~ओ. हेन्री~
अनुवाद : सरिता तामाङ
ओ हेनरी- एक डलर र सतासी सेन्ट। सबै गन्दा जम्मा तेति थियो । र साठी सेन्ट चाहिँ पेनीमा थियो, टन्नै खुजुरा । किराना पसले, तरकारी पसले र कैलेकाहिँ कसाईलाई दिक्कै लागुन्जेल मोलभाउ गर्दा-गर्दा “कति कन्जुस!” भन्ने मौन अभियोग धेरै पटक खपेर पाइपाइ गरि जम्मा गरिएका पेनीहरू। तिनपटकसम्म डेलाले त्यो पैसा गनी, जति गने पनी एक डलर सतासी सेन्टभन्दा बढेन। भोलिपल्ट क्रिसमसको उत्सव थियो।
खासै गर्नुपर्ने काम केही थिएन। डेला दिक्क मान्दै जिर्ण भइसकेको सानो सोफामाथि भ्यात्त बसी र रोई। जीवन रोदनहरू, मुस्कानहरू र अझ प्रचुर मात्रामा स्याँकस्याँक सुँकसुँकहरू मिलेर बनेको हुँदोरहेछ । डेला सुँक्क सुँक्क गर्दै रोई ।
डेला थोरै रुन कम गरेर सोच्दै थिई । थोरै आधारभूत सामानहरू मात्र भएको साँघुरो घर, प्रतिहप्ता आठ डलरको किराया। आठ डलर धेरै महंगो किराया त होइन तर उसको आम्दानीको दाँजोमा महंगो हुन्थ्यो ।
घरको बाहिरी ढोकाबाट पस्ने बित्तिकै कहिले कुनै चिट्ठी नपसेको निकै सानो लेटर-बक्स देखिन्थ्यो, त्यहिँनेर एउटा बिग्रिसकेको बिजुलीजडित बटन थियो जसबाट कसैले एक घन्टी बजाउन सकेको थिएन। यसका साथै, छेवैमा एउटा कार्डमा नाम लेखिएको थियो – “श्री जेम्स डिलिङ्गहम योङ” ।
अलि अघि जब जेम्स डिलिङ्गहमले हप्ताको तीस डलर कमाउँथ्यो, त्यतिबेला खुब रहर गरेर उसैले त्यो कार्ड टाँसेको थियो। अहिले उसको आम्दानी घटेर प्रतिहप्ता बीस डलर पुगेकोले उनीहरु “डिलिङ्गहम” लाई छोट्याएर अलि मामुली र सरल “डि” मात्र बनाउने हो कि भनेर केही दिन यता सल्लाह गर्न थालेका थिए । आजकल उनीहरूलाई “डिलिङ्गहम” निकै रवाफिलो र लामो भएकोले नसुहाउने लाग्न थालेको थियो। तर जब जेम्स डिलिङ्गहम योङ कामबाट फर्केर घरभित्र पस्थ्यो, सधैं माथिबाट उसकी श्रीमती डेला उसलाई “जिम” भनेर पुकार्दै आउँथी र मायाले अंगालोमा बेर्थी । उनीहरू एकअर्कासँग एकदम खुशी थिए।
डेलाले रोइसकेर आँसुका धब्बाहरू पुछी । झ्यालनेर उभिएर एकटकले बाहिर हेरिरही । भोलिपल्ट क्रिसमस डे, उसँग जिमलाई उपहार किनिदिन जम्मा एक डलर सतासी सेन्ट मात्र थियो। यति पैसा बचाउनलाई उसले महिनौँ लगाएकी थिई । हप्ताको बीस डलर खर्च चलाउनलाई अपुग हुन्थ्यो । उसले हिसाब गरेभन्दा बढी नै खर्च हुन्थ्यो । खर्च सधैँ अपेक्षा गरेभन्दा बढी नै हुनेरहेछ । मात्र एक डलर सतासी सेन्ट उसको जिमलाई उपहार किनिदिनको लागि । उसले जिमको लागि एउटा राम्रो उपहारको योजनामा धेरै सुखद पलहरू गुजारेकी थिई। कुनै सुन्दर र दुर्लभ अनि असली — जिमको स्वामित्वमा रहन थोरै भएपनि योग्य बस्तु उसले चाहेकी थिई ।
झ्यालहरूको बिचमा एउटा लामो, साँघुरो सिसा थियो, पुरै शरिरको प्रतिबिम्ब पनि नअटाउने । एकपटकमा शरिरको थोरै भाग मात्र देख्न सकिन्थ्यो । पातलो मान्छेले चाहिँ दुईतिन पटक छिटोछिटो घुमेर हेर्दा पूरा शरीर देख्न सक्थ्यो । डेला पातली अनि छरीती भएकीले सो कलामा पारंगत थिई ।
डेला एक्कासी झ्यालबाट त्यो सिसातिर आई । उसको आँखा चम्किलो तर अनुहारको रङ उडेको थियो । हत्तपत्त कपाल खोलेर पुरै लम्बाईसम्म झर्न दिई । ओ हेनरी
अहिले योङ दम्पतीको स्वामित्वमा मात्र दुई चिज थिए जसलाई लिएर उनीहरू बहुतै गर्व गर्थे। एउटा, जिमको हजुरबुबाको पालादेखिको पुर्ख्यौली घडी र अर्को, डेलाको कपाल । यदि सेबाकी महारानी त्यहाँ आइदिएकी भए उनको बहुमुल्य गहना र सौन्दर्यलाई तुच्छ सावित गर्न भएपनि डेलाले कपाल झ्यालबाहिर फिँजाएर सुकाउने थिई । राजा सुलेमान यदि खजानाको थाक लगाएर जिमको अगाडि उभिँदा हुन् त उनलाई डाहा होस् भनेर जिमले आफ्नो पुर्ख्यौली घडी गोजीबाट झिकेर देखाइदिने थियो । उनीहरू ती दुई चिजलाई उधुमै माया गर्थे।
डेलाले कपाल छोडी । बाक्लो चम्किलो कपाल लहराउँदै घुँडा मुनिसम्म पुग्यो, लगभग कपडा जत्तिकै बन्यो ।
उसले हतास हुँदै हतारहतार कपाल बाँधी । एकचोटी लरखराएजस्तो गरि हिँडी र ठिङ्ग उभिई , एकदुइ थोपा आँसु फाटेको कार्पेटमा खसे।
पुरानो ज्याकेट, पुरानो ह्याट लगाएर डेला हिँडी । स्कर्ट घुमाउँदै आँखामा शानदार चमक बोकेर ऊ ढोकाबाट निस्किइ र सिढी ओर्लँदै गल्लीतिर लागी ।
जहाँ ऊ रोकिई त्यहाँ एउटा बोर्डमा लेखिएको थियो : “सफ्रोनी इन्टरप्राइजेज। यहाँ कपालको लागि सबै प्रकारका सामानहरू पाइन्छ।”
डेला एकै सासमा दोडिई, स्याँस्याँ- फ्याँफ्याँ गर्दै पसलभित्र पसी र हेरी । एकजना मोटी, धेरै सेती, रुखो स्वभावकी र कतैबाट पनि “सफ्रोनी” जस्ती नलाग्ने महिला त्यहाँ बसिरहेकी थिई ।
“मेरो कपाल किन्नुहुन्छ?” डेलाले सोधी ।
“म कपाल किन्छु,” पसलनीले भनी । “तपाईको ह्याट निकाल्नुस्, एकचोटी हेरौँ कस्तो कपाल रहेछ।”
“बीस डलर,” अनुभवी हातले कपाल उचाल्दै पसलनी बोली ।
“ल काट्नुहोस् र चाडोँ पैसा दिनुहोस्,” डेलाले भनी । ओ हेनरी
पैसा लिइसकेर गुलाबी पंखहरूसँग उडे झैँ डेला उडी । पसल-पसल चहारेर सबै सामान खोतल्दै उसले जिमको लागि उपहार खोजी ।
अन्तिममा उसले खोजेजस्तै चिज फेला पारी । यो पक्कै पनि जिमकै लागि बनाइएको थियो । अरु कुनै पसलमा योजस्तो चिज थिएन, उसले सबै खोतलेर एकएक सामान खोजेकी थिई । सादा र शुद्ध डिजाइनको छोटो प्लटिनम चेन,यसको बाहिरी सजावट पनि राम्रो थियो । तर यसमा प्रयोग भएको तत्व एक्लैले यसलाई बहुमुल्य बनाएको थियो । अझ जिमको घडीको लागि पनि योग्य थियो । जब डेलाले त्यो चेन देखी उसले त्यो जिमको बन्नैपर्छ भन्ने सोची । पसलेले त्यो चेनको एक्काईस डलर लियो, र बाँकी रहेको सतासी सेन्ट लिएर डेला हतारिँदै घरतर्फ आई । त्यो चेनसँग घडी बोकेर हिँड्दा जिम जुनसुकै ठाउँमा पनि समय हेर्न कति उत्सुक हुन्छ होला ! जिम कैलेकाहिँ आफ्नो घडीको पुरानो छालाको पट्टी अरुले देख्लान् कि भनेर लुकाएर हेर्ने गर्थ्यो । अब त्यो पट्टीको ठाउँमा यो सुन्दर चेन राखिनेछ, जिमको रवाफ नै बेग्लै हुनेछ । यस्तै कुराहरू सोच्दै डेला घर फर्किई ।
डेला खुशीले मात्तिएकी थिई । घर पुगेर आफ्नो छोटो कपाल घुमाउरो बनाउन लागी । उसको प्रगाढ प्रेममा उदारता थपिएपछि ठूलो क्षति भएको थियो, सो क्षतिलाई मर्मत गर्नु एउटा विशाल कार्य हो। ऊ त्यही खास काम गर्दै थिई । ओ हेनरी
चालीस मिनेटभित्र उसको टाउको मसिनो, बाक्लो गरि घुम्रेको कपालले ढाकियो जसले उसलाई एउटा आवारा स्कुले छात्रजस्तो देखाएको थियो । उसले ऐनामा आफ्नो प्रतिबिम्ब आलोचनात्मक आँखाले धेरै बेर ध्यानपूर्वक हेरिराखी ।
“जिमले मलाई मार्छ होला,” उसले आफैंलाई भनी, “उसले मलाई देख्ने बित्तिकै कोनी आइल्याण्ड गायन समुहकी केटीजस्ती देखिएँ भन्छ होला। तर म के गर्न सक्थेँ र ? एक डलर सतासी सेन्टमा के नै किन्न सक्थेँ र म ?” ओ हेनरी
सात बजे कफि बनिसकेको थियो र खाना बनाउनलाई उसले सबै तयारी गरिसकेकी थिई ।
डेलाले त्यो उपहार हातमा लिई र जिम सधैँ घर प्रवेश गर्ने ढोका नजिक कुर्सीमा बसी । जब उसले तल्लो तलामा जिमको पाइलाको आवाज सुनी, एकछिन त डरले सेती भई । र प्रार्थना गर्दै फुसफुसाई: “हे भगवान! उसलाई म अझै पनि सुन्दर लागुँ ।”
जिम भित्र पस्यो र ढोका बन्द गर्यो । ऊ पातलो र धेरै गम्भीर देखिन्थ्यो । बिचरा बाईस बर्षको कलिलो उमेरमा पारिवारिक बोझले थालिएको युवक । उसलाई नयाँ कोट आवश्यक थियो, उसँग पन्जा पनि थिएन ।
जिमले एकोहोरो डेलालाई हेरिरह्यो । उसको बुझ्न नसकिने मुखाकृति देखेर डेला डराई । त्यो न रिस, न असहमति, न संत्रास, न त डेलाले अपेक्षा गरेको कुनै मनोभाव नै थियो । उसले सिर्फ डेलालाई असाधारण हाउभाउसँग एकटकले हेरिरह्यो ।
डेला कुर्सीबाट उठेर जिमकहाँ गई । “प्रिय जिम,” ऊ रोई । “मलाई त्यसरी नहेर न, जिम । मैले आफ्नो कपाल काटेर बेचेँ किनकि म तिमिलाई क्रिसमसमा उपहार नदिइ बाँच्न सक्दिन । कपाल त फेरि बढिहाल्छ नि । तिमी रिसाको त छैनौ नि? कति चाँडो बढ्छ मेरो कपाल । ‘मेरी क्रिसमस’ भन न । जिम, अब रमाइलो गरौँ है ! मैले तिमीलाई कति राम्रो उपहार ल्याइदिएकी छु, तिमीलाई थाहै छैन ।”
“तिमीले कपाल काटिदियौ, डेला ?” जिमले अझै विश्वास गर्न सकिरहेको थिएन ।
“काटेर बेचिदिएँ। तिमीलाई म यत्तिकै मन पर्दिन र, जस्तो भए पनि ? म कपाल काटे पनि म नै त हुँ नि, होइन र ? ”
जिमले उत्सुकतापूर्वक कोठा वरिपरि नजर लगायो ।
“तिम्रो कपाल छैन रे, कहाँ छ त?” मुर्खले जस्तै गरि उसले सोध्यो ।
“यहाँ कपाल नखोज, जिम,” डेला बोली । “मैले बेचिसकेँ । यो क्रिसमसको पुर्वसन्ध्या हो, प्रिय । मसँग खुशी होऊ न किनकी तिम्रै लागि मैले मेरो प्यारो कपाल काटेँ । कपाल त बरु गन्न सकिन्थ्यो होला तर तिमीप्रतिको मेरो प्रेम कसैले पनि तौलन सक्दैन । म खाना तयार गरौँ, जिम ?” मायालु आवाजमा उसले सोधी ।
जिम अकस्मात निद्राबाट बिउँझेको जस्तो भयो । उसले डेलालाई अँगालोमा बेर्यो । आफ्नो कोटको गोजीबाट एउटा सामान निकालेर टेबुलमाथि फाल्यो ।
“मेरो बारेमा गलत नसोच, प्रिय । मलाई संसारको कुनै पनि चिजले तिमीप्रतिको माया कम गराउन सक्दैन । तर तिमीले त्यो सामान खोलेर हर्यौ भने ममाथि के बित्यो थाहा पाउनेछौ । एकचोटि सामान खोलेर हेर त।”
डेलाले सामान खोलेर हेरी । र त्यसपछि उन्मादपूर्ण चिच्याहट; अनि विलाप ! द्रुत स्त्रीशुलभ परिवर्तन, उन्मत्त आँसु र शोकले जिमको सम्पुर्ण सान्त्वना शक्तिको आवश्यकता महसुस गरायो । डेला उन्मत्त बनेर रुँदै थिई ।
त्यहाँ काइँयो थियो- काइँयोको सेट, डेलाको धेरै अगाडिदेखिको अभिलाषा थियो । सुन्दर काइँयोहरू, असली कछुवाको खोल, रत्नजडित किनारा- ठ्याक्कै डेलाको गायब कपाललाई सुहाउने रङ । तिनीहरु महँगा थिए, उसलाई थाहा थियो र उसको मनमा तिनीहरूप्रतिको लालसा र तृष्णा बहुतै थियो । उसले स्वामित्वको न्युनतम आशा पनि नराखेकी ती सामानहरू उसका भएका थिए तर ती अलंकारहरूले सुशोभित गर्नको लागि त्यो घना केशराशी अब उसँग थिएन ।
उसले ती सामानहरूलाई छातीमा लगेर टाँसी , अनि मधुरा आँखाले जिमलाई हेरेर मुस्कुराउँदै भनी: “मेरो कपाल निकै छिटो बढ्छ, जिम!”
अनि अगेना छेउमा बस्दा आगोको झिल्काले पोलेको बिरालोजस्तै गरि उफ्रिई र ‘ओह ओह’ भन्दै कराई । ओ हेनरी
जिमले तेतिबेलासम्म आफ्नो सुन्दर उपहार हेरेको थिएन । चेन आफ्नो हत्केलामाथि राखेर डेलाले व्यग्रतापूर्वक उसको अगाडि हात तेर्स्याई । डेलाको तिव्र र उत्कट अभिलाषा प्रतिबिम्बित भएर त्यो निष्प्राण बहुमुल्य धातुमाथि टल्किएको थियो ।
“यो शानदार छैन र, जिम ? मैले यो चेन फेला पार्न सहर भरिको सबै पसल चहारेँ । तिमीे अब दिनमा सय चोटि समय हेर । मलाई तिम्रो घडी देऊ त, घडीमा यो चेन कस्तो देखिँदोरहेछ हेरौँ ।”
भनेको मान्नुको सट्टा, जिम सोफामा पल्टियो र दुवै हात टाउको पछाडि लगेर मुस्कुराउँदै बसिरह्यो । ओ हेनरी
“डेला,” उसले भन्यो, ” एकछिनको लागि हाम्रो उपहारहरूलाई प्रयोग नगरी अलग्गै राखौँ न। यिनीहरू धेरै सुन्दर छन् । मैले तिम्रो काइँयो किन्न मेरो घडी बेचेँ । तिमीले पनि कपाल काटिहालेछौ । अब हामी क्रिसमस मनाऔँ। ल अब तिमी खाना पकाउन थाल ।”
ती मेजाई, विवेकी मानिसहरू थिए–अद्भुत विद्वानहरू–जसले क्रिसमसमा उपहार दिने संस्कारको सुरुवात गरे । ती ज्ञानी मेजाईका उपहार पनि पक्कै बुद्धिमत्तापूर्ण नै हुन्थे, सम्भवत: आवश्यकता अनुसार विनिमयको सुविधासहित ।
र आज मैले तपाईलाई अपत्यारिलो पारामा दुई मूर्ख मनुष्यहरूको नमिठो वृतान्तसँग जोडेँ जसले अविवेकी ढंगले एकाअर्काका लागि आफ्ना प्रिय बहुमुल्य वस्तुहरू त्याग गर्दछन् । तर अन्त्यमा आजका विद्वानहरूलाई भनियोस्— ज-जसले उपहारहरू दिए तीमध्ये यी दुई सबभन्दा बुद्धिमान थिए। जो उपहार दिन्छन् र लिने गर्दछन्, ती सबैभन्दा यी दुई बुद्धिमान छन् । एउटा उपहार आफैँमा अमुल्य हुँदैन, उपहार प्रदान गर्ने व्यक्तिको सद्भाव सदैव अमुल्य रहन्छ । र यी दुई विद्वान हुन् । यी दुई नै मेजाई हुन् ।
अङ्ग्रेजी कथाकार ओ हेनरीद्वारा लिखित कथा “The Gift of the Magi” को भावानुवाद
(स्रोत : शब्दसोपान डट कम)