~सुरेन उप्रेती~
विदेश जान भनेपछि के नै होला भनेर आइयो, आखिर भनेर रहिमले खुइय गर्यो । लामो सास तान्यो । उसका अनुहारमा नैराश्यका ज्वारभाटाहरू आन्ध्रमहासागरका छालहरूझैं दौडिरहेका देखिन्थे । उसले क्यानडा आउनुअघि क्यानडाबारे देखेका सपनाहरू सुनाउन थाल्यो । ऊ आफ्नो विषयमा देशभरमै एकदुई नम्बरमा पर्दथ्यो । आफ्नो विषयमा पोख्त भएकाले राम्रै पदप्रतिष्ठा प्राप्त गरेको थियो । यीनै कारणले उसलाई क्यानडा आउन कुनै आइतबार भएन । आफ्नो क्षमता र दक्षता हेरेर छनोट गरेको हो भन्ने उसलाई विश्वास थियो । नत्र भने हजारौंले निवेदन दिएका थिए । एकै लटमा निवेदन हाल्नेहरूमा पाँच जनालाई मात्र भिसा अफिसले पासपोर्ट पठाउनु भनेको थियो । ती पाँच जनामा उसको नाम देख्दा उसलाई ठूलो युद्ध जितेजस्तो भएको थियो । उसका आफन्त र चिनेजानेका मानिसहरू सबैले क्या भाग्यमानी भनेर प्रशंसा गरेका थिए । क्यानडा पुगेपछि त आफ्नो सीप र दक्षताको उच्च कदर हुनेछ । केही दिन अंग्रेजी भाषाले अलिकति समस्या होला तर आफ्नो प्रोफेसनमा केही कमी हुने छैन । म मेरो क्षमताले भियाएसम्म प्रयास गर्छु र दक्षता हासिल गर्छु । तेस्रो विश्वबाट आएकाहरू पनि यस्तो प्रतिभावान् हुँदा रहेछन् भन्ने छाप छोड्छु । यस्तै सोचेको थियो रे ।
उसले विगतलाई पस्किन खोज्यो । उसका आँखा टिलपिल भएर रसाए । आँखालाई बाहिर सडकतर्फ डोहोरायो र आँसुहरू लुकाउन खोज्यो । भक्कानिएजस्तो भयो । उसको बोली रोकियो । प्लास्टिकको बोतलबाट बिर्को खोलेर पानी पियो । रुँदारुँदा गरेको बच्चा रुन छोड्दा पनि घुँक्कघुँक्क नरोकिएझैं लामो सास तानेर पर क्षितिजतिर आँखा तेर्स्यायो । बिस्तारै सम्झनाको थैलो खोल्न थाल्यो ।
उसले सुखको परिभाषा खोज्यो । खै केलाई सुख भन्ने । धनदौलत धेरै हुनेलाई सुखी भन्ने कि । केही काम गर्नु नपर्नेहरूलाई सुखी भन्ने । पाकिस्तानमा हुँदा उसका छोराछोरीहरू राम्रो प्राइभेट स्कुलमा पढेका थिए । घरमा बिहानबेलुका ट्युसन पढाउने शिक्षक राखेको थियो । घरको काम गर्ने छुट्टै मान्छेहरू थिए। घरबाट बाहिर निस्कँदा अस्पतालको ड्राइभर गाडी लिएर आइपुग्थ्यो । समाजमा नाम, इज्जत र प्रतिष्ठा थियो । टोलछिमेकदेखि अस्पताल सबैतिर डाक्टर साहेव भनेर नतमस्तक हुन्थे । शहरमा सबैले चिन्दथे र सम्मान दिन्थे । नपुग्दो केही पनि थिएन । सरकारी कर्मचारीदेखि सबै राजनीतिक पार्टीका नेता कार्यकर्तासँग राम्रो चिनजान थियो । आफ्नो पेशामा पोख्त भएकाले अस्पतालमा पनि डिपार्टमेन्टको प्रमुख थिएँ । डाक्टरहरू नर्सहरूदेखि अस्पतालका स्टाफ र बिरामीहरूको सम्मानित र प्रिय डाक्टर थिएँ । सबैले आदरसाथ डाक्टरसाब भनेर सम्बोधन गर्दथे ।
त्यो दिन तीन वटा अपरेसन परेकाले दिन निकै व्यस्त रह्यो । अपरेशनका दिनमा खान त के पानी पिउन पनि फुर्सद हुँदैन । शारीरिक र मानसिक रूपले सारै थकित भइन्छ । बेलुकाको झन्डै पाँच बजेको थियो । मोवाइलको घण्टी बज्यो । मन नलागीनलागी आँखाले फोनको स्क्रिनलाई नियालें । फोन घरबाट आएको रहेछ । हेलो भन्नेबित्तिकै श्रीमतीको आत्तिएको आावाजले झस्क्यायो । छोरा शहिद र छोरी समिया चढेको स्कुल बसलाई आतंककारीहरूले कब्जामा लिएर पैसा माग्दै छन् रे । श्रीमतीले एकैसासमा सुनाइन् ।
रेडियो र टिभी सबैतिर यही समाचार प्रसारण भइरहेको थियो । के गर्ने के मैले केही सोच्नै सकिनँ । प्रहरी कार्यालयमा फोन गरें । हामी यसका लागि काम गरिरहेका छौ। चिन्ता नगर्नु होला भन्ने जवाफ आयो । स्कुलका प्रिन्सिपललाई धेरै पटक फोन गर्दा पनि फोन लागेन । फोन बिजी छ। केही समयपछि पुनः प्रयास गर्नु होला भन्ने म्यासेज मात्र आउँथ्यो । ड्राइभरलाई गाडीको स्पिड बढाएर छिटो घर पुरयाउन भनेँ । छोराछोरीको चिन्ताले घरमा श्रीमती छटपटाइरहेकी थिइन । रेडियो र एफएममा विभिन्न प्रकारका समाचार आइरहेका थिए । आतंकवादी समूहले विद्यार्थीहरूलाई बन्धक बनाएको छ । सरकारसँग बिनासर्त उनीहरूका कार्यकर्ता छोड्नुपर्ने । उनीहरूलाई २ अरब डलर दिनुपर्ने जस्ता माग गरेको कुरा प्रसारण हुँदै थिए ।
– केही हुँदैन । चिन्ता गर्नु पर्दैन । बसमा ५२ जना विद्यार्थी रहेछन् । सरकारले केही न केही उपाय गरेर त छुटाइहाल्छ नि । मैले श्रीमतीलाई सम्झाएँ ।
श्रीमतीलाई जस्तो ढाडस दिए पनि मेरो मन भने अव्यक्त भयले काँपिरहेको थियो । के गर्नु र कसो गर्नु जस्तो भयो । मुटु फुट्लाजस्तो गरी ढुकढुक गर्न थाल्यो । आफ्नै मुटुको धड्कन बाहिर सुन्न थालें । आफ्ना जीवनका सपना नै तीनै छोराछोरी थिए । उनीहरूलाई केही भयो भने कसरी बाँच्ने होला । अब के गर्ने होला भन्ने चिन्ताले छाती फुट्लाजस्तो भयो । आँखाबाट ताता आँसुहरू बगेर गालामा आए । श्रीमतीले नदेख्ने गरी आँसु पुछ्दै सान्त्वना दिएँ, ‘पीर नगर । त्यहाँ हाम्रा छोराछोरी मात्र छैनन् नि । केही हुँदैन होला ।’
त्यो १२ घण्टाको रात पनि हामीलाई बर्षौं जस्तो भयो । खुईखुई गर्दै घडी हेर्दै रात बित्यो ।
रातभरि आँखा झिमिक्क पनि भएनन् । हामी दुवै एकझप्को पनि निदाउन सकेनौं । मनमा अनेक सोचाइले समुन्द्रका छालजस्तै माथिमाथि उठ्दै मनलाई तरंगित पार्दै रहे । धर्ती नै खसेजस्तो भयो । मैले पटकपटक पानी पिएँ । घरको झ्यालबाट बाहिर नियालें । आकाशमा बादल लागेर धुम्म भएको थियो । बादलका थुँगाहरू बन्दै फुट्दै र जोडिँदै थिए । बादलका चेपबाट मधुरो उज्यालो पोखेर ताराहरू पिल्पिलाउँथे । लाग्थ्यो, उनीहरू पनि हाम्रो पीडाले दुखित बनेका छन् ।
अर्को दिन दिउँसो एघार बजेतिर प्रहरी कार्यालयबाट फोन आयो । सबै जना अभिभावकहरू आआफ्ना छोराछोरी भेट्ने आतुर हुँदै प्रहरी कार्यालयमा पुग्यौं । विद्यार्थीहरू निन्याउरो मुख लगाएर आफ्ना अभिभावकहरूलाई पर्खिरहेका रहेछन् । विद्यार्थीहरू पिँजडाबाट फुत्किएको चराजस्तै भएर बाआमालाई भेट्न दौडिंदै आए । बाआमाका अँगालोमा बेरिएर घुँक्कघुँक्क गरेर रुन थाले । शहिद र समिया पनि हामी दुवैको अँगालोमा बेरिए । प्रहरी कार्यालयमा एकक्षण सम्सानघाटकै सन्नाटा छायो । हामी छोराछोरी लिएर घर आयौं ।
त्यसै दिन राति मैले देश छाड्ने र सुरक्षित देशमा जाने निर्णय लिएँ । नभन्दै मेरो योग्यता र दक्षताको कदर गर्दै क्यानडा सरकारले फास्ट ट्रयाकबाट आप्रवासको भिसा दियो । म परिवारसहित क्यानडा आउन सफल भएँ । क्यानडा सरकारले आफ्नो योग्यता र दक्षताको मूल्यांकन गरेर क्यानडा आउन दिएकोमा क्यानडा सरकारलाई धेरैधेरै धन्यवाद दिएँ । अब हाम्रा छोराछोरीले कुनै अपहरणमा पर्नु पर्नै छैन । कुनै चन्दा र फिरौतीको मागमा बन्दुक र पेस्तोलको निसाना बन्नुपर्ने छैन । अब बम र बन्दूकको कर्कश आवाजले त्रसित बन्नुपर्ने छैन । आफ्ना आँखाका नानीजस्ता दुई सन्तानलाई शान्त वातावारणमा शिक्षादिक्षा र पालनपोषण गर्न पाउने भयौं ।
मलाई आफ्नो दक्षता र योग्यतामा कुनै शंका थिएन। राम्रो अवसर पाउने छु र क्यान्डियन जनताको सेवा गरेर यो गुण तिर्नेमा म ढुक्क थिएँ । मैले मेडिकल पढ्दा सबै अंग्रेजी माध्यमबाट पढेको भए पनि मैले बोलेको अंग्रेजी क्यानेडियनहरूले बुझ्न सक्दैन थिए । त्यस्तै गरी मलाई पनि अरूले बोलेको बुझ्न गारो थियो । मेडिकल डाक्टर भएर काम गर्न लाइसेन्स अनिवार्य थियो । त्यसका लागि सबै प्रमाणपत्रको इक्विभ्यालेन्ट गर्नुपर्दथ्यो । प्रमाणपत्रको स्तर निर्धारण सकेपछि आफ्नो अध्ययनअनुसार एक वर्षदेखि दुई वर्षको कोर्ष गर्नुपर्ने थियो । त्यसपछि मात्र मेडिकल लाइसेन्सको परीक्षामा बस्न पाउने भयो । मैले तत्काललाई भाषा सिक्ने र एकदुई वर्षपछि मात्र मेडिकल लाइनलाई निरन्तरता दिने निर्णय गरेँ ।
आफ्नो समुदायका अलि पुराना मानिसहरूसँग सम्पर्क गरेँ । तिनीहरूमध्ये केही डाक्टर र केही इन्जिनियर पनि थिए । उनीहरूले त्यो मेडिकल पढेर लाइसेन्स निकाल्न गरेको असफल प्रयासको कहानी सुनाए । हाललाई सेकुरिटी गार्ड भएर अथवा र ट्याक्सी चलाउँदै गर्नु । भाषा कक्षा पनि जाँदै गर्नु । राम्रो भाषा ज्ञान भएपछि मेडिकल पढ्न सुरु गर्दा पनि भयो भन्ने सल्लाह दिए । मलाई पनि यो सुझाव उचित नै लाग्यो । केही समय सेकुरिटीमा काम गरेपछि ट्याक्सी ड्राइभरको लाइसेन्स लिएँ । अनि ट्याक्सी चलाउन सुरु गरेँ ।
एकपटकको कुरा हो । मेरो ट्याक्सीलाई अस्पतालबाट फोन आयो । एक जना गर्भवती महिला र उनको श्रीमान् अस्पतालको गेटमा पर्खिरहेका रहेछन् । डाक्टरले एक हप्तापछि आउनु भन्यो भन्दै उनीहरू कुरा गर्दै थिए । आधा घण्टाको बाटो ड्राइभ गरी सकेपछि ती महिलालाई सुत्केरी हुने व्यथाले सतायो । उनी रुनकराउन थालिन् । उनको श्रीमान् आत्तिन थाले । अब अस्पताल लैजाऊँ भन्दा पनि चार घण्टाको कुरेपछि डाक्डरले जाँचेर अब एक हप्तामा मात्र आउनु भनेको छ । यस्तो बिरामले सताएको छ । अब के गर्ने होला भनेर श्रीमानचाहिँ झन् छट्पटाउन थाल्यो । मैले शान्त हुँदै उनीहरूको घर कति टाढा छ भनेर सोधेँ । उनीहरू घरको नजिकै पुगेका रहेछौं । उनीहरूका कोही आफन्तले आएर सहयोग गर्न सक्छन् भने बोलाउनु नि भनेँ । तर, आफन्तहरू कोही पनि नजिकै बस्ता रहेनछन् । यदि तिमी असजिलो मान्दैनौ भने म सहयोग गर्न सक्छु मैले भनें । मेरा कुराले ती पुरुष छक्क परे । उनले सम्हालिंदै भन्यो– प्लिज केही गर्न सक्छौ भने सहयोग गर ।
मैले उनीहरूलाई घरमा पुरयाएँ । श्रीमानलाई तातो पानी र सफा कपडा ल्याउन लगाएँ । एउटा सफा कपडामा ती युवतीलाई बस्न लगाएँ । सजिलो हुने गरी सिरानीको अडेस लगाएर युवती भुइँमा बसिन् । महिला पैतालालाई भुइँमा टेकेर घुँडा खुम्च्याएर अनुहारका सतहमा घुँडा आउने गरी बसिन् । मसँग भएको हेन्ड सेनेटाइजरले सबैका हात सफा गरें । त्यसपछि तातो पानीले तातो बनाएको कपडाले उनको तल्लो पेट सेक्न सहयोग गरेँ । उनको श्रीमानलाई युवतीका हात समाउन लगाएँ । युवतीलाई बिस्तारै बल गरेर पुस गर्न भनेँ । सजिलैसँग बच्चा जन्मियो । बच्चालाई नुहाइदिएँ । सफा कपडाले बेरेर बाबुलाई बोक्न सिकाइदिएँ । आमालाई कसरी दूध खुवाउने तरीका सिकाइदिएँ । कुखुराको मासुको झोल र अरू झोलिलो खाना खाँदा दूध धेरै आउँछ भनेर सिकाएँ ।
ती नवदम्पतीको हर्षको सीमा रहेन । धेरै पटक धन्यवाद दिए । हिंड्ने बेलामा भाडाको अतिरिक्त एक सय डलर दिए ।
मैले त्यो एक सय डलर फिर्ता दिँदै भने – म आज सारै खुशी छु । मैले धेरै डेलिभरी गराएको थिएँ । तर, क्यानडा आएपछि पहिलो पटक प्रसव गराउन पाएँ।
ती युवायुवतीले मुखामुख गरे । अब अस्पताल गएर चारपाँच घण्टा लाइनमा बस्नुभन्दा त ट्याक्सी बोलाउनुपर्छ भन्दै मेरो फोन नम्बर टिपे । मैले आफ्नो फोन टिपाउँदै यहाँ धेरै मजस्ता डाक्टरहरूले ट्याक्सी चलाउँछन् भनेर बिदा भएँ ।
(स्रोत : नागरिक – शनिबार)