~कृष्ण बजगाईं~
अदालतमा अभियुक्तका बारेमा बहस चलिरहेको थियो । अभियुक्तलाई निर्दोष सावित गर्न उनका वकिल गतिलो तर्क प्रस्तुत गर्न सकिरहेका थिएनन् । नामुद र चर्चित वकिल भए पनि मुद्दाको प्रकृति र अभियुक्तविरुद्ध उपलब्ध प्रमाणले गर्दा बहसमा उनी प्रतिरक्षात्मक स्थितिमा पुगेका थिए ।
दुवै तर्फको बहस सकिएपछि आफ्नो निर्णय सुनाउनुअघि न्यायाधिशले अभियुक्तलाई आफ्नो तर्फबाट केही भन्नु छ कि भनेर सोधे ।
‘छ श्रीमान् ।’ अभियुक्त बोल्यो ।
‘आफ्ना कुरा राख्न अनुमति छ ।’ न्यायाधिशले भनेँ ।
‘मलाई जे जस्तो आरोप लगाए पनि म लगायत ‘अभियुक्त संघ’ ती सबै आरोपको खण्डन गर्दछ । मलाई जसरी पनि संघले न्याय दिलाउने छ । म अभियुक्त संघको केन्द्रीय सदस्य हुँ ।’ अभियुक्तले नजानिदो तरीकाले धम्कीको भाषा बोल्यो ।
‘अभियुक्त संघ ? कहिलै नसुनेको यो कस्तो सस्था हो ? कहाँ छ यो संस्था ? कोको छन् यसका पदाधिकारी ?’ न्यायाधिशले प्रश्न सोधे ।
‘यो भूमिगत संघ हो । यसका बारेमा सबै कुरा खोल्न मिल्दैन । हाम्रो संघको खुला मोर्चा भनेको सत्ताधारी राजनीतिक पार्टी हो ।’ अभियुक्त ठाँटसँग बोल्यो ।
‘अभियुक्त सत्ताधारी राजनीतिक पार्टीको सदस्य ?’ त्यो सम्झनासाथ न्यायाधिशको सातो गयो ।
अभियुक्तलाई जेल लैजान तयारी अवस्थामा राखिएको गाडी फिर्ता भयो । अभियुक्त फूलमाला र अबिरले पुरियो । उसको नाममा जिन्दावादको नारा गुञ्जिदै थियो पजेरोमा चढेर हुँइकियो हाल्यो ।
(‘संवैधानिक पत्नी’ लघुकथासङ्ग्रह(२०७७)बाट)
(स्रोत : नागरिक – शनिबार)