संस्मरण : मेरो साहित्य-यात्रामा शिरोमणिको स्थान

~सिद्धिचरण श्रेष्ठ~

आफ्नो किशोरावस्थादेखि कवि बन्ने धोखो लिएको म सिद्धिचरणका निम्ति कवि शिरोमणि लेखनाथ पौड्याल महान् छन्, पुज्य छन् । म दरबार स्कुलको विद्यार्थी छँदा उहाँलाई नेपालको त्यस समयको सर्वश्रेष्ठ कविका रूपमा लिइन्थ्यो । शिक्षकहरूले प्रायः उहाँकै चर्चा गर्ने गर्थे । म तेस्रो कक्षामा पढ्दा उहाँद्वारा रचित ‘पिँजडाको सुगा’ नामक कविता निकै चर्चित थियो । त्यस कवितालाई कण्ठ गरी लयबद्ध रूपमा ठूलो स्वरले पाठ गर्नु हामी विद्यार्थीका लागि प्रायः दिनचर्या नै थियो । म पाँचाँै कक्षामा पढ्दा मखनटोलस्थित एउटा पुस्तक पसलबाट शिरोमणिको ‘सत्यकलि संवाद’ मेरी स्वर्गीय आमाको थैलीबाट चोरेको पैसाले किनेर ल्याएको सम्झन्छु । मलाई छन्द र व्याकरणको ज्ञान नभए तापनि म त्यसपछि अनुप्राससम्म मिलाएर कविता लेख्न थालेँ ।

मेरा स्वर्गीय पिता खरिदार विष्णुचरण श्रेष्ठको लेखनाथजीसँग राम्रो परिचय थियो । मेरो ‘परिचय’ नामक कविताबाट उहाँ निकै प्रभावित हुनुभएको कुरा पिताजीबाट थाहा पाएपछि कविता लेख्ने प्रेरणा ममा प्रवल रूपमा जागेको म राम्ररी सम्झन्छु ।

मैले उहाँलाई ंवि.सं. १९९१ तिर पाको पोखल्ढ्याङस्थित जोर गणेश छापाखानामा पहिलोपल्ट देेखेको हुँ । त्यसपछि मेरो उहाँसँग परिचय भयो । यस परिचयपछि म उहाँलाई आफूले रचेका कविता समय-समयमा देखाउन थालेँ । नमिलेका ठाउँमा सच्चाइदिन उहाँ झर्को मान्नुहुँदैनथ्यो । उमेरमा मभन्दा २९ वर्ष जेठा लेखनाथजीसँग मेरो सम्बन्ध गाढा रूपमा विकसित त्यस समयमा भयो जब मैले नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापनाकालदेखि नै उहाँको निधन नहोउन्जेल आठ वर्षसम्म सो प्रतिष्ठानको सदस्यका हैसियतले काम गर्ने सौभाग्य पाएँ । उहाँसँग एकाधपल्ट साथै हिँड्न पाउँदा पनि गौरवको अनुभूति हुने समयमा यत्रो लामो अवधिसम्म साथै काम गर्न पाउनु आˆनो अहोभाग्य सम्झन्छु ।

उहाँकोे सामिप्यमा रहँदा मैले उहाँमा थुप्रै-थुप्रै अनुकरणीय गुन भेट्टाएको छु । उहाँसँगको प्रत्येक भेटमा उहाँमा एक नयाँपन अथवा ताजापन पाइन्थ्यो । बालसुलभ स्वभावका कुवेर हुनुहुन्थ्यो उहाँ । जस्तो रुचि, सोचाइ र उमेरका व्यक्तिसँग उहाँ हुनुहुन्छ, आफू पनि त्यस्तै भइदिन सक्नुहुन्थ्यो । ठट्टेउला ठिटाहरूमाझ आफूलाई पनि सोही रूपमा प्रस्तुत गर्न सक्ने खुबी उहाँमा थियो ।

शब्द-शब्द कुँदेर त्यसमा गहन भाव भर्ने अद्वितीय कला लेखनाथजीमा थियो । मेरो दृष्टिकोणमा उहाँले वि.सं. १९७२ देखि १९८४/८५ भित्र गर्नुभएका कृतिहरू नै नैसर्गिकता र सहज स्फूरणका हिसाबले उत्कृष्ट छन्, यद्यपि त्यसपछिका रचनाहरू कल्पना, विचार र परिमार्जन हिसाबले भने ती कृतिहरूभन्दा अगाडि छन् ।

मेरो साहित्य-यात्राको सुरु-सुरुका दिनमा मैले पनि कविता फाँटमा नयाँ मौलिकता स्थापित गर्न सक्नुपर्छ भन्ने भावनाले कुत्कुत्याइरहन्थ्यो । म नवीन शैली समातेर अघि बढ्न चाहन्थेंँ । छन्दभित्र बाँधिन चाहन्नथेँ र फलस्वरूप गद्य कवितातिर अग्रसर भएँ । यसरी मैले नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रयोग भित्र्याउने कोसिस गरेँ । पछि, लक्ष्मीप्रसाद देवकोटाजीले पनि यसै काव्यधारालाई समात्नुभयो र हामी दुई यसै शैलीमा आफ्नो कविता रच्न थाल्यौँ । मैले यसरी अर्कै माध्यम समाते तापनि लेखनाथजीप्रतिको मेरो आकर्षण दृष्टिकोण र सम्मानभावमा कमी कहिल्यै आएन । ममाथि उहाँको गहिरो प्रभाव मेरो किशोरावस्थामै परेको थियो ।

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.