नियात्रा : विस्मृतिमा वानिरा

~डा. रामदयाल राकेश~

भारतको साहित्य अकादमी दिल्लीले नेपालका लोकप्रिय उन्यासकार वानिरा गिरीको उपन्यास ‘कारागार’ को हिन्दी अनुवाद ‘कारा’ नामले प्रकाशित गरेर साह्रै सराहनीय काम गरेको छ । यसका अनुवादक हुनुहन्छ, प्रदीप विहारी । ‘कारागार’ उपन्यासका बारेमा मैले नेपालको कुनै दैनिक पत्रिकामा समीक्षा लेखेको छु, जुन मलाई अहिले पटक्कै याद छैन । प्रसिद्ध कवियित्री तथा उपन्यासकार वानिरा गिरीको जन्म ११ अप्रिल १९४६ मा भारतको पश्चिम बंगाल अन्तर्गत खर्साङमा भएको हो, तर उहाँले नेपाललाई नै आफ्नो कर्मस्थल बनाएर नेपाली साहित्यको भण्डारलाई सतत सम्पन्न एवं समृद्धशाली बनाउने प्रयासमा संलग्न हुनुहुन्छ । काठमाडौंलाई नै आफ्नो साहित्य साधनाको मुख्य केन्द्र बनाउनुका पछाडि दुई कारण स्पष्ट रूपमा देखिन्छ । पहिलो उहाँले खर्साङबाट त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा स्नातकोत्तर उपाधि हासिल गर्न नामांकन गराउनु र दोस्रो जनकपुर निवासी इन्जिनियर शंकर गिरीलाई आफ्नो जीवनसाथी बनाउनु । उहाँको दाम्पत्य जीवन सफल र सार्थक नै सिद्ध भएको छ । उहाँका एउटा छोरा र एउटी सुपुत्री अहिले विदेशमा राम्रो स्थानमा स्थापित हुनुहुन्छ तर दुःखद कुरा संप्रति प्रसिद्ध साहित्यकार वानिरा गिरी विस्मृतिमा जीवनयापन गर्नका लागि अभिशप्त हुनुहुन्छ ।

वानिरा गिरीको साहित्य साधना  

उहाँ नेपाली कविताको वाङमयलाई सम्पन्न बनाउनमा सधैँ आफ्नो काव्यप्रतिभाबाट सतत संलग्न हुनुहुन्थ्यो । उहाँले गद्य साहित्यमा पनि आफ्नो गतिशील उपस्थिति जनाउनमा सधैँ अग्रसर हुनुुहुन्थ्यो । यस सन्दर्भमा उहाँद्वारा लिखित ‘कारागार’ उपन्यास एउटा कीर्तिमान नै स्थापित गरिसकेको कुरा स्वयंसिद्ध छ । यसबाहेक गद्य विधामा नै उहाँको अर्को चर्चित कृति ‘पर्वत’ को अर्को नाम ‘पार्वती’ हो । उहाँका प्रकाशित प्रमुख साहित्य कृतिहरूमा कारागार, निर्बाध, शब्दातीत, सान्तनु (उपन्यास) आदि गद्य विधाको प्रकाश स्तम्भ नै बनेर नेपाली साहित्यमा आफ्नो प्रकाश विर्कीण गरिरहेका छन् ।

यसबाहेक उहाँको काव्य प्रतिभाको कीर्तिमानको रूपमा एउटा जिउँदो जंगबहादुर, जीवन थ्यामरु, मेरो आविष्कार आदि आफ्ना सशक्त उपस्थिति गर्नमा सफल भएका छन् भने काठमाडौं कविता संग्रह काठमाडौंमा केन्द्रित भएर रचिएको छ । यो बहुचर्चित काव्यकृति रत्न पुस्तक भण्डारबाट २०६८ सालमा प्रकाशित भएको छ । यसमा काठमाडौंमा मात्र केन्द्रित सातवटा कविताहरू संकलित छन् । आफ्नो जन्मथलो खर्साङ (दार्जिलिङ) प्रति पनि प्रतिलक्षित केही कविता प्रकाशित भएको पाइन्छ । जस्तोः दगुर दगुर, कुहिरो, अक्षम पात्र, कञ्चनजंघा । उहाँले काठमाडौं, खर्साङ (दार्जिलिङ) सम्बन्धी आफ्नो धारणा र अनुभव मात्र लेख्नुभएन, अपितु उहाँले मैले तराईतिर अर्थात् आफ्नो घर जनकपुरको व्यथा–कथालाई कलात्मक भाषाशैलीमा उतार्न पनि बिर्सनुभएको छैन । जस्तो ः पर्वतीय पार्वतीहरूको जिन्दगी पर्वतसँगै गाँसिएको यिनीहरूको जिन्दगीको केस्रा–केस्राबाट समतल घरका रसबिन्दुहरू तपतप चुहिन्छन् । ‘पर्वतको अर्को नाम पार्वती’ पृ. ३५ ।

यसबाहेक उहाँका अंग्रेजी भाषामा पनि प्रकाशित केही कृति उहाँको काव्य प्रतिभालाई विदेशमा पनि परिचित एवं प्रकाशित गर्नमा सफल भएका छन्, यथा फ्रम द अदर ल्यान्ड, माइ डिस्कभरी एवं फ्रम द लेक आदि । उहाँका फुटकर रचनाहरू नेपाल भारत र अन्य देशका पत्रपत्रिकामा प्रकाशित भएर प्रशंसित भइसकेका छन् । उहाँ एसियन पोएट्स सेन्टरका पनि सम्मानित सदस्य भइसक्नुभएको छ ।

अहिले उहाँको साहित्य साधनामा ब्रेक लागेको छ, किनभने आजको दिनमा उहाँ विस्मृतिमा हुनुहन्छ । उहाँ अहिले अलजाइमर रोगबाट ग्रस्त एवं सन्तप्त भएर जीवन बाँच्नका लागि बाध्य हुनुहुन्छ । उहाँको होस गुमेको छ । आफ्ना घनिष्ठतम साथीहरूलाई पनि चिन्न सक्नुहुन्न । संवाद गर्न सक्नुहुन्न । यस्तो चिन्तनीय र दयनीय स्थितिमा उहाँ शेष जीवन बाँच्नका लागि विवश हुनुहुन्छ तर हामी आशावादी बनौँ उहाँको कवितामा अभिव्यक्त यी काव्यपंक्तिको सन्देशबाट, ‘अँध्यारो उज्यालो । मुर्छना चेतना । निद्रा जागरण ।’

उहाँ अहिले मूर्छनाको स्थितिमा हुनुहुन्छ, तर चेतनाको अवस्थामा पनि आउन सक्नुहुन्छ फेरि आफ्नो चैतन्य अवस्थामा पनि आउने आशा गरौँ । उहाँ स्वयंले पनि साना बुद्ध र तपस्वीहरूलाई सन्देश दिँदै भन्नुहुन्छ कि अहिलेको अँध्यारो स्थितिको अवश्यमेव अन्त्य हुन्छ र उज्ज्वल आशाको सुनौलो किरण विकीर्ण हुन्छ :

वरिपरिका डाँडा । पहाड पर्वत

सेता चुचुराहरू उज्ज्व भएर देखिने छन्

काठमाडौं ! उठ

प्लीज उठ । उठ काठमाडौं

उठ, प्लीज उठ ।

बानिरा गिरीले काठमाडौंको विभत्स रूपको वर्णन गर्दै केही मननीय र स्मरणीय कुरो आजको सन्दर्भमा पनि शतप्रतिशत सही हो । मेलम्चीको मृगतृष्णामा बाँचिरहेको काठमाडौंमा आज पनि केही परिवर्तन प्रतिलक्षित नहुनु साह्रै चिन्ताको विषयवस्तु बनेको छ । काठमाडौं आज पनि काकाकुल बनी मेलम्चीको पानीको प्रतिक्षामा बाँचिरहेको छ । हुन त आजभन्दा एक दशक अधि वानिरा गिरीको काठमाडौं–काठमाडौं कविता प्रकाशित भएको पाइन्छ तर यस एक दशकभित्र पनि केही न केही बदलिएको वास्तविकता हामी समक्ष छर्लंग छ ।

‘जुवामा थापिने द्रौपदी पनि मेलम्ची नै हुनेछ ।

अब कुनै दुशासनबाट कसैैको चीरहरण हुने हो भने

त्यो पनि मेलम्ची हुनेछ ।

०००

अबका रावणहरूद्वारा आज हरिने सीता मेलम्ची नै हुनेछ

सारा खलनायकहरूलाई

सारा जलदस्युहरूलाई

भित्तो पु¥याएर सिध्याउनुप¥यो

मेलम्चीलाई वरण गर्नुप¥यो ।

वानिरा गिरीको पर्वतको अर्को नाम पार्वतीमा खण्ड ‘क’ को महिला शीर्षकमा के लेख्नुभएको छ भने अहिलेको उहाँको जीवन र मरणको सन्दर्भमा सोचनीय मनस्थितिको सिर्जना गर्दछ । हेरौँ उहाँको अभिव्यक्ति :

‘म श्रीमती वानिरा गिरी, किशोरावस्थामा कुमारी वानिरा गिरी थिएँ । यौवनावस्थामा सुश्री वानिरा गिरी थिएँ र विवाहोपरान्त श्रीमती वानिरा गिरी भएँ । अब पछि एउटा शब्द जोडिने निश्चित छ स्व. वानिरा गिरी तर त्यो शब्द जोडिने दिन कहिले आउँछ स्वयम् मलाई पनि थाहा छैन ।’ पृ. २३ ।

आशा छ, यति छिटो त्यो शब्द सार्थक नहोस् । यति उच्चकोटिको काव्यिक र औपन्यासिक प्रतिभाको प्रतिमूर्ति वानिरा गिरी आफ्नो विदेश भ्रमणको संस्मरण पनि काव्यिक शिल्प एवं शैलीमा प्रकट गर्नुहुन्छ । उहाँ जापानको प्राचीन राजधानी क्योटोको भ्रमण गर्दा ‘परिवेश हो क्योटो’ शीर्षकमा आफ्नो संस्मरण काव्यात्मक भाषामा यसरी अभिव्यक्त गर्नुभएको छ :

सूर्योदयदेखि सूर्यास्तसम्म

सयकडौँ, हजारौँ र लाखौँपल्ट

क्योटो–क्योटोको जप गरिरहन्छन् उनीहरू

उनीहरूका चञ्चल सजीव आँखाहरूमा

कि क्योटो छ कि साकुरा छन्

घर आँगनका मुख मुखका

स–साना मन्दिरमा

झुकेर दिनचर्या सुरु गर्ने

यी माइका वालाहरू

सडकको बीचमा बग्ने

स–साना कुलेसाबाट चोखिन्छन् सायद

साकुरा युवतीहरूमा रुपान्तरित हुने

साकुरा युवतीहरूमा रुपान्तरित हुने

राम्रा उदाहरण हुन् यी

अथवा युवतीहरू गुलाफी साकुरामा अनुवादित हुने

अद्भूत प्रकरण पनि हुन् ।

यस आलेखको आम्भमै मैले अनुवादको प्रसंगको उल्लेख गरेको छु अर्थात् भारतीय लेखक प्रदीप विहारीद्वारा अनुदित वानिरा गिरीको उपन्यास ‘कारा’को । यस सन्दर्भमा मैले उहाँका केही चर्चित कविताहरूको हिन्दी अनुवाद पनि गर्ने अवसर प्राप्त गरेको छु । उहाँका केही कविताहरू ‘दिनमान’ साप्ताहिक, धर्मयुग साप्ताहिक र साप्ताहिक हिन्दुस्तान तथा मासिक कादम्बिनीका विभिन्न अंकहरूमा प्रकाशित भएका छन्, जसका अनुवाद मैले गरेको छु । एकताकाका प्रसिद्ध पत्रिकाहरू दिनमान, धर्मयुग र साप्ताहिक हिन्दुस्तानको प्रकाशन अहिले बन्द भइसकेको छ । कादम्बिनी हिन्दी मासिकको प्रकाशन अहिले पनि भइराखेको छ ।

यसै सन्दर्भमा एकपल्ट मलाई उहाँ आफ्नो पुतलीसडकमा अवस्थित एम हाउसमा दिवा भोजनका लागि आमन्त्रित गर्नुभएको थियो । त्यसपछि थापाथलीस्थित आफ्नो निजी निवासमा आमन्त्रित गरेर केही कविताहरू (संख्या २५) को अनुवाद उहाँसँगै बसेर उहाँको सरसल्लाह अनुसार मैले तयार पारेको पाण्डुलिपि उहाँसँग सुरक्षित हुनुपर्ने हो, तर दुःखको कुुरो संप्रति मीनभवन बानेश्वरस्थित उहाँको आलिशान भवनमा त्यो पाण्डुलिपि अनुपलब्ध भएको छ । उहाँका पतिदेव इ. शंकर गिरीज्यूलाई पनि यो तथ्य ज्ञात छ, तर उहाँको निवासस्थानमा दुईपल्ट जाँदा त्यो पाण्डुलिपिको बारेमा शंकर गिरीज्यू पनि अनभिज्ञ हुनुहुन्छ । उहाँसँग भेट्दा मुसुक्क हाँस्नुहुन्छ, तर बोल्न सक्नुहुन्न । यस्तो स्थितिमा त्यो पाण्डुलिपिको पत्तो लाग्नु असम्भव जस्तो नै लाग्दछ

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in नियात्रा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.