लेख : कविता के हो ?

~कृष्ण प्रधान~

१ ➽ कविता भनेको सुत्रमै लेखिन्छ । यो कथा,कुथुंग्रीजस्तो गल्प होइन न निबन्धजस्तो छड.्छड.् छहरा बगेको नदी ।

कतिपय बिम्बले कतिपय प्रतीकले र कतिपय अन्दाजले पनि बुझ्न सकिन्छ कवितालाई । संक्षिप्तता, सुत्रवद्धता कविताका अनिवार्य आचार हुन् । रह्यो अरुकुरा, छन्द मिलाउने वा भंग गर्ने सरल वा जटील बनाउने कविको कर्म हो । मोहन कोइराला वा ईश्वर वल्लभ वा द्वारिका श्रेष्ठका जस्तै वा बैरागी काँइलाका कतिपय कविताजस्तै वा नयाँ पुस्ताका महेश प्रसाईं वा फणिन्द्र नेपालका जस्तै अलिकति बुझिने अलिकति नबुझिने केही जटील र केही सरलबीचको रेखा पहिल्याउँदै हिड्नु पर्ने अवस्था ल्याउने जिम्मेवारी कवि स्वयम्को हो ।

२ ➽ यसै प्रसंगमा कुरा गर्दा सडक कविता क्रान्ति २०३६ को स्मरणकविहरुलाई जनतासामु जान केही सरल अभिव्यञ्जना र अभिव्यक्ति सहितको काव्य लेखनको खाँचो देखायो । त्यस अर्थमा २०३६ पछिका समयमा समेत कविताका जटील कवि मोहन कोइराला पनि कवितामा केही सरल देखिएकै हुन्, तर अझै पछिल्ला कालखण्डमा उनका कविता सरल र भाष्य हुनसकेका देखिएनन् । सरल कविताभित्र पनि अथाह व्यंग्य र अनेक सम्भावनाहरुको खोजी र गद्यमा लयकासाथ कविता लेख्ने कवि भूपि शेरचनका कविताहरुमा अनेकौं जटील कुराहरु बुझ्न सकिन्छ । नेपाली कवितामा भूपि शेरचनको आगमनसितै घुम्ने मेचमाथिको अन्धो मान्छे (२०२६ साल) कविता संग्रह मार्फत् नेपाली कवितालाई सरलतातिर मोड्न तिनको उल्लेख्य भूमिका रहेको छ । तर उनी सडक कविता क्रान्तिका विरोधी रहे । मोहन कोइराला, भवानी घिमिरे, हरिभक्त कटुवाल झैं उनी सडकमा आएनन् कवितालाई लिएर । त्यसवखत उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ थिए ।

सम्भवतः त्यस पदीयताले उनलाई सडकमा नआउन वाध्यता पा¥यो होला । कवि ईश्वर बल्लभ पनि सडकमा आएनन् । तर उनले आफ्ना कवितालाई सडकमा लान्न भनेर अन्तरवार्ता चाँही दिएर त्यसको विरोध भने गरे । त्यो तिनको निजी कुरा थियो । अभिव्यक्तिको स्वतन्त्रता भनेकै यही हो, आफूलाई लागेको कुरा राख्न पाइने ।

३ ➽ मूर्धन्य कविहरुले सडक कविता आन्दोलनको विरोधै गरे पनि वा कोही अमूर्त रहे बसे पनि वास्तवमा त्यो क्रान्ति नेपाली कविता साहित्यलाई नयाँ मोडमा हिडाउने एक अपूर्व घटना थियो । सडक कविता क्रान्तिले नेपाली नव कविहरुलाई सरलवोध्य समसामयिक बिम्ब र प्रतीकका माध्यमबाट लेख्न उत्प्रेरित ग¥यो । भलै, त्यो क्रान्ति जनमत संग्रहमा दिइएको दुईवटा राजनैतिक व्यवस्थावीचको चयनमा आधारित एकपक्ष अर्थात् वहुदलीय व्यवस्थाको रोजाइमा कविहरुको नैतिक समर्थनको उभारको प्रतिबिम्ब पनि थियो र कविहरु सुधारिएको पञ्चायत पक्षको विरोधमा खुलस्त नै रहे । त्यो त्यस समयको माग पनि थियो । त्यसबेला धेरैले त्यस क्रान्तिमा होमिनेहरुलाई, सडक कविता क्रान्ति २०३६ मा भाग लिएका कविहरुलाई वहुदलीय व्यवस्थाको पक्षधर भन्दै राजनैतिक आवरण पहि¥याउन पनि पछि परेनन् । सडक कविता क्रान्तिमा पढिएका, प्रकाशित भएका सबै कविता उत्कृष्टताभित्र नपरे पनि तिनमा उल्लेखित राजनैतिक ,प्रजातान्त्रिक चेतनाको स्वर (पञ्चायत व्यवस्थाको अधिनायकी विरुद्धको स्वर) बुलन्द पार्ने कार्यमा भने ती अगाडि रहेका छन् । कविहरुमा प्रजातान्त्रिक चेतनाको स्वर ती बेलाका कवितामा मुखरित छन् , मनग्ये । सम्भवतः जनमत संग्रहताकाको केही खुकुलोपनामा कवि लेखकहरु सडक कविता क्रान्तिका माध्यमले दुई दशकसम्म तत्कालीन व्यवस्थाले थिचेर र थुनेर राखेको अभिव्यक्ति स्वतनत्रताको विस्फोटन पनि हो, त्यो ‘भानु’ पत्रिकाका सम्पादक एवं प्रकाशक कवि भवानी घिमिरेले नेतृत्व गरेको सडक कविता क्रान्ति (२०३६ एक महीनासम्म चल्यो, देशव्यापीरूपमा ।

कतिपयलाई राजनैतिक दवावका कारण बिचैमा क्रान्तिबाट ओझेलिनु प¥यो । कतिपयले जागीर गुमाए । कतिपयले जागिरै नगुमाए पनि तिनमाथि तत्कालीन सत्ताको वक्रदृष्टि कायमै रह्यो पछिसम्म,२०४६ सालतक । प्रशाशनिक वक्रदृष्टिकै कारण सडक कवितामा भाग लिने कतिपय जागिरेका बढुवा समेत प्रभावित रह्यो । पञ्चायतकालीन अँध्यारो कालखण्डमा नखुलेकाहरु जनमत संग्रहताका खुलेर बाहिर आए । स्वतन्त्रताका पक्षधर कविहरुको त कुरै भएन कविता क्रन्ति नै गरे । यो लेखक पनि बालबाल जागीरको हात धुनबाट बचेको थियो । सडक कविता क्रान्तिमा होमिनेहरुलाई कतिपय स्थानमा बहुदले कवि भनेर पञ्चायतका गिरोहहरुबाट आक्रमण समेत भएका थिए । यो एउटा विस्मयकारी घटना नै हो कविता लेख्नेहरुका लागि ।

४ ➽ तर यसै चेतनाले नेपाली कवितामा तीसको दशकको योगदान स्मरणीय रहेको मात्र होइन त्यो बेलाका कविहरुकै कारण नेपाली कविता साहित्यमा समसामयिक धाराको उदय भएको मान्नु पर्दछ । यसैले तीसका दशकका कविता नपढी, नछिमली, अध्ययन नगरी अहिलेका पुस्ताको (चालीसको दशकपछि) कविताहरूले बनाएको राजमार्गको आधार भूमि बुझिदैन । तीस कै दशकका कविहरुले बनाएको राजमार्गको जगले नै यो महामार्ग खनिएको कुरालाई स्वीकार्नु पर्छ ।

५ ➽ सडक कविता क्रान्तिले ल्याएको मूल काव्यिक सचेतना के हो त ? तत्कालमा सत्तासीनहरुका लागि त्यो क्रान्ति पञ्चायती राज्य व्यवस्थाविरुद्ध उभिएको अराजक अभियान थियो । त्यसैले तिनका अभियन्ताहरु सत्ताको नजरमा जहिल्यै तारो बने, पछिसम्म पनि । अर्थात् तिनलाई तत्कालीन पञ्चायती सरकारले निशानामा राखी नै रह्यो । सम्भवतः २०४६ सालको जनआन्दोलन (प्रथम जनआन्दोलन) सफल भएर बहुदलीय व्यवस्था नआएको भए सडक कविता क्रान्ति २०३६ का श्रष्टाहरु,कवि,लेखकहरु पञ्चायतकै जर्जरताका पीडा भोगिरहेका हुन्थे । यसैले त्यो क्रान्तिले ल्याएको पहिलो चेतना भनेको कविताको प्रभावशिलता हो । जसले प्रजातान्त्रिक, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आवाज कतिसम्म बुलन्द गर्न सक्दो रहेछ भन्ने सवालमा नेपाली जनतामा (त्यसबेला नेपाली जनता अहिलेझैं नागरिक बनिसकेका थिएनन्) एउटा बलियो चेतनाको लहरको उभार ल्याइदियो ।

नेपाली कविताप्रति अभिरुची र चासो बढ्न थाल्यो । कविता राजनीतिप्रति अर्थात् राजनैतिक अधिनायकत्व विरुद्ध उभिएको यो पहिलो र बलियो अभियान भन्न सकिन्छ । राजनैतिक प्रतिपक्षहरुले सत्तासीनहरु विरुद्ध गर्ने नाराजुलुस, बन्द, हड्ताल, धर्ना, आमसभा, ¥याली लगायतका विरोधका शैलीभन्दा नितान्त अलग तर सृजनात्मक सन्देशका साथ गरिएको सृजनशील श्रष्टाहरुको त्यो काव्यिक आन्दोलन स्वयम्मा ती राजनैतिक विरोधका शैलीभन्दा अलग त थियो नै त्यसले लगभग सत्याग्रहकै प्रभावशिलता बोकेको थियो । एसलाई म काव्यिक सत्याग्रह पनि भन्न रुचाउँछु । त्यसले ल्याएको आर्को प्रभाव भनेको नेपाली दुरुह र ल्किस्ट कविताका परम्परामा सरल र सहज भाषामा पनि नेपाली कविता लेख्न सकिन्छ भन्ने सन्देश दिनु पनि हो । त्यसपछि तीसका दशकका कविहरुले कवितालाई जटीलता, दूर्वोध्यता र अस्पस्टताभन्दा सरलतातिर र जनजीवनका सरोकारसित बढी सम्वद्ध गरेर लगेको पाइन्छ । जुन प्रयोग आजतक (२०७० को दशकको अन्तसम्म ) पनि कायमै छ । नयाँ पिंढिले पनि त्यसैलाई पच्छ्याएका छन् । वर्तमान सरल नेपाली गद्य कविताको जग खन्ने काम तीसका दशकका कविहरुले गरेका हुन् भन्न सकिन्छ । त्यसमा त्यो सडक कविता क्रान्तिको पनि परोक्ष हात रहेको मान्न सकिन्छ ।

६ ➽ बन्दुकले मान्छेलाई ताकेर गोली हाने त्यो ताकिएको मान्छे मात्र ढल्छ वा मर्छ । तर कविताको गोली लागेर कोही पनि मर्दैन बरु त्यसले अनन्त मानिसहरूमा चेतना जगाउँछ । त्यसैले कविताको तागत बन्दुकसित तुलना गर्न सकिन्न । त्यो तागतदार हुने भएरै जहिल्यै सत्तासीनहरु सत्ताधारीहरू कवि लेखकसित त्रसीत र भयभित हुने गर्छन् र, कुनै न कुनै उपायले तिनलाई दबाउने प्रयत्न कोशिस गरिरहन्छन् । नेपाली साहित्यमा मकैको खेती काण्ड (१९७७ साल) त्यही भय र त्रासको परिणाम हो । राणाकालीन समयको त के कुरा भो र पञ्चायती प्रजातन्त्र भनिएको कालमा समेत कवि लेखकहरुले आफना कविता वा कृति प्रकाशनपूर्व अञ्चलाधिसबाट सेन्सर गराएर मात्र प्रकाशन गर्नुपर्ने विडम्बनाबाट गुज्रनु पथ्र्यो । त्यसैले संसारभर जतिपनि अधिनायकवादीहरु वा प्रजातन्त्र–लोकतन्त्रका विरोधीहरु लेखक कवि श्रष्टाहरूसित डराइरहेका थिए, छन् र हुनेछन् । वौद्धिक चेतना काव्यिक चेतनाले सत्तासीनहरू जहिल्यै भयभीत यसकारणले पनि हुन्छन् कि तिनलाई जहिल्यै आफ्ना कर्तूतको प्रशंसाको खाँचो हुन्छ र त्यसका विरोधी स्वरहरू, तिनका नजरमा आफैं नियम कानून र प्रणाली हुन्। ।’जंगेको कानून’जस्तै ।

बांगो रूख भए पनि जंगबहादुर राणा श्री ३ महाराज भएका बेला कसैको हिम्मत हुँदैनथ्यो कि त्यो रुख बांगो छ भन्ने कुरा । त्यसैले उनीहरु भन्थे अरे ।।।मेरो गर्धन चिलाएको हो कि के हो रूख त बांगै छ महाराज ।।।। उस बेलाको कुरा हो, हामीले हाम्रा पूर्खाहरुबाट सुन्दै आएको हो यो । त्यसैले नेपाली समाजमा जबजब अधिनायकी शासनशैलीको कुरा उठ्छ तबतब ।।।जंगेको कानून’को प्रसंग पनि स्वतः आउने गर्छ । सायद अहिले बर्मा(म्यान्मार) मा त्यही जंगे कानूनकै प्रयोग भैरहेको अनुभूत हुन्छ ।

७ ➽ निडर भएर कविता लेख्न सकिएन भने त्यो कविता हुन्न । स्तुति हुन्छ भगवानको जस्तो, कुर्सीको र सत्ताको । वीरकालीन नेपाली कविता हेर्दा त्यस्तै लाग्छ । त्यसबेला राज्य विस्तारमा वा राज्य कब्जामा वीरताकै खाँचो पथ्र्याे । त्यसैका लागि वीरहरु,नायकहरुका सुरता र वीरताकै स्तुतिगान पनि गाइनु अन्यथा होइन । रघुनाथ भाटहरुले वीर स्तुति नै रोजे हुनन्, त्यो समयको त्यो अन्यथा होइन । सोअगि वा पछि पनि भक्तिकालमा भगवानका, अवतारी पुरुषका वा कुनै अलौकिक देवीका स्तुति, प्रशंसा र व्याख्यानमै काव्य लेखनहरु समर्पित भएका पाइन्छन् । पुराणहरुका त्यस खाले व्याख्यान आजतक चलेकै छ । भगवान विष्णु वा राम वा कृष्णका विषयमा हामी अझै नतमस्तक हुन्छौं, भइरहेछौं । तिनलाई पूज्छौं, ढोग्छौं र स्वयम्लाई समर्पित पनि गर्छौं । ती पनि त्यसबेला वीरपुरुष वा कुनै अद्वीतीय प्रतिभासम्पन्न व्यक्तित्व थिए होलान् । भगवान वा देवता भनेका सकारात्मक गुण, लोकको भलाइका लागि काम गर्ने व्यक्ति नै होलान् भन्ने मलाई लाग्छ । अर्कोतर्फ राक्षसहरुको खासै वर्णन व्याख्या वा तिनका असल कर्मकोभन्दा नराम्रा र दुष्कर कर्मको मात्र प्रचार गरिएको पाइन्छ । तिनमाथि विजय गर्ने भगवान् वा देवी महादेवी काली, दुर्गा, चामुण्डा आदिको गाथा आजतक सम्झिइन्छ । तर, ती राक्षस राक्षसीहरुकोबारेमा नराम्रो कर्मको मात्र चर्चा हुन्छ । नराम्रो कर्म भनेको राक्षसी प्रवृति हो । राम्रो र असल कर्म वा जगतहितार्थ गरिने कर्म भनेको देव प्रवृति हो भन्ने लाग्छ । ती दवै खाले कर्म गर्नेभनेको मानिसभित्रकै प्रवृति हो । कविताले जहिल्यै देव प्रवृतिको वकालत गर्छ, पक्षपोषण गर्छ र राक्षसी प्रवृतिमाथि हुँकार बोल्छ । यसले अभिव्यक्ति स्वतन्त्रता र विचारको स्वतन्त्रतामाथि खनिने सत्ताधारीहरुको राक्षसी प्रवृतिमाथि जहिल्यै खवरदारी गरिरहन्छ, गरेको हुन्छ । हो, कविताले जहिल्यै असल पक्षको विचार बोकेर हिंड्छ ।

८ ➽ कहाँ छ र कविताले हानी गरेको कुरा ? ।।।जंगे कानून’ बाहेककालाई तिनले हानी पु¥याउँदैनन् ।

९ ➽ यस्तो भए पनि कविता चाँही सर्वगुण सम्पन्न हुन्छ भन्ने होइन । कविताले पनि आफ्नो धर्म निभाउन सक्नु पर्छ । त्यस्तो धर्म भनेको कविताको स्तर, गुण, क्षमता, चेतना, प्रखरता र सन्देशका हदमा स्वयम् स्पष्ट हुनुपर्छ ।
आफ्नो स्तर कायम गर्न नसक्ने कविता स्वयम्मा मर्छ पनि । त्यसैले ‘कविता’ नामको कविता मात्र हुनु उत्तम वा बडियाँ होइन । समसामयिक चेतनाका सम्वाहक भएको प्रमाणिकृत गर्नसक्नुपर्छ कविता स्वयम्ले । विचार मा स्पष्ट हुनै पर्छ । चेतनामा प्रखरता वा प्रष्टता हुनै पर्छ कवितामा । शैली र भाषा सम्वाहन सचेततामा माध्यम बन्नसक्नु पर्छ कवितामा । सम्वाहन गर्ने कुरै सम्वाहित हुनसकेन भने स्वयम्मा त्यो ।।।कविता’ नभएर नारा वा यस्तै केही हुन्छ । यसैले कविताका श्रष्टाहरुले कविताको गुणस्तरमाथि सदैव ध्यान पुर्याउन सकेनन् भने त्यो बुमराड.् सावित हुनपुग्छ ।

१० ➽ अहिले के पनि देखिएको – भेटिएको छ भने सामाजिक सञ्जाल (फेसबुक आदि)का भित्तामा दुईचार कविता वा मुक्तकआदि पोष्टगर्दैमा वा झुण्ड्याउँदैमा स्वयम्लाई ।।।नामूद कवि’को दर्जामा गनिनु पर्छ भन्ने
मानसिकता पनि बढ्दो छ । त्यहाँ दुईचार कविता पोष्ट गर्दैमा कवि स्वयम्ले ।।।महाकवि’ बनिएको सोच राख्नु कविताकै अवमूल्यन हो । कविको स्तर कवि स्वयम्ले होइन कविताले भन्ने ।।।देखाउने’ मापन गर्ने हुन्छ । यो पक्षमा भने ख्याल गर्नै पर्छ ।

११ ➽ कविताको स्तर कविता स्वयम्ले राख्ने गर्छ । त्यस्तो स्तर आजको भोलि आउँदैन– विकास हुँदैन । त्यसकालागि साधना पनि आवश्यक हुन्छ । त्यो ‘साधना’ भनेको कविताकै स्तरवृद्धिसित सरोकार राख्ने कुरा हो ।

१२ ➽ कविताले समय बोल्नु पर्छ । अर्थात् कवितामा समय चेतनाको स्वर पनि कुनै न कुनै रुपमा आइरहेको हुन्छ । त्यो विचारमा, त्यो चेतनामा त्यो विम्ब र प्रतीकमा आउनसक्छ । तर ती चेतनाले नारा वा भाषण वा स्तुतिगानलाई प्रश्रय दिनु हुँदैन ।

१३ ➽ यस्तो छ कविताको संसार । अब यस संसारमा रमाउने, खेल्ने, रुने, हाँस्ने,बाँच्ने वा मर्ने भनेको कविताका पारखीले नै हो । कविता बाँच्यो कवि पनि बाँच्छ । कविता म¥यो कवि पनि मर्छ ।
***
मञ्जरी भिलेज, ईमाडोल, ललितपुर
रचना कालः २०७८ मंसीर २३

(स्रोत : अभिव्यक्ती साहित्यिक पत्रिका)

This entry was posted in लेख, समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.