~खेमराज पोखरेल~
पाँच वर्ष प्रेम गरेर भागी बिहे गरेका थियौँ हामीले । उनी तल्लो जातकी भएकाले भाग्नु मात्र होइन आसाम भासिनु परेको थियो हामीले । आसाममा पनि हामीले जात लुकाउनु परेको थियो । हामी गरिव थियौँ । समस्या यति थियो कि पर्गेल्न धौधौ थियो । तर पनि उनी थिइन् । म थिएँ । हाम्रो संसार थियो । सन्तान भएनन् र पनि हामी पूर्ण थियौँ । प्रेम साथ थियो । प्रेमको ज्वालामा सबै समस्या डढेका थिए । तमाखुको ट्वार्रट्वार्र आवाजमा पिरती हाँसेको थियो । यस्तै हो, हाम्रो समय प्रेमिल थियो।
तर, दुर्भाग्य उनी थलिइन् । डाक्टरले क्यान्सर भन्यो । किमो दिन थालियो । उनको कपाल झर्यो । दाँत झर्यो । उनी खाली पोल्यो पोल्यो भन्थिन् । क्यान्सरले उनलाई मात्र सिध्याएन, सबै सम्पत्ति स्वाहा पार्यो ।
म पनि थलिएँ । डाक्टरले मलाई पनि क्यान्सर भन्यो । म खुसी भएँ। किनकि अब बाँच्नु थिएन। मेरो संसार सकिएको थियो । अब म छिट्टै मायानजिक पुग्नेवाला थिएँ।
निरूद्धेश्य घरबाट बाहिर निस्केँ । खोकी मलाई पनि लागिरहेको थियो । असाध्य पोलेको थियो । रातको समय थियो । जून टहटह लागेको थियो । बादलले घरिघरि जूनलाई छोप्थ्यो । घरि उघ्रन्थ्यो । रोमाञ्चक भएर जूनलाई हेरेँ । फोक्सो खलाँतीजस्तै खुम्चन्थ्यो । फुल्थ्यो । एकदम दुख्दै थियो । भतभती पोल्दै थियो । सकीनसकी उनकै समाधिलाई समाएर उभिएँ । जूनको टहटहमा उनको समाधिमा एक थुँगा फूल चढाएँ । उनी त समाधिबाट बाहिर आइन् र हिँडिरहेको जूनलाई भनिन्– ‘ए जून, बिस्तारै– बिस्तारै हिँड । बुझ्यौ, मैले भोगेकी छु, तिम्रो शीतल चालले पनि पोल्दै छ बाबै उहाँलाई ।’
(स्रोत : नागरिक – शनिबार)