किराँती दन्त्यकथा : किराती भाषाको गडबडी

~सङ्कलक: इमानसिंह चेम्जोङ~

सुरुमा किरातीहरू देव–वंशी भनिन्थे । उनीहरूको एक भाषा थियो । किराती भाषालाई देव भाषा भनिन्थ्यो । बस्तारहँदा किरात वंश निकै फैलियो । उनीहरूका नेताले जनगणना गर्नुपर्दछ भनेर सबैलाई प्रत्येकले एकएकवटा ढुङ्गा ल्याउनू भन्ने आदेश दिए ।

प्रत्येक मानिसको एकएकवटा ढुङ्गा ल्याएर आफ्ना नेताको अगाडि राखिदिए । ढुङ्गा थुप्रिँदाथुप्रिँदा त्यहाँ एउटा पहाडजस्तो बन्यो । पछि उनिहरूका नेताले जनगणना गरेको स्मृतिमा त्यो थुप्रिएका ढुङ्गाले त्यहाँ एउटा धरहरा बनाउने प्रस्ताव राखे । उनीहरूले पनि यस कुराको समर्थन गरे तथा तत्कालै धरहराको जग बसाए । विस्तारैविस्तारै धरहरा बन्दै गयो, अग्लोअग्लो हुँदै गयो । हुँदाहुँदै धरहराको टुप्पो यति माथि पुग्यो कि त्यसका फेदमा बस्नेहरूले टुप्पो देख्न छोडे । तैपनि धरहरा अग्लिदैँ गइरहेको थियो । थुप्रिएका ढुङ्गा कति त त्यसै थिए । काम गर्नेहरू काम गरिनै रहेकै थिए । ढुङ्गा ओसार्ने ओसार्दै थिए । हिलो पानी दिने हिलो पानी दिदैँ थिए । गारो लाउने गारो लाउदै थिए । तर, कामको खूब मेलो चलेकै बेला के भयो, के भयो, भाषासम्बन्धी गडबडी चल्यो । एउटाले बोलेको अर्कोले बुझेन । यसले गर्दा उनीहरूहा रिसारिस प¥यो । झगडा चल्यो । आखिर रिसमा परेर फेदमा वस्नेहरूले धरहरा नै ढालिदिए । फलस्वरुप धेरैजसो धरहरा भत्किएको ढुङ्गामुढाले थिचिएर मरे । बाँच्नेरुमध्ये पनि फेरि सोह्र भाषाका सोह्र जना नेता निस्किए । तिनीहरू पनि आपसमा लड्न लागे । ती नेताहरूको मारामारको अन्त्यमा चार जना नेता मात्र बाँचे । फरि तिनीहरू पनि लड्न लाग्दा पापाहाङ नाउँ गरेका एक जना नेता आफ्नो दल छुट्टयाई पूर्व दिशाति बस्न जाने भनेर त्यो देश छोडेर गए । छ महिनामा उनी सिमाङगढमा आइपुगे ।

यस दलमा पनि वाह्र भाषाका मानिसहरू थिए । यिनीहरू पनि एकै ठाउँमा बस्न सकेनन् । तिनीहरूमध्ये मगर–वंशी, चन–वंशी र गुरुङ–वंशी उत्तर–पश्चिम गई पाल्पा, डोटी र प्यूठानमा बस्न गए । नागा, सिया, लाप्चा, कारिच वंश पूर्व आसाम, सुखिम र बर्मामा बस्न गए । हामी हिँडेका बाटामा केराको झाङ र बोहोरीको रुख काटी राख्छा्रैँ, पहिल्याउदैँ आउनू भनी अरु भाइहरूलाई अह्राई लाप्चा वंश, काचिन र नागा वंशका मानिसहरू अघि हिँडे । त्यसपछि लिम्बू वंश, खम्बू वंश, मेचे, कोचे, थारु, दनुवार, धिमाल वंशहरू केराको झाङ र बोहीरीको रुख काटेको चिह्न हेर्दै पूर्व दिशातिर लागे । तर केराको टुसो पलाएर लामो भइसकेको र बोहोरीको रुख पनि काटिएर कालो दाग मात्र शेष रहेको देखेर अब दाजुभाइलाई भेट्न गाह्रो पर्दछ भन्ठानी दनुवार, धिमाल वंशहरू नेपालको तराईमा गएर बसे । लिम्बू, तम्बू वंशहरू पनि अब अघि जाने दाजुभाइलाई भेट्न सकिदैँन भनेर नेपालको पहाडमा गई वसे । मेचे, कोचे, थारु वंशीहरू पूर्व दिशातिर बढेर गए र आसाममा आफ्नो राज्य स्थापित गरे । यसै ठाउँबाट वंश फैलिएर उत्तर दिशा जानेहरू टुक्पा वंशी नाउँ राखी भुटान देशमा गएर बसे । दक्षिण दिशा जानेहरू गारो, खासी, जयन्तिया पहाडमा गएर बसे । गारो पहाडबाट फैलिएर जानेहरू हाइजोङ वंश नाउँ गरी भैमनसिंह प्रदेशमा बस्न गए ।

फेरि आसामका नौगाउँबाट फैलिएर जानेहरू कछारी वंश नाउँ राखेर सिलहट, त्रिपुरा, मनीपुर, कुमिल्ला र दक्षिण समुद्रका छेउको नोवाखाली प्रदेश, चटगाउँ प्रदेश तथा आराकान प्रदेशसम्म बस्तै गए ।

इमानसिंह चेम्जोङ (१९६१-२०३३) इतिहासकार, साहित्यकार, लिपिकार, भाषावेत्ता र दर्शनविद हुन् । आजीवन किराँत भाषा, संस्कृति, साहित्य, कला, दर्शनको उत्थानमा समर्पित चेम्जोङ युगपुरुष मानिन्छन् ।

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.