~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल –
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क –
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)