~खेमराज पोखरेल~
मेरो घरमा चोरी भयो ।
आफ्नो भुइँतले कम्पाउन्ड नघेरिएको घरलाई देखाउँदै श्रीमतीले भनिन्– ‘हाम्रो घर पनि दयारामको जस्तो भएको भए सुरक्षित हुन्थ्यो ।’
मसँग उपाय थिएन । चुप लागेर सुनिरहेँ।
बालुवाटारको प्रधानमन्त्री क्याटरकै ठ्याक्कै अगाडि दयारामकोे चार तले घर छ । कम्पाउन्ड घेरिएको छ । पर्खालमाथि काँडेतार लगाइएको छ । सुरक्षाको एलार्म सिस्टम छ । सिसी क्यामराले रखवारी गरिरहन्छ । गेटमा पालेले जाँचेर मात्र भित्र जान दिन्छ । अति सुरक्षित छ उनको घर।
उनकी १२ वर्षे नातिनी वयोधा स्कूल गएकी फर्किनन् । ३ दिनपछि उनको लास पुलिसले बागमतीको पुलमुनि फेला पार्यो ।
ठूलो विरोध भयो । पत्रपत्रिकाले गजब मसला पाए।
चोकबाट पत्रिकाहरू किनेँ । सोफामा पल्टिएँ र हेड लाइनहरू हेर्न थालेँ ।
‘वयोधालाई बलात्कार गरेर मारियो ।’
‘………….।’
‘………….। ’
टिभी हेर्न थालेँ–
‘वयोधालाई बलात्कार गरेर मार्ने अपराधीलाई कारवाही गर्यो भने सरकार हल्लिन्छ रे । ढल्छ रे ।’
‘………….’
म खिन्न र दिक्दार भएको थिएँ । मेरा रसाएका आँखा दयारामको काँडेतार लगाएको सुरक्षित घरलाई नै हेरिरहेका थिए ।
एकाएक कराएँछु– ‘थुइक्क नामर्द सरकार । बलात्कारीलाई कारवाही गर्न पनि नसक्ने ।’
यसैबेला मेरी ८ वर्षे नातिनीले मेरा काखैमा बसेर सोधी– ‘अनि सरकार भनेको के हो नि हब्बा ?’
म केही बोलिनँ।
फेरि नातिनीले मलाई झक्झकाएर सोधी –‘भन्नु न हब्बा, अनि बलात्कार भनेको के हो नि?’
(स्रोत : नागरिक – शनिबार)