~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~
सिकारी युगको कुरा हो । पेङदार्जे जङ्गल घुम्दै खेल्ने गर्दथ्यो । उसको जीवन यसरी ने बितिरहेको थियो । कहिले सिकार फेला पर्थ्यो भने कहिले त्यत्तिकै फर्कनु परेको उसले बिर्सेको थिएन । यसै बीच एक युवतीसँग उसको प्रेम भयो । एक दिन सिकार खेल्दै जाँदा डाँफेचरीले आफ्नी प्रेमिकालाई नाच्दैनाच्दै फकाएको दृश्य एकोहोरिएर हेर्न थाल्यो । यत्तिकैमा उसको ध्यान भङ्ग भयो । एक्कासि उसको सामुन्ने एउटा घोरल देखा पर्यो। उसले त्यसलाई धनुषबाणले हानेर मार्र्यो ।
घोरलको मासु उसले मीठो मानी-मानी पोलेर खान थाल्यो । उसको जीवन खाँदै-घुम्दै जङ्गलमा बित्दै थियो । केही दिनपछि घोरलको छाला घामले सुक्यो । त्यसमा हान्दा मीठो आवाज आयो । अनि उसले सोही छालाबाट एउटा बाजा बनाउने निधो गर्यो । पेङदोर्जेले कोइरालाको रूख काटेर गोलो फ्रेम बनायो । त्यसमा छाला टाँगी बाँसको बत्तीस वटा किला ठोक्यो । त्यसलाई बजाउँदै रमेर सेलो गीत गाउँदै नृत्य गर्न थाल्यो ।
यसरी समय बित्दै गएको पत्तै भएन ।उता पेङदोर्जेकी प्रेमिका धेरै दिनदेखि आफ्नो प्रेमीसँग नभेटेकाले व्याकुल थिई । ऊ पेङदोर्जेलाई भेट्न जङ्गल पुगी । प्रेमिकाले पेङदोर्जेलाई परैबाट सेलो गाउँदै र बाजा बनाउँदै नाचेको देखी । आफू पनि पेङदोर्जेकै तालमा ताल मिलाएर रनवन धन्काउने गरी नाच्दै गाउन थाली ।
यसै घटनाका आधारमा पेङदोर्जे (ब्योनदोर्जे) द्वारा लोकप्रिय डम्फू बाजाको निर्माण भएको हो भन्ने विश्वास गरिन्छ ।
पुस्तकमा तामाङ समुदायमा प्रचलित ६२ वटा लोककथाहरु संकलित छन । यसमा सामाजिक कथा २२ वटा, ऐतिहासिक कथा ११ र धार्मिक कथा २९ वटा समावेश छन ।
(स्रोत : रत्न पुस्तक भण्डारद्वारा प्रकाशित “तामाङ लोककथा संगालो”बाट सभार)