कविता : मैले सुनें– विष पिउने रहर रहेछ

~इश्वरवल्लभ~

विष पिउने रहर रहेछ,
मैले सुनें तिमीले विष पिएछौ,
सायद समाप्त गर्न यो जिन्दगी र यो वैंसहरू
कुनै शून्यकोखोजी
या निस्तारका लागि तिमीले गरेको अभूतपूर्व
व्यक्तिगत आयोजना

पलायन गर्ने आयोजना,
अस्मिता विलयित गर्ने परियोजना कल्पना गरेछौ,
कुनै अज्ञातलाई स्पर्श गर्ने प्रयत्न गरेछौ,

तिम्रो साथीले भन्यो– कुन्नि के गरेको होला त्यसले,
कुनै रोमाञ्च खोजेको जस्तो।

देहबाट उम्केर निर्देह हुनेप्रयत्न गरेको,
बिलकुल नष्ट हुन खोजेको, जहरले,
मैले सुनें–
कतै विष पिउनु पनि एउटा आनन्द हुने होकि,
समाप्त हुने रहरको सुख पाइनेहोकि,
जिन्दगीबाट भाग्ने इच्छा, र कल्पना होकि

– अस्तित्वको
सायद कुनै आश्चर्यजनक इन्द्रेनीको अनुभव !
हलुका भुवा उडेको जस्तो अनुभव,
परेवाको प्वाँख,
–कर्याङ्ग कुरुङ्गको ताँती माथि आकाशमा
शिखरहरूलाई धरातलमा हेर्दै–
धागो छिनिएको चङ्गा हुँदै,
परीहरूले समाएर क्षिेतिजमा लिएर गएको या
आकाश–गङ्गाहरूका रङ्गहरूमा अल्झिंदै
कतै जाने हो कि,
नत्र विष सार्नुको अर्थ नै के हुन्छ र ?
विना अर्थ मर्नुको अर्थ नै के हुन्छ र !
तन्तु चुँडेपछि तन्तुको के अर्थ हुन्छ र ?
धागो नभएपछि बाँधिनुको के अर्थ हुन्छ ?
जिन्दगी त्यसैले कतै बाँधिनु त हो,
नमर्नु हो
विष नखानु हो,
वेदना पिउनु हो,
सुख जिउनु हो

मरेपछि फूलको देश घुम्ने मन भएछ,
बाइफालेर नितान्त अनियन्त्रित हुन मन लागेछ
उत्रिन मन लागेछ बैसहरूसित,
मृत्युका सुन्दरता र विभोरताहरूसित, लहसिन मन लागेछ,
बाँच्नुको विरोधमा मर्नुभन्दा ठूलो जिन्दगीलाई
–परास्त गर्ने कुनै युक्ति छैन,

अद्भूत परिवेशहरू
माला र मोतीहरू
रङ्ग र प्रकाशहरूको
जिउँदो मन र आकांक्षाको जुलुसमा
लावा लस्करका
जात्राका–हिंड्नुको अर्थ जिउनु हो,
तिमीले विष खाएछौ,
साथीले भन्यो विष खाएर पनि बाँच्यौं,
तर एकछिन त मरयौ नै,
मृत्युको साक्षात्कार देख्नार अनुभव गर्नु पनि
– एउटा सत्य हो

जिउँदो मन यही हो,
कहिले ढुङ्गा भएर भारी हुन्छ,
फलाम भए । गह्रुँगो हुन्छ
मनै त हो पीडाले डाक्दा

आकाशका अनगिन्ति नीला टुक्राहरू
बादलका यौटा र पानीका बिन्दुहरू–
उसले मरेपछि देखेको रे,
अज्ञानताका समुद्रमा हराउने थियो– ऊ फेरि नब्युँझेको
– भए,
जिससले जस्तै
बिउँझेर नै उसले भन्यो–आकाशका अनगिन्ति नीला टुक्राहरू
उसले भन्यो विषले मेरो घाँटी चहरायो मुटु दुख्यो,
सायद बेहोश भएपछि,

धूपीका पातहरू, रुखहरू र नीलो आकाशका युवाहरू
क्षेोम र आकांक्षाहरू,
आफैलाई आफैले समाप्त गर्ने उदान्त तिर्खा,
आफ्नो मृत्यु आफैले पिउनेतिर्खा !

अंसवेदित निर्ममता र कठोरताहरूको बिरुद्ध
अदम्य प्यास र जीवनको बुभुक्षोको विरोधाभास

के विषले छाती दुखेन ?
पक्कै चहरायो होला, ताजा घाउ,
छिया छिया भएको अनुभव भयो होला,

अत्यन्त पीडा भयो होला !
के विष पिउँदा तिम्रो मासु र रगत दुखेन ?

कस्तो हुन्छ,
देहभित्र मासु दुखेको पीडा !
जिउँदो मासु बिस्तारै–बिस्तारै पीडित भएको वेदना ?

आत्महत्याको आश्चर्य, कस्तो हुन्छ ?
– उसको साथीले पनि सोधेन

ऊ फेरि मौन जिन्दगी बाँचिरहेछ,
कुनै परिच्छेदको अन्त्यपछि कुनै अर्को परिच्छेद
बाँचिरहेछ ।

विष पिएर मरेपछि फेरि जिन्दगी बाँच्ने म
सायद दुइवटा विश्वयुद्धजस्तै व्यक्तिगत सहने क्रम
– फेरि बाँच्ने क्रम हो।
हिरोशिमा र नागासाकीका धुवाँहरू बाँच्ने क्रम हो।

या कुनै सुन्दर मौसम
बिस्तारै–बिस्तारै बग्नेपानी र समीर
शीतल जून जुनेली, शरद र वसन्त,
गुराँस र भैंचम्पाको बन बाँच्नेक्रम हो।

जिन्दगी र मृत्युको बिरोधाभासको
क्यानभास र रङ्ग बाँच्नेक्रम हो।

अभ्यन्तरमा अभ्यन्तर जहर पिएर बाँच्ने मौसम हो।
नाम सोधेकोपनि हुँ,
जहर खाएर मर्न चाहने– ऊ मानिसको ।
कसैले भनेन–विषपायिनीको नाम,
त्यसैले ऊ विषपायिनी हो ।
केवल विषपायिनी !
नाम थाहा नहुनाले विषपायिनी हो,
विष पिएको हुनाले नै विषपायिनी हो,

भैगो, तिमीले जहर खाइ त सक्यौ !
त्यसैले, फेरि ।
सायद मर्नु भनेको फूलको थुङ्गा हो,
सायद कुनै बगैंचामा परेको न्यानो घाम हो।
सायद कुनै नयाँ सखार हो,
सायद कुनै साँझ हो ।
नदी र छालहरू हो!
जिन्दगीको एउटा अन्त्य हो–
एउटा महान ओझेल हो।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.