~कृष्ण बजगाईं~
महँगीको हत्यापछि सनसनी मच्चियो । टिभी च्यानलहरूले ब्रेकिङ न्युज दिन थाले । तर, महँगीको हत्या कसले गरयो भनेर समाचारमा भनिएको थिएन ।
महँगीपीडितहरू खानलाउन अलिक सजिलो हुने भो भन्दै त्यस हत्याको तारिफ गर्दै थिए । तर, एकछिनमै टिभीमा विचित्रको दृश्य देखिन थाल्यो ।
‘महँगीको हत्यारालाई कार्यबाही हुने छ ।’ शान्तिसुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले आश्वासन दिए ।
‘हत्यारालाई पक्राउ गरिने छ ।’ प्रहरीले आफ्नो कर्तव्य सुनाए ।
‘हत्यारालाई कारावासको सजाय सुनाइने छ ।’ न्यायाधीशले कानुनको भाषा बोले।
‘हत्या त गरिहाल्नु नहुने हो ।’ राजनैतिक पार्टीका नेताहरूले सहानुभूति देखाए।
‘हत्या– हिंसा सहँदैनौं ।’ व्यापारीहरू आक्रोशित भए।
उसले महँगीलाई रातोदिन सराप्दथ्यो । गरीबको शत्रु गरीबमारा महँगीलाई भेटे भने काट्छु र मार्छु भनिरहन्थ्यो । टिभीका विभिन्न च्यानलमा आइरहेका हत्यासम्बन्धी समाचार हेर्दाहेर्दै ऊ खूब आत्तियो । कतै महँगीको हत्याको आरोपमा पक्राउ परिने त होइन भन्ने डरले भाग्ने विचार ग¥यो । दौडेको मात्र के थियो ड्याङ्ङ लड्यो । जुरुक्क उठेर चारैतिर हेर्दा त आफ्नै पलङबाट भुइँमा पछारिएको पायो । खराब सपनाका कारण उसको मुटुको धड्कन एकदम बढिरहेको थियो।
अचानक कसैले ढोका ढकढकायो । ढोका खोलेर हेर्दा महँगीको एउटा रूप घरबेटी सामुन्ने थियो ।
‘छ महिनादेखिको कोठाभाडा तिर्ने कि प्रहरी बोलाऊँ रु’ घरबेटी कड्कियो।
‘प्रहरी’ शब्द सुन्नेबित्तिकै तन्द्रामा रहेको उसले आत्तिदै भन्यो, ‘मैले कसैको हत्या गरेकै छैन ।’
‘हत्या’ शब्द सुन्नासाथ घरबेटीले सुइँकुच्चा ठोक्यो ।
(‘संवैधानिक पत्नी’ लघुकथासङ्ग्रह(२०७७)बाट)
(स्रोत : नागरिक – शनिबार)