~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
मोक्ष प्राप्त गर्ने विभिन्न उपायहरु छन् । तीमध्ये सबैभन्दा सहज उपाय हो- भक्तियोग ।
भक्तिमा यस्तो गुण छकि यसको आत्मसातताले मानवलाई तथा उसको जीवनलाई सार्थकता प्रदान गर्दछ ।
जब मानव बुद्धिले सही बाटो पक्डन्छ तब त्यसले भक्तिको ढोकासम्म डोर् याउँछ मान्छेलाई । केबल ढोकासम्म मात्र; त्यसपछि त बुद्धिको आत्यन्तिक लय हुन्छ र भक्तिले जीवलाई पराभक्तितर्फ लैजान्छ र पराभक्तिले मोक्षसम्म पुर् याउँछ ।
बुद्धि तथा ज्ञानको आत्यन्तिक लयमा भक्तिलाई प्रतिष्ठित मानिएको छ । हुनपनि बुद्धि तथा ज्ञानद्वारा हामीले कुनै चीजलाई परिक्षण गर्दा त्यहाँ शङ्का पनि हुन्छ द्वेषभाव पनि हुनसक्छ पूर्वाग्रह पनि हुनसक्छ र त्यही कारणले हामी उक्त चीजसँग झन् झन् टाढिन पनि सक्दछौं । हिरण्यकशिपुसँग बुद्धि तथा ज्ञानको कमी कहाँ थियो र ! ऊसँग बुद्धि ज्ञान साथसाथै बल पनि अत्यधिक थियो; थिएन त विवेक थिएन भक्ति थिएन -जसका कारण ऊ दिन-प्रतिदिन ईश्वरीय तत्वप्रति द्रोही तथा द्वेषी बन्दै गयो र शत्रुताको भावनाले विषाक्त हुँदै गयो । रावण पनि बल बुद्धि ज्ञानले सम्पन्न हुँदाहुँदै पनि विवेकहीनताको रोगले ग्रसित हुनालेनै गलत कार्यमा दत्तचित्त हुन पुगेको थियो । यसबाट स्पष्ट हुन आउँछ कि बुद्धि तथा ज्ञान हुँदैमा भक्ति-तत्व प्राप्त हुन्छ भन्ने कुनै निश्चितता ग्यारेण्टी हुँदो रहेनछ । हुन त ज्ञान तथा भक्ति दुबै हुनु; परमात्मा परब्रह्मको तत्वबोध हुनु र त्यसमा परमभक्ति हुनु -यी दुइटै हुन सके त आहाऽऽ ! तर ज्ञान र भक्तिमध्ये कुनै एउटामात्र रोज्नु परेमा अवश्यमेव भक्तिलाईनै रोज्नु पर्दछ ।
परमात्मासँग आत्माको तद्रुपता नै हो मुक्ति । भक्तियोगले हामीलाई त्यही मुक्ति प्रदान गर्दछ । परमात्मा परब्रह्म यस्तो तत्व होइन जोकि परिक्षण वा जाँच-परखबाट भेटिइहालोस् । प्रयोगशालामा बसेर विज्ञानको विद्यार्थीले अ_िक्सजन खुट्ट्याएजस्तो परिक्षण यो होइन । हाम्रो बुद्धि तथा ज्ञान सीमित छभने परमात्मा परब्रह्म चाहिँ असीमित अपरिमित सर्वव्यापी । सीमित ज्ञानको घेरोलाई असीमित अपरिमित सर्वव्यापी स्तरसम्म विकसित नगरी ज्ञानको माध्यमबाट ब्रह्मतत्व-साक्षात्कार हुँदैन । यता भक्तिको बाटो सहज छ सुगम छ । परमात्मासँग साक्षात्कार हेतु भक्तिनै बहुजनका निमित्त सर्वश्रेष्ठ उपाय हो । भक्ति त यस्तो सम्बन्ध-सूत्र हो जसले गर्दा परमात्मासँग आत्माको तार जोडिन्छ । भक्तिको परम् स्वरुप ुपराभक्तिुमा भक्त परमात्मासँग तद्रुप हुन्छ । भक्त अनन्य प्रेमको आनन्दानुभूतिमा सुखी हुन सक्दछ किनकि भक्तिमा अनन्य प्रेम हुन्छ ।
भौतिक जगत्मा हेर्दा भक्तिले मानवलाई मानवतावादी विश्व-दृष्टिकोण आत्मसात् गराउँछ । सनातन धर्म दर्शनको महान् देन यसमा निहीत छ । भक्तिको आत्मबोध भएको मान्छेले सबै जीवलाई ईश्वररुप देख्दछ र उसले यसरी सारा जगत्लाई परमात्म-स्वरुप अनुभूत गर्ने हुनाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ । अर्को प्राणीलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन िहंसा हुँदैन । परोपकार भक्तको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ भक्त । भक्ति-योग त मानवताको उच्चतम स्वरुप हो । आध्यात्मिकताको उज्यालोले हृदय प्रकाशित भएका भक्तहरु मानवताका प्रतिमूर्ति हुन् ।
स्पेसटाइम दैनिक, वर्ष २ अंक ११८, वि.सं. २०५८ फागुन १८ शनिवार, पेज नं. ४ मा प्रकाशित
— निर्मलमणि अधिकारी, पीएच.डी.
कीर्तिपुरस्थित डेरा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)