~इश्वरवल्लभ~
कति दिनदेखिन् पर्खें,
अनुहारलाई आउँछ कि भन्दै यहाँ हिंड्दै
मसित बोल्छ कि भनेर नयाँ सूर्यको भाषा
किरण लिएर,
अरु आनन्दका युग पनि छुन सक्लान्,
अरु प्रसन्नताको जगत पनि,
मैले अनुहार पर्खें |
जहाँ खुम्चाइ नहोस्, पीडा नहोस् |
नासल्कियोस् राती आगो नहोस् –
त्यसका खोलामा पानी बगून्
त्यसका बगैचांमा गुन्केशरी फ़क्रिउन्,
अनुहार पर्खें |
अनुहार भनेर के पर्खिनँ,
म कुन भ्रममा परिनँ,
मलाई थाहा छ, मैले के गरिनँ,
के सन्तापको विष पिइनँ ?
के अपमानको भाला सहिनँ ?
के परिवेशको नंग्राइ पाइनँ ?
अनुहार साँच्चै एउटा गीतजस्तो हुँदोरहेछ,
के मैले गीत लेखिनँ ?
अनुहार एउटा शिखर हुँदोरहेछ,
के मैले उकालो चढिनँ ?
ओहो !
अन्जुलिभरि उठाएको एक चौटा सूर्य पनि सेलाइसक्यो |
अझै किन त्यो आएन ?