समीक्षा : कविताबाटै विद्रोह

~चित्तरञ्जन नेपाली~

नेपालको काव्यजगत्मा सर्वप्रथम ‘क्रान्तिविना यहाँ हुँदैन शान्ति’ -मूल नेपाल भाषामा : क्रान्तिविना थन ज्वीमखु शान्ति)ं भनी हुँकार गर्ने अग्रणी क्रान्तिकारी कवि हुन्- युगकवि सिद्धिचरण श्रेष्ठ । यसरी नेपाल भाषाको कवितामा सबैभन्दा पहिले उनले ‘क्रान्ति’ शब्द प्रयोग गरे, त्यो पनि राणा शासनको जमानामा भने नेपाली भाषाको कवितामा ‘हडताल’ शब्दको प्रयोग पनि उनैले गरेका थिए । ‘आज नखाऔँ नसुताँै आओ सब मिली हड्ताल मचाआँै’ उनका यिनै अभिव्यक्ति एवम् तत्सम्बन्धी क्रियाकलापका कारण सम्वत् १९९७ सालको नेपाल प्रजापरिषद्सम्बन्धी राजनीतिक काण्डमा राणा सरकारले उनलाई पक्राउ गरी १८ वर्षको जेल सजाय दिएको थियो । तर, पछि सम्वत् २००२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले राजीनामा गरी जाने बेला केही राजनीतिक बन्दीलाई जेलबाट मुक्त गरेका थिए । यसरी त्यसबखत जेलमुक्त हुनेहरूमा सिद्धिचरण श्रेष्ठ पनि परेबाट उनले करिब पाँच वर्षमात्र जेल जीवन बिताउनुपर्‍यो ।

युगकवि सिद्धिचरण श्रेष्ठ विद्रोही एवम् क्रान्तिकारी कवि हुनुको अतिरिक्त नेपाली -एवम् नेपाल भाषाको पनि) काव्यजगत्मा स्वछन्दतावादका प्रणेता कवि पनि हुन् । वास्तवमा उनी नेपाली काव्याकाशमा कहिल्यै नअस्ताउने एउटा अत्यन्त चम्किला तारा हुन् भनेमा अत्युक्ति हुने छैन । नेपाली काव्यजगत्मा उनले गरेको योगदान सम्बन्धमा यो छोटो लेखमा उल्लेख गरेर साध्य हुने कुरा होइन । असङ्ख्य फुटकर गीतिकविताका धनी कवि सिद्धिचरण श्रेष्ठका लामा कविताका रूपमा कतिपय खण्डकाव्य पनि प्रकाशित भएका छन् । र्ऊवशी, आँसु, उत्तरा विलाप मङ्गलमान, भीमसेन थापा, आत्म बिलौना आदि । अनि फुटकर कविताहरूमध्ये उनका कालजयी कविताहरू हुन्- ओखलढुङ्गा, चम्क युवक अब चम्कन चम्क, हल्चोक, तिम्रो बासित पैसा छैन आदि । उनका यिनै विभिन्न कवितामध्ये एउटा अर्को कालजयी कविता ‘मेरो प्रतिविम्ब’ सम्बन्धमा सङ्क्षिप्त रूपमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

सम्वत् १९९७ सालको प्रजापरिषद् काण्डमा राणा शासनले गरेको दमनबाट केही वर्ष आन्दोलनमा सुस्तता आएको थियो । सम्वत् २००२ सालदेखि पुनः राणा शासनविरुद्धमा पर्चाबाजीका साथै सत्याग्रह आन्दोलन सुरु भयो । विशेषतः सम्वत् २००४ र २००५ सालमा आन्दोलनले उग्र रूप लिएको थियो । कैयौँ व्यक्ति जेलमा थुनिए भने सालतिर कतिपय व्यक्ति भारत प्रवासमा गए । सम्वत् २००६ सालतिर आन्दोलनमा पुनः केही सुस्तपना देखियो । भारतमा बसी राणा शासनविरुद्ध लागेका नेताहरूमा पदका निम्ति आपसी फुट र वैमनस्यले गर्दा पनि शिथिलता देखिएको थियो । नेपालभित्र एकप्रकार मूर्दा शान्ति छाएको थियो, भनूँ आँधी आउनुभन्दा अगाडिको शान्तिजस्तो । तर, युगकविलाई यो शान्ति भनूँ वा शिथिलता सहृय भएन । माथि नै भनियो उनी विद्रोही कवि थिए । उनीभित्र राणा शासनविरुद्ध आगो दन्किरहेको थियो । अतः यहाँको जनताको त्यसबखतको जनजीवनप्रति कविले उपहास गरी लेखे आˆनै प्रतिविम्बलाई प्रतीक बनाएर । सम्वत् २००६ साल वैशाखको शारदा पत्रिकाको वर्ष १५ अङ्क १ मा प्रकाशित यो कविताले त्यसबखतको नेपाली जनताको गतिविधिप्रति कविको असन्तोषलाई व्यक्त गर्छ । कविता यस्तो थियो ः

‘मेरो प्रतिविम्ब’

क्यै हारेझैँ, क्यै बिर्सेझैँ
को त्यो पथमा आइरहेको ?
कुकुरजस्तै लुरुलुरु हिँड्दै
दुर्बलताले पीर निखन्दै
को त्यो पथमा आइरहेको ?
दुइटा लट्ठी एउटा ढुङ्गा
ढुङ्गामास्तिर यौटा फर्सी
राखी, यो हो मानिस भन्दै
बालकहरूले तानिरहेझैँ
को त्यो पथमा आइरहेको ?
सत्य नचिन्ने झुट अँगाल्ने
गिर्दै तलतल म उठेँ भन्ने
वातावरण नै दूषित पार्ने
वरपर हेरी देख्न नसक्ने
को त्यो पथमा आइरहेको ?
आकृति हो तर रूपविहीन
भाषा हो तर भावविहीन
मान्छे हो तर आत्माहीन’
चारैतिरको बन्द विचार-
यो मेरो प्रतिविम्ब हिँडेको !

यसरी युगकवि सिद्धिचरण श्रेष्ठले प्रतीकका रूपमै भए पनि आˆनो अवमूल्यन गरेको, आˆनो उपहास गरेको अर्का मुर्धन्य कवि एवम् नाटकसम्राट बालकृष्ण सम -त्यसबेला शमशेर) लाई चित्र बुझेन र त्यसको प्रतिक्रियास्वरूप तत्काल प्यारोडीका रूपमा कविता रची शारदा पत्रिकाकै जेठ महिनाको वर्ष १५ अङ्क २ -२००६ साल) मा प्रकाशित गरे । हुन त बालकृष्णशमशेर राणा परिवारकै एक सदस्य हुन् । अतः उनले युगकवि सिद्धिचरण श्रेष्ठका अवमूल्यनको -चाहे आफैँले व्यक्त गरेको भावना किन नहोस्) त्यसको विरोधस्वरूप उनको व्यक्तित्वलाई उठाएर कविता प्रकाशित गर्नु एकप्रकारले आश्चर्य नै थियो भन्न सकिन्छ । तर पनि राणा परिवारमा व्याप्त ‘एबीसी’ विभाजनले गर्दा उनी ‘रोलवाला राणा’मा नपरी तिनीहरूद्वारा पीडित राणामा परेका थिए, आˆना छोरा-नाति भन्न लायक भए पनि रोलवाला ‘ए’ क्लासका बच्चा राणालाई झुकेर सम्मान गर्नुपर्ने एक निरीह राणा थिए । यसै कारणले त होला पछि सम्वत् २००७ सालमा राणा शासनको विरोधमा आन्दोलन चर्किएपछि उनी सरिक कतिपय राणा परिवारका व्यक्ति आन्दोलनमा सरिक भएको । साथै आन्दोलनमा सहिद भएका न्हुच्छेरत्नलाई ‘शेर’ मानी उनलाई आˆनो नामको ‘शेर’ अर्पण गरी आफू ‘सम’मा परिणत भएको । त्यसबखत युगकवि सिद्धिचरणको कविताको प्रतिक्रियामा बालकृष्णशमशेरले प्रकाशित गराएको कविता यस्तो थियो ः

कवि सिद्धिचरणको ‘मेरो प्रतिविम्ब’ प्रति
-बालकृष्ण शम

क्यै जितेझैँ क्यै सम्झेँझैँ
को त्यो पथमा गाइरहेको ?
मानिसजस्तै सुरु-सुरु हिँड्दै
सवलताले ती निखन्दै
को त्यो पथमा गाइरहेको ?
दुइटा खम्बा बलियो भित्ता
भित्तामास्तिर एउटा छाना
राखी, यो हो आलय भन्दै
पुस्तकहरूले तानिरहेझैँ
को त्यो पथमा गाइरहेको ?
झुट नचिन्ने सत्य अँगाल्ने
चढ्दै मस्तिर म गिरँे भन्ने
वातावरण नै दूषित पार्ने
वरपर हेरी अड्नु नसक्ने
को त्यो पथमा गाइरहेको ?
आकृति हो तर रूप अनुप
भाषा हो तर भाव अपूर्व
मान्छे हो तर आत्मा उच्च
चारैतिरको मुक्त विचार
यो तेरो प्रतिविम्ब उडेको ।

अन्त्यमा युगकवि सिद्धिचरण श्रेष्ठले उपर्युक्त कविता ‘मेरो प्रतिविम्ब’मा आˆनो प्रतिविम्बलाई प्रतीक बनाई जुनसुकै भावना गर्न खोजेको भए पनि त्यसको प्रतिक्रियामा नाटकसम्राट बालकृष्ण सम -त्यसबेला शमशेर)ले तत्काल कविताबाट व्यक्त गर्न खोजेको भावना नै युगकवि सिद्धिचरण श्रेष्ठको ‘व्यक्तित्व’का निम्ति सुहाउँदो थियो ।

सिद्धिचरण शतबार्षिकी विशेष

(स्रोत : “ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.