कथा : लमहि र दमाई चरो

~टंक वनेम~Tanka Wanem

दमाई चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी डाँडाको बिसौनीबाट एक टेकनमा सुरिलो सिमलको रुखनेर पुगेर सुस्केरा हाल्दै भारीको टेकन लगाउथे ।

धेरै तल मैवाखोला सुसाएको स्वरले विह्ल मनको क्यानभासमा भावनाका अनौठा रङहरु पोति दिन्थ्यो । त्यहीँ सम्झनामा करिव चार दशक अघिको लङ् प्लेकार्ड रिवाइण्ड हुन थाल्छ । अहा ! जीवन त नजानिदो पाराले पो घस्रिन्दो रहेछ त । चाल पाएर पनि चालै नपाए जस्तो । कसो कसो के के नमिलेको बेमौसममा पलाएको मुना जस्तो । समय बित्न कति बेर पो लाग्दो रहेछ र ? एक एक सिन्का जोडेर जुरेलीले कति राम्रो गोल गुँड बनाए झैं,अतीतका सिन्काहरु जोडेर एउटा ठूलो फ्रेम बनाउन आतुर हुन्छ मन । जसमा अतीतका एक मुष्ट घटनाहरु संगालीन सकोस ।

तर तीन दशक बढी प्रवासी जीवन भोगी सकिएकोछ । तिनै भोगाइका बन्दुकको गोली लागेर चाँदमारी बनेको गिदीको भित्ताबाट कति अविस्मरणीय सम्झनाहरु यादको खाताबाट मेटिदै गएका छन् । कति अतीतका घटनाहरु स्मरणको प्यानेलमा सर्रर… नपल्टि दिँदा दिक्क लाग्नु सिवाय अर्थोक केही गर्न सकिन्न । यति हुँदाहुँदै पनि लमहि र दमाई चरोको स्मरण भित्ते घडीको लङ्गुर बनेर हल्लि रहन्छ ।

बि.सं. २०३२ सालतिर होला गाउँकी दिदी (गोठाले साथी) लमहिको लास बूढो चिलाउने रुखको हाँगामा झुण्डिएको थियो । लमहिको लास झुन्डिएको खबर गाउँ घरमा फैलिए पछि गाउँ घरका बूढापाकाहरु पञ्चको रुपमा नियाँ निसाप गर्दै लास नियाली रहेका थिए ।

एक जना अनुभवी बूढा निकै बेर लास नियालेर भन्दै थिए । लासले दिएको सङ््केत अनुसार लमहिले आत्महत्या गरेको ठहरिदैन । लमहिको सुकोमल औँलाहरु मुठी पारेर कसिएका छैनन् । जो बाङ्गिएको घिच्रोमा त्यसरी बल परेको सङ्केत सम्म नहुनु अर्को प्रमाण हो । बरु लमहिको डम्म सुन्निएको जस्तो भुँडीले रहस्यमय घटनाको उद्घाटन गरे जस्तोछ ।

झुण्डिएर मर्ने व्यक्ति पुरुष भएको भए उसको लिङ्गबाट अलिकति बिर्य निस्केको छ कि छैन् भनेर जाँच गरिन्थ्यो होला । तर स्त्री भएको हुनाले आत्महत्या गरेको हो वा होइन भनेर प्रहरीहरुले आफ्नै काइदाले जाँच गरि रहेका थिए ।

गाउँलेहरुले सुरक्षा दिएको ठाँउ प्रहरीले जिम्मा लिए पछि अनुसन्धान अगाडी बढ्यो । लमहिको लास जाँचपडताल र गाउँलेहरुलाई साछी राखेर सही छाप गरे पछि लास झारियो । लमहिको बाबु र सौतेनी आमा विह्ल मुद«ामा आँसु झार्दै रोई रहेका थिए । एउटै प्रश्न दोहरि रहेको थियो । लमहि किन झुन्डिएर मरिन् होला ?

लमहिको सद्गद् गरेको हप्ता दिन पछि गाउँमा गाइँगुइँ हल्ला सुनिन थाल्यो । चार हप्ता अघि बौलाहा कुकुरद्वारा टोकिएर उहि गाउँको सगुन दाइको मृत्यु भएको थियो । हो उसैसँग लमहिको सम्बन्ध थियो । सगुन दाइकै मृत्युले लमहिको मृत्यु निम्त्याएको हो । लमहिको आत्महत्याको फैसला पनि त्यहीँ निर्णयले अन्त्य गरेको थियो । तर गाउँका बूढो मान्छेहरुको अनुभवले बताएको साङ््केतिक प्रमाणहरुले त्यहाँ कुनै ठाउँ पाएन । पञ्चहरुले देखेको प्रमाण अनुसार किन अनुसन्धान गरिएन,रहस्यमय मुद्वा फेरि उल्टिएन पनि ।

लमहिको बाबुले सुरीलो सिमलको रुख छेउमा एउटा सुन्दर चौतारो बनाई दिएका थिए । त्यो ढुङ्गे चौतारोमाथि लमहिको नाममा बर पीपल रोपिएन । चौतारोमाथि एउटा बिरुवा रोपिएको थियो । निकै बर्ष पछि बिरुवा हुर्केर बल्ल थाहा भएको थियो । ढुङ्गे चौतारीमाथि रोपिएको विरुवा त बेलको रुख पो रहेछ । त्यहीँ बेलको रुखमा दमाईँ चरो प्रायः फुच्चिङ चिङ…….फुच्चिङ चिङ…….को आवाजमा चिरबिराइ रहेको हुन्थ्यो ।

गाउँलेहरु भन्थे सौतेनी आमाले लमहिलाई मारेर झुन्ड्याएपछि लमहिको आत्मा दमाई चरो भएर त्यहीँ बेलको रुखमा बास गरेको हो । कहाँनेर सत्यताको जग उभेको छ कुन्नि ? लमहिको मृत्यु,गाउँका बूढा मान्छेहरुको अनुमान,सगुन दाइको मृत्युसँग गाँसिएको लमहिको प्रेमलीला,लमहिको आत्मा दमाई चरोमा परिणत भएको गाउँलेहरुको जनविश्वास र सौतेनी आमाद्वारा मारिएको हो भनी सङ्का गरिएको चिलाउनेको रुखमा झुण्डिएको लमहिको लास । प्रश्नै प्रश्नहरुको प्रहारले एउटा संस्मरणात्मक अतीतको क्षणलाई ठुङ्गी रहन्छ ।

जव म गाउँमा पुग्छु,वाल्यकालमा गाई वस्तु हेरेको,पानी अमला टिपी खाएको,सुरीलो सिमल र पञ्चमी डाँडामा बसेर धेरै टाढा टाढाको दृश्य हेर्दै ती नीला पहाड पर्बतहरुवारे विभिन्न कथा कहानीहरु सुन्दै समय विताएको सम्झनाहरु स्मरण गर्दछु । हुन त लमहि म भन्दा ठूली थिइन् । तर पनि म उसलाई दिदी भनेर बोलाउदिनथेँ । हामीसँग साथीको साइनो वा सँगसँगै हुर्केको दिदी र भाइले गर्ने व्यवहार जस्तै हुने गर्दथ्यो । त्यतीवेला लमहिको उमेर १५ बर्ष जतिको थियो होला । सगुन दाइ १६ वा १७ बर्षका थिए कि ? उनीहरु वीच चलेको माया प्रेमको हल्ला कहीँ कतै सुनिएको थिएन ।

एक दिन गाउँमा कुकुर बौलाएको खवर कानमा ठोक्किन आई पुग्यो । आमा बाबुहरुले होसियारीको घण्टी बजाई रहेका थिए । घरमा पालिएको दुम्से कुकुरले आफ्नो आयुका बर्षहरु लम्ब्याउँन सकेन । त्यसवेला गाउँका कुकुरहरुलाई रेविज विरुद्ध सुई लगाउने सुविधा थिएन । एउटै उपाय हुन्थ्यो,रेविज लाग्नु अघि झुण्ड्याएर मार्नु वा कतै रुखमा बाँधेर भरुवा बन्दुकले गोली ठोक्नु ।

हल्ला चलेको करिव महिना दिन पछि सगुन दाइलाई रेविज लागेको बौलाहा कुकुरले टोकेको थियो । उनका आमा बाबुले तुम्बेगु भन्ने डाँडाबाट औतारी लामा नामको लामा ल्याएर औषधी मूलो गरेका थिए । तर उनी निको हुन सकेनन् । बौलाहा कुकुरले टोकेको महिना दिन पछि कुकुर जस्तै भुग्न थालेका थिए । उनलाई घरको सिकुवामा मोटो फलामको साङ्लाले बाँधेर राखिएको थियो ।

उनी हाम्रो समुहको नाइके थिए । अर्को गाउँका केटाहरुसँग सानो तिनो फौदारी (झगडा) गर्न,चरोको गुँड खोज्न,खोलामा गएर दुवाली फर्काउन,धनुबाण बनाएर चरा चुरुङ्गीको सिकार गर्न,भदौ् /असोजतिर खोला वा खोल्सातिर पाहा खोज्न जाँदा उनैले नेतृत्व गर्थे । सगुन दाइको मृत्यु भए पछि हाम्रो समुह जर्नेल बिनाको सिपाही जस्तै भएका थियौँ । सगुन दाइले कहिल्यै कुनै प्रकारको प्रसँगमा लमहीसँग आफ्नो प्रेम सम्बन्ध भएको जानकारी गराएका थिएनन् । तर लमहि झुण्डिएर मरे पछि लमहिको मृत्युको कारण सगुन दाइमाथि थोपरिएको थियो ।

कहिलेकाहीँ अझै पनि अतीतको धमिलो स्मरणहरुमा टोलाइ रहन्छु र स्वयम् प्रश्न गरि रहन्छु । के लमहिको आत्महत्या पछाडीको कारण सगुन दाइ नै थिए त ? मेरो ब्रम्हले अझै पनि स्वीकार गर्न सकेको छैन् । पोहोर साल करिव १८ बर्ष पछि फेरि गाउँमा पुगेँ । ती गाउँठाउँहरुमा धित मरुन्जेल घुमेँ । त्यो सुरिलो सिमलको रुख ठुट्टामा परिणत भइ सकेको रहेछ । छेउछाउमा अन्य चिलाउने र कटुसका रुखहरु पनि हलक्क बढेका रहेछन् ।

चौतारो थियो तर बेलको रुख थिएन । दमाई चरो चिरबिराएको सुन्न सकिन्छ कि भनेर निकैबेर कुरेँ । अहँ ! कतै सुनिएन,आफैलाई बिरानो भएको महसुस गरेँ । शायद त्यो डाँडा पाखाबाट दमाई चरोको अस्तित्व नै लोप भई सकेको थियो कि ?

झट्ट भारतीय कवि उदय प्रकाशले लेखेको “तीन बर्ष” नामक कविताको अंशले मनको ओखलमा ढिकी कुट्न थालेको थियो । हो तीन बर्षमा,सामुन्ने घरको छतमा कपाल कोर्दै गरेकी युवति त बेपत्ता हुन सक्छे भने चालीस बर्षको समय भनेको त एउटा इतिहास बन्न सक्ने समय हो ।

निकैबेर डाँडाको चौतारोमा बसेर गमेँ,किन ती अतीतहरु यति प्यारा भएका होलान् ? किन जीवनको यति लामो कालखण्ड पार गरि सकेर पनि वाल्यकालीन ती प्रिय अनुहारहरूको विम्बहरु यो मानसपटलमा प्रतिविम्बित हुन आई पुगेको हो ?

हुन त कसैका मनहरुले पनि आफ्नो अतीतप्रति कृतघ्नता दर्शाउन सक्दैन् होला अथवा आफनै अन्तस्करणप्रति निर्मम विश्वासघात गर्न नसकिदो रहेछ । आजको दिनहरु स्मरण योग्य नहुँदो हो त जीवन बाँच्नुको अर्थ पनि त हुँदैन थियो होला ….. ….. …..

यसो संसारमा घटेका घटित घटनाहरु सोँच्छु र चित बुझाउने गर्दछु । आफनो देशै गुमाएर हरेक दिन तिब्बती शरणारर्थीहरु धर्मशालाको गल्ली गल्लीमा तिब्बत….. तिब्बत….. भन्दै आफनो देशको नाम जपी रहँदा पनि आफनो देश तिब्बत फर्कन पाएका छैनन् । आफनै देशमा शरणरर्थी बनेका प्यालेष्टाइनीहरुको दुःख कम्ता कहाली लाग्दो छैन् ।

५४ बर्षदेखि भारतभूमिमा फसेका चीनियाँ सैनिक वां छी जस्तो आफनो जन्मभूमि फर्कनै नपाउने भएर पनि त बाँचिएको छैन् । जो अन्तिम पटक उनको आमाले उनको अनुहार हेर्ने इत्छा व्यक्त गरेकी थिइन तर उनले आमाको इत्छा पूरा गर्न सकेनन् । बाँच्नको लागि धर्मकर्म,भाषा र संस्कार नमिल्ने एउटा भारतीय युवतिलाई विवाह गरेर जीवन बाँच्ने क्रमलाई भने निरन्तरता दिई रहेका छन् ।

त्यस्तै क्रसर गिटी निकाल्ने उद्योगले चुरेबन बिनास गरे पछि बिस्थापित भएका धनुषा जिल्लाको दिगम्बपुर छेडीपोखरका ललितबहादुर बुढाथोकीको जस्तो पीडा पनि त छैन् । जलाद खोलाको छेउमा उनको पुर्खौली आवादी जग्गा थियो । मनग्गे सिँचाइ हुने र गजबले खेतीपाती हुने गाउँ रहेछ । तर चुरेबन बिनासले गर्दा चुरेबनको बहलबाढी गाउँमा पस्दा बाढीले करिव ६ फिट माटो बगाएर लगेछ र गाउँ मरुभूमिमा परिणत गरि दिएछ ।

ललितबहादुर बुढाथोकी र उनी जस्ता गाउँलेहरु बाँचेका त छन तर गाउँको अस्तित्व छैन् । उनी प्रत्येक दिन दुई किलोमिटर टाढाको बाटो हिँडेर मरुभूमि बनेको आफनो जन्म गाउँ छेडीपोखर पुग्छन । आमा बाबु,इष्टमित्र र आफन्तहरुको सम्झना गर्दछन । गाउँमा बिताएका वाल्यकाललाई सम्झन्छन र घर फर्कन्छन् ।

मेरो अवस्था तिब्बती शरणरर्थी,प्यालेष्टानीहरुको दुःख,वां छी र ललितबहादुर बुढाथोकीको जस्तो गुज्रेको छैन् । र मलाई कुनै कानूनका अप्ठयारा महलहरुले छेकथुन गरेको पनि छैन् । चाहेको खण्डमा म जुनसुकै वेला आफ्नो जन्मभूमि फर्कन सक्छु । वास्तवमा म र म जस्ता धेरै नेपालीहरु आफ्नै मनखुशीले शरणर्थी जीवन बिताई रहेका मात्र हौँ । हो मेरो वाल्यकालमा बिताएका गाउँ ठाउँहरु उस्तै छन । अथवा ती डाँडा पाखाहरु कुनै राज्य र प्राकृतिक प्रकोपको कोपभाजन हुनबाट बचेकोछ ।

यति हो गाउँ पुगियो भने गाउँ उस्तै भए पनि आमा बाबु र वाल्यकालका साथीसंगीहरु भने हुने छैनन् । शायद अझै पनि दमाई चरो चिरबिराउनेछ । ड्रिलिप कम्पनीले बनाई दिएको मिल्के गुफा पोखरी र तमोर दोभानको मोटर बाटोमा धुलो उडाउँदै ल्याण्डरोभरहरु कुद्नेछन । वादलको कोठेबारीमा सेतो दन्त निकालेर फकताङ्लुङ हिमाल पनि मुसुक्क मुस्कुराई रहेकै हुनेछ ।

म र म जस्ता गाउँ छाडेर जानेहरुले जीवनमा खोजेर नभेटाएको भाग्य शायद त्यहीँ मुस्कान नै हो ।

वाल्यकालमा जहाँको माटोसँग खेलिन्छ,हिँडिन्छ र माया प्रेम गरिन्छ त्यति नै माटोको माया पनि हिमाल पहाड जस्तै अग्लि रहँदो रहेछ । त्यसै भएर होला लमही र दमाइँ चरोको सानो इपिसोडले पनि अतीतको लङमार्चतिर हिँडाई रहेकैछ र जीवनको अन्तिम बिन्दुसम्म पनि हिँडाई रहनेछ । बूढापाकाहरुले त्यसै भनेका होइनन् रहेछ । जाने बाटोभन्दा आएकै बाटोको माया बढी हुन्छ । ओलिभर गोल्डस्मिथले आफ्नो “ट्राभेलर” भन्ने कवितामा लेखेका छन । देसभक्तहरुको हृदयमा मात्र माटोको माया कुँदिएको हुन्छ ।

– ताप्लेजुङ् ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.