~ओ. हेन्री~
अनुवाद : सरिता तामाङ
ओ हेनरी पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै भाव देखाउँदैनथ्यो। सधैँ भावहिन उसको अनुहारमा रुचि र आश्चर्यको भाव देखियो जब म्याक्सवेल आफ्नी जवान महिला सचिवसँग आइपुग्यो। त्यतिबेला साढे नौ बजेको थियो।
“शुभ प्रभात, पिचर!,” म्याक्सवेलले भन्यो र पिचरको जवाफ पनि नपर्खिकन टेबुल नै नाघौँला जस्तोगरि हाम फाल्दै आफ्नो टेबुलतिर हान्नियो। त्यसपछि त्यहाँ रहेका बग्रेल्ती पत्रहरू र अन्य कागजातहरू हेर्न थाल्यो जो उसैको प्रतिक्षामा थिए।
म्याक्सवेलसँग भर्खर आएकी जवान महिला एक बर्षदेखि म्याक्सवेलकी सचिव भएर काम गर्दै थिइन्। उनी निकै सुन्दर र अरु महिलाभन्दा भिन्न थिइन्। उनको कपाल सधैँ सादा र सरल देखिन्थ्यो। उनले गहना लगाएकी थिइनन्। उनको कपडा खरानी रङको सादा, तर एकदम सुहाउँदो थियो। उनले कालो ह्याटमा सुगाको एउटा सुनौलो प्वाँख सिउरिएकी थिइन्। न्यून श्रृङ्गार र सादा पहिरनमा उनी अरुभन्दा विशेष देखिन्थिन्। यो सादापनमा उनको भद्र र सुरम्य व्यक्तित्व प्रष्टै झल्किन्थ्यो।
पिचरले निकै ख्याल गर्यो, आज बिहान उनी अल्लि खुशी देखिएकी थिइन्। उनका आँखाहरु स्वप्निल तर चम्किला थिए। अधरमा हल्का न्यानोपनको रङ र खुशीको भाव देखाएर उनी त्यहिँ उभिइरहेकी थिइन्।
पिचरले उनलाई हेर्यो। दिमागमा उनको बारेमा एउटा जिज्ञासा राखेको थियो तर उसले सोध्न सकेन। उनि त्यो बिहान कति भिन्न देखिएकी थिइन्। आफ्नो कार्यकक्षमा सिधै नगएर उनि पर्खिरहिन्। के गर्ने भनेर थाहा नभएर अलि अन्योलमा परेजस्तो गर्दै बसिरहिन्। र फेरि उठेर एकपल्ट म्याक्सवेलले आफूतिर ध्यान दिएर केही भनिहाल्ला कि भनेर उसको टेबुल नजिकैसम्म गइन्।
म्याक्सवेल आफ्नो टेबुलमा बसेर काम गरिरहेको थियो। ऊ अत्यन्तै व्यस्त थियो। यतिबेला त्यो टेबुलमा बसिरहेको मेशिन एउटा पुरुष थिएन। त्यो न्यू योर्क सहरको एउटा व्यस्त ब्रोकर थियो।
“के भो? केहि भन्नु छ?,” म्याक्सवेलले छोटो प्रश्न गर्यो। बोल्दै गर्दा उसको ध्यान टेबुलमा हिँउ झैँ छरिइरहेका कागजहरूमै थियो। त्यसपछि उसले भावहिन आँखाले उनलाई हेर्यो, एक मेशिनले अर्को मेशिनलाई हेरे जसरी।
“केही होइन।,” अलिकति मुस्कुराएर फर्किँदै उनले उत्तर दिइन्। थोरै हतास र उकुसमुकुस भएर चुपचाप पिचरतिर गइन्।
“पिचर जी,” उनले सोधिन् ,” म्याकसवेल जीले हिजो अर्को सचिव राख्ने बारे तपाईसँग केही कुरा गर्नुभयो?” ओ हेनरी
“गर्नुभयो त।,” पिचरले उत्तर दियो। “उहाँले मलाई अर्को सचिव राख्न भन्नुभएको छ। केही आज कुरा गर्न आउने कुरा थियो। तर अघि नै नौ बजिसक्यो। हेर्नुहोस् न, अहिलेसम्म कोहि पनि आउनुभएको छैन।”
“मेरो ठाँउमा कोहि नआउन्जेल म सधैँ झैं आफ्नो काम गर्दै गर्छु।,” त्यति भनिसकेर उनि आफ्नो टेबुलतिर गइन्। सधैँ जस्तो आफ्नो ह्याट निकालेर अलि पर राखिन् र आफ्नो काम गर्न लागिन्। ओ हेनरी
यदि तपाईले व्यस्त दिनमा न्यू योर्कको व्यस्त ब्रोकरलाई देख्नुभएको छैन भने तपाईलाई कार्यालयका मानिसहरू कति व्यस्त हुन्छन् र कार्यालयमा उनीहरूको मानसिकता कस्तो हुन्छ भन्ने बारेमा कम थाहा छ।
र आज हार्भी म्याक्सवेल एकदमै व्यस्त थियो।
उसको टेबुलको छेउमा एउटा मेशिन थियो। त्यो मेशिनबाट एउटा लामो, साँघुरो, कहिले नसिद्धिने कागजमा तात्तातो व्यापारिक समाचारहरू आउँथ्यो। बजारमा केही हलचल हुनेबित्तिकै सबै खबर थाहा पाउने ब्यवस्था उसले गरेको थियो। उसलाई पत्रहरू, समसामयिक खबर, महत्त्वपूर्ण कागजात सबै पढ्न भ्याइनभ्याई थियो।
थुप्रै मानिसहरू कार्यालयमा आएर ऊसँग कुरा गर्न थाले। केही खुशि थिए, केही थिएनन्, केही हतारमा थिए भने केही रिसले चुर थिए। एउटा गजब खाले भद्रगोलको स्थिती श्रृजना भएको देखिन्थ्यो।
केही केटाहरू म्याक्सवेललाई पत्र दिन र एकैचोटि पत्रको जवाफ लिन भित्र र बाहिर दौडदै थिए। त्यहाँ डरलाग्दो भिड जम्मा भएको थियो। म्याक्सवेल आफ्नो काममा लिन थियो।
पिचर अलि बढी सजिव भएको संकेत देखिन्थ्यो। अफिसका अरु कारिन्दाहरू भने कामको चापले आँधीमा परेजस्तै आतंकित भएर उफ्रँदै थिए।
त्यहाँ व्यापारिक दुनियाँमा डरलाग्दो तुफान, आँधीबेहरी आएको थियो। हरेक आँधी तुफान कार्यालयमा महसुस हुन्थ्यो। व्यापारमा ठूलो उथलपुथल मच्चिएको भान हुन्थ्यो।
म्याक्सवेलले आफ्नो कुर्सी भित्ताको आडमा लगेर राख्यो। त्यसपछी ऊ नाचेजस्तो गर्न लाग्यो। ऊ मेशिनबाट टेबुल, टेबुलबाट ढोका गर्दै हाम फाल्दै गयो र फेरि त्यसैगरी फर्कियो। कामको चाप र चिन्ताले ऊ बिघ्नै अस्थिर देखिन्थ्यो।
यसै बीचमा, उसले आफ्नो नजिकै केही आएको बिस्तारै चाल पायो। त्यो चिज अघिदेखि नै त्यँही थियो तर उसले केही थाहा पाएको थिएन। त्यहाँ सुनौलो कपाल थियो; टाउकोमाथि बाक्लो सुनौलो कपाल। कपालको माथि चराका प्वाँखहरूले ढाकिएको ठुलो ह्याट थियो। एउटा लामो चाँदिको चेन घाँटीबाट भुइँसम्म छुने गरि झुण्डिएको थियो। अनि यी सबै चिजहरूबीच एउटी जवान महिला थिइन्।
पिचर म्याक्सवेललाई केही जानकारी दिन ती महिलाको छेउमा उभिएको थियो।
“त्यो सचिवको जागिर छ नि, त्यसैका लागि आउनुभएकी,” पिचरले भन्यो। म्याक्सवेल आधा मात्र पछाडि फर्कियो, हातभरी पत्रहरू र मेशिनबाट निस्किएको समाचारको कागज लिएर।
“कस्तो जागिर?” उसले सोध्यो।
“सचिवको जागिर,” पिचरले थप्यो। “तपाईले हिजो मलाई आज बिहानै मान्छे पठाउन लगाउनु भन्नुभएको थियो नि। उहाँ त्यहिँबाट आउनुभएकी।”
“तिमी पागल भएछौ, पिचर,” म्याक्सवेलले भन्यो। “म तिमीलाई किन त्यसो भन्छु होला, भन त? सुश्री लेज्ली धेरै उत्तम सचिव हुनुहुन्छ। उहाँले चाहुन्जेल यहाँ काम गर्न सक्नुहुन्छ। मैले उहाँलाई हटाउने सोच बनाएकै छैन।” र जागिरका लागि आएकी ती महिलालाई भन्यो,” यहाँ कुनै जागिर छैन, म्याडम।” अनि पिचरलाई आदेश दिँदै थप्यो: “उनिहरूलाई अरु मान्छे नपठाउनु भन। अनि मलाई भेट्न भनेर अब कसैलाई पनि नल्याउनु।”
ती महिला खुब झोँक्किएर त्यहाँबाट हिँडिन्। तिनी रिसले चुर भएर निस्कँदा त्यो लामो चाँदीको चेन त्यहाँका कुर्सी र टेबुलहरूमा ठोक्किँदै गयो। पिचर म्याक्सवेलको व्यवहार देखेर अलि खिन्न र अचम्मित भयो। उसले म्याक्सवेल दिनदिनै अझ भुलक्कड बन्दै गएको कुरा आफ्नो सहकर्मीलाई खुसुक्क सुनायो।
कार्यालयमा व्यापारको हतारो झन बढ्दो र भिडयुक्त भयो। म्याक्सवेल राम्रो, बलियो मेशिनजस्तो सकेसम्म छिटो काम गर्दै थियो। उसले कहिल्यै रोकिएर सोच्दैनथ्यो तर सहि निर्णय लिन र काम गर्न सधैँ तयार ऊ घडी जत्तिकै लगनशील र निरन्तर भएर काम गर्थ्यो। यो व्यापारको दुनियाँमा ऊ एकदम उपयुक्त मेशीन थियो। किनभने यो उसको संसार थियो। मानव दुनियाँ या प्रकृतिको जगत उसको संसार थिएन।
रातको खाना खाने समय नजिकिँदै गर्दा हल्ला कम हुँदै गयो। फाट्टफुट्ट मात्र चहलपहल देखिन्थ्यो, अधिकांश आफ्नो बासस्थानतिर लागिसकेका थिए।
म्याक्सवेल हातभरि कागज लिएर, अनुहारभरि कपाल झारेर, असिनपसिन भएर आफ्नो टेबुल छेउ उभिएको थियो। गर्मी मौसम सुरु हुन थालेकोले झ्याल खुल्ला राखिएको थियो।
झ्यालबाट फूलको मीठो मन्द बास्ना आयो। बास्ना नाकसम्म आएपछि एकछिनका लागि ऊ त्यहिँ अडियो, हलचल नगरिकन। ऊ त्यो बासनाले एकदमै मोहित बन्यो किनभने त्यो सुगन्ध सुश्री लेज्लिको थियो। यो केवल उनको सुगन्ध थियो।
त्यो सुगन्धले लेज्ली आफैँ उसको अगाडि उभिएको अनुभुती गरायो। उसले एक्कासि लेज्लिलाई याद गर्यो, तब व्यापारको संसार क्रमशः सानो हुँदै गयो। अकस्मात व्यग्र बनेर उसले लेज्लीलाई खोज्न थाल्यो। लेज्लीलाई बीस पाइला पर अर्को कोठामा देखेपछि अलि ढुक्क भयो।
“म अब भनेरै छाड्छु।,” आधा ठूलो स्वरमा म्याक्सवेलले आफैँसँग भन्यो। “म उनलाई अहिले नै सोध्छु। मैले पहिले नै यो कुरा किन नभनेको होला!”
आफैंँसँग गनगन गर्दै, हतारिँदै अर्को कोठामा गयो र लेज्लीको छेवैमा गएर अडियो।
लेज्लिले उसलाई मुस्कुराएर हेरिन्। उनको अनुहारमा न्यानो रङ चढ्यो, अनि उनका आँखा नरम र दयालु देखिए।
म्याक्सवेलको हात अझै कागजैकागजले भरिएको थियो। “सुश्री लेज्ली,” उसले हतारहतार सुरु गर्यो, “मसँग एक पल मात्र छ। म तिमीलाई केही भन्न चाहन्छु। के तिमी मेरि श्रीमती बन्छ्यौ? व्यवसायको चक्करमा व्यवहारिक तरिकाले तिमीसँग प्रेम गर्न मैले समय पाएको थिइन। तर म तिमिलाई साँच्चिकै माया गर्छु। छिटो भन न, प्लिज। मलाई फेरि काममा फर्किनु छ।”
उनी कराइन्, “अरे! के कुरा गर्दै हुनुहुन्छ तपाईं?”। कुर्सीबाट उठ्दै गोल आँखाले उसलाई हेरिन्। उनी औधी छक्क परेकी थिइन्।
“बुझ्दिनौ?” म्याक्सवेलले भन्यो। “म तिमीसँग विवाह गर्न चाहन्छु। म तिमीलाई मन पराउँछु, लेज्ली। म तिमीलाई यो कुरा पहिलेदेखि भन्न चाहन्थें। तर व्यस्तताको कारण भन्न भ्याइरहेको थिइन। त्यसैले आज आफू धेरै व्यस्त नभएको क्षण लिएको छु। हेर न, अहिले पनि उनिहरूले मलाई कल गरिरहेका छन्। उनीहरूलाई एकछिन पर्खन भनिदेउ है, पिचर। मसँग बिहे गर्छ्यौ, लेज्ली?”
उनले बडो अनौठो व्यवहार देखाईन्। झट्ट पढ्न नसकिने खाले भाव उनको मुहारमा देखियो। सुरुमा उनी आश्चर्यमा हराएजस्ती थिइन्। त्यसपछि उनका अचम्मित आँखाबाट आँसुका ठुल्ठुला थोपा खस्न थाले। तब उनी आँसुसँगै मुस्कुराइन्, र बडो स्नेहले दाहिने हात ब्रोकरको घाँटीमा लगेर बेरिन्।
“मलाई अब थाहा भयो।,” उनले ब्रोकर म्याक्सवेलको आँखामा हेर्दै कोमलतापूर्वक भनिन्। आँसुले अवरुद्ध अनि प्रेमिल आवाजमा थपिन्, “यहि व्यवसायले रहेछ। यसैले सबै कुरा तपाईको दिमागबाट बाहिर राखिदिएको रहेछ। म सुरुमा कति आत्तिएकी थिएँ तपाईको अजिव व्यवहार देखेर। कति दुखी भएकी थिएँ म। तपाईले बिर्सनुभएछ। तपाईलाई याद छैन, हार्भी? हामीले हिजो साँझ आठ बजे नै विवाह गरिसक्यौँ, अलि पर कुनाको लिटल चर्चमा।”
(अङ्ग्रेजी कथाकार ओ हेनरीद्वारा लिखित कथा “The Romance of a Busy Broker” को नेपाली अनुवाद)
(स्रोत : शब्दसोपान डट कम)