनै डर त्रास छैन सुरक्षित छन् । कुनै हिंसाहरू झेल्नु परेको छैन । अरू पहाड हिमाल र तराईका लाखौं वालबालिकाहरूलाई हेर त ! कस्तो छ उनीहरूको हालत् । सबै कुरालाई सकारात्मक आँखाले हेर्ने गर्नुपर्छ । अनि पो संसार सुन्दर देखिन्छ । सबै वस्तुहरू सुन्दर लाग्दछन् । विजयले आफ्नो आक्रोश पोख्यो ।
विजयका कुराले खै उसकी श्रीमतिलाई छोयो की छोएन । तर सात दिन सम्म घर मौन रह्यो । धन सम्पति र अभाबका गुनाशाहरूघरमा उठेनन् । सम्पति, घर, जग्गाका, गाडी र गर्गहनाका चर्चाहरूपनि चलेनन् । दुबैले छोरा छोरीहरूसँग समय विताए । शनिवारको दिन चारै जना केवलकार चढेर चन्द्रागिरी गए । दिन भर उतै घुमघमा गरे । दिन वितेको पनि पत्तै भएन । छोरा राष्ट्र र छोरी श्वभिमानी पनि बा आमा सँग घुमघमा गरेर दिन विताउन पाएकोमा खुशि भए ।
आईतबार देखि फेरि विजयको व्यस्त दिनचर्या शुरूभयो । केटाकेटीहरूपनि स्कुलमा व्यस्त हुन थाले । ठिक अर्को हप्ताको शुक्रवारको साँझ खाना खाएर केटाकेटी टिभी हेर्न थालेका थिए । फेरी उर्वसीले हजुरको तलबले घरभाडा, खाना पकाउने ग्याँस, दाल, चामल, तरकारी, लुगा कपडा, केटाकेटीको स्कुलको खर्च गरेर एक पैसा बाँच्ने हैन । विरामी पर्यो भने अस्पताल लाने खर्च पनि हुँदैन । बरूविदेश तिर गयो भने त पैसा पनि कमिन्थ्यो । छोरा छोरीको पढाइ पनि राम्रो हुने थियो भन्दै नयाँ बाटो निकालिन । हैन यो विदेश जाने भूत चैं कसले चढायो तिमीलाई हँ । हामी जन्मिए देखि पढेको काम गरेको देशमा त यस्तो कठिन छ । त्यो चिन्दै न चिनेको ठाउँ । त्यसमा पनि भाषा मिल्दैन । अब फेरी पढ्न थाल्नलाई पनि आधा उमेरबाट उकालो लागे पछी सजिलो छैन । छोरा छोरी पढाउने की आफु पढ्ने । आफ्नो देश भनेको आफ्नै देश हो । काँही पनि जाने कुरा नगर । छोरा छोरीलाई पढाउने । जागिरमा पेन्सन भए पछी पहाड घरमा गएर बसौंला । घर खेत छँदैछ । के को रुवावासी ।
उर्वसी अलि जिद्दी श्वभावकी छन् । कुनै कुरामा लागे पछी हत्त पत्त उनको हठले छुट्कारा दिंदैन । उर्वशीले दिन दिनै उही विदेश जाने कुरा घरमा गुन्जाइ रहिन् । सबै साथिहरुले फारम भरी सके । फारम भर्दा मात्रै त केही हुँदैन नी । के थाहा र । फ्याट्ट भिसालागि पो हाल्छकी । देशमा न शान्ति सुव्यवस्था छ । जहिलै बन्द र हड्ताल । नारा जुलुश । धुँवा धुलो । ग्याँस नपाइने । चन्दा आतंक कति दिन बस्नु यसरी उर्वसीले बह पोखिन् । सबै मानिसहरूजसरी बसेका छन् त्यसै गरी बस्ने नी ! विजयले ठाडै प्रतिकार गर्यो । हामीलाई मात्रै हो र बन्द हड्ताल । एक दिन त सबै मिलिहाल्छनी ।
विदशको नाम सुन्न नमान्ने विजयलाई दिन दिनैका उर्वसीका कुराले आ जेहोस् फर्मचैं भरी राखौंन त भन्ने लाग्यो । क्यानडाको परमानेण्ट रेसिडेन्सकालागि भिसा खुलेको थियो । सबै प्रमाणहरूजुटाएर फर्म भर्यो । समय वित्दै थियो । विजयको जागिरमा बढुवा भयो । उ उपसचिवमा पदोन्नति भएको खवरले साथिभाइ घरतिर शसुराली तिर सबै ठाउँमा चर्चा पायो । विजय इमान्दार लगनशिल र मेहनति थियो । उसलाई चिन्नेहरूजति सबैले प्रशंसा गरे । बधाईका सन्देशहरूपठाए । फेसबुकको भित्तो बधाईले रंगियो । उर्वसीलाई पनि फोनमा बधाई थाप्न भ्याइ नभ्याइ भयो ।
शरद ऋतुको आगमनसँगै आकाश सफा भएको थियो । निलो आकाशमा कतै बादलका काला धब्बाहरू थिएनन् । विजयलाई मन पर्ने शरद ऋतु नै हो । कतै हिलो पानी झरी नहुने । मुख्य चाडपर्वहरू पनि यही ऋतुमा पर्ने भएकाले औधी रमाइलो लाग्छ । किसानहरू पनि धानका बाला झुलेको खेतमा आँखा विछ्याएर रमाउँछन् । धान थन्क्याएको दिन ओस्कार विजेता सिने कलाकारभन्दा कम खुशी हुँदैनन् किसानहरू। मानिसहरू फुर्सद पाउनासाथ चंगा बोकेर चौरीमा भेला हुन्छन् । चंगालाई आकाश चुमाउने र अरूका चंगालाई चेट गराउनेको होड चल्छ । विजयलाई आज शरीरमा बेग्लै फूर्ति, जोश र जाँगर आएको छ । थाहा छैन के हो भन्ने । त्यसै उडौंउडौंझैं लागेको छ । सायद यही सुन्दर मौसमले होला ।
विजयको प्रतिक्षा गर्दै उर्वसी बाटो तिर आँखा बिछ्याएर बसिरहेकी छे । उसका हातमा क्यानडाको भिसालागेका चारवटा पासपोर्टहरूछन् । ती सबै पासपोर्टहरुलाई उर्वशीले धेरै पटक हेरी सकेकी छ । घरभित्र पस्ने वित्तिकै विजयलाई गम्लङग अंगालो मार्छे । उर्वसीको खुशीको राज थाहा नपाएको विजय उर्वसीको ताल देखेर छक्क पर्छ । हैन के भएको छ तिमीलाई आज । उर्वसी केही नवोली विजयका गालामा निधारमा जतापायो उतै म्वाइ खान्छे । ल हेर्नु होस् । हाम्रो क्यानडा जाने भिसा लाग्यो नी भन्दै विजयलाई बोकेर उचाल्न खोज्छे । हैट के गरेको । छोडन झण्डै लडेको । जता हेरे पनि बाबुआमाको दुख बार्दा सेतो बस्त्रलगाएर बसेका मानिसहरूझैँ हिंउले सेतै छोपिएका रुखहरूछन् । भूँइलाई पनि हिंउले ढाकेको छ । नेपालबाट ल्याएका बाक्ला भनेका लुगाहरुको पनि क्यानडाको जाडोले सातो खाएर चिसा हुन्छन् । अपार्टमेण्टको भाडा सुन्दा त विहोसै हुने छ । एक महिनाको भाडामात्रै एकलाख विसहजार रे । कोठाका लागि चाहिने भाँडाकुँडाहरूत धन्न नेपालबाटै ल्याएको थियो । तर तीनवटा खाट र म्याट्रेसको मात्र दुईलाख पचास हजार पर्यो । नेपालबाट कत्तिन धेरै भनेर बोकेको बिसलाखले त दुई तीन महिना भन्दा धान्छ जस्तो छैन ।
विजय उसकी श्रीमति उर्वसी जस्तो मनमा लागेको कुरा व्यक्त गरिहाल्ने श्वभाबको छैन । अलि बढी अन्तर्मुखी श्वभावको छ । नेपालमा हुँदा जे जस्तो भए पनि नियमित रुपमा आउने आयश्रोत थियो । हरेक महिनाको अन्त्यमा तलब आउँथ्यो । त्यसले खानलाउन पुगेकै थियो । छर छिमेक टोल र अफिसका सबै मानिसहरुले नमस्कार गर्थे । अरूकेहि नभए पनि सम्मान दिन्थे । कम्यूनिटी सेण्टरमा गएर रेजुमे बनाउँदा देखि जागिर खोज्दा र अन्तर्वार्ताहरूदिंदा समेत सँधै उसका मनमा तीनै कुराहरूखेली रहन्थे । अरूनेपाली महिलाहरूसँगै लागेर उर्वसीले च्याउ फ्याक्ट्रिमा काम पाइन । हाकिम्नी साब भएर बसेकी उर्वसी पहिलो दिनमै चिसाले जीउ दुख्यो । निहुरीएर काम गर्दा घाँटी, पातापाखुरा र कम्मर दुख्यो भन्दै आएकी थिइन ।
विजयलाई पनि एउटा पन्जावी ठेक्केदारले मोटरपार्टस कारखानामा कमिशन खाएर काममा लगाइ दियो । तर त्यो कारखानामा बनेर आएका पार्टसलाई छिटो छिटो छानेर लगाउँन नसक्दा जागिर दिन भरी पनि रहेन । अर्को दिन चिनेको नेपालीले भनसुन गर्दा फास्टफुडको पशलमा जागिर पायो । जागिरको पहिलो दिन नै भूँइ पुछ्ने । कस्टमरले खाएका टेवुल सफा गर्नु पर्ने । ट्वाइलेट सफा गर्नु पर्ने कामबाट जागिर आरम्भ भयो । उसले अफिसका रवीलाल र राजमतिलाई सम्झ्यो । आँखाबाट अव्यक्त पिडाहरूतप तप गरेर गालामा ओर्लिए । वाथरुम भित्र गएर ती पीडाहरुलाई पुछ्यो । उसले गरेको काम ढिला भएछ क्यारे । मेनेजर आएर ए म्यान यू आर लेट । पिपलस् आर वेटिङ फर टेवल भन्यो । कसैले पनि नचिनुन् भनेर ह्याटलाई अझ अगाडि झुकायो । गह्रुंगा पाइला घिसार्दै गएर टेवुल पुच्छ्यो ।
आठ घण्टा सम्म उभिएर काम गर्दा उसका खुट्टा सुन्निए । टाउको रनक्क भएर दुख्यो । ज्वरोआयो । जीउ भत्भती पोल्यो । तर त्यो भन्दा बढी उसको मन दुख्यो । अभिमान र श्वभिमान दुख्यो । आफुलाई सडकमा भीखको याचना गर्दै घिस्रिए जस्तो लाग्यो । जीवनमा कहिलै पनि यस्तो कल्पना गरेको थिएन । उसलाई ठूलो भूमरीमा परे जस्तो लाग्यो । रात भरी निदाउन पनि सकेन । कोल्टेफेर्दै रात गुजार्यो । दिनभरी च्याउ फेक्ट्रिमा काम गरेर आएकी श्रीमति थकानले गर्दा स्वाँ स्वाँ गर्दै निदाएकी थिइन । छोरा छोरीहरूपनि आआफ्नै कोठामा निदाइ रहेका थिए । उठेर दुई ग्लास चिसो पानी पियो । उसलाई रात पनि सारै लामो लाग्यो । उसलाई सात बजे फेरी काममा पुग्नु पर्ने थियो । तर उ जान सक्ने अवस्थामा थिएन । पाँचबजे तिर काममा फोन गरेर म विरामी भएँ । आउन सक्दिन भन्यो ।
हिंजो सम्म शारिरिक श्रम पटक्कै गरिएन । गर्ने समय नै आएन । आज जीवनको उत्तरार्धमा आएर । उसका आँखाबाट फेरी राप्ती र भेरी झर्न थाले । । सानो छँदा उसले केही काम गर्नु परेको थिएन । उनीहरुको परिवार गाउँमा राम्रै परिवारमा गनिन्थ्यो । गाई बस्तु हेर्ने घाँस काट्ने सहयोगीहरूघरमै थिए । ऊ छोरा छोरी मध्धेको कान्छो । घरमा केही काम गर्नु परे पनि दाजु दिदीहरुले गर्थे । उसलाई आमाले पनि कान्छो घरमै बस्छ । मलाई काम सगाउँछ । पढ्नु छ रे कान्छाको भन्थिन् । हाइस्कुलको पढाइ सके पछी पनि क्याम्पस पढ्न शहर आयो । होटलमै खाना खान्थ्यो । खाना पकाउन पनि जानेको थिएन । अरूकामको त के कुरा । लुगा धुन पनि शहर पसे पछी मात्रै जानेको हो । पढाई सक्ना साथ जागिर शुरूगर्यो । विवाह भयो । कहिलै अरूकाम गर्ने मौकै परेन । खुइ्य गरेर अर्कोतिर फर्कियो । शरिरका सबै अंगहरूदुखेका थिए । नशा नशा दुख्दै थिए ।
विजयले एउटा चिनेको नेपालीलाई फोन गरेर कामका बारेमा कुरा गर्यो । उनी इन्डियन रेष्टुरेण्टमा काम गर्थे । म आज बुझेर आउँछु । भोली एक पटक फोन गर्नु नी भने । श्रीमति बिहानै काममा गइसकेकी थिइन । विस्तारै उठेर छोराछोरीलाई ब्रेकफास्ट र लन्च बनाइ दियो । उनीहरुलाई स्कुल पठायो । मन नलागी नलागी एक कप चिया पकायो । एक स्लाइस पाउरोटीमा पिनटबटर दलेर चिया सँगै खायो । हातको घडी हेर्यो । कती चाँडै नौबजी सकेछ । भन्दै लुगा फेरेर कम्यूनिटी सेन्टर तर्फ लाग्यो । कम्यूनिटी सेन्टरमा फोन गर्न कम्प्यूट चलाउन प्रिण्ट गर्न र फ्याक्स गर्न सित्तैमा पाइने हुनाले प्रायश दिन भरी जस्तो त्यहीँ गएर विताउँथ्यो । त्यहाँ काम खोज्न र रेजुमे बनाउन सिकाउछन् । अन्लाइनबाट नेपाली पत्रिकाहरूपढ्न पनि पाइन्छ । त्यहाँ गएर कम्प्यूटरमा हेर्न थाले पछी दिन ढलेको पत्तै नहुने । उसको दिन चर्या नै बनी सकेको थियो
भोलीपल्ट विहानै फेरी अघिल्लो दिन कुरा भएका नेपालीलाई फोन गर्यो । उनले तयार भएर बस्नु म लिन आउँछु भने । गाडिमा जाँदै गर्दा ती नेपालीले विजयलाई भने हेर्नु होस् प्रदेशमा गाह्रो हुन्छ । विस्तारै बानी पर्दै जान्छ। काम भनेको ठूलो सानो हुँदैन । हामीले पैसाका लागि त काम गर्ने हो नी । एउटा रेष्टुरेण्टलाई डिसवासर चाहिएको रहेछ । आखिरी हातले गर्नु पर्दैन । सबै मेशिनले धुने त हो नी । मेरो मान्छे छ भन्दा ले न त भनेको छ । भाँडा माज्ने भने पछी विजयको जीउ फेरी गह्रौगो बन्यो । के म सक्छु होला र प्रश्न गर्यो । मान्छेले गरेको काम के छ र । सकिहाल्नु हुन्छ नी ढाडस दिए । शाहु बंगाली रहेछ । शाहु सँग भेट भयो । शाहुले काम गर्न सक्छौ भनेर सोध्यो । सक्छु भन्ने जवाफ दियो । ल यसलाई काम सिकाइ दिनु भनेर अर्को मान्छेलाई देखाइ दियो । उसले विजयलाई बेसमेण्टमा लिएर गयो । त्यँहा त ठूलो किचेन रहेछ । सबै हिंड्न मिल्ने ठूलो फ्रिज रहेछ । उसले कहिले नदेखेको भाँडा धुने ठूलो डिसवासर रहेछ । त्यस डिसवासरका छेउमा जुठा प्लेटका उ भन्दा अग्लो चाँङ थिए। प्लेटसफा गर्न र सफा भए पछी डिसवासरमा लगाएर चलाउन सिकाइ दियो । डिसवासरबाट ताता प्लेट निकाल्दा अगेनामा पोल्दै गरेको हरियो मकै निकाले याद आयो । विजयका झण्डै हात डढेका । यो लगाउनु भनेर नजिकै काम गर्दै गरेको सेफ नुरभाइले पँहेला पन्जा दियो । सफा भएका प्लेटलाई फेरि ट्रेमाहालेर माथिल्लो तलामा लानु पर्ने । माथिबाट जुठा प्लेट भरेको ट्रेलाई तल लिएर आउनु पर्ने । निहुरिएर प्लेटले भरिएको ट्रे उचाल्दा जुठा प्लेटको ट्रेले विजयलाई नै तलै तान्दथ्यो । सेरामीक प्लेटको फूलट्रे बोक्दा उसको कम्मरै भाँचिएला जस्तो भयो । उ तल आइ पुग्दा फेरी जुठाप्लेटले हिमाल झै भएर चुलिएका हुन्थे। उसको शरिर पशिनाले निथ्रुक्क भयो । उसले काम गर्दा लगाएका लुगा एप्रोन सबै भिजेका थिए । सबै काम सकेर सफाई गर्दा रातको बाह्र बज्यो । रेष्ट्रुरेण्टको किचेनमा काम गर्ने सबैले खाना बनाएर खाए । उसलाई पनि खा भने तर उसले खाएन । अलिकति म्याङ्गो जुस पियो ।
उसलाई कती खेर घरमा पुग्नु र डङरङग लड्नु जस्तो भएको थियो । अब कसरी कोठामा जाने भन्ने पनि थाहा थिएन । दिंउशो त राइड पाएर आएको थियो । उसले त्यहाँको हेडसेफ नूरभाइलाई भन्यो । नूरभाइले जीपियस लगाएर विजयलाई कोठामा पुर्याइ दियो । विजय त गाडिमा चढ्ने साथै निधाएको रहेछ । घरमा पुगेर उठ भन्दा पो झसंग भयो । बेडरुममा पनि गएन । बैठकको शोफामा बसेको थियो त्यहीँ निदाएछ । विहान उर्वसी आएर वोलाउँदा मात्र थाहा भयो । टाउको झट्झट गरेर दुखेको थियो । जिउ दिन भरी हिलोमाटोमा काम गरेर थाके जस्तै भएको थियो । घिस्रिंदै गएर भित्र ओछ्यानमा पल्टियो । बिैउझँदा वेलुकाको पाँच बजेको रहेछ । काममा आउन सक्दिन भनेर खवर पनि गर्न सकेन ।अझै पनि जीउ उठ्दैन थियो । महिनौं सम्म विरामी भएर सुतेको जस्तो भएको थियो । विस्तारै छोरीलाई वोलाएर खाना बसाउन अह्रायो । दुई दिन सम्म कतै हिंडडुल गर्न पनि सकेन । अब कसलाई भन्नु । भन्ने जति सबैलाई भनी सक्यो । गर्ने काम पनि सबै गरी सक्यो । चार दिन पछी एउटा साथिले क्लिनिङको काम छ भने । उसलाई त्यो काम सुन्दै राम्रो लागेन ।
सबै आआफ्नै रुटिनमा चल्नु पर्ने । छोरा राष्ट्र र छोरी श्वभिमानी पनि उनीहरुकै समयतालिकामा व्यस्त हुन्थे । आमा बुबा नहुँदा खाजा र खाना बनाएर खान्थे । स्कूल नजिकै भएकोले जान आउन समस्या थिएन । उर्वशीको काममा जाने आउने गाडि घर सम्मै आउँथ्यो । विजय र उर्वशीको पनि कुराकानी नभएको हप्तौ भइसकेको थियो । दुबै थकित भएर घर आइ पुग्थे । खानपिन गरेर फेरी भोलीको लागि तयार हुन्थे । यसरी नै दिन चर्या वितेका थिए । कहिले काँही भेट नै हुँदैन थियो । विजयको मन नेपालमै हुँन्थ्यो । प्रत्येक रात निन्द्रामा पनि अफिसमा सक्नु पर्ने काम बाँकी भएका मा उसलाई चिन्ता हुन्थ्यो । कहिलेकाँही मध्यरातमा उठेर स्टाफहरुलाई के के भनिरहेको हुन्थ्यो । कती पटक उर्वशीले बिँउझाएर तपाई क्यानडामा हुनु हुन्छ भनेर झक्झकाउनु पर्थ्यो ।
क्यानडा आएको पनि छ महिना भइसकेको थियो। उसले कामका लागि धेरै प्रयाशहरूगरी सकेको थियो । सेकुरिटीको तालिम पाँचसय डलर तिरेर गर्यो । तालिम लिए पछी कामको ग्यारेण्टी भन्थे । लाइसेन्स लिनलाई पनि कुनै कम्पनिले नियूक्ती दिए पछीमात्र पाँइदो रहेछ । धेरै ठाउँमा निवेदन दियो । धरैलाई भनसुन गर्यो । अँह कसैले पनि वोलाएनन् । काम नपाए पछी घरमा बस्ताबस्तै दिक्क भएको थियो । घरमा पनि मुख छोपेर सुती रहन्थ्यो । खान पनि मन गर्दैन थियो । एकहोरो भएर टोलाई रहन्थ्यो । सबै व्यस्त हुनाले सोधखोज पनि भएन । बुधवारको दिन तीनबजे तिर घरबाट निस्किएको थियो । घरमा आएन । काममा गएका होलान् भनेर खोजी पनि भएन। विहिवार शुक्रवार पनि आएन । छोरीले उर्वशीलाई सोधी । मामु बाबा कता जानु भएछ । दुई तीन दिन भयो देखेकै छैन । उर्वशीले काममा जानु भयो होलानी भनेर सामान्य उत्तर दिइन। राष्ट्रले पनि खै मैले पनि बाबालाई नदेखेको तीन दिन भै सक्यो भन्यो ।
शनिवारको दिन थियो । दिन बादल लागेर धुम्म भएको थियो । पानी पर्ला जस्तो भए पनि पानी पर्न सकेको थिएन । चिसो दिन भएकाले सबै ढिलासम्म सुते । उर्वशीले नौबजेतिर उठेर ब्रेकफास्ट बनाइन । छोरी र उर्वशीले ब्रेकफास्ट खाए । छोरा सुतिरहेकै थियो । ल तिमी र म ग्रोसरी गरेर आउँ । दुध पाउरोटी तरकारी फलफूल सबै सकिएको छ । तिमीहरुले स्कुल लाने दही र जुश पनि सिद्धिएछ । मेट्रोमा गएर किन्ने भन्दै दुबै निस्किए । बस स्टपका छेउमा निशुल्क पाइने पत्रिकाहरू राखेका हुन्थै । छोरीले एउटा पत्रिका निकाली र पल्टाउन थाली । दोश्रो पानामा एउटा समाचार थियो । त्यसले उसका आँखालाई ताने । उ उभिएर समाचार पढ्न थाली । उर्वशी निकै पर पुगेकी थिइन । छिटो आइज भन्दै फर्किएर बोलाईन् । छोरी डाक्को छोडेर रोएको देखेर उर्वशीले के भयो भन्दै दौडिंदै गएर समाईन । छोरी हाम्रो बाबा मात्र भनेर भूँईमा ढली । उर्वशीले पत्रिकामा आँखा दौडाइन । विजयको शरिर बिचसडकमा झरेको थियो । तीनचार वटा पुलिसका गाडीहरू दमकल र एम्बुलेन्सहरुले बाटो छेकेका थिए । समाचारको हेडलाईनमा द अन्नोन म्यान जम्प्ड फ्रम द ब्रिज लेखिएको थियो ।
(स्रोत : नागरिक – शनिबार)