~डा. रामदयाल राकेश~
संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ। यो त भरुमूमि तथा समुद्रको सुन्दर देश रहेछ। म काठमाडौंमा बस्दा कहिलेकाहीँ सोच्थें– कसरी मरुभूमि र समुद्र एक अर्काको विरोधाभासी भएर पनि सँगसँगै अवस्थित रहन सक्छ। तर, यो देशलाई मरुभूमि र समुद्र प्राकृतिक वरदानको रूपमा सहजै उपलब्ध छ। मरुमूमिलाई गुलजार बनाएको देश इजरायलबारे धेरै पहिलेदेखि सुनेको थिएँ। तर, त्यहाँ पाइला टेक्ने अवसर पाएको छैन। जब दुवईको माटोमा पाइला टेकें, त्यस बखतदेखि नै यी दुइटैको अहसास समान रूपमा हुन थालेँ। रातिको अन्तिम प्रहरमा विमानको अवतरण भएपछि मात्र यस्तो महसुस हुन थाल्यो। तर, आकाशमार्गबाट राति भएको हुनाले केही स्पष्ट अनुभव हुन पाएन।
साउदी अरेबियाको पनि अनुभव प्राप्त व्यक्ति वीरेन्द्र पासवानका अनुसार दुबई त संयुक्त अरब गणराज्यको एउटा विकसित सहर हो, आबुधावी भने यसको राजधानी। जबसम्म तपाईँ आबुधावीको भ्रमण गर्नुहुन्न तबसम्म संयुक्त अरबको अनुभव बटुल्न सक्नुहुन्न। उनको सुझाव अनुसार मैले आबुधावीको भ्रमण अनुभव ग्रहण गर्ने अन्तिम निर्णय लिएँ। हो, पनि वास्तवमा राजधानीको भ्रमण नगरिकन कुनै पनि देशको भ्रमण पूर्ण सफल मानिँदैन। राजधानी नै कुनै पनि देशको मुटु हुन्छ। मेरो भ्रमणको समयावधि एक हप्तामा मात्रै सीमित भएकाले मैले एकदिनको लागि भए पनि आबुधावी भ्रमण गर्ने कार्यक्रम बनाएँ। यस निर्णयमा अझ बल थपिदिएको थिए आबुधावीको इन्तिहाद वायुसेवा निगममा कार्यरत प्रज्ज्वल श्रेष्ठले। उनले बडो उदारभावले आबुधावीको भ्रमण गराउने आमन्त्रण खुलारूपमा दिइसकेकाले ममा पनि जाँगर र जोश थपिदिए र मेरो साथमा भएका मेरो परिवारका अन्य सदस्यहरूको स्वीकृति र साथ पनि। हुन त मेरो ज्वाइँ, छोरी र नाति कतिपल्ट दुबईको भ्रमण गरिसकेका थिए। तर, तिनीहरूलाई पनि आबुधावी जाने अवसर प्राप्त गर्न सकेका थिएनन्। तसर्थ, तिनीहरू पनि धेरै उत्साहित भएर मेरो साथ दिन तयार थिए। हामी प्रज्जवलको बडेमानको गाडीमा उनको अपार्टमेन्टमा फलको जुस खाएपछि अझ जाँगरिला भएका थियौं। उनी र मेरा परिवारका सबै सदस्यलाई उनको गाडीमा सुविधापूर्वक सिटको व्यवस्था भएकाले कुनै समस्या भएन। ९ जना बोक्ने गाडी कति ठूलो थियो होला, सहजै अनुमान गर्न सकिन्छ। फेरि उत्तिकै आरामदायी। हामी कारबाट आबुधावीको सर्लक्क परेको सफा सुग्घर बाटोमा सरासर हिँडिरहेका थियौँ। बाटोमा पर्ने पसल र होटल हेर्दै अग्रसर भइरहेका थियौं, किनभने हाम्रो गन्तव्य थियो– आबुधावीमा नवनिर्मित कला संग्राहलयको भव्य भवन। यस भवनको नामाकरण गरिएको छ– लोभ्रे आबुधावी। यसको प्रवेशद्वार नै कलात्मक ढंगबाट निर्माण गरिएको छ। यसको परिसरमा पंक्तिवद्ध ताडका रुखहरू सजाएर रोपिएका छन्, जुन विदेशबाट आयातित हुन्। यसको अनुहार नै स्वदेशी–विदेशी आगन्तुकहरूका लागि आकर्षक ढंगबाट बनाइएको छ।
गुम्बज आकारको यो कला संग्रहालयलाई गत साल दस लाख मानिसहरूले अवलोकन गर्ने अवसर पाएका थिए, जसमा लियोनार्दो दा भिन्सी र भिसेन्ट भान गोहनको कला संग्रह फ्रान्सिसी संघसंस्थाबाट उधारोमा लिएर यसमा राखिएका छन्। साठी प्रतिशतभन्दा बढी पर्यटकहरू यहाँ आउने गर्छन्। यसको कला हेर्नका लागि सबैभन्दा बढी भारतीय, जर्मनी, चीन, बेलायत, अमेरिका र फ्रान्सका आगन्तुकहरू हुन्छन्।
यस वर्षको प्रारम्भमा लौभ्रे संसारको सबैभन्दा ठूलो कला संङ्ग्राहलयले सूचना दिए अनुसार १४ प्रतिशतले वृद्धि भएको कुरो उल्लेख गरेको छ। यस अनुसार ८.१ मिलियन आगन्तुकले यसको अवलोकन गरेका थिए। कतारको कला सङ्ग्राहलय जुन इस्लामिक कलाका लागि प्रसिद्ध छ। त्यहाँचाहिँ गत साल चार लाखले अवलोकन गरेका थिए। आबुधावीस्थित यो कला सङ्ग्राहलय रेम ब्राइन्ड र डच गोल्डेन एजको प्रदर्शनी आगामी फेबु्रअरी १४ मा प्रारम्भ हुनेवाला छ। यस कला प्रदर्शनीमा सत्रौं सताब्दीको कला पेरिसबाट कर्जामा लिएर प्रदर्शन गर्ने योजना छ। त्यस्तै न्यूयोर्कस्थित लेडेन कला सङ्ग्रहालयबाट २५० कला र उक्त प्रदर्शनीको लागि २५० डच पेन्टिङ लिने योजना बनाएको छ।
कला संङ्ग्रहालयको अवलोकनपछि गाडी पार्किङ गरेको ठाउँमा पर्यटकलाई पु¥याउनको लागि तयार रहेको इ–रिक्सामा हामी चढ्यौं र त्यो निःशुल्क रहेछ। इ–रिक्साको चालकचाहिँ नेपाली रहेछ। कला सङ्ग्रहालयको अवलोकनपछि हामी लन्च खानको लागि आबुधावीस्थित नेपाली रेस्टुरेन्टमा आइपुग्यौं। हामी दम्पत्तिले चाहिँ साकाहारी खाना खायौं भने अरु सबैले मांसाहारीले सन्तोष मानी पेटभरी खानामा मनग्गै मज्जा लिइराखेका थिए। यो रेस्टुरेन्ट प्रोज्ज्वलले एक जनासँग मिलेर साझामा खोलेको रहेछ। त्यसैले गर्दा हामीसँग खानाको भुक्तानी लिनुपरेन। हामी तल ओर्लियौं र प्रज्ज्वलले आफ्नो छोरालाई गाडी स्टार्ट गर्नको लागि भने। हामी सबैजना फेरि आबुधावीको भ्रमणका लागि अग्रसर भयौं। हामी त्यहाँस्थित समुद्रको सबैभन्दा रमाइलो स्थलमा भेला भएर फोटो खिच्न लाग्यौं। यस ठाउँलाई ब्रेक वाटर भनिँदो रहेछ। समुद्रको उर्लिदो भेललाई नियन्त्रित गरेर एकदम रमाइलो पर्यटकीय स्थल बनाइएको छ। यहाँ पर्यटकको घुइँचो जुनबेला पनि हेर्न पाइन्छ। सामुद्रिक हावाको झोंकाले हामी सबैको थकाइलाई हटाउँदै आनन्द दिइराखेको थियो। गज्जवको रमाइलो ठाउँ रहेछ। मध्यान्हको प्रचण्ड गर्मीमा पनि हामी शिलत मन्द हावाको आनन्दानुभूतिले मनग्गै मन्त्रमुग्ध भएर त्यहाँको सौन्दर्यको अवलोकन गरिराखेका थियौं।
हामी फेरि त्यसै नेपाली रेस्टुरेन्टमा आफ्नो स्वरुचिको खाजा खाएपछि सन्तुष्टिको धेरै अनुभव गरिराखेका थियौं। त्यहाँ खानपिनको परिवेश पनि पूर्णतः नेपाली थियो। एक–दुई जना भारतीय वेटर भए पनि सबै नेपालीहरू नै त्यहाँका सर्वेसर्वा थिए। त्यहाँको व्यवस्थापन, सेवा, आतिथ्य सबै अभिनन्दनीय पायौं। यो रेस्टुराँँसगै एउटा चोक रहेछ, जसलाई नेपाली चोक भनिँदो रहेछ किनभने प्रत्येक शुक्रबार बिदाको दिनमा नेपालीहरू त्यहाँ भेला हुने गर्छन र परस्परमा भलाकुसारी गरिँदो रहेछ। आफ्नो सुख–दुःख बाँड्ने त्यो चोक धेरै लोकप्रिय हुन गएको छ। हामीसँगै त्यहाँ एक जोडी दम्पत्ति पनि खाना खाइराखेका थिए। जुन पछि त्यही चोकमा आइपुगे र हामी एक–अर्कासित परिचित हुन पायौं। नेपाली मात्र होइन, अन्य विदेशी पर्यटकहरू पनि त्यहाँ नेपाली र भारतीय परिकार खान आइराखेका हुन्छन्। प्रज्ज्वलकी श्रीमती हिमालयले हामी सबैलाई यो सबै सूचना प्रवाहित गरिराखेकी थिइन्। यस्तो माहोलमा स्वरुचिको खाजा खाएपछि त्यहीँ अर्को पर्यटकीय स्थलको भ्रमण गराउने जानकारी प्रज्ज्वलबाट हामीले पायौं। अब हामी फेरि प्रज्ज्वलको बडेमानको गाडीमा सवार भएर आबुधावीको आनन्द लिँदै सहर घुम्न थाल्यौं। हामी अरब सागरको सामुद्रिक किनारमा पुग्यौं। त्यहाँ समुद्रको गतिशील धारलाई थुनेर एउटा तीनकुने आकारको ठाउँ बनाइएको छ। यहाँ पर्यटकहरू धेरै रमाउने गर्छन्। एकातिर भूमिको भू–भागसँग जोडिएको समुद्रको किनार छ भने तीनतिर समुद्रको उच्च तरंग सधैँ तरंगित भइरहन्छ।
अरब समुद्रको सम्पूर्ण सौन्दर्य प्राकृतिक रूपमा अवलोकन गर्ने अवसर प्राप्त हुँदा हामी आनन्दानुभूति प्राप्त गरिराखेका थियौं। शीतल हावाको झोंका हामीहरूको थकान र पसिनालाई शीतलता प्रदान गरिराखेको थियो। समुद्रको धारलाई थुनछेक गरेर यस्तो रमणीय ठाउँ हेर्दा हामी धेरै रमाइराखेका थियौं। फोटोसेसन पनि मोबाइलबाट लिइरहेका थियौं। हुन त भारतको मुम्बइमा पनि समुद्रलाई थुनेर नयाँ सेतुको निर्माण गरिएको छ। मानवले समुद्रलाई पुरेर आफ्नो अनुकूलको आकर्षक पर्यटकीय ठाउँ बनाउनमा पछि परेको छैन। त्यहाँ छेउमा गाडी पार्क गर्ने ठाउँ पनि रहेछ। समुद्रको समीपमा नै मरुभूमिको विचित्र फाँट देखिन्छ। त्यस मरुस्थलमा पनि कटेज बनाउनको लागि सम्पन्न व्यक्तिहरूको बीचमा प्रतिस्पर्धा चल्ने गरेको सुनें। त्यहाँ सबै सुविधासम्पन्न कटेजहरू निर्माण गरेर स्वदेशी तथा विदेशीहरूलाई भाडामा दिने र त्यसबाट मनग्गे आम्दानी प्राप्त गर्ने गरिन्छ। मरुभूमि भएर के गर्ने त्यस्तो ठाउँमा पनि आरामदायी कटेजमा बस्नको लागि र लिजमा लिनको लागि मानिसहरू लालायित हुन्छन्। कजेटभित्र नै सबै सुविधा सहजै उपलब्ध हुने हुनाले मरुभूमिको तातो हावा किन खाइरहनुप¥यो। त्यस कटेजमा जानको लागि सामुद्रिक मार्ग अपनाउने गरिन्छ। धेरै सम्पन्न मानिस हेलिकोप्टर प्रयोग गर्छन्। मरुभूमिको गर्मीको एक घण्टाको बसाइँमा पटक्कै गर्मी अनुभव भएन। देशको आर्थिक विकास भएपछि अर्थको अभावको अनुभूति हुँदोरहेनछ।
त्यसपछि हामी संसद भवन, राष्ट्राध्यक्षको निवासस्थानतिर लाग्यौं। बीच–बीचमा पाँचतारे होटलको होर्डिङ बोर्डले पनि हामीहरूको ध्यान आकर्षित गरिरहेको थियो। यसैबीचमा साततारे होटलको भवन पनि देखा पर्न थाल्यो। यस होटलको बारेमा प्रज्ज्वलले आफ्नो अनुभव सुनाए। तत्कालीन पूर्वराजा ज्ञानेन्द्र शाह आबुधावीको भ्रमणको क्रममा त्यसै होटलमा बास बसेका थिए र आबुधावीस्थित त्यही चुनिन्दा मानिसहरूलाई भेट दिनका लागि बोलाएका थिए जसमा प्रज्ज्वल पनि थिए। यस होटलको ढोकासम्ममा पनि आम मानिसको प्रवेश निषेध गरिएको छ। यसै होटलमा नेपालका धनाढ्य व्यक्ति जीवा लामिछानेको सपरिवार बसेको अनुभव आफ्नो यात्रा संस्मरण लेखेर सार्वजनिक सूचना प्रेषित गरेका थिए, यसबारे मैले पत्रिकामा पढेको थिएँ। अहिलेसम्म यी दुईजना नेपालीबाहेक अरु नेपाली यस साततारे होटलमा बास बस्ने अबसर प्राप्त गरेका छैनन्। हामीहरूजस्ता सडकछाप मानिसको के कुरा गर्नु ? हामी टाढैबाट त्यस होटलको बाहिरी भाग हेरेर रमाइरहेका थियौं। सर्लक्क हाम्रो बाहन फेरि गुड्न थाल्यो सफा, सुग्घर र चौडा सडकमा। हाम्रो दुबई फिर्नेको लागि बस टिकटको समयको स्मरण हुनथाल्यो। हामी अब आफ्नो गन्तव्यतिर जानु पर्ला कि भनेर आपसमा विचारविमर्स गर्न थाल्यौं। हाम्रो बाध्यता थियो, किनभने हाम्रो संयुक्त अरब अधिराज्यको भ्रमणको समयावधि समीप भएकाले प्रज्ज्वलको अनुरोधलाई अस्वीकार गर्दै बस स्टेसनतिर जाने निधो ग¥यौं। उनको अनुरोध थियो कि आज राती आबुधावीमा बसेर त्यहीँ आराम गर्ने तर हाम्रो बस टिकट बुक भएकाले हामीले बस स्टेसनमै जाने उचित ठान्यौं र हामी दुबई फर्किदा रातीको ८ बजिसकेको थियो।
(स्रोत : नागरिक – शनिबार)