~रवि प्राञ्जल~
फूलझैं वासना छर्नु पो जिन्दगी ।
गर्वले वन्दना गर्नु पो जिन्दगी ।
भोकमा, शोकमा, पर्छ जो कष्टमा
स्नेहले कष्ट त्यो हर्नु पो जिन्दगी ।
मातमा लटि्ठंदै मर्छ जो मूर्ख हो
होशमै शानले मर्नु पो जिन्दगी ।
खै कहाँ रोकियो आँसुको मूल यो ?
आँसुमै चढ्नु र झर्नु पो जिन्दगी ।
जिन्दगी भास हो, जिन्दगी धाप हो
यत्नले धाप त्यो तर्नु पो जिन्दगी ।
(स्रोत : मधुपर्क २०६७ असार)