~नयराज पन्त~
थाकेका दुनियाँहरू सब सुते विश्रामका खातिर ।
बढ्दै गो क्रमले मनुष्यहरुमा सुन्सान चारैतिर ॥
केही नन्द र सुन्दरीहरु यता आनन्द भोग्दै थिए ।
योटा भावुक राजपुत्र त उता अर्कै कुरा गुन्दथे ॥
सानो बालखरूपमा अगि थिएँ ऐले चढयो यौवन ।
केही नै दिनमा म पुग्दछु अहो! बुढयाईमा जाक्किन ॥
कस्तो यत्न गरी सगन्धहरुले यी केश सम्म्याइए ।
केही नै दिनमा यिनै पनि हरे ! सेता हुने नै भए ॥
यो राम्रो मुख चाउरी सब परी कस्तो हुने हो हरे ।
लागी रोग अनेक फेरि मन ने ठेगानमा हुन्न रे ॥
कस्तो पीर खपी खपीकन हरे ! यो प्राण उड्ला भरे ।
फेरि प्राण उडेर पुग्दछ कतै स्वाभाविकै यो छ रे ॥
सोही प्राण घुमेर आखिर यही जन्मन्छ हे भन्दछन् ।
केही पण्डितले कुनै ‘जुग गयो फर्कन्न त्यो’ भन्दछन् ॥
के हो यो रटना मनुष्य कसरी संसारमा आउँछ ।
कैले वृद्ध भई चटक्क सब यो छाडेर नै हिँड्दछ ॥
जे होस् यो उसको रहस्य अब ता खोजी गरी, हिंड्दछु ।
में खोज्छन् वनमा ‘अराड’ हरुले भन्ने कुरा सुन्दछु ॥
आँटे कम्मर लौ कसे अब हिडें आलस्यमा जीवन ।
खाली धर्मरमा परीकन त्यसै केही गरे मर्दिन ॥
छाड्नैपर्दछ भोग अखिर भने आजै म ता छाड्दछु ।
केही औषधि पाउला कि पछिको आशा म यै राख्तछु ॥
यै चिन्ता मनमा गुनी छिनछिने सिद्धार्थ भित्र गए ।
आमा बाबु र प्रेयसी सुनहरू जम्मै कुरा बिर्सिए ॥
आई फेरि झलक्क भित्र मनमा त्यो पूत्रको स्नेहले ।
अल्झायो मुटु ढुक्क ढुक्क हुन गो अर्कै कुरा सम्झियो ॥
बिस्तारैसँग राजपत्र त उठी खोपीतिरै लम्किए ।
सानो राहुल साथ ली प्रियतमा, सुत्थिन् जहाँ सोखले ॥
त्यो वेला सब मग्नस्मत हुन गै निद्राविषे घुर्दथे ।
स्वप्नाका रसिला अनेक थरका आस्वाद क्यै चाख्तथे ॥
त्यो खोपी चकमन्न झैं सब थियो जागा थियो दीप नै ।
गोपाको सुखको सुरम्यपन त्यो अल्झाउँथ्यो स्पष्ट नै ॥
त्यो देख्ता अलि बेर भावुक अडी गुन्दै गए चित्तमा ।
आँखा डम्म हुँदै गए, हृदयमा उर्ले नयाँ भावना ॥
‘जे होस् होस् अब लौ हिडें कति बसू केले बसू के गरी ।
बित्नेछन पछिका सबै दिन पनि त्यस्तै बिहोशी वनी ॥’
यस्तै नै रङका कुराहरु गुनी हुन्थे अली धर्मर ।
ढोका बन्द गरी सुटुक्कसँग ती ओर्लेर आए तल ॥
यौटा छन्दक नाम सेवक लिई घोडा चढ़ी कन्थक ।
रातमा त विदेसिईकन हिडे ती लोकका दीपक ॥