यौनकथा : घोर्ले

~पोषण पाण्डे~

रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन ।

नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य ।

तल, बारीको पर्खालमा चारदिनसम्म लगाइएका लुगाहरू धोईवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट ।

साधनाको चिल्लो चम्किलो केशको झाङ । त्यो झाङिएको हुन्छ । ऊ माथि कौसीमा बसेकी छ कलिलो घाममा । केशका चिल्ला केस्राहरु कुनै कीमती कालो रेशमजस्ता चम्चमाएका हुन्छन् ।

साधना घुँडामा शिर टेकाएर घामपट्टि आङ् फकाई कहिले गुनगुनाउँछे, कहिले मनमनै किसिम किसिमका कुराहरु खेलाउँछे ।

चारदिनसम्म कसैलाई छुन दिनु हुन्न रे । कसैसँग कुरा गर्दा पनि वरै बसेर कुरा गर्नुपर्छ रे । यो आइमाइको रजस्वालाले के पाप गरेको रहेछ कुन्नि । मन बाँधेर राख्नुपर्ने । एउटा कुनामा थुचुक्क । आफैँसित थुपुक्क सुत्नुपर्ने ।

चाडपर्व, साइत, सगुनमा त देखा पर्न नहुने रे । अपसकुन लाग्छ रे । कुन जन्मको अपराध यो कुन्नि । अछुतजस्तो हुनुपर्ने । सबैले छोइएला छोइएला भन्दै तर्केर हिँड्छन् । साँच्चि के हो आइमाईको जात सृष्टि हुनुअघि च्यामिनी पो थिई । कि न पोडिनी पो थिई कि ।
साधनाको यो दोस्रोपटकको रजस्वाला हो । दोस्रोपटक पर सकेकी, नछुने भएकी ।

महिनामा चारदिन मनैमन कुट्कुटिएर बस्नुपर्ने । तिनै चारदिनभित्रमा कतैबाट बिहेमा निम्तो आउला । अथवा रमाइलो कुनै पूजा आजाको निम्तो आउला ।

आएर के गर्ने ? जान पाइने होइन । जानै नहुने रे । अपशकुन लाग्ने रे । हुन त अभागिनी जात नि आइमाइको जात । त्यो पनि कसरी भन्ने खोइ । रजस्वला नभई गर्भधारण नभई सन्तान नहुने । सन्तान नभएको संसार पनि कहाँ हुन्छ र ? हुन सक्छ र ?
फेरि के विधिको खेदो यो रजस्वालाई ? के को छिः छिः र दूरदूर रजस्वलावतीलाई ।
……………..

घाम अब मध्यान्हबाट सरेर ढल्किँदै गैराछ । हावा जुन अघिसम्म छदै थिएनजस्तो थियो, अलिे सिरसिर । नुहाएको आङ जीउ तात्न लाथ्यो, अहिले ढुकढुकाउन लाईराछ ।

साधना जुरुक्क उठ्छे । आङ पाखुरा तनक्क तन्काउँछे । सुकेको कपालको झाक्रो दुवै हातले समाउँछे । दुई फ्याक पार्छे र मुठ्याउँछे । चुल्ठो बटार्दै लगेर पछाडि जुरोमा घुर्साछ । अनायास दुवै हात मसक्क बटार्छे । पिँडौला र तिघ्राहरु पनि तन्काउँछे । यसो गर्दा उसको माँसल बिम्बहरु । फलतः छातीमा टाँस्सिएका चोलोको माथिल्लो टाँक चुटुक्क टुक्रेर लत्रिन्छ ।

र, भित्रको उर्ध स्तन भाग घाममा उध्रिन्छ । फेरि केले हो कुन्नि मनमनै झल्याँस्स झस्किन्छे । बारीको पर्खालमा सुकाएका लुगाहरु सुके होलान् । फेरि कतै बतासले झारेर भुइँमा लतारिदियो भने ?
…………..
साधना तल ओर्लेर लुगाहरु छामछुम गर्छे । फरिया तानेर मुज्याउँदै गाँठो पारी घुसार्छे । चोलो काखीमा च्याप्छे । पेटिकोट उचालेर हेर्छे ।
यो के ? एक ठाउँ त चिस्सै छ । ल्याथ्– ल्याथ्ती । अरु भाग त सबै सुक्या छ । यो एक ठाउँ मात्रै किन चिसै छ।
के मनमा आएर हो कुन्नि यसो सुँघ्छे ।
खुँह
नाक चेप्याएर भन्छे ।
छिः के जस्तो के जस्तो गन्ध पनि । कुन असिद्धिले होला ? तर कसदे छ्याप्छ । दिउँसो दिनदहाडै त्यो पनि अन्त ठाउँ नपाएर अर्का लुगाफाटामा ?
अनि किन त त्यस्तै त्यस्तै गन्ध आको त ? आफ्नो भए पनि यौटा कुरा भन्नु नि, भैगो ल ।
पेटिकोटको भिज्या भाग जति बटोर साबुनले बेसरी धुन्छे । मटक्क निचोरेर पहिलेकै ठाउँमा सुकाउँछे ।
घाम पनि छ । हावा पनि छ । सुक्न त चाँडै सुक्ला ।
– घले, ए घले !
– हजुर ?
– मुवाँ, कहाँ होइसिन्छ ?

साधनालाई के थाहा उसकी सासुमुवा पछाडि थानथुन गरिरहेकी छिन् ।
– किन किन ब्वारी ?
– ए, हजुर त यही होइसिन्छ

साधना एकछिन केही बोल्दिन । केही बोल्न सक्दिनँ । खालि मुन्टो निहुराएर द्दाँटीमा कुरो अड्काइराछिन् ।

सासूमुवाँ फेरि सोध्छिन्, भन न केही भन्नु छ कि ?
होइन… यसै यसै… केही होइन ।
ल हेर हेर तिमीले भन्न खोज्या कुरा लुकायौ नि । तिमीले पनि मसँग कुरा लुकाउनुपर्छ र ? के म तिम्रो सासु मात्रै हुँ र ? तिम्री आमाजस्ती पनि त हुँ । तिम्रै आमासरह त हु नि । उसमाथि, मैले तिमीलाई के बुहारीमात्र भनठानेकी छु त ? छोरीजस्तै ठानेर माया पनि त दिएकी छु । होइन त , ल भन साँचो साँचो भन ।
– हो त्यो त हो ।
– अनि के त … भन्न ला कुरा भन्दै नभनीकनकिन घाँटीमा अड्काई रात ? भन, तिमीले मलाई कुनै पनि कुरो भन्न सङ्कुचाउनु पर्दैन । तिमी छौ र त मलाई छोरो नर्फकेर आए पनि शून्य भने लागेको छैन ।

ल पर्यो फसाद साधनालाई । भन्न खोजेको कुरोमा झन् गाँठो पर्यो । साधना हक्क न बक्क भई ।

होइन, आज यो बुहारीलाईं के भाको ?

त्यस्तो खुलस्त कुरा गर्ने मान्छे आज किन आफैँमा निमोठिएर उभिराकी ।

बुहारीको दुवै पाखुरा समाएर घच्घच्याउँदै सोध्छिन –

– ल भन तिमीले भन्न ला कुरो नभनी हुँदैन । ढाँटेर भन्यौ भने मलाई मार्या पाप ! ल भन बुहारी, भन बा भन । म कत्ति पनि दिकक मान्दिन । नाइँनास्ति गर्दिनँ । ल भन ल ।

अब साधनालाई भन्न धक पर्छ । सास्मुवाँले गर्दिनँ भनेपछि । शिर निहुराएर खुट्टाको औँलाले भुइँ कोतर्दै भन्छे –

– पन्ध्र बीस दिन माइत बस्न जाउँ कि

सासूमुवाँको हातले एक्कासी उसको पाखुरा छाड्छ । सोच्दै नसोचेको कुरा सुन्नु परेजस्तो । उनको मुहार कताकता मच्किन्छ र उनी मायालु आवाजमा भन्छिन् ।
किन र ह्याँ तिमीलाइृ कुनै दुःख सहनुपर्या छ र ? कि पट्यार घर बस्ता बस्ता ? मैले हेर्दा त तिमीलाई घर र माइती कतै फरक परेको होलाजस्तो लाग्दैन । फेरि किन हो तिमीलाई माइत जान मन लागेको ? घरको दुःख माइतमा पोखौँ भने दुःख तिमीलाई परेको छैन र? भन न । मलाई पनि आमै सम्झ । म के अरुजस्तो बुहारी पाएँ भनेर कजाएर राखने खालकी सासू हुँ त ? कि तिमीलाई त्यस्तो पर्या छ मनमा ?
– होइन होइन हजुर मेरी आफ्नै मुवाँजस्तै होइसिन्छ ..
– अनि अनि किन त माइत जान्छु भनेकी त ?
– भैगो जान्न.. जान्न मुवा यसै भनेकी ..

बतास अब सिरसिर होइन स्याठलाई लिएर पनि चल्छ । आकाशमा सूर्य ढल्के लगाएको टोपी पठ्ठो हुँदै गैराछ । सायद डाँडाको पुछारमा पर्खी बसेकी सन्ध्या मैयाँलाई च्वाप्प म्वाइँ खान होला । काउकुती र कुत्कुतीको मौषम पनि छ त ।

साधना मनमनै अन्दाज गर्छे । बारीको पर्खालमा सुकाएको पेटिकोट सुक्यो होला ।
………

– भाउजु, भाउजु
– किन सानुबाबु ?
– यी ह्याँ तल हजुरको चिठ्ठी ल्याछ । मलाई दिएन हजुरले नै बुझ्नुपर्छ रे । बुझेको सही गर्नुपर्छ रे ।

दगुर्दै दगुर्दै ुाधना तल ओर्लिन्छे । ढोकामा त हुलाकी पो रहेछ । चिठीको पोको बोकेर ल्याएको ।

– श्रीमती साधना शर्मा भनेको तपाइँ नै हो ?
– हो ।
– लिबक्स्योस्, बुझेको सही गर्दि बक्स्योस् ।

साधना चिठी खोलेर हेर्छ । उहाँले पठाउनु भा रैछ ।

हुलाकी नमस्कार गरेर जान्छ । साधनालाई के मनमा आएर हो कुन्नि अलि पर पुगिसकेको हुलाकीलाई ए पख त भनेर अडाउाछिन् । र हड्बडाउँदै माथि गएर हुलाकीलाक्ष्ए रु दुईको नोट दिएर भन्छिन् –

लाऊ – चुरोट खाएर जाऊ है ।
हुलाकी निहुरेर नमस्कार गर्दै बाटो लाग्छ ।
हत्तपत्त खाम खोलेर चिठस् पढ्दै साधना भर्याङ उक्लिदै उकालो चढ्छे । अरु सब लोलोपोतोको कुरा हुन् । तर आखिरमा भने लेखेका रहेछन् ।
साधना के गर्नु फर्कन अझै दुई महिना ढिला होलाजस्तो छ । तिमीलाई त्यहाँ एक्लै बनाएर मलाई के खुसी भयो होला र यहाँ । मान्छे विदेशतिर जान पाए कस्तो न भइएला ठान्छन् । तर यहाँ त मलाई के भन्नु खोइ । झल्झल्ती तिम्रै सम्झना आइरहन्छ । तिम्रो सम्झनाले सताइरहन्छ ।

उहँ.. चेपारे ओठका कुरा । विदेशमा कस्ता कस्ता होलान् । मेरो सम्झनाले सताइरहन्छ रे हुँ पापी ।
साधना मनमनै कुरा गर्छिन् ।
दुई महिना अर्थात दुई रजस्वाला अरु उनले टार्नुपर्ने भएछ निष्ठुर ।

अब त घाम पनि डुब्छ । झिसमिसे साँझ । पेटिकोट झिक्न फेरि तल ओर्लिन्छे । चारैतिर छामछुम गर्छे । फेरि यो के अचम्म उफ् ! फेरि उही ठाउँ ल्याथ्याथ्ती । त्यो ठाउँबाट एक प्रकारको तात्तातो बाफ उठिरहेछ । यसो सुँघ्छे । उहँ अघिकै जस्तो गन्ध ।

उफ् ! हे भगवान् । चारैतिर हेर्छे । पर्खालका ढोकैनिर यौटा केटो उभिरा छ । भोटेजस्तो छ पाँच छ वर्षको । भुकुल्ले ! सुरुवाल नलाको, सिङले भोटे ।

ए ल कुरा बल्ल पो खुल्यो । केटोको हात समाएर गाला चड्काउँलाजस्तो गरेर भन्छे ।

– किन मुतेको ह्याँ ? ल भन् ।

भोटेको मुख फुलेर झन् भुकुल्लै हुन्छ । ठूल्ठला बाटुले आँखा झिसमिस गर्छ । आँखाको चहकमा हठिलोपन– उ भन्छ –

– मैले हो त ?
– कल्ले हो त तैँले नभए ?

भोटे केटो अक्मकाउँछ र एकछिनमा देख्याकुरा सबै भन्छ ।

ऊ त्यो घोत्लेले मैले कति हुत् हुत् गलेँ । मान्दै मानेनन् । पल्खालबाट घुम्दै दान्थ । ऊ .. त्यो छुकाको लुगामा छुङ्छ । अनि अनि ?

– अनि के ?
– अनि के ?

भोटे भा कुरा भन्छ –

अनि, अनि पछालीको यौता खुत्ता यत्लो उथालेल, यथो गलेल तुलुकतुलक मुत्थ । अनि अनि भागेर फुत्त दान्थ ।

अँ होला
हो थाँत्तै हो, मैले देख्या ऊ त्यै त हो नि ।

पल्लो घरको गोरेटो बाटोमा यौटा मोटो घोर्ले अघिल्लो दुई खुट्टा ठड्याएर पल्र्याकपुलुक्क हेछ ।

साधना ढुङ्गा टिपेर हिर्काउन जान्छे । घोर्ले त उल्टो पुच्छरको झुप्पा हल्लाउँदै उसैतिर पो आइपुग्छ । भए भएरको रातो जिब्रो मुखबाहिर निकालेर उल्टो ऊ साधनाको गुलाफी कुर्कुच्चा यसैयसै चाटुँलाजस्तो पो गर्छ ।

साधनालाई लात्ताले हाँनुजस्तो लाग्छ । तर के हो, के हो । टोक्ने पो हो कि ! भैगो ।

ऊ पछि पछि सर्दै हातको ढुङ्गाले हानँलाजस्तो गरेर “हट हट” भन्दै जान्छे ।

तर कहाँ ! घोर्ले त उसलाई चाटेर छोडौलाजस्तो गरेर भुइँमा लुटपुटिदै उसैको वरपर पो सर्दै आउँछ । सायद उसलाई मात चढ्छ कि ! खै के हो !

थुक्क थुकेर साधना ढोका ढ्याम्म लगाउँछे । उसले थुकेको सेतो फिँजलाई घोर्ले सुँघ्छ । अनि त्यसैमा भए पनि पछिल्लो खुट्टो उचालेर तुरुकतुरुक तुक्याउँछ । चारै खुट्टाले भुइँ फ्टकारेर धूलो उडाई जान्छ बुङ्ग । साधना घोर्लेको यो क्रियाकलाप जाली ढोकाबाट हेर्छे, हेरिरहन्छे ।

घोर्ले मोटो । मस्त मोटो । उन्मुत्त सिङ्गो बाघजस्तो ।

साधनाको जीउ आङ अनायास विचित्र प्रकारको सम्मोहनले सिरङि सिरिङ गर्छ । जीउभरी हप्प । जाडोमा चाहिने गरम गरम बाफले उसलाई अँगालोमा अठ्ठयाउँछ । आँखाको तरेलीमा ल्यायोपन रसाएर आउँछ उसको ।
जालीदार ढोकाबाटै ऊ टाढा टाढासम्म हेर्छे । हेरिरहन्छे र हातमा मुज्याएको श्रीमान्को चिठी आवेगमा झ्वाट्टै दोहोर्याउँदै पढ्छे –

उहँ । उनलाई फर्कन अझै दुई महिना लाग्छ रे, दुई महिना अर्थात अब उसले दुई रजस्वाला अझै पर्खनुपर्ने हुन्छ । ह्याँ र उनको श्रीमानलाई घोर्लेले दिएको दुःख के थाहा ?
के यो कुरा उनी फिर्ती चिठीमा लेखुन् ? भो, भैगो । पापीको मनमा फेरि अर्को टुसो पलायो भने नि ।

साधनाको आँखा जालीदार ढोको टाढा टाढासम्म पुगेर नाङ्गो अन्धकारमा बिलाउँछ ।

(स्रोत : प्रमोद प्रधानद्वारा सम्पादित “नेपाली यौनकथा” (वाणी प्रकाशन, विराटनगर,२०५४)बाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.