लघुकथा : साउँकोभन्दा ब्याजको माया

~चोपनारायण बन्जाडे~

मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे  । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो ।

क्रान्तिकारी पार्टीलाई मशाल जूलूस निकाल्न सानै निहुँ मात्रै भए पनि पुग्छ । यसपालि सिमा अतिक्रमण विरुद्धमा उक्त पार्टीले मसाल जूलूसको आयोजना गर्यो । उनी पनि सक्रिय भए जुलुसमा । जूलूस निस्केको मात्रै के थियोे, पुलिस आईहाल्यो । सबै जुलुसमा सहभागीहरूको भागाभाग भयो । तर मनीरामलाई हातको मशाल फालेर भाग्न मन लागेन । एक्लै मशाल बालेर नारा लगाई नै रहे । उनलाई पुलिसले समात्यो, भ्यानमा राख्यो र हिड्यो । केही पर पुगेपछि  भ्यान रोकेर असईले भने, ” ल बा अब कहिल्यै पनि यस्तो काममा नलाग्नु होला । आजलाई  झर्नुस्  र घर जानुस् ।”

तर मनीराम बाले अस्वीकार गरे र भने, “म किन झर्ने ? बल्ल मैले खोजेको पाए । मलाई सरकारले लग्न लाग्यो । लैजाओस् ।”

पुलिसले हास्दै भने, “बा ठट्टा नगर्नुस् न । ल झर्नुस् ।”

“म किन झर्ने ? लानलाई गाडीमा राखेपछि मलाई लानै पर्छ ।” उनले अड्डी लिए ।

“ल तपाईंका घरकाको नाम र फोन नम्बर दिनुस् त ।”

“किन दिने ? के उनीहरूले मशाल जूलूस निकालेको हो र ?” उनलेे झनै ठूलो स्वरमा प्रतिप्रश्न गरे ।
“के गरौ त बा उसोभए ?, तपाईलाई लग्यो भने केही दिन राख्नुपर्ने हुन्छ । त्यसैले, यहीँ झर्नुस् र जानुस् ।” पुलिसले सम्झाउन खोजे।

“नाईं  मलाई त लगेपछि सधैंभरि राख्नपर्छ । सरकारले लगेपछि म फर्केर आउँदैन ।”

पुलिसलाई यस्तो सनकी मान्छेलाई लगेर केही काम छैन जस्तो लाग्यो । तर यसबाट छुटकारा पाउने कसरी ? भ्यानमा बेकार राखिएछ जस्तो लाग्यो ।

“बा के गर्ने हो भने तपाईं घर जानुहुन्छ ?”

“मैले भने नि म जाँदै जान्न भनेर ।”

“यो ठण्डीमा चिसो छिडीमा किन बस्न खोज्नुभयो ?”

“मलाई त लगेपछि कुनै दुख तख्लिफ दिन पाइन्न ।”

“ए बा , तपाईं किन जान खोज्नुहुन्छ ? हामीले लग्न नचाहँदा नचाहँदै ? तपाईंका जहान, छोराछोरी, नातीनातीना छैनन् ? ”

बुढा एकछिन बोलेनन् । केहीबेरपछि भने, “अँ नाति छ । छोराबुहारीलाई त मेरो के काम ? जहान खसेको उहिल्यै हो”

नाति ! हो, नातिको यादले झपक्कै समात्यो बुढालाई । आँखाबाट आँसु रसायो ।

“हो त । दुई बर्षको नाति छ । अरुबेला त त्यति वास्ता गर्दैन मेरो । तर सुत्नु अघि मलाई एउटा कथा भन्न भन्छ र त्यहीँ सुन्दासुन्दै मेरै काखमा निदाउँथ्यो । ए मैले त भुसुक्कै बिर्सिएछु । आज कसरी सुते होला । झगडा गरिरहेको होला । नसुत्दै पुग्न पाए त हुने ।”

“अब जानुहुन्छ त बा घर ? ”

“लौ न, मलाई कहाँ लगेको ? कस्तो दया पनि नभएको तपाईंहरू त ! आज शिशिर र वसन्तको कथा भन्छु भन्ने सोचेको थिएँ ?”

“अब जानुहुन्छ त घर ?”

“लौ न, कसरी जाने होला ? पुर्याईदिन मिल्छ भने मलाई पुर्याई दिनुस् न । धर्म होला तपाईंहरूलाई ।”
गस्तीमा हिडेको अर्को बाइक बोलाई दिए । मनीराम हतारहतार भ्यानबाट ओर्लिए । बाईकका पछाडी बसेर भने, “ल, गई हालौ बाबू ।”

बाईक हिड्नै लाग्दा भ्यानभित्रबाट असईले सोधे, “बा कि हामीसँग जानुहुन्छ ?”
मनीराम बा किचिक्क हाँसे र भने, “के म बौलाहा हुम् र ?”

सन्धिखर्क-०१, अर्घाखाँची ।

(स्रोत : सुगमपोस्ट डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.