लघुकथा : ठूलाको संगत

~चोपनारायण बन्जाडे~

पम्फाले आफ्नो हैसियत नभए पनि दुखजिलो गरेर छोरालाई बोर्डिङ स्कुलमा पढ्न पठाईन् । आफ्ना दिदिबहिनीको आफ्नोभन्दा हुनेखानेमा बिहे भएकोले उनीहरूको कत्रो ठूलो सान छ ।  त्यसैले पटकपटक छोरा राजेशलाई “छोरा संगत त ठूलैको गर्नुपर्छ है, मेरो संगतले गर्दा यो हाल भयो” भनेर सम्झाउँथिन्,  “ठूलो रूखको ओत लागेपछि एक झर पानी ओत्छ । सोच नै ठूलो बन्छ ।” राजेशको बाल मस्तिष्कमा पनि त्यस्तै लाग्न थालेको थियोे । आफ्नै क्लासका साथीहरूले कति धेरै सुबिधा भोगिरहेका छन् । आफ्नो घरमा भएका विलासी सामानहरूका कुरा गर्छन् ।  कसैका बाउले दुईबर्ष चढेको गाडी बेचेर नयाँ मोडेलको किनेको त कसैकोले थप अरू विजनेसमा प्रवेश गरेका कुरा गर्छन् ।

“थाहा छ बाबाले सोरेन्टो कार किन्ने भन्नुभएको मम्मिले मानिस्सेन र  पजेरो किनियो । दुईबर्षलाई अब त्यहीँ गाडी हुन्छ हाम्रो त्यसपछि कस्तो आउँछ मार्केटमा त्यहीँ नै हुनेछ ।” पहिलोभन्दा दोस्रो राम्रो र महंगो ब्रान्ड होला भन्ने बुझ्थ्यो राजेश । कैयौंपटक धनीकोमा खाईने मीठाईका परिकारको नाम नबुझेर लज्जित हुन्थ्यो त , भरखरभरखर नेपाली मार्केटमा प्रवेश गरेका फलफूल र तिनको स्वादको चर्चा हुँदा ऊ अलग्गिन खोज्थ्यो उनीहरूबाट । तर जंगली जातका फलफूलहरूबाट उनीहरूसँग सहभागिता जनाउँथ्यो । काफल, कटुस, कौवा काफल, अमला आदिका सिजनमा पम्फाले नै जुगाड गरिदिन्थिन् ती फलफूलहरूको ताकी छोराले स्कुल लगोस् र साथीहरूलाई खुवाओस् । साँझ कुनकुन साथीहरूले कत्तिको रुचि गरे भनेर जानकारी लिन्थिन् । छोराको संगत राम्रै जमेकोमा खुसी थिइन् । छोराका साथीहरूहरूका महंगा र थोरै खानेकुराको सट्टामा उनले सस्ता जंगली फलफूल भए पनि परिमाण बढी नै उपलब्ध गराउँथिन् ।

        साथीहरू आफ्ना बाबामम्मीहरूको बर्थडेका कुरा गर्थे । एकदिन, “राजेश तिम्रो मम्मिको बर्थडे कहिले हो ?” भनेर सोधे ।

बर्थडेको दिन “ल यो चकलेट तिम्रो मम्मिको बर्थडेलाई” भनेर एउटा ठूलो चक्लेटको पोको दिए गिफ्ट पेपरले बेरेर । राजेशको खुसीको सिमा नै रहेन । बर्थडेको साँझ धनीहरूले जसरी मनाउँछन् त्यसरी मनाउन खोजे । हलुवाको केक बन्यो, बत्ति बालियो । परिवारका सदस्यहरूले ताली बजाए ।

” हेप्पी वर्थडे टु यु” भने । अब त्यो दिनको सबैभन्दा महत्त्वपूर्ण गिफ्ट चक्लेटको पोको खोलियो जुन खान सबै लालायित थिए र जस्को कारण कहिल्यै नमनाएको बर्थडे मनाईएको थियो । ती साथीहरूलाई मन लागेर पनि बोलाउन सकेन। सायद खातिरदारी गर्न सकिन्न जस्तो लाग्यो उसलाई । साथीहरूप्रति कृतज्ञ हुँदै उसले पोको खोल्यो । तर उत्तिबेरमै त्यो खुसी खिन्नतामा बदलियो । रोयो मात्रै राजेश केही बोल्न सकेन । अचम्म मान्दै अरुले पोको खोतले चक्लेट आकारका  चक्लेटको प्लास्टिकले बेरिएका थुप्रै ससाना ढुंगाहरू थिए पोकाभित्र ।

सन्धिखर्क-०१, अर्घाखाँची ।

(स्रोत : सुगमपोस्ट डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.